रास्वपाले भत्काउन नसकेका गलत मानकहरू

पार्टीहरूलाई २०४६ को परिवर्तन पछि विभिन्न मानक बनाउने र गलत मानक भत्काउने अवसरहरू प्राप्त भएका थिए तर पार्टीहरू त्यसमा खरो उत्रन सकेनन् l जसको परिणाम राजनीति र सातात सस्थीर अविश्वसनीय र अनैतिक भएर अभ्यासमा छ l २०४८ को चुनावपछि कांग्रेसलाई त्यस्तो अवसर थियो उसको एकल बहुमतको सरकार थियो तर उसले पनि राजनीतिमा थिति बसाल्ने काममा योगदान गर्न सकेन l २०६४ पछि नेकपा माओवादीलाई यो अवसर थियो उसले पनि त्यस किसिमको क्षमता प्रदर्शन गर्न सकेन l २०७४ मा भएको चुनाव पछि २०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पछि संसद्को गणितमा जुन ताकत थियो त्यसलाई नेकपाले भाले जुधाईमा परिणत गर्यो ऊ पनि नराम्रोसँग चुक्यो l २०७९ को सङ्घीय चुनावपछि जनताको आसाको पछिल्लो किरण भएर झुल्किएको रास्वपाले सत्ताको लागि देखाएको लालसाले उसलाई पनि मानक स्थापना गर्ने मौकाबाट चुकायो l रास्वपासँग सत्ता चलाउने वैधानिक शक्ति र सामर्थ्य थिएन तर विपक्षमा बसेर सत्ताको भण्डाफोर गर्दै सत्ता होइन राजनीति,राजनीतिमा पनि नैतिक मूल्य र मान्यता सहितको सुसंस्कृत राजनीतिको जग बसाउने उत्तम अवसर थियो तर सत्ताको चस्नीले रास्वपाले पनि जनताले दिएको त्यो सामाजिक र नैतिक वैधतामा सत्ताको चेस खेल्न गएर गलत मानकहरू निर्माण गर्यो ll खराब मानक भत्काउने परिपाटी बसाउन सकेन l
सभापति रवि लामिछानेले टिभी प्रस्तोता हुँदा आम मान्छेका भुइँ तहका कुरा र देशमा भएका विकृति र विसंगतिका जे जस्ता सवाल र मुद्दामा बोले त्यसले उनको प्रभाव नेपाली समाजमा जोरजबर्जस्त बन्यो l अप्रश्नीय भनिएकाहरूलाई पनि प्रश्न गरे l र्याख र्याख्त्ती पारे l यावत विकृतिको भण्डाफोर गरे, देश विदेशको दुखका आवाज बोले l विदेशमा दुख पाएका कति चेलिबेटीको उद्धार गरे l जसको कारण उनको ख्याति चुलियो l टिभी अन्तर्वाता गिनिज बुकमा नाम लेखाएको उनको ब्राण्ड अनुहारको कारण पनि आम मान्छे उनीसँग प्रभावित भए l
फलस्वरूप: लक्जरीयर्स गाडीघोडा र अनेक सुविधा सहित पाँच लाख महिनाको तलब सहित उनी ग्यालेक्सी टिभीमा १५ प्रतिशत शेयर (स्वेट शेयर ) सहित एमडी र प्रस्तोता भएर गए l सिधा कुरा जनतासँग कार्यक्रम मार्फत् राजनीतिक दल र नेताहरूको व्यापक आलोचना गरे l नेताहरू दायाँबायाँ जता फर्कंदा पनि आलोचनाको वर्षा गरे l राजनीतिक पार्टीप्रतिको असन्तुष्टि, आक्रोश आदिलाई उनले टपक्क टिपेर टिभीमा बजाए l डिजिटल दुनियाँमा उनको कुरा देशव्यापी छिटै बन्न सक्यो l कार्यक्रम पनि लोकप्रिय बन्यो र रविको व्यक्तित्व पनि आकर्षक बन्यो l उनी ग्यालेक्सी छोडेर राजनीतिमा हामफाले l हामी राजनीति गर्छौ, देश हामी चलाउँछौं भन्न थाले l अरू भन्दा पृथक इथिकल र डेलिभरी दिने सुशासनको राजनीतिक जग राख्छौ र पुरानालाई जहाँ हो त्यहीं रोक्छौ l नो नट एगेन भन्दै पुराना पार्टीका सत्तामा पटकपटक परीक्षित नेतालाई रोक्ने आकर्षक नारा दिएर चुनावमा होमिए l
विवेकशील नेपाली दलले सुसंस्कृतिक राजनीति भनेर सुरू गरेको अभियानको जगमा स्थानीय निकायको चुनावमा काठमाडौँमा बालेन शाह र देशका अन्य सहरहरू जस्तै धरानमा हर्क साङपाङ धनगडीमा गोपी हमालजस्ता व्यक्तिहरू स्वतन्त्र रूपमा निर्वाचित भए l पुराना दलहरू र नेताहरूप्रति मान्छेहरूको वितृष्णा बढेको आम मान्छेको मनोविज्ञान नजिकबाट नियाली रहेका रवि आफ्नो पत्रकार व्यक्तित्वको परिचय देशव्यापी रहेको र आफ्नो वरपर जतासुकै देखिने झुण्ड र ‘रवि दाइ हाइ हाइ’को नारा अनि शालिकराम आत्महत्या प्रकरणमा चितवनमा उर्लेको मासले रविलाई आफू राजनीतिमा जाँदा फाइदा हुने आँकलन थियो l फलस्वरूप: २०७९ असार ७ गते काठमाडौँको राष्ट्रिय सभागृहबाट रास्वपा घोषणा गर्दै रास्वपाको औचित्य र उपादेयता बारे भनेका थिए पुरानाले काम गर्न सकेनन् जानेनन्, भ्रष्टचारको आहालमा डुबे अब यिनलाई बिदा गरेर नयाँ ढङ्गले काम गर्न हामी आएका छौं l
पुरानालाई जता सकिन्छ जति सकिन्छ ‘नो नट एगेन’ भनेर रोक्ने नीति अख्तियार गरे र यही नारा र अभियानसँग साक्षात्कार गर्दै २०७९ को सङ्घीय चुनावमा भाग लिए l अप्रत्याशित नतिजा प्राप्त भयो रास्वपा २० सिट सहित चौथो ठुलो राष्ट्रिय दल बन्यो l कांग्रेस,माओवादी, समाजवादीलगायतको चुनावी गठबन्धनले सोचे अनुसार विजय हाँसिल गर्न सकेन l दलहरू चुनावी नतिजालाई लिएर एकार्काप्रति शशंकित बने अन्तर्घात गरेको आरोपप्रत्यारोपमा लागे l कांग्रेस र माओवादीमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने रस्साकस्सी चल्न लाग्यो l यही विवाद र प्रतिस्पर्धामा प्रचण्डले चुनावी गठनबन्धनलाई धोका दिएर एमालेसहितको सरकार बनाउने पहल गरे l यही खेलमा २० सिट लिएर बसेको रास्वपालाई चिट्ठा पर्यो l
रास्वपाले यही संसदीय अङ्क गणितको छिनाझपटीको खेलमा विशेष रोल खेल्न पायो l सम्भवत: रास्वपा राजनीतिक रूपमा पहिलो चोटी यहीं चुक्यो l किनभने रास्वपालाई जनताले दिएको म्यान्डेड सरकारमा जाने थिएन l सत्ताको चमकधमक उपप्रधान तथा गृहमन्त्री पाउने भएपछि रास्वपाले हिजो चुनावअघि गरेको प्रतिवद्धता भुल्यो l जसलाई अयोग्य र निषेध गर्नुपर्छ भनेर चुनावमा भोट माग्यो l उनीहरूलाई नै नेता मानेर उपप्रधानमन्त्री साहित सत्तामा गयो l जसको विरोध गर्यो र जसलाई विभिन्न काण्डमा अनुसन्धान गर्नुपर्छ थुन्नु पर्छ भन्यो, उपप्रधानमन्त्रीको लस्कर भनेर धज्जी उडायो सोही व्यक्तिहरूसँग चारजना उपप्रधानमन्त्रीको बथानमा सामेल भयो l
सरकार नबन्ने र मध्यावधी हुने खतराको स्थिति हुन्थ्यो रास्वपाको समर्थन सरकार बनाउन अत्यावश्यक थियो भने पनि उसले सरकारलाई बहुमत पुर्याई दिएर आफू बाहिर बस्न, सक्थ्यो रास्वपाले त्यसो गरेन l अझ स्मरणीय र रोचक कुरा दुईवटा पासपोर्ट र राहदानीको विषय उठिरहेको बेला स्वार्थ बाझिने गृहमन्त्रालय नै खोज्यो र रवि आफै गृहमन्त्री बन्न मरिहत्ते गरेर लागे l
महोत्तरी- १ बाट चुनाव जितेका नेकपा एमालेका सांसद लक्ष्मी कोइरीलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको थियो तर तिनै कोइरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुस २६ गते विश्वासको मत दिँदा पनि उनी संसद भवनमै उपस्थित थिए । त्यहीं रहेका गृहमन्त्री रविले सँगै लाइन लागेर विश्वासको मत हाले तर उनलाई समातेर बुझाउने हिम्मत गरेनन् जबकि उनको सार्वजनिक प्रतिबद्धता गल्ती गर्ने जोसुकैलाई छोडिन्न भन्ने थियो l यहाँ कथनी र करनीमा सुरुमै अन्तर देखियो l आम जनताले नियालेको र विश्वसनीयता जाँचेको यो सरकार बनेपछिको प्रथम चुक थियो l
नागरिकता प्रकरणमा २०७९, माघ १३ गते जब रवि सर्वोच्च अदालतबाट दोषी ठहर भए, रविको उपप्रधानमन्त्री, सांसद र पार्टी सभापति पद गयो l उनले माघ २२ गते पत्रकार सम्मेलन गरेर जे जस्ता कुरा मिडियामा दोषारोपण गरे र जस्तो भाषा प्रयोग गरे त्यो एउटा उपप्रधानमन्त्री भैसकेको व्यक्तिको स्तर अनुसार थिएन l त्यहाँ उनले जे बोलेका थिए त्यो विषय उनी सत्तामा बसुन्जेल बार्गेनिंग टुल्सको रुपमा राखेको प्रमाणित भयो l त्यति धेरै सूचना र अपराधको लिस्ट बोकेर गृहमन्त्री हुँदा आफूले पत्रकार सम्मेलनमा दोषी रहेका र आफू त्यसको तालुकदार हुँदा सिन्को समेत भाँच्न सकेनन् l उनले जुन अपराधको लिस्ट देखाएर बाहिरिए दोस्रोपटक सत्तामा जाँदा पनि त्यहाँ उल्लिखित कुरामा उनको ध्यान गएन l
२०८० वैशाख १० मा भएको उपचुनावमा रास्वपाले बारा- २ मा काठमाडौँबाट हारेका रमेश खरेललाई उमेद्वार बनाएर काठमाडौँ र बाराका जनताको एकैपटक अवमूल्यन गर्यो र पुराना पार्टीले गरे झैँ एक ठाउँबाट चुनाव हारे अर्को ठाउँ, पठाउने प्रवृत्तिको पुनरावृत्ति गर्यो l रास्वपाले बारामा त्यहींको स्थानीय व्यक्तिलाई उमेद्वार बनाउनु पर्थ्यो l राजनीतिमा नवीन संस्कृति बसाउने र हामी अरूभन्दा फरक छौ फरक गर्छौ भन्ने श्लोगनको मर्ममा प्रहार गर्यो l अब हामी सरकारमा जाँदैनौ पाँच वर्ष ढुक्कले जजसले सरकार बनाए पनि हुन्छ भन्ने उदघोष रास्वपा सभापतिले गरे तर पुन दोस्रो पटक सरकारमा गए l बोली र काम गराइमा तादाम्य रहेन बोलीको विश्वसनीयता गुम्यो l जसले गर्दा रास्वपाको रोल २०५१ पछिको ह्यांग पार्लियामेन्टमा तत्कालीन राप्रपाको रोल जस्तै देखियो सत्ता प्राप्त गरे जोसँग जतिबेला पनि टाँसिने l रवि आफै गृहमन्त्रालय लिएर सत्तामा जानु अझै पनि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो भन्दा भन्दै पनि आफै पुन गृहमन्त्रीमा गए l पहिलो पटक र दोस्रो पटक दुवै पटक दलित समुदाय र मुश्लिमको प्रतिनिधित्व नभएको मन्त्रीपरिषदमा सामेल भए l आफ्नो दलको तर्फ पनि दलितको प्रतिनिधित्व गराउने प्रयास गरेनन् l जुन पुराना दल र पार्टीलाई दलित मैत्री भएनन् भन्ने आरोपको पुनरावृत्ति भयो र दलित समुदायले यो हाम्रो पार्टी हो भन्ने अनुभूत गर्न सकेनन् l समानुपातिक र समावेशी प्रतिनिधित्व प्रणालीमा यो एउटा अर्को गम्भीर चुक थियो l जुन रास्वपाले पनि दोहोर्यायो l
सरकारमा दोस्रो पटक पुगेपछि रास्वपाले आफ्नो शक्ति ज्ञानको सीमा भुल्न हुँदैनथ्यो l तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६६ साल वैशाख २० गते प्रधानसेनापति रूक्मांगत कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाएको र राष्ट्रपतिले पुन कटुवालाई थमौती गरेको घटना बारे रवि अनभिज्ञ हुनु सत्ता संचालन गर्नेको अयोग्यता हो l रवि अत्यधिक हौसिए तर सीमा बन्देज र बाध्यता नेपालको राजनीतिक चरित्र बुझ्न सकेनन् l सशक्त विपक्षीलाई आक्रमण गर्दा विशेष योजना र रणनीतिक भएर गर्नुपर्छ l सत्ता अनुभव छैन तर हुँकार बढी गरे l सामर्थ्यहीन हुँकारको औचित्य पुष्टि हुन सक्दैन l रास्वपालाई सत्तामा जाने म्यान्डेड र शक्ति प्राप्त भएको थिएन l
वैशाखमा भएको इलामको उपचुनावमा पनि उमेद्वार छनोटमा नै विवेक पुर्याउन सकेन l केही दिन अघिसम्म निर्मम आलोचक रहेको व्यक्तिलाई पार्टी प्रवेश गराएर चुनाव जिताउने उदेश्य राख्नु कच्चा खेल थियो l त्यसमाथि पार्टीका सबै मन्त्री, सांसद र केन्द्रीय सदस्य लगेर चुनाव प्रचारप्रसार गर्दा नयाँ र पुरानो दलको कार्यशैलीगत भिन्नता देखिएन l अण्डा फुटाउन रास्वपाले बढेमाको घन उचाल्यो तर अण्डा चुक्यो मात्र परिणाम निस्केन l आवश्यकता भन्दा बढी शक्ति परिचालन पनि शक्तिको दुरूपयोग थियो l देशको काममा खटिनुपर्ने मन्त्रीको बथान नै इलाम पुग्नु अन्य दलको संस्कार र तरिका भन्दा भिन्न थिएन/ भएन l
नयाँ दलले यस्ता कुरामा ध्यान दिन सक्नु पर्थ्यो l सहकारी ठगी प्रकरण रविको संलग्नता बारे जब कांग्रेसले संसदमा प्रश्न उठायो र संसदीय छानबिन समितिको माग गर्यो रास्वपा उक्त समिति बनाउन असहमत रह्यो, त्यस बेला रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले लेखेका थिए : हाम्रै सभापतिले केहि समय अगाडि संसदमा नै राज्यका प्रहरी प्रशासन जस्ता नियमित संयन्त्रहरूले विश्वास गुमाएका कारण, तिनले गरेका छानविन र अनुसन्धानमा मात्रै भर नपरी संसदीय छानविन विशेष समिति बनाउन पर्ने भन्नु भएको थियो । सभापतिले छानविन समिति बनाउनु पर्छभन्दा हामी समर्थकहरू संसदबाहिर पनि हो यहि हो भनेर वकालत गरेका थियौँ । आखिर नेपालको धरातलीय यथार्थ त्यही नै हो ।’पछि रास्वपा आफू सत्ता बाहिर हुँदाको सो अडानबाट विमुख बन्न खोज्यो l जुन डबल स्ट्यान्डर थियो l
महामन्त्री मुकुललाई रास्वपाले हतार हतार कारबाही गर्नुको बदला उनीसँग पटक पटक वार्ता वंवाद र विश्वासयोग्य वातावरण बनाएर आत्माआलोचना सहित पार्टीमा बस्ने वातावरण निर्माण गर्न नसकेर कारबाहीको डण्डा चलायो त्यो अपरिपक्व राजनीतिको चरित्र हो l जबकि उनको देश दौडाह प्रतिवेदनको ७० प्रतिशत भावना सही छ भन्ने रास्वपाको आधिकारिक ठहर नै छ l एउटा व्यक्तिको ३० प्रतिशत आग्रह स्वभाव र बायासनेसलाई माफी माग्ने गरी मिनाहा दिएर पार्टीलाई फरक मतको पनि पार्टीमा स्थान छ निषेध र प्रतिशोध हुँदैन भन्ने सन्देश दिनु आवश्यक थियो l नयाँ परिपाटी बसाल्न नयाँ सोच र सिपको आवश्यक हुन्छ l विरामीको अप्रेशन नै गर्न पनि उचित समयको प्रतीक्षा र तयारी आवश्यक हुन्छ रास्वपाले हतारमा मुकुलमाथि कारबाही गर्यो l जुन एमरजेन्सी अप्रेशन आवश्यक थिएन l मुकुलको गतिविधि पार्टी पद्धति विरुद्ध थिए तर कारबाहीको हद त्यतिबेला बढी थियो कि ? मुकुललाई कारबाही गर्न उनको प्रतिवेदन गलत हुनु पर्थ्यो र उनले भविष्यवाणी गरेका कुरा आज क्रमशः प्रमाणित हुँदैछन् l तसर्थ उनीमाथि ज्यादति भयो भनियो भने अन्याय नहोला l
अन्तत: सूर्यथापाको नेतृत्वमा संसदीय छानबिन आयोग पनि बन्यो र रविलाई गत भाद्र १३ गते सो समितिले ७ घण्टा बयान पनि दियो तर निस्कने बेला रविले आफू निर्दोष रहेको र छानबिन समितिले कुनै प्रमाण आफूलाई नदेखाएको जिकिर गर्दै प्रचारबाजी गरे l संसदीय छानबिन समितिले प्रकारान्तरले दोषी ठहर गर्दै रविको नाम लिएर कानून बमोजिम कारबाही गर्नु भनेर प्रतिवेदन सार्वजनिक गर्यो जसमा रास्वपा सांसद शिशिर खनालले समेत हस्ताक्षर गरेका छन् त्यसलाई क्लिन चिट दियो भनेर प्रचारबाजी गरे l त्यो अर्को महाभूल थियो l आफ्नै पार्टीका सांसदलाई सही गर्न लगाएर क्लीन चिट भन्दै हिंडनु कति नैतिक भयो ? यदि रास्वपा सांसदले नोट अफ डिसेन्ट लेखेको भए रास्वपलाई हामी त्यो प्रतिवेदन मान्दैनौ भन्ने नैतिक हक हुन्थ्यो तर त्यसो गरेन l जब छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्न निर्देशन सहित प्रहरीमा पुग्यो र प्रहरी रविलाई पक्रन गयो तव रविले पार्टी कार्यालयमा नेताकार्यकर्ता सुभेच्छुक बोलाएर हंगामा गर्दै पक्राउ दिए l पक्राउ परेर जाँदा जाँदै उनले ‘भने सरकार मर्यो हामीलाई जुठो पर्यो l’ कतिपय जबाफ मौन बसेर दिनु पर्छ तर रास्वपा अत्याधिक बोलेर बिग्रियो l जथाभावी बोल्ने शैली कार्यकर्तालाई समेत सिकायो l जसको कारण कार्यकर्ता नेताहरू गैर राजनीतिक र अत्यन्तै अमर्यादित टिप्पणी गरेर खराब संस्कृतिको निरन्तरता दिइरहेका छन् l
रास्वपाका सबै नेताकार्यकर्ताले यो भाष्य टिपे र प्रधानमन्त्री र गृहमन्त्रीको शवयात्रा निकाल्दै पोखरामा लगातार प्रदर्शन गरिरहे l जबकि यही बिचमा स्थानीय चुनाव थियो l ४४ ठाउँमा भएको स्थानीय चुनावमा कीर्तिपुरलगायत १६ ठाउँमा आफ्नो उमेद्वार नै भेट्टाएनन् र काठमाडौँ १६ को एउटा वडा जित्नु बाहेक अन्यत्र निराशाजनक मत हात पारे l रवि पक्रिएपछि हामीलाई अन्याय भयो प्रतिशोध साँधियो भनेर स्थानीय निकायको चुनाव केन्द्रित गतिविधि गर्नु पर्थ्यो l रास्वपाले रवि नै आदि र रवि नै अन्त्यको रूपमा बुझ्यो आफूलाई पार्टीको रूपमा रूपान्तरण गर्न सकेन l तमाम क्रियाकलाप एक व्यक्ति केन्द्रित गर्यो l रविको देवत्वकरण गरेर बस्यो l
अहिले पनि अदालत गएको मुद्दा बारे रास्वपाले आफ्ना कार्यकर्तालाई न्यायाधीशको देवत्वकरण गर्न लगाएको छ त्यो न्यायाधीश र न्यायलयको मर्यादा विपरित छ l कसैलाई राक्षसीकरण गरिहाल्ने कसैको देवत्वकरण l रास्वपा गहिरो अध्ययन अनुसन्धान गरेर भन्दा पनि छिटो टिप्पणी जता पनि टिप्पणी गर्न लाग्यो l
रविले पार्टी गठन गर्नु अघि गरेका कामको फैसला अदालतलाई गर्न छोडी दिएर पार्टीले व्यक्ति रविको मुद्दालाई जुन ढङ्गले प्राथमिकतामा राख्यो l ४४ ठाउँमा भएको स्थानीय निकायको उपचुनावलाई वेवास्ता गरेर रविको म मुद्दालाई बढी महत्व दियो l व्यक्ति रविको लागि पार्टी त्यसरी लाग्नु सर्वथा अनुचित हो l रवि निर्दोष भए त्यसको लाभ जसरी नि रास्वपाको भागमा आउँछ l दोषी भए पार्टीले नै मुख लुकाउने स्थिति पैदा हुन सक्छ l तसर्थ रविको पक्षमा पार्टी नै लाग्यो र पार्टीमा व्यक्ति र अभियान आन्दोलन फरक हो भन्ने भाष्य निर्माण भएन l रवि नै मात्र पार्टी हुन् भन्ने भाष्य निर्मित भयो l रवि अल इन् वान सर्वेश्वर भन्ने तरिका र शैली पार्टीको दीर्घकालीन हितमा छैन l
रविलाई तीन जिल्ला(कास्की, काठमाडौँ र रुपन्देही) का न्यायाधीशले धरौटीमा हाल रिहा गरेको छ l अन्य दुई जिल्लामा पनि मुद्दा चल्ने क्रममा छ l उनको रिहालाई न्याय पाएको बताउने रास्वपा पुन धरौटी रकम पुनरावलोकनको लागि कास्की उच्च अदालत पुगेको छ l यहाँ पनि कथनी र करणीमा भिन्नता देखियो l रिहा हुँदा न्याय पाएँ भन्ने अनि फेरि बिना धरौटी मुद्दा लडने सुविधा खोज्ने ? तीन जिल्लाका न्यायाधीसले तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दा ठहरे बमोजिम हुने नै हुँदा धरौटी भनेर माग गरेका छन् l
एकैपटक त्यत्रो जनमत सानो शक्ति र सामर्थ्य थिएन तर रास्वपाले ती जनमतको सङ्केत बुझेन l उसलाई विपक्षी बेन्चमा बसेर सत्तालाई खबरदारी गर्दै सत्ताको काम गर्ने शैली अवयवको अध्ययन गरेर नवीन ढङ्गले सत्तालाई आगामी दिनमा रूपान्तरण गर्ने अभिभारा थियो l तर जसलाई बदल्न गयो उसैले आफूलाई बदली दिएको पत्तो नै पाएन l रास्वपाले सत्ता, राजनीति राजनीतिक दल, नेता, नेतृत्व अनि नीतिबारे नयाँ मानक प्रतिमान र उपमाहरूको निर्मिति गर्नु पर्ने पुराना दलहरूको राम्रो र असल कुरा सिकेन खराव कुराहरूको भने बेस्सरी पुनरावृत्ति गर्यो l पुरानादलहरूले गरेको राजनीतिक सङ्घर्ष, धैर्य, बलिदान, जेलनेल निर्वासन र भूमिगत जीवन आदिले एउटा पार्टी बन्ने, नेता बन्ने प्रक्रियाको समयावधिको अध्ययन अनुसन्धान गर्नु पर्ने तर डिजिटल युगले शीघ्रातिशीघ्र परिवर्तन र सफलतालाई नै सर्वेसर्वा ठान्यो र अहंकारको भकारीले थिचिने क्रममा छ l
हिन्दुहरूले जात प्रथालाई यसकारणले मान्छन् किनभने यो नितान्त धार्मिक आस्था हो । जातपात मान्नुमा उनीह...
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...