प्रचण्डकै कारण सङ्घीय गणतन्त्र धरापमा - डा. जगन कार्की
गणतन्त्र र सङ्घीयताका लागि आन्दोलन भए, कयौं सहिद भए, १७००० मानिसको ज्यान गयो तर देशमा भनिए जस्तो न सर्वहाराको शासन आयो न जनताको पक्षमा थोरै पनि देखिने गरी काम हुन सक्यो l परिवर्तनको सुखभोग नेताको हकमा देखियो तर सामान्य जनमा खासै देखिएन l
२०४६ सालमा प्रजातन्त्र आएपछि सब समस्या हल हुन्छ भनियो l विकास र आर्थिक स्तरले फड्को मार्ने सपना देखाइयो तर परिस्थति त्यस्तो बनेन/ भएन l सांसद खरिद बिक्री काण्ड, लाउडा, धमिजा काण्डदेखि नेताका आफन्त पोस्ने काम भयो । २०४६ सालमा आएको बहुदलीय प्रजातन्त्रको कालखण्डमा राजनीतिक दलमा आएका सत्ता लिप्साका कारण ९/९ महिने अस्थिर सरकार बने ।
भ्रष्टाचार र अराजकताले माओवादी जनयुद्धलाई मलजल गर्यो, राजतन्त्रलाई फाल्ने षड्यन्त्र बुन्ने जमिन तयार गरिदियो । जनताका समस्या साधन भएनन् फलतः जनता आन्दोलित भएर माओवादी जनयुद्धलाई समर्थन गर्न बाध्य भए ।
माओवादीसँग आस र त्राशले जनता माओवादी जनयुद्धको समर्थनमा देखापरे l तथापि जनयुद्धबाट मात्र पार लागेन देशी विदेशी शक्तिहरूले दलहरू र माओवादीलाई मिलाइ दिए l टाउकाको मूल्य तोक्ने र तोकिने एक ठाउँमा आएर आन्दोलन चर्किएपछि १२ बुँदे समझदारी बन्यो । राजा मार्फत संसद पुनर्स्थापना गराइयो, पुनर्स्थापित संसदले राजालाई फालिदियो । झण्डा, राष्ट्रिय पोसाक फेरने अनेक नौटंकी हल्ला चलाईए नयाँ नेपालको हौवा चलाईयो जनताले फेरि धोका नै पाए । नेतालाई शान्ति र क्रान्तिका नाममा बिदेशी एड देखि क्यान्टोनमेन्टसम्म कमाइका धन्दा बने ।
यसरी एकले अर्कोलाई मौकामा धोका दिएर उथलपुथल गर्दै अघि बढेको व्यवस्थाको जग बलियो थिएन, सधैँ हल्ली रहयो र उथलपुथलको अनवरत शृंङ्खला जारी छ l राजा फालेर संविधान सभा पछि देशलाई स्वीजरल्याण्ड बनाइने सपनाले जनता आन्दोलित थिए, जम्बो संविधानसभा २ कार्यकाल अरबौं रकम दोहन गरेर संविधान जारि गरियो । जनतासँग प्रसस्त सुनुवाई नगरी हठात ठेलेर, पेलेर र जनताले दिएका दिन भ्याएका सुझावलाई पनि रद्दीको टोकरीमा फ्याँकेर, कतिपय विषय जनताका भावना विपरित संविधानमा उल्लेख गरियो l फास्ट ट्रयाकमा बनेको संविधानले ल्याएको वर्तमान व्यवस्थाको मुख्य उपलब्धि गाउँका चप्पले सरकारहरू प्रदेश मन्त्री र मुख्य मन्त्री बनेर ६-६ महिनामा म्युजिकल चेयर खेलेका छन् । जुन दुर्भाग्यपूर्ण छन् l
यसै बीच कम्युनिस्ट पार्टीहरूको एकताको उथलपुथल भयो, बहुमतको सरकार र स्थायित्वले देश बन्ने अर्को फ़ण्डा ल्याईयो । आखिर बहुमतको सरकार बन्दा पनि स्थायित्व आएन l सत्ताको लोभ र लुछाचुडीले पार्टी फुटेर निरन्तर किचलो झिकीरहे र उनिहरूकै हालीमुहाली इसारामा देश चलेको छ ।
हाल ४६ साल पछि जन्मिएका नवसामन्तहरूको कब्जामा देश परेको आभास हुन्छ । नयाँ व्यवस्था र नेपाल र उन्नत भनेर बनाईएको संविधान अनुसार चलेको गणतन्त्र नेपालमा पनि गणतन्त्रका १६ बर्षमा १३ सरकार बने, नेताहरूका रहर पूरा भए जनता रैतीबाट माथि उठन सकेनन् । यसले यिनीहरूको नियत राजा फाल्ने, सामान्तवादको अन्त्य गर्ने नरहेको तर आफै राजा र सामन्त बन्ने ध्येय रहेको व्यवहारले प्रस्ट हुन्छ । जस्तै पारिवारिक विरासत फाल्ने, जनताको मताधिकारले नेता चुनिने एक पटक योगदान गरेपछि नैतिक रूपमा अरूलाई सत्ता सुम्पिने लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उड़ाएका छन् l प्रजातान्त्रिक मूल्य र मान्यताको पगरी गुथाएर हुने नहुने सबै गरेका छन् l
हालको यस्तो खिचडी चुनावी व्यवस्था र राजनीतिक कुकर्मले जन्माएको मास फ्रस्टेसनबाट दैनिक २ हजार हाराहारीमा युवा देश छोडेर भाग्न बाध्य पारिएका छन् । पलायन रोज्न विवश छन् l टाठाबाठाले सहकारी कब्जा गरेका छन्, बैंक मालिक र व्यापारी एकै छन l लघुबित्तको नाममा गरिबका धन बन्धक छन, वित्तीय पासोमा गरिव जनता परिरहेका छन् । सत्ता प्राप्त गर्नु भनेको सार्वजनिक सम्पत्तिको दोहन गर्ने र जनतामा दलाल र भ्रष्टहरूका व्यापारिक अभीष्ट लागूगर्ने लाइसेन्स प्राप्त गर्नु हो भन्ने भाष्य निर्माण गरिएको छ ।
यी नेतालाई न विकासको चिन्ता छ न जनताका दैनिक समस्याको चिन्ता । ४६ साल पछिका नेतृत्वले त गति छाड़े नयाँ आएका पनि सत्ता पाए ७ खून माफ़ हुने भ्रममा देखिनु पक्कै गतीलो सङ्केत होइन । यसले अनिष्ट निम्त्याउने खतरा रहन्छ l
फ्रान्सिस्को फुकुयामाले पुराना नेताको आन्दोलन र त्यागको नाममा नयाँ संभ्रान्तहरूले लोकतान्त्रिक प्रणाली क्याप्चर गरेर संगठित लुट मच्चाउने परिपाटीले राज्यहरू असफल बन्ने गरेको दृष्टान्त प्रस्तुत गरेका छन् । यसर्थ यसबाट लोकतन्त्रलाई बचाउन बलिया र संगठित राज्यका संरचनाहरूको जरुरी रहेको उनि प्रस्ट्याउछन्। फुकुयामाले भने झैं नेपालमा आख़्तियार, अदालतनदेखी विश्ववि द्यालय सम्मको अराजनीतिक हस्तक्षेप र भागबन्डा छ । अख़्तियार भ्रष्टचार छोप्न प्रयोग भएको दलीयतन्त्रको अस्त्र भएको छ ।
ठुलो आश्चर्य चाहीं देशलाई स्वीजरल्याण्ड बनाउँछु, जनताको पक्षमा लड़छु अधिकार स्थापना गर्छू भन्ने प्रचण्ड आफै सत्ता लिप्सामा चुर्लुम्म डुबेका छन् l उनका कार्यकर्ता पुँजीवाद र सुनका भरिया बनेका छन । सङ्घीयताको गलत अभ्यासले नागरिक अवाक छन । विदेशी शक्ति एमसीसी बीआरआई जस्ता रणनीतिक योजना लिएर आएका छन । छिमेकमा हिन्दुत्वको नाममा सत्ताको दरो पकड़ जमेको अवस्था छ । उथलपुथलका नाममा प्रचण्डको कम्युनिस्ट एकता, चाइनासँगको मुण्टो जोड़ाइ र सहयात्री कांग्रेसलाई धोका दिएको परिप्रेक्षमा राजावादी शक्तिले निर्णायक भन्दै व्यवस्था फेर्ने आन्दोलनको सुरूवात गरेको छ ।
जसरी कांग्रेस माओवादी मिलेर राजतन्त्र गयो, अब कांग्रेस, राजावादि शक्ति र दक्षिण छिमेकीको रणनीतिक स्वार्थ एक ठाउँमा आउने राजनीतिक भूगोल प्रचण्डको सत्तालिप्सा र सत्तास्वार्थले तयार गरिदिएको छ l तीन-तीन महिनामा सङ्घीय सरकार परिवर्तन गरेर जनतालाई व्यवस्थादेखि वितृष्णा उत्पन्न गर्ने र अवाक पार्ने प्रमुख पात्र प्रचण्ड नै हुन् । प्रचण्डकै कारण सङ्घीय गणतन्त्र धरापमा छ भन्ने निस्कर्ष निकालियो भने अन्यथा हुने छैन l जसरी राजतन्त्र अन्त्यको लागि पूर्वराजा ज्ञानेन्द्रको शक्ति र सत्ताको महत्वाकांक्षा सहयोगी बन्यो त्यसरी नै सङ्घीयता विगठन बन्ने परिस्थति प्रचण्डका अराजनीतिक हर्कत नबन्लान भन्न सकिन्न l
अबको निकास : जनतामा भ्रम मुक्ति र सचेतना
प्रथमत: जनतामा देशमा विद्यमान समस्या र छु मन्तर गरेर हल गर्ने हिरोको खोजीमा ग़लत व्यक्ति र प्रवृत्तिलाई प्रोत्साहन गर्ने क्रम रोकिनु जरुरी देखिएको छ ।
सौताको रिसले पोईको काख विगार्ने नेपाली उखान झैं एक ग़लत प्रवृत्तिको अन्त्य अर्को अराजकलाई मलजल गरेर पटक्कै समाधान प्राप्त हुदैन ।
ठुलो त्याग र बलिदानले प्राप्त लोकतान्त्रिक व्यवस्थाले दलित,उत्पीड़ित,जाति र जनजातिका अधिकारको संरक्षण गरेको छ । निरङ्कुश राजतन्त्रहुँदा पनि राजनीतिक स्थायित्व हुँदा राजा महेन्द्रले पञ्चायत कालमा पनि प्रसस्त विकास गरेका थिए । यसर्थ राजनीतिक स्थायित्व कायम गर्न अब दुई ध्रुवका समाजवादी कित्ता र पुँजीवादी ध्रुवका दलहरूलाई राखेर च्याखे थाप्ने दलहरूको उन्मूलन गर्नुपर्ने आवश्यकता टडकारो देखिएको छ, यो पहिले विद्यमान ठूला दलका डनहरबाट उन्मुक्तिका लागि कार्यकर्तामा जागरण अत्यावश्यक देखिएको छ ।
हालको मुख्य समस्याहरू लोकतान्त्रिक पद्दति र राजनीतिक दल क़ब्ज़ा गरेर बसेका ४६ साल पछि निरन्तर दल र सरकार चलाई सकेका परीक्षित अनुहारहरू हुन् । यसमा नामै लिँदा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाललगायतका नेताहरूको क़ब्ज़ाबाट उन्मुक्ति पाए अहिलेको व्यवस्था पनि क्रमश सुधार उन्मुख हुने देखिन्छ । यी बाहेक पनि अन्य समस्याग्रस्त व्यक्तिहरू छन् तर तिनबाट दलहरूले विस्तारै निकास पाउने देखिन्छ । दलहरू, व्यवस्था होइन व्यक्ति र प्रवृत्ति खराब देखियो । जसरी हाल देउवा पत्नी भारत पुगेर लम्पसार पर्न तयार भएकी छन् उसै गरी हरेक भ्रष्ट र सत्तालिप्सालाई नङ्गयाएर बसी नसक्ने पार्ने र एकपटक योगदान गरीसकेकालाई बिदाईका लागि दवाब दिन सके ३ दशकका आरोह अवरोहसँग खारिएका पुराना दलहरूमा देखिंदै गएका आस लाग्दा परिपक्व नेताहरूबाट पनि सम्वृद्धि र विकास संभव देखिन्छ ।
नयाँ सिकारूले नयाँ प्रयोग गरेर अर्को दशक खेर फाल्नुभन्दा हाल विद्यमान बिकृतिहरूबाट मुक्तिका लागि सामूहिक पहल गर्न सके ढिलो चाँडो फोहोर राजनीति सङ्गल्याएर प्रयोग गर्न सकिने सम्भावनाको अन्त्य भएको छैन l
(लेखक कार्की बेलायतमा प्राध्यापनरत छन् )
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...