प्रसिद्ध गजलकार शिव 'प्रकट पगेनी' हुनुको रहस्य - सुनिल उलक

अलविदा प्रकट दाइ
शिवराज पगेनी उर्फ प्रकट पगेनी शिव वि .सं. २०१३ असोज २४ गते बुबा कुवेरदत्त पगेनी र आमा नन्दकुमारीको कान्छा पुत्रको रूपमा कास्की जिल्लाको देउराली उकाली पगेनी गाउँमा जन्मेका हुन् l शिवराज पगेनी गाउँमा नै पढ्दथे । तीन छोरा र एक छोरीमा शिवराज कान्छो थिए । गाउँको बिद्यालयमा छ कक्षा पढ्दै गर्दा एउटै कक्षामा तीन शिवराज थिए । एक शिवराज गुरुङ, अर्का शिवराज घिमिरे र तेस्रो शिवराज पगेनी । कक्षामा सबै झुक्किन्थे । शिवराज भन्दा तीन जनाको कान ठाडो हुन्थ्यो । गाउँमा त्यसबेला अमेरिकी पिसकोर भोलेन्टियरहरू पढाउन आउँथे । तीन शिवराज पढ्ने विद्यालयमा जुलिया नाम गरेकी अति नै सुन्दरी मिसले पढाउँन आएकी थिइन् । हाम्रा शिवराज, जुलिया मिसको यौवन देखेर मोहित थिए ।
एकदिनको कुरा आमाले भुटेको मकै र मोही दिएर जुलिया मिस बस्ने कोठामा पठाइन् । मिस केही न केही लेखिरहने गर्दथिन् । त्यसदिन पनि मिस केही लेख्दै बसकी थिइन् । हाम्रा शिवराज मिसलाई केही नभनी मिसले कतिबेला थाहा पाउलिन् र भुटेको मकै र मोही दिने विचारले एक कुनामा बसिरहे । केहीबेर पछि मिसले देखिन् र भनिन् , "शिव, तिमी कहाँबाट प्रकट भयौ ?" जुलिया मिस नेपाली प्रस्ट बोल्थिन् । त्यसमाथि जुलिया मिस देखेर मन्त्रमुग्ध हुने शिवराज, जुलिया मिसको मधुर स्वरले प्रकट शव्द सुनेपछि मन्त्रमुग्ध भए । कक्षामा तीन शिवराज हुनुले सधै झुक्किने, तसर्थ शिवराज पगेनीले आफ्नो नाम सधैँलाई प्रकट राख्न तम्सिए । त्यसपछि त नाम नै बदलियो प्रकट पगेनी "शिव" भए ।
त्यो बेला गाउँका धेरै जसो युवा शिलोङ, आसाम, नागाल्याण्ड पुग्दथे । वहाँका बुबा नागाल्याण्ड पुगेका थिए l । उतै बस्दा नै शिलोङ तिर नै हुर्केकी आमासँग शिवाराजको बुबाको विवाह भएको थियो । ९ सालतिर बुबा आमालाई लिएर गाउँ फर्के । शिलोङमा हुर्केकी भएर आमा पढेलेखेकी थिइन् । त्यो समय देउराली उकाली गाउँमा पढेलेखेका पुरुष नै भेट्न मुश्किल समयमा पढेकी आमा निकै चल्तापुर्जा भइन् । गाउँमा कसैको चिट्ठी आए पढिदिनुपर्ने र जवाफ लेखिदिने काम समेत आमाको हुन्थ्यो । गाउँका महिलाहरूलाई पिँढी भरि जम्मा गरेर उनले भागवत, रामायण, महाभारत पाठ गरेर सुनाउने गर्थिन् । बुबा बेला बेला मात्र गाउँ आउँथे। बुबाले दुई दाजुलाई नै पढाउन नागाल्याण्ड नै लगेका थिए । तर कान्छो छोरालाई आमाले आफैसँग राखेकी थिइन्। यसैले कान्छो प्रकट भने गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्नु पढ्थे । ४ कक्षाबाट भने विश्व शान्ति मा.वि.मा पढ्न थाले र विद्यालयबाट एस.एल.सी. पनि दिए ।
अहिलेका गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का "बिखर्ची" उनका बाल्यकालका दौतरी हुन् । उनकै गाउँको बाटो राजा महेन्द्रले लमजुङ जिल्लाको कुन्छासम्म सडक बनाउन लगाएका थिए । त्यतिबेला सेना (महेन्द्र दल)ले सडक खनेर तैयार बनाएको थियो । यही बाटो भएर राजा महेन्द्र कुन्छासम्म जीपमा गएका थिए । पछि पछि पनि सरकारी ठूला कर्मचारीहरू जीप लिएर आउने गर्दथे ।
३१ सालमा टेष्ट परीक्षामा असफल भए पछि ३२ मा मात्र शिव दाइले एसएलसी पास गरे तेस्रो श्रेणीमा l
२०३३ सालमा प्रकट दाइ कलेज पढ्नका लागि पोखरा आए र पृथ्वीनारायण कलेजको ठिक अगाडि चीनबहादुर बडगामीको घरमा डेरा लिएर बसे । हुन त त्यस अगाडि पनि पोखरा आएर महेन्द्रपुलमा शम्भु शाक्य दाजुको ओरियण्ट फोटो भएको घरमा डेरा लिएर बसेका थिए । तर त्यो बेला लामो समय बसेनन् । ३३ सालमा पोखरा आउनुभए पछि प्राय पोखरा नै रहे । पोखरामा रहँदा नै साहित्यकारहरूको संगतले उनले कविता कोर्न थाले । ३६ साल देखि कविता कोर्न थालेका हुन् । तर पनि ३६ सालको सडक कविता क्रान्तिमा भने उनको नाम देख्न पाइन्न ।
२०३५ सालमा विवाह बन्धनमा बाँधिनु भएका वहाँको एक छोरा र एक छोरी भए । विवाह र छोरा छोरी भए पछि नाटक र कविताले जीवन नचल्ने भए पछि २०४२ सालमा लुम्ले कृषी केन्द्रमा जागिर गरे र करिव १० वर्ष उतै हराए । २०२४ सालमा बेलायती सरकारबाट स्थापना भएको लुम्ले कृषी केन्द्र २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिए पछि एउटा समुह नै लुम्ले कृषी केन्द्रबाट बाहिरियो । यही भिडमा प्रकटदाइले पनि जागीर छोडे । बेरोजगारीले दिनचर्या चल्दैनथ्यो । तसर्थ उनले पछि गैह्रापाटनमा अहिले फिस्टेल हस्पिटल रहेको ठाउँमा पगेनी आर्ट मेडिया खोले । जहाँ खासगरी पसलका साइनवोर्डका कामहरू हुन्थे । तर त्यहाँ पनि अलि बेवास्ता गर्न थाले र कहिले काहीं मात्र साइनवोर्ड वा ब्यानरहरू लेख्दा लेख्दै साथीहरूको लहैलहैमा लागेर काम सम्पन्न हुँदैनथ्यो । साइनवोर्ड लिन आउँदा तैयार नै भएको हुँदैनथ्यो । यसरी ग्राहकहरू बिस्तारै टाढिन थाले ।
यसै बिच लुम्ले कृषी केन्द्रबाट सँगै निस्केका भुवन स्थापित र अन्य मिलेर लिवर्ड नामक संस्था खोले । प्रकट दाइलाई पनि अनुरोध आए पछि वहाँ पनि लिवर्डमा आबद्ध भए । यता पगेनी आर्ट भने बन्द भइ सकेको थिएन । कर्मचारीको सहयोगमा वहाँले त्यो चलाउन सकेनन् र बन्द भयो ।
पोखरामा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापनासँगै उनी जोडिए । २०५४-५५ को कार्यसमितिको अध्यक्ष पनि बने । तर पनि किन किन पोयुसा प्रति नकारात्मक बनेका थिए र । पोयुसाबाट पर पर बसे l
जीवनका उतारचढाउमा उनी पनि कहिले कहाँ कहिले कहाँ हराए । जीवनमा अभावका कुराहरू धेरै गर्थे । यसैले कुनै पनि कार्यक्रम निशुल्क नगर्ने खुलेरै भन्थे । कहिले काठमाडौ, कहिले पोखरा रहन थाले । बाटुलेचौरमा एकान्तवासमा पनि बसे । पछिल्लो पटक उनका गजलहरू प्रेमिल बन्न थाले । यौवनका चर्चा र प्रेमका चर्चा उनका गजलहरूमा बहन थाल्यो । प्रशंसक हरू बढे । पैसा तिरेर नै कविता सुन्ने फेशन नै चल्यो । उनका गजल मुक्तक पनि निकै चले । तर अभावहरूका कथा समाप्त भएन । बाटुलेचौरमा बस्दै गर्दा अन्तिम समयतिर भाडा तिर्न पनि पैसा नभएको सुनाएका थिए । पैसा आउने बाटो निकै थिएन । दुई वर्ष अगाडि पर्यटकीय डकुमेन्ट्री बनाउने भनेर सोच निस्के पछि तत्कालीन प्रदेश मन्त्री बिन्दु थापा र मेखबहादुरलाई पनि भेटने काम भयो र मन्त्रालयले खासै बजेट निकाल्न नसक्ने भएपछि हामी पछि हट्यौ ।
जीवनको अन्तिम समय तिर गाउँमा नै सानो कटेरो (यशस्वी कटेज) बनाएर सानो तिनो बसिबियालो गर्ने रेष्टुरेन्ट झै खोलेका थिए । तर यसले झन उनको बानी बिगार्यो कि जस्तो लाग्यो । अलि अलि पिउने बानी र नपिइ केही लेख्नै नसक्ने हुँदा पनि वहाँलाई यसैले नै दुख दिए जस्तो लाग्दछ ।
अब त गुनासो गर्न वा सल्लाह दिन पनि प्रकट दाइसँग नसकिने भयो । उनी सदाका लागि हामीबाट टाढा भइसके । आज उनको पार्थिव शरिर पनि जलेर खरानी भयो । उनको देहमुक्ति एवं स्वर्गवासको कामना मात्र अब गर्न सक्दछौ । एउटा दुख लाग्छ उनी उपन्यास लेख्ने तैयारीमा थिए । त्यो प्रकाशन गर्ने उनको धोको धोको नै रह्यो । पाण्डुलिपि कतै तैयार भएको भए छाप्न हुन्थ्यो । तर मलाई लाग्दैन उनले उपन्यास पूरा लेखि सकेका थिए होला ? । जीवनको अन्तिम समय तिर उनलाई आफू अब धेरै बाँच्दिन भन्ने हेक्का भइसकेको थियो होला । मृत्युको ४ दिन अगाडि नयाँ वर्षको दिन उनले अन्तिम मुक्तक लेखेका थिए । यसले उनलाई अर्को नयाँ वर्ष मनाउने झिनो आशा राखेको हामी पाउँछौ । बाँचिएछ भने अर्को वर्ष माया साटौला भनेर यसरी मुक्तक कोरेका थिए l
मनमा राग पराग भए पो नयाँ वर्ष मनाउनु
भाइरलको प्रकोपले ग्रसित छु कस्तो खुशी जनाउनु
अर्को वर्ष बाँचिएछ भने तीन दिन अघि माया साटौला
त्यतिबेला यशस्वी कटेजलाई कटेज जस्तै बनाउनु
श्रृंगारिक गजल, कविता र गीत लेख्ने साहित्यकार प्रकटका कविता, गजलका किताबहरू प्रकाशित छन्। उनले लेखेको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ गीत चर्चित भएको थियो। उनी विशेष गरेर श्रृंगारिक भावमा गजल लेख्न प्रख्यात थिए । ६७ वर्षिय गीतकार पगेनीका श्रीमती, एक छोरा र एक छोरी छन् l गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार वैशाख ४ गते कास्कीको मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो ।
प्रसिद्द फोटो पत्रकार सुनिल उलकको संस्मरण हामीले यहाँ प्रस्तुत गरेका छौं l तस्विर : सार्वजनिक संजालबाट साभार
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।