'दलित' शब्दका प्रथम प्रयोक्ता ज्योति राव फुले र दलित शब्द मान-अपमानको बहस
दलित शब्द विषयमा सम्मान र अपमानको बहस दलित शब्द र यसको संवैधानिक सम्बोधन विषयमा अनेककोणबाट प्रश्नहरू गरिएका छन् l दलित शब्दलाई आपत्ति मान्ने र यो शब्द उत्पीडित समुदायलाई समग्रमा सम्वोधन गर्ने छाता शव्द र आन्दोलनको नाम दिएर तर्क गर्ने लेखक अभियन्ताहरू पनि छन् l दलित शब्दको प्रतिस्थापन गर्न शिल्पी समुदायको अवधारणा पनि बहस र चर्चामा छ यसर्थ दलित शब्दबारे प्रष्ट हुनु जरुरी छ l दलित भनेको के हो ? जात हो कि ? जाति हो कि ? अवस्था हो ? भनेर आफ्नो पुस्तक जातवार्तामा आहुति लेख्छन् : जातव्यवस्था भित्र समाजको पिँधमा रहेको वर्गीय रूपमा श्रमिक,सांस्कृतिक रूपमा बहिस्कृत,र पानी अचलसमेत बनाएका जातहरूको साझा परिचयको रूपमा प्रयोग हुँदै आएको शब्द हो – दलित l दलित ती जातहरूको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थाको नाम हो, त्यस्तो अवस्थामा रहेको समुदाय हो l दलित जात (caste) होइन, जाति (nation) पनि होइन l दलित शब्द कुनै उत्पीडक समुदायले हेपेर अपमान गरेर वा षड्यन्त्र गरेर दलितलाई दिएको परिचय होइन l बरु भारत र नेपालको दलित आन्दोलनले आफ्नो मुक्तिको सङ्घर्ष चलाउने क्रममा आफैले निर्माण गरेको गौरवमय परिचय हो l परम्परागत समाजले कलङ्कपूर्ण अछुत परिचयको अस्वीकृति हो l २०२४ सालमा गठित नेपाल राष्ट्रिय दलित जनविकास परिषद् नामको सङ्गठनले नेपालमा पहिलोपटक आफ्नो सङ्गठनको नाममा र कथित अछुत समुदायकै साझा परिचयको रूपमा दलित शब्द प्रयोगमा ल्यायो (आहुति,२०७७,पृ.३५/३६) l आहुतिकाअनुसार दलित आफैद्वारा आफ्ना लागि प्रतिपादित शब्द हो l दलितले परम्परागत पानी अचल र अछुतलाई अस्विकार गरेर आफ्नै मुक्तिको सङ्घर्ष चलाउने गौरवमय परिचय हो l दलित शब्दलाई लिएर मेघराज रसाइलीले पनि आफ्नो पुस्तक "आन्तरिक विभेदको वृत्तान्त" मा चर्चा गरेका छन् l दलित शब्द संविधानदेखि ऐन-कानुनसम्म, जनजिब्रोदेखि मनमस्तिष्कसम्म कति भिजिसक्यो भने अब यसलाई नकार्नु भनेको आँखा चिम्लेर सूर्यको अस्तित्वलाई अस्वीकार गर्नु जस्तै हो l जसले दलित शब्दको विरोध गरिरहेका छन् उनीहरूले पनि आफ्ना लेख रचना र प्रतिवेदनमा यही शब्द प्रयोग गरिरहेका छन् l वैकल्पिक शब्द बारे पनि बहस गर्न सकिन्छ तर यसलाई साझा बनाएर स्थापित गर्नु चैं चुनौतीपूर्ण छ l दलित शब्द आन्दोलनरत समुदायलाई समग्रमा चिनाउने नाम हो l नाम फेर्दैमा काया पलट हुने पनि होइन यदि नाम फेर्दा कायापलट हुने हो भने भारतमा महात्मा गान्धीले भारतका सारा अछुतालाई ‘हरिजन’ अर्थात् ईश्वरका मान्छे नाम दिएका थिए l तर दलितको जीवनमा तात्विक असर गरेन l आज पनि भारतमा गान्धीका ‘हरिजन’जातीय विभेदको चर्को मारमा परेर बाँचिरहेका छन् (रसाइली,२०७६, पृ.११४) रसाइलीले संविधान देखि आम मान्छेको जनजिब्रोमा भिजेको दलित नामलाई नकारेर वा यसको प्रतिस्थापनमा अर्को शब्द छानेर त्यसलाई स्थापित गर्न ठुलो चुनौती रहेको कारण दलित शब्दलाई नै स्वीकार गरेर जानू पर्ने तर्क गरेका छन् l उनले नाम फेर्दैमा हुने भए भारतमा गान्धीले राखिदिएको ‘हरिजन’ नामले पनि दलितको जीवनमा कुनै तात्विक भिन्नता नल्याएको कारण नाम फेर्नुमा समस्या समाधान छैन भन्ने निस्कर्ष प्रस्तुत गरेका छन् l दलित भन्नु आफू तल भएको स्वीकार गर्नु नभएर आफूलाई अत्याचार गरिएको छ, पछाडि पारिएको छ,दबाउने प्रयत्न गरिएको छ l असहजता र दुरुहतामा बाँच्न विवश पारिएको छ भन्ने अर्थमा दलित शब्दलाई स्वीकार्य स्थितिमा बुझ्न र बुझाउन सकिन्छ l स्मरणीय : दलित शब्दको पहिलोपटक प्रयोग गोरखापत्रमा दरवार हाइस्कुलको लागि शिक्षक आवश्यकतामा प्रयोग गरिएको र २०१८ साल देखि नै यो शब्द प्रयोगमा आएको अध्येताहरूको दाबी पनि छ l
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्दै सम्मान गरिन्छ । उनको पूरा नाम ज्योतिराव गोविन्दराव फुले हो l उनी (ज्योतिबा फुले) भनेर प्रसिद्ध छन् l
ज्योतिराव गोविन्दराव फुले (ज्योतिबा फुले) भारतका अत्यन्त महत्वपूर्ण सामाजिक अभियन्ता, विचारक, शिक्षाविद् र दलित–शोषित मुक्ति आन्दोलनका अग्रदूत हुन् । उनको कार्यभार विशेषगरी दलित, महिला, शूद्र–अतिशूद्र समुदायको शिक्षा, अधिकार र गरिमाको पक्षमा केन्द्रित थियो ।
ज्योति राव गोविन्दराव फुले (११ एप्रिल १८२७ – २८ नोभेम्बर १८९०) ज्योति राव फुले : जीवन, संघर्ष र योगदान
ज्योति राव फुले भारतका महान् समाज सुधारक, शिक्षविद्, दार्शनिक तथा दलित–महिला मुक्तिका विचारक र चिन्तकको रूपमा परिचित छन् । उनी आधुनिक भारतमा सामाजिक न्याय, समानता र मानवतावादका सबैभन्दा शक्तिशाली चिन्तकहरूमध्ये एक मानिन्छन् ।
१. प्रारम्भिक जीवन
जन्म: ११ एप्रिल १८२७, महराष्ट्रको पुणे
परिवार: माली (फल–फूल खेती गर्ने) समुदाय; सामाजिक रूपमा तल मानिने जाति यद्दपि दलित समुदायका भने होइनन् भनिन्छ l उनलाई गैरदलित तर सामाजिक न्याय र दलित अधिकार र महिला न्यायका पक्षपाती व्यक्तिको रूपमा सम्मान गरिन्छ l बाल्यकाल: आर्थिक अभाव, बाल्यकालमा नै उनकी आमाको मृत्यु भएको थियो l
शिक्षा: स्थानीय स्कूलमा पढाइ; पछि पुणे अंग्रेजी स्कूलमा अध्ययन
विवाहित: १३ वर्षमै सावित्रीबाई फुलेसँग विवाह – जो पछि भारतकी पहिली महिला शिक्षिका बनिन् ।
२. सामाजिक अत्याचारबिरुद्ध चेतना
फुलेले आफ्नै वरपर देखेका घटनाले—विशेष गरी जातीय अपमान, बालविवाह, विधवाहरूको दयनीय अवस्था, महिलालाई शिक्षा नदिने संस्कृति, उनीभित्र विद्रोह र परिवर्तनको बीउ रोप्यो ।
३. शिक्षा — सामाजिक मुक्तिको पहिलो बाटो
फुले–दम्पतीले भारतमा पहिलो पटक महिलाका लागि विद्यालय खोले । सन् १८४८: पुणेको भिडवाडमा पहिलो कन्या विद्यालय खोलेका थिए l पछि दलित, शूद्र र अतिजनजाति वर्गका बालबालिकाका लागि दर्जनौँ विद्यालय स्थापना गरे l सावित्रीबाई फुले उनीहरूले पहिलोचोटि खोलेको विद्यालयकी प्रधान शिक्षिका बनिन्।
४. सत्यशोधक समाज (१८७३)
फुलेले जात–पात, लिङ्ग–भेद, धार्मिक अन्धविश्वास र सामाजिक अन्यायको विरोधमा सत्यशोधक समाज स्थापना गरे ।
यस समाजका मुख्य उद्देश्य—
जन्मबाट होइन, कर्मबाट मानवको मूल्याङ्कन
ब्राह्मणवादी थोपिएको श्रेष्ठ–हीनताको अन्त्य
समान विवाह (सत्यशोधक विवाह) — दहेजरहित र जातिविहीन
विधवा पुनर्विवाहको प्रवर्धन
अत्याचारग्रस्त समुदायको संगठित चेतना निर्माता
जातव्यवस्था विरोध
पुजारीकृत धर्म–व्यवस्थाको आलोचना, समानता, आत्मसम्मान, वैज्ञानिक चेतना यसका मूल आधार थिए ।
यो आन्दोलन दलित–बहुजन राजनीतिक चेतनाको पहिलो संगठित रूप मानिन्छ । फुलेका विचारहरू दलित चेतना, बहुजन राजनीति, आत्मसम्मान आन्दोलन, फुले–आम्बेडकर परम्पराको मूल आधार बनिएका छन् ।
दक्षिण एसियाली जात–विरोधी आन्दोलनका प्रवर्तक दलित शब्दका प्रथम प्रयोक्ताको रूपमा फुलेको पहिचान निर्माण भएको छ l
५. महिला अधिकारका महान् अभियन्ता
फुलेले महिलालाई शिक्षामा, सम्पत्तिमा र सामाजिक सम्मानमा बराबरी हक हुनुपर्छ भन्ने इतिहासमै पहिलो स्पष्ट वकालत गरे ।
विधवा महिलाको पुनर्विवाह र संरक्षण गृह
गर्भवती विधवाका शिशुहरूलाई जोगाउन बाल हत्या प्रतिषेध गृह (१८६३)
बालविवाह विरोधी अभियान
पतिव्रत–कु–संस्कार र मनुवादको आलोचना
६. जातीय उत्पीडनविरुद्ध फुलेको विचार
उनको प्रसिद्ध कृति „गुलामगिरी“ (Slavery), १८७३
दक्षिण एसियाली जातिय विभाजनलाई अमेरिकाको गुलामीसँग तुलना
शूद्र–अतिशूद्रहरूको दमन इतिहासको विश्लेषण
ब्राह्मणवादी ग्रन्थहरूको तीक्ष्ण आलोचना
उनले "मानव मानवको दास हुन हुँदैन" भन्ने मूल विचार राखे।
७. कृषक अधिकारका आवाज
जोत–बोझ गर्ने किसानहरू राज्य, साहु–महाजन र कर प्रणालीबाट थिचिनु अन्याय हो भन्दै-किसानको ऋण–राहत, राजनीतिक प्रतिनिधित्व, सस्तो सिंचाइ र न्यायपूर्ण लगानीमा जोड दिए ।
८. अन्तिम दिन र विरासत
मृत्यु: २८ नोभेम्बर १८९०, पुणे
फुलेको मृत्युको दिन हजारौँ शूद्र–अतिशूद्र, महिला, किसान र दलित समुदायले उनलाई आफ्नो मुक्तिदाता मान्दै श्रद्धाञ्जली अर्पण गरे । उनको कामले नै पछि डा. आम्बेडकर, शाहू महाराज, पेरियार, र आधुनिक सामाजिक न्याय आन्दोलनहरूलाई गहिरो प्रभाव पारेको छ ।
फुलेले पहिलोपटक प्रयोग गरेको दलित शब्दलाई पछि अम्बेडकरले व्यापक रूपमा चर्चा गरेर प्रयोगमा ल्याए आज नेपालमा पनि दलित शब्दको प्रयोग र विरोध पनि छ र चर्चा पनि व्यापक छ l दलित शब्दकोप्रथम प्रयोक्ता फुले नै हुन् भन्ने बारेमा भारतीय चिन्तकहरू चमनलालले आफ्नो पुस्तक दलित साहित्य एक मूल्याङ्कन(२००८) , पुन्नी सिंहले भारतीय दलित साहित्य ( सन् २००३) मा र हरिनारायण ठाकुरले दलित साहित्य का समाजशास्त्र (सन् २००९) मा उल्लेख गरेका छन् l
-निष्कर्ष
ज्योति राव फुले केवल एक व्यक्ति होइनन् l उनी समाज परिवर्तनको पहिलो आगो, मानवतावादको जीवित आदर्श, र उत्पीडित जनताको ठूलो प्रेरणा हुन् ।
स्मरणीय : विभिन्न पत्रपत्रिका विकिपिडिया र एजेन्सीहरूको सहयोगमा यो सामग्री सञ्जीव कार्कीले तयार गरेका हुन् l
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'
इतिहासको लामो विभेदकारी शासन व्यवस्थाको कारण अन्याय, अत्याचार, विभेद र शोषणको शिकार भई दयनीय जीवन या...