'अविश्रान्त धावक आनन्द पोखरेल'- वसन्तराज कार्की
नेकपा एमालेका नेता आनन्द पोखरेलले यसपटक पार्टीको ११औँ महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने सशक्त घोषणा गर्नुभएको छ । सम्भवतः दोलखाबाट नेकपा एमालेको यति महत्त्वपूर्ण पदमा उम्मेदवारी दिने उहाँ पहिलो प्रतिनिधि हुन सक्नुहुन्छ । यद्यपि हाल उहाँ काठमाडौं जिल्लाका इन्चार्ज हुनुहुन्छ । केन्द्रीय सदस्य स्वतः आयोजक प्रतिनिधि हुने व्यवस्थाका कारण उहाँले प्रतिनिधि बन्न कुनै अतिरिक्त कष्ट बेहोर्नु परेन ।
आजको राजनीतिक तथा सामाजिक परिवेशमा युवाको सशक्त उपस्थितिको माग तीव्र रूपमा उठिरहेको छ । यही सन्दर्भमा युवा नेतृत्व सुनिश्चित गर्न पार्टीभित्र ‘अन्डर–फोर्टी’ श्रेणी छुट्ट्याई युवा प्रतिनिधित्वको ग्यारेन्टी गरिएको छ । तर राजनीति लोकसेवा पास गरेर जागिर खाएजस्तो सरल विषय भने होइन ।
राजनीतिमा स्थापित हुन पार्टीको लामो दुरिका अविश्रान्त धावक आनन्द पोखरेल मात्र होइन, समाज र विपक्षी दलहरूको समेत स्वीकार्यता आवश्यक पर्दोरहेछ । यसको ज्वलन्त उदाहरण वर्तमान सरकारमै देख्न सकिन्छ, जहाँ जेन–जीको उपस्थिति न्यून छ र स्वयं प्रधानमन्त्री नै ७० वर्ष नाघेका ज्येष्ठ नागरिक हुनुहुन्छ ।
यसले राजनीतिमा एज मात्र होइन, नेतृत्वको एजेन्डा, अनुभव र सक्रियता नै प्रमुख हुने सङ्केत हुने गर्दछ । आनन्दजी छ दशक पार गरिसक्नुभएको भए पनि पार्टीका विभिन्न निकायमा रहेर नेतृत्व गरिसक्नुभएको अनुभवी व्यक्तित्व हुनुहुन्छ । पटक–पटक सांसद तथा मन्त्रीका रूपमा रहेर उहाँले महत्वपूर्ण राजकीय भूमिका निर्वाह गर्नुभएको छ । यही अनुभव र लामो राजनीतिक सक्रियताले उहाँलाई आगामी महाधिवेशनमा नेतृत्वदायी भूमिकामा जिम्मेवारी लिन योग्य बनाएको छ । आनन्दजीलाई सतही रूपमा मात्र चिन्नेहरूका लागि उहाँले गरेका संघर्ष, योगदान र राजनीतिक यात्राका आयामहरू सार्वजनिक रूपमा उजागर हुनु जरुरी देखिन्छ ।
आनन्द पोखरेलको शैक्षिक तथा राजनीतिक चेतनाको मूल थलो रामपुर कृषि क्याम्पस नै हो । त्यो समय पञ्चायती शासनको कठोर दमन चरम सीमामा थियो । यस्तो अवस्थामा अनेरास्ववियुको सङ्गठनात्मक नेतृत्वमा उभिनु सामान्य कुरा थिएन, बरु त्यो अत्यन्त चुनौतीपूर्ण र जोखिमपूर्ण जिम्मेवारी थियो । एकातिर राज्यसत्ताको दमन, अर्कोतिर प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घसँगको तीव्र वैचारिक र व्यवहारिक टकराव, यी दुवैको केन्द्रमा अखिल पक्षधरहरू नै थिए ।
विद्यार्थी राजनीतिमा अत्यन्त सक्रिय भएकै कारण आनन्दजी नेविसङ्घको प्रत्यक्ष निसानामा पर्नुभयो । अखिल छैठौँका नेता मित्रमणि आचार्यको निर्मम हत्या भएको बेला आनन्दजी मुस्किलले ज्यान जोगाएर बाँच्न सफल हुनुभएको थियो । सायद अलिकति मात्र असावधानी भएको भए मित्रमणिको नियति आनन्दजीले पनि भोग्नुपर्ने निश्चित जस्तै थियो । हत्या क्याम्पस परिसरमै भएको थियो र आनन्दजी पनि त्यहीँ उपस्थित हुनुहुन्थ्यो । त्यसैले “अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ” भन्ने हल्ला उहाँको गाउँ जफेसम्म पुगेको थियो । यस्तो भयावह खबर गाउँमा फैलिनासाथ कोलाहल मच्चियो । परिवारमा रुवाबासी चल्यो । त्यो समय न फोनको सुविधा थियो, न छिटो–छरितो चिठीपत्रको आवतजावत । आजको समयसँग तुलना गर्दा त्यतिबेला दोलखा र रामपुरबीचको दूरी केवल भौगोलिक होइन, सम्पर्कका हिसाबले झनै दुर्गम थियो । तर छोराको ज्यान जोखिममा परेको खबर सुन्दा पनि विचलित नभइ धैर्य र साहस देखाउने आमाको उदाहरण हुनुहुन्थ्यो आनन्दजीको आमा रन्धता पोखरेल । उहाँ आफैँ आनन्दजीका सहपाठी जफेका ईश्वरराज कार्कीकहाँ घरमै पुग्नुभयो र सबै कुरा विस्तारमा बुझ्नुभयो। “आनन्दलाई केही हुँदैन, ढुक्क भएर बस्नुस्” भन्ने आश्वासन पाएपछि मात्र उहाँ घर फर्कनुभयो । त्यो आमाको विश्वास, साहस र धैर्य आफैँमा प्रेरणादायी अध्याय हो ।
यति गम्भीर राजनीतिक दमन, पञ्चायतको भौतिक आक्रमण र हत्या हुनेसम्मको जोखिमका बाबजुद पनि आनन्दजी विचलित हुनुभएन । बीएससीएजी अध्ययन पूरा गरेपछि उहाँ गाउँ फर्कनुभयो । सरकारी जागिर, विदेश अध्ययनका छात्रवृत्ति र विभिन्न आकर्षक अवसरहरूलाई पन्छाउँदै उहाँ जफे गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च पदमा उम्मेदवार बन्न तयार हुनुभयो। त्यो पनि आफ्नै हजुरबुवा रामप्रसाद पोखरेलको प्रत्यक्ष प्रतिस्पर्धामा।
“कम्युनिस्ट चुनाव लड्न आयो” भन्ने खबरले सत्तापक्ष खुसी भएन । बरु जसरी हुन्छ उम्मेदवारी दर्ता हुन नदिने, दर्ता भइहाले रद्द गराउने, अनेक षड्यन्त्र र जालझेल रच्ने प्रयास भए । तर ती सबै अवरोध, दुष्कर्म र षड्यन्त्रलाई चिर्दै, संघर्ष र दृढताका साथ अघि बढ्दै आनन्दजीले अन्ततः जनपक्षीय उम्मेदवारका रूपमा प्रधानपञ्चको निर्वाचन जित्नुभयो ।
यो केवल एउटा चुनावी विजय मात्र थिएन, यो दमन, डर र षड्यन्त्रविरुद्ध जनताको विश्वास जितेको ऐतिहासिक संघर्षको परिणाम थियो। तत्कालीन मालेले प्रधानपञ्चको निर्वाचनलाई राजनीतिक रूपमा उपयोग गर्ने स्पष्ट नीतिअनुसार देशभर आफ्ना नेताकार्यकर्ताहरूलाई जनपक्षीय उम्मेदवारका रूपमा चुनावी मैदानमा उतारेको थियो । यही नीतिको कार्यान्वयनका रूपमा आनन्दजी पनि प्रधानपञ्चको निर्वाचनमा जनताको पक्षमा उभिनुभयो । जनताले अपार समर्थन गरे । आनन्दजीको पक्षमा माहोल बन्यो ।
निर्वाचनको मतदान प्रक्रिया चलिरहेकै बेला एउटा स्मरणीय दृश्य घट्यो । तिर्खा लागेर धाराको कलकल बग्ने पानी पिउँदै उहाँका प्रतिस्पर्धी हजुरबुवाले मुस्कुराउँदै भन्नुभयो :
“तिर्खामा पानी पिएर आनन्द भो, अब प्रधानपञ्च पनि आनन्दै हुने भयो ।” त्यो वाक्य केवल पारिवारिक ठट्टा मात्र थिएन, त्यो जनभावनाको सङ्केत थियो । परिणामले पनि त्यही सङ्केतलाई पुष्टि गर्यो । जनपक्षीय प्रधानपञ्चका रूपमा आनन्दजी विजयी भएपछि दोलखामा ‘जनपक्षीय’ नाममै कम्युनिस्ट आन्दोलनको प्रभाव गाउँ–गाउँसम्म फैलिन थाल्यो । स्थानीय राजनीति मात्र होइन, जनचेतना र संगठन विस्तारमा पनि यसले निर्णायक मोड ल्यायो ।
आनन्दजी प्रधानपञ्चकै भूमिकामा रहँदै गर्दा २०४६ सालको ऐतिहासिक जनआन्दोलनको उभार आयो। पञ्चायती व्यवस्था ढल्यो र देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस परिवर्तनकारी कालखण्डमा उहाँ स्वयं गाउँस्तरको जनआन्दोलन र राजनीतिक चेतनाको एउटा महत्वपूर्ण प्रतीक बन्न पुग्नुभयो ।
यसपछि आनन्दजीको राजनीतिक यात्रामा अर्को, अझ गहकिलो कोर्स थपियो । गाउँ–गाउँमा पार्टीको कार्यालय स्थापना गर्नु, जनतालाई पार्टीप्रति आकर्षित गर्नु, र कम्युनिस्ट आन्दोलनविरुद्ध फैलाइएका भ्रम र दुष्प्रचारलाई चिर्नु उहाँको दैनिकी जस्तै बन्यो । निरन्तर, अविचल र समर्पित सक्रियताकै परिणामस्वरूप २०५६ सालमा उहाँ पहिलोपटक दोलखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।
पछि २०७२ सालमा नेकपाका नेता केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा नियुक्त हुनुभयो ।
मन्त्रीका रूपमा प्रभाव : पर्यटन र संस्कृतिमा महत्वपूर्ण मोड
२०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएलगत्तै पोखरेलले ‘भिजिट नेपाल २०२० का पूर्वाधार तयारी’,’धार्मिक–सांस्कृतिक पर्यटन–सर्किट विकास’,
‘पशुपति, बौद्ध, भक्तपुर दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण’‘हवाई सुरक्षा सुधार’,‘अन्तर्राष्ट्रियउड्डयन नीतिका महत्त्वपूर्ण निर्णय’जस्ता काम अघि बढाउनु भएको थियो ।
विशेषगरी कालिञ्चोक–भीमेश्वर क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण,र तामाकोशी क्षेत्रलाई धार्मिक–पर्यटन हब बनाउने योजना उनलाई चर्चित बनाउने काम भयो।
माथिल्लो तामाकोसी ऊर्जा : जनताको लगानी जोगाउने दृढतामाथिल्लो तामाकोसी जलविद्युत आयोजनामा भएको ढिलासुस्ती, अवरोध र प्राविधिक अन्योलका बीच पोखरेलले संसदमै “प्रगति भएन भने आत्मदाह गर्छु” सम्मको चेतावनी दिएपछि आयोजनाले गति पाएको विश्वास धेरैको छ ।लोडसेडिङ अन्त्य हुने आधार तयार गर्नु र दोलखाको आर्थिक रूपान्तरणमा यो आयोजनाको महत्व प्रस्ट देखिन्छ ।
मन्त्री पद सम्हाल्ने क्रममा उहाँले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमार्फत “बुद्ध नेपालमै जन्मिएका मात्र होइनन्, बुद्धत्व पनि नेपालमै प्राप्त भएको हो” भन्ने ऐतिहासिक तथ्यलाई विश्वमञ्चमा स्थापित गर्ने साहसी प्रयास गर्नुभयो।
यति महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दा पनि उहाँले न मुलुकलाई धोका दिनुभयो, न पार्टीलाई, न त दोलखाली जनतालाई । उहाँ मन्त्रालयमा रहँदा भ्रष्टाचारको गन्ध आएको भन्ने कुरा न त्यो बेला सुनियो, न आजसम्म सुनिएको छ । बेस्सरी डुङडुङ्ती गनाउने पात्रहरूको भिडमा आनन्दजी एक निष्कलंक नायकझैँ देखिनुहुन्छ । भ्रष्टाचार र बेइमानीको दुर्गन्धको सानो छिटासमेत उहाँको नामसँग कहिल्यै जोडिन सकेन ।
आनन्दजीका स्मरणीय समयहरू मितिमा
दोलखा जिल्ला सचिव (२०५४–२०५९),बागमती प्रदेश संगठन समिति सदस्य (२०६०–२०७०),केन्द्रीय कमिटी सदस्य, बागमती प्रदेश सचिव (२०७५),प्रदेश संगठन अध्यक्ष (२०७७),पोलिटब्युरो सदस्य तथा संगठन विभाग सदस्य (२०७८–हाल) हाल: काठमाडौं जिल्ला इन्चार्ज ।
राजकीय जिम्मेवारीहरू
जनपक्षीय प्रधानमञ्च (२०४३–२०४6),प्रतिनिधि सभा सदस्य (२०५६–२०५९),पुनर्स्थापित संसद सदस्य (२०६३–२०६४),संविधानसभा सदस्य (२०७०), २०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ।
संविधान निर्माण, कानुन निर्माण, विद्यालय–सडक–पुल–सिंचाइ–खानेपानी–उर्जा परियोजना तथा सामुदायिक अधिकार विस्तारजस्ता क्षेत्रमा उनको उल्लेखनीय योगदान छ ।
अन्तर्राष्ट्रिय अनुभव र कूटनीतिक समझ
४६ भन्दा बढी देश भ्रमणमार्फत अन्तर्राष्ट्रिय अभ्यास, उर्जा नीति, जलवायु कूटनीति तथा विकास मोडेल अध्ययन गरेका पोखरेल ग्लोबल पार्लियामेन्ट फोरम फर इभालुएसनका संस्थापक सदस्यका रूपमा सक्रिय हुनुहुन्छ ।
सार्क, जलवायु न्याय र अन्तर्राष्ट्रिय नेटवर्क निर्माणमा उनको भूमिका उल्लेखनीय छ ।तर राजनीतिमा सत्कर्म जति गरे पनि ईर्ष्या र डाहको सामना भने अपरिहार्य हुँदोरहेछ । पञ्चायती दमन, कांग्रेससँगको कडा प्रतिस्पर्धा र तत्कालीन माओवादी हिंसात्मक गतिविधिसँग जुध्दै निरन्तर क्रियाशील रहनु भएका, छ दशक उमेर पार गरिसक्नुभएका पोलिटब्युरो सदस्य आनन्दजीले अन्ततः आफ्नै घरभित्र अर्को भयावह आक्रमण भोग्नुपर्योl जसलाई ‘जेन–जी’ को नाम दिइयो । भाद्र २४ गते उहाँको घर पनि अग्नि दहनमा पर्यो l
त्यो आगलागीमा केवल इँटा, सिमेन्ट र रड मात्र जलेका थिएनन्। सपरिवारको पसिना, शताब्दी नजिक पुगेका बुबाआमाको श्रम, देश–विदेशका मित्रहरूले दिएका उपहार र सम्मान, गाउँले दाजुभाइ र आफ्ना मतदाताले सुम्पिएका माया र विश्वासका अमूल्य चिनोहरू सबै खरानी बने । छोरा रिननको भागमा त लगाएको हाफप्यान्ट, टी–सर्ट र चप्पल मात्र बाँकी रह्यो ।
यस्ता दुष्कर्म त पञ्चायती व्यवस्थामै भोगेका आनन्दजीले आफैले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थामा आफ्नै घर जलिरहेको दृश्य टुलुटुलु हेर्न बाध्य हुनुपर्यो । तर यस्तो असह्य पीडाले पनि उहाँलाई थकाउन सकेन । “घर जलेको छ” भनेर उहाँ सुस्ताउनुभएन । पार्टी संगठन, लोकतन्त्रको रक्षा र विकासका लागि पाएको जिम्मेवारीप्रति उहाँ आज पनि उस्तै जोश र प्रतिबद्धताका साथ जुटिरहनुभएको छ ।
यही अविच्छिन्न क्रियाशीलतालाई अझ वेग दिन, पार्टीको अझ गहकिलो जिम्मेवारी बोक्न आनन्दजी फेरि एकपटक अघि सर्नुभएको छ । यही सन्दर्भमा उहाँले पार्टीको ११औँ महाधिवेशनमा सचिव पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ - अनुभव, संघर्ष र निष्ठाले खारिएको दाबीका साथ ।
आकर्षक र स्पष्टवक्ता पार्टीप्रति निष्ठावान, अध्ययनशील, मार्क्सवादी अध्येता मुलुक परिवर्तन गर्न हिडेको एक अवृशान्त यद्धालाई यसपटक पार्टीको ११ औ महाधिवेशनबाट सचिव पदमा निर्वाचित गर्न उपयुक्त देखिएको छ ।
लामो-दूरीका-अविश्रान्त-धावक:आनन्द-पोखरेलजीलाई धेरै धेरै शुभकामना !!!
स्मरणीय : लेखक कार्की नेकपा एमाले दोलखा जिल्लाका नेता र ज्येष्ठ नागरिक कोषका पूर्व अध्यक्ष हुनुहुन्छ ।- सम्पादक
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'