प्रचण्डपथ स्खलन,बेइमानी,धोका र विरोधाभासका शृङ्खलाहरू

प्रचण्डपथ स्खलन, बेइमानी र धोकाका शृङ्खलाहरू
भूमिगत जीवनबाट बाहिर आउदै गर्दा प्रचण्ड बाबुरामले भनेका थिए ‘वैद्य, बाबुराम र म लगायत टप लिडर सत्तामा जाँदैनौ’ सैद्दान्तिक स्खलन र बोली र व्यवहारमा तादम्यता नभएको यही भनाइबाट प्रचण्डलाई बुझ्ने कोशिस गरौं l सत्तामा नजाने उदघोषको वैद्य बाहेक बाबुराम र प्रचण्डले बारम्बार उलङ्गघन गरे l प्रचण्ड चार पटक प्रधानमन्त्री बनिसकेका छन् भने आफ्ना विश्वासी अरू लिडरलाई पनि अवसर नै अवसर दिएका छन् l अवसरको असमान वितरण गरेर जनयुद्धको मर्ममा प्रहार गरेका छन् प्रचण्डले l जुन माओवादी जनयुद्धको नीति थिएन l
प्रचण्ड जुनजुन मुद्दा र विषय लिएर राजनीतिमा उदाए, राजा बहिर्गमनको मुद्दा बाहेक अन्य सवाल र मुद्दा छोडेर उनी संकटग्रस्त राजनीतिको दलदलमा फसेका छन् l यद्दपि सत्ता उनको हातमा आउँछ सत्तामा जान प्रचण्ड सबथोक लिलाम गरेर जान्छन् l दिउँसै रात पार्छन l रातमै सूर्य उदाएको घोषणा गर्छन् l माओवादी पोखरीमा जमेर बसेको फोहोर होइन निकास खोज्छ र क्रमभंग गर्छ भनेर भाषण ठोक्छन् र धोकाघडीको निरन्तर शृङ्खलाहरू चलाउँछन् l
टिप्पणीकारहरू भन्छन् : ‘रङ्ग फेर्ने मामलामा प्रचण्ड छेपारोलाई माथ खुवाउने सामर्थ्य राख्छन् l’ २०६४ मा एकल सामर्थ्यमा १२० स्थानमा प्रत्यक्ष चुनाव जित्ने हैसियत भएको माओवादी २०७९ मा आइपुग्दा पाँच दलीय गठबन्धनको बुतामा जम्मा १८ सिट जित्ने नाजुक स्थितिमा आइपुग्यो l यी सबका पछाडि प्रचण्डले गरेको सिद्धान्तहीन राजनीति र समयक्रममा फेरेको रङ्ग,गुमाएको विश्वसनीयता र खेलेको अस्थीर खेलका परिणाम हुन, तथापि प्रचण्डका केही उज्याला पक्ष र गुणहरू पनि नभएका होइनन् तर गुणहरू छायाँमा परेको देखिन्छ l कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन् : प्रचण्डसँग दुई अलग अलग व्यक्तित्व छ. एउटा प्रचण्ड ( जनयुद्धको नायक र अर्को पुष्पकमल दाहाल ( शान्तिका सारथि ) कहिले कुन हावी हुन्छ र मिलन हुन्छ कहिले कुन सक्रिय हुन्छ र विछोड हुन्छ l
अस्थीर राजनीतिको जनक प्रचण्ड
येनकेन प्रकारेण सत्ता प्रधान विषय बनेपछि प्रचण्ड ८९ सिट भएको काङ्ग्रेसलाई जिल्लाएर ७९ सिट भएको एमालेलाई हात लिएर जम्मा ३२ सिट भएको दल सत्ता सयरमा छन् l विगत ७० सालको चुनावपछि पनि तेस्रो ठुलो दलको हैसियतले संसद्को गणितमा आफ्नो दल निर्णायक हुँदा कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न सफल भएका थिए l
सत्तामा जानु र सत्तासीन हुनु मात्रै राजनीति नभएको हुँदा उनले सत्तामा गएर के उपलब्धि देशलाई दिए ? त्यो मुख्य कुरा हो l त्यसको राजनीतिक उत्तर होला तर जनताले पाउने सेवा सुबिधा सरकारको दैनिक डेलिभरीमा कुनै अन्तर आएन l अन्तर नआएको होइन विकृतिको थुप्रो देखियो l अराजनीति मौलायो l अवसरवाद हावी भयो l
राजनीतिक अस्थीरता आज सिद्दान्त बनेको छ l ओलीसँग गएर प्रधानमन्त्री फुत्काएका प्रचण्ड अहिले कांग्रेससँग हल बाँधेर सत्ता चलाई रहेका थिए तर l यो पनि लामो समय टिकाउन सकेनन् र पुन ओलीको शरणमा छन् l
थाहा छैन यो मिलन कतिन्जेल टिक्छ ? कुनै लेखाजोखा छैन l कहीं र कतै भरलाग्दो साथ र गठबन्धन अनि पार्टी एकता समेत प्रचण्डले टिकाउन सकेनन् l माओवादी छिन्नभिन्न भयो l माओवादी राप र ताप यसरी स्खलित भयो कि अब माओवादीको नैतिक पुँजी गणतन्त्रको जनक हुनु बाहेक अन्य देखाउने कुरा बाँकी रहेन l अनप्रेडिकटेवल नेपाली राजनीतिमा कोही छ भने त्यो नाम प्रचण्ड हो l यद्दपि प्रचण्डलाई यसरी जता पनि लडीबुडी गर्ने छुट अन्य राजनीतिक दल तिनका नेता र तिनका स्वार्थको कारण पनि मिलेको हो l यसर्थ अस्थीरताको डल्लै कारण प्रचण्डलाई मात्र भनियो भने अन्य नेताहरू कांग्रेस एमालेलगायतलाई अन्याय हुनजान्छ l नेपाली राजनीतिलाई अस्थीर बनाउन सबै नेतागणको भूमिका छ l हुँदा हुँदा नयाँ र वैकल्पिक शक्ति भनेको रास्वपा पनि सत्तामा जान जतासुकै जाने र जे पनि गर्ने अवस्थामा देखियो l नेपाली राजनीतिको दुर्भाग्य जुनै जोगी पनि कानै चिरेका l
गम्भीर भुल गर्नबाट बचेका प्रचण्ड
जनयुद्दकै क्रममा राजासँग पनि सम्झौताको नीति तय गरिसकेका थिए प्रचण्डले,यदि कम्बोडियाका राजा नरोदम सिंहानुक बन्ने भए राजतन्त्र उन्मुलनको नीतिबाट माओवादी पछि हट्ने संकेत बाबुराम मार्फत ओल्कन लगाएका थिए l
सौभाग्य भनौ गणतन्त्र स्थापनाको जस यिनको भाग्यमा पनि पर्नु थियो गिरिजाप्रसाद ज्ञानेन्द्रसँग क्रुद्द बन्ने परिस्थीति र तत्कालीन राजा ज्ञानेन्द्रको अनिच्छाले राजतन्त्र बिदावारीको अर्को कारण र परिणति बनेर आयो l गणतन्त्र स्थगन प्रचण्डको अर्को सैद्दान्तिक महाभूल टरेर गयो,अन्यथा आफ्नो मूल अभिष्ट राजतन्त्रको समूलनष्ट गर्ने सिद्दान्तबाट प्रचण्डच्युत बन्ने थिए र गणतन्त्रको सबैभन्दा ठूलो हिस्सेदार बन्ने अहोभाग्य यिनको भागबाट खोसिने थियो l
चतुर प्रचण्ड
भारतको निगरानी र प्रत्यक्ष परोक्ष सहभागितमा २०६२ मङ्सिर १२ गते दिल्लीमा १२ बुँदे सम्झौता मार्फत शान्तिपूर्ण मार्ग नरोजेको भए पनि माओवादी जनयुद्द तीव्र दमनको शिकार बन्ने निश्चित थियो l प्रचण्डले बुद्दि पुर्याएको र चातुर्यको अर्को पक्ष हो २०७९ को चुनावमा चितवन छोडेर बाबुराम भट्टराईको चुनाव क्षेत्र गोरखामा जानु र चुनाव जित्नु l उनको जितहारदेखि गणतन्त्र स्थापनाको सवालमा अनेक कोणबाट मत विमत हुन सक्छ तर प्रचण्डले यी कुरामा आफ्नो ब्रम्हको आवाज सुनेका थिए l काठमाडौँ, सिराहा, रोल्पा, चितवन र गोरखा गएर चुनाव क्षेत्र अदल अबदल गरी गरी चुनाव जित्ने नेता प्रचण्ड मात्र हुन् l उनले चुनाव क्षेत्र मात्र फेरेनन् चुनाव जित्ने रणनीति र सारथि पनि अलग अलग रोजेका छन् l
धोकाघडी
प्रचण्डको धोकाको शिकार गिरिजाप्रसाद कोइरालादेखि माधव,केपी, देउवा, उपेन्द्र, रवि र आफ्नै सहकर्मीहरू भैसकेका छन् l देउवा र ओली तीन तीन पटक धोका खानेमा पर्छन् l यद्दपि नेताहरू प्रचण्डलाई बोक्न छोडेका र चेतेका पाइदैनन् l
विश्वासघात र अविश्वासको शृंखलावद्द यात्राबाट नै प्रचण्ड आज यहाँसम्म आइपुगेका हुन् l फकाउन,चिप्ल्याउन खप्पिस छन् प्रचण्ड l युज एण्ड थ्रो प्रचण्डको सबैले प्रत्यक्ष देखेको र अनुभूत गरेको कार्यशैली हो l २०६३ को अन्तरिम संसदमा एमाले बराबर हैसियत ८३ सिट पाएको माओवादी र गिरिजाको साहसिक नेतृत्वकै कारण राजनीतिमा सहज अवतरण गरेका प्रचण्डले राष्ट्रपतिको जेन्टलमेन अग्रिमेंट लत्याएर गिरिजाप्रसादलाई थाङ्नामा सुताएर कांग्रेसलाई आफ्नो चरित्र चिनाएको पहिलो धोका थियो l
माधव नेपालको सरकारलाई कठपुतली सरकार भन्दै निषेधको राजनीति गरे l जबकि तत्कालीन एमाले महासचिव माधव नेपालले गिरिजाप्रसादलाई साथ नदिएको भए माओवादी एकादेशको कथा हुने खतरा थियो l माओवादी जनयुद्द केवल आतंककारी हिँसा भनेर परिभाषित गरिन्थ्यो र दमनले माओवादी क्षिया क्षिया हुन्थ्यो l कुर्सी प्राप्तिलाई सत्ताको चारधाम सम्झेर प्रदक्षिणा गर्न माहिर छन् प्रचण्ड l प्रचण्ड यस्ता प्रवृति र पात्र हुन उनी जहाँ छन जस्तो ठाउँ र परिवेशमा छन त्यस्तै रङ्ग बदल्न सिपालु छन् l यद्धपि प्रचण्डलाई यति धेरै रङ्ग बदल्ने अवसर दिने अन्य दलहरू विशेषत:कांग्रेस एमाले नै हुन् l प्रचण्डले दिएको जति धोका पनि सहने र पुन पुन प्रचण्डकै शरणमा जाने र धोका खाने दलहरूको नियति र नियत पनि खराब छ l
तत्कालीन जसपाका नेता तथा सांसद, हाल जनमत पार्टीका अध्यक्ष रेशम चौधरीलाई टिकापुर हत्याकाण्ड लगाएर जेलमा कोचेको आक्रोसपूर्ण अभिव्यक्ति खेपेका प्रचण्डले आफू रेसमको पक्षमा रहेको र सर्वप्रथम भारत भ्रमणमा जाँदा भेटेर उनको कुरा सुन्ने व्यक्ति भएको दावा गरेका थिए l त्यति मात्रै भनेनन सपथ खुवाएर माननीयको दर्जा दिएको र जेलमा समेत भेट्न पुगेको र अब छिटै रिहाई हुने वचन समेत व्यक्त गरे l
भारत भ्रमण जाँदा हत्या आरोपी रेसमलाई भेटेकोबारे तत्कालीन प्रतिपक्षी दलका नेताले संसदमा प्रधानमन्त्री प्रचण्डको कटु आलोचना गरेका थिए उक्त आलोचनाको जबाफ दिने क्रममा प्रचण्डले भनेका थिए भेट पूर्वयोजना र नियतवस भेट गरिएको होइन l ताज होटेलको त्यो संयोगको भेटलाई प्रचण्डले अलि पछि आफ्नो सदासयताको कारण भएको र रेसमको बारेमा चिन्ता लिएको सफेद झुठ बोले l
२०८० जेठ १५ गते गणतन्त्र दिवसको दिन मन्त्री परिषदबाट आम माफीको निर्णय गराएर रेशमलाई रिहा गर्दा अदालतको तीन तहको फैसलाको खिलाफमा देखिएको छ l सर्वोच्च अदालतमै पुनारावेदनको अवसर हुँदाहुँदै राष्ट्रपतिद्वारा आम माफी गराउनु न्यायको प्रचलित सिद्दान्त विपरित छ l २०७२ सालमा प्रधानमन्त्रीमा ओलीलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले २०७३ असार २९मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुग्यो l त्यसपछि कांग्रेससँग मिलेर सत्तामा गएको र दुई चरणमा २०७४को स्थानीय निर्वाचन गराएर कांगेससँग आलोपालो प्रधानमन्त्री बनेका प्रचण्ड २०७४ मा कांग्रेसलाई जिल्ल्याएर अकस्मात छापामार शैलीमा सङ्घीय र प्रदेश चुनावमा एमालेसँग गठबन्धन गरेर चुनाव लडन पुगे l २०७४ मा नेकपा एमालेसँग पार्टी एकीकरण नै गर्न भ्याए र अब पचास वर्ष मुलुकमा कम्युनिष्ट शासन चल्ने घोषणा गर्न थाले l
त्यता पनि ओलीसँग खटपट चल्यो र ओलीलाई माधव नेपालसँग मिलेर प्रधानमन्त्रीबाट हटाउने देखि पार्टीबाट निकाल्ने सम्मको हर्कत गर्न प्रचण्ड सक्रिय भए र नेकपा फुटाउने र ओली हटाउने मिसनमा सक्सेस बने l २०७९ को स्थानीय चुनाव र संसद्को चुनावमा कांग्रेससँग गठबन्धन बनाएर चुनाव लडेका प्रचण्ड २०८० पुस १० गते नेकपा एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री बन्न पुगे l जबकि कांग्रेस र माओवादी मिलेर चुनाव लडेका र सरकार चलाउने सहमति चुनाव अघि नै भएको थियो l यहाँ पनि आफू प्रधानमन्त्री बन्न उनले कांग्रेसलाई घोडेलात हाने l त्यसको केही समयपछि प्रचण्ड र ओलीको खटपट पर्यो l
पुस १० गतेको सहमति विपरीत प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गर्दा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरियो फेरि यता एमालेलाई धोका दियो माओवादीले l घटनाक्रम फेरि बदलियो फाल्गुन २१ गते एमालेसँग गठबन्धन गर्ने निर्णय गर्दै कांग्रेससँगको गठबन्धन प्रचण्डले तोडिदिए र एमाले माओवादी रास्वपा र जनतासमाजवादीलाई समेटेर नयाँ मन्त्रीमण्डल गठन गरेका छन् l पार्टीको हालत कमजोर झन् कमजोर भए पनि सत्तामा राज गर्ने प्रचण्ड जुक्ति र लज्जाहीन अनुभव गजबको देखिन्छ l
प्रचण्ड डबल स्ट्याण्डर्ड तय गरेर स्वार्थ सिद्दगर्न सिद्धहस्त छन् l विचलन र पलायनलाई सैद्दान्तिक जलप लगाएर समयको माग र बस्तुगत विश्लेषणका आधारमा संश्लेषण गरिएको कदम र मार्गको आवरणमा झुट, बेइमान र भ्रमको पर्दा हाल्न लेस मात्रै पनि संकोच मान्दैनन् l रणनीतिक कौशल र क्रान्तिकारी छलाङ्को झिल्के जामा तत्काल लगाएर निस्कन्छन l आवश्यकताको सिद्दान्तले जन्माएको परिस्थिति भनेर बयानबाजी गर्छन् l
सारथि र मुद्दा छोडेका प्रचण्ड
मोहन वैद्य, बाबुराम, सिपि गजुरेल,नेत्र बिक्रम चन्द ‘विप्लव’,आहुति र गोपाल किंरातीजस्ता माओवादी आन्दोलनका हस्तीहरू सधैँ सँगै राख्न नसक्नुले प्रचण्ड आफ्नै भित्र पनि विश्वासिला नेता होइनन् भनेर बुझ्न सामान्य राजनीतिक चेत भएका मान्छेलाई समेत सहज छ l
शान्ति प्रक्रियाको बलियो र भरपर्दो सारथी कांग्रेसलाई २०६४ पछि किनारमा धकेलेर एमाले र मधेसवादी दलको निकट पुगेको घटना प्रचण्ड अविश्वसनीय खेलाडीको रूपमा चित्रित गर्न मिल्ने प्रमाण हो l राजनीतिमा चर्कोसँग जातीय क्षेत्रीय अनि नश्लीय मुद्दा बोक्ने,उक्साउने अनि क्रमश सबै मुद्दा थाती राखेर आज पहिचान र क्षेत्रीयता भुलेर तीन नम्बर प्रदेसको राजधानी हेटौंडा र नामाकरण बागमती,अनि एक नम्बर प्रदेशको नाम कोसी राख्ने निरङ्कुश चरित्रको प्रदर्शन र विचलनको अगुवा मलामी आफै बने l मधेसवादी र किंरात मङ्गोल, तामाङ्, थारू, मगर, नेवासँग उपयोगिताको राजनीति गरे र सबैसँग विश्वास टुटाउने काम गरे l
प्रचण्डले सबैलाई आफ्नो उपयोगको नीति रहुन्जेल पालै पालो बोके l दलित, मुश्लिम जनजातिलाई जात बमोजिम राज्य दिने घोषणा अब अवसानमा पुगेको कुरा प्रचण्ड कर्मले पुष्टि गरिसक्यो पुनर्पुष्टिका अनेक दृष्टान्त आएकै छन् l
केपी ओलीलाई असाध्यै घृणा गर्ने र भारतीय दलाल, फासिस्ट शासक देख्ने प्रचण्डको आँखाको फुलो पार्टी एकता गर्दै गर्दा हट्यो र एकाएक दृष्टि सफा भयो l छापामार शैलीमा प्रचण्डले शेरबहादुरसँग मिलेर ल्याएको अविश्वास प्रस्ताब अनि के पी सत्ताच्युत गर्ने निर्णय र २०७४ को स्थानीय चुनावमा कांग्रेससँग हातेमालो गर्ने माओवादी केन्द्र अचानक एमालेसँग पार्टी एकीकरण गर्ने अवस्थासम्म पुग्दाको अस्थिरता देख्दा प्रचण्डको सकस अनि नेकपाको कार्यकारी अध्यक्ष हत्याउदासम्म संसय, आशंका र ब्ल्याकमेलिङको कथा रोचक नै देखिन्छ l असार ४ गते समाजवादी मोर्चा गठन गरेर प्रचन्डले काङ्ग्रेलाई झस्काएका थिए l
एकता र कटुता,मिलन र बिछोड केटाकेटी खेल झैँ प्रतित हुन्छ l लोकमानसिंह कार्कीलाई इमान्दार देख्ने र अख्तियार प्रमुखको साँचो थमाउने l गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ भन्ने गीतमा कहिल्यै कम्मर नभाँच्ने प्रचण्ड ‘कि लाउ माया मै तिर, कि लाउ उही तिर’ भन्ने पूंजीवादी गीतमा रेखासँग बबाल नाच्ने प्रचण्ड, बालक आदित्यको चमत्कारिक शक्तिले धार्मिक अनुष्ठानका नायक बनेर पुग्छन l
उत्पीडित क्षेत्र जाति र जनजातिको जातीय मुक्ति र आरक्षणको नारा उराल्ने प्रचण्ड क्षेत्री ब्राम्हण समुदाय पनि आफ्नो लागि आरक्षणको कोटा माग्न जाँदा सैद्दान्तिक सहमति जनाउदै कुम हल्लाउदा अरू जातजातिसँगको सम्झौता र वचन भुल्छन l प्रचण्ड जता गयो उतैको,जो भेट्यो उसैको हुने छद्मभेषी नेता हुन् l सबैको बन्ने स्वभावले यिनी कसैका पनि हुन सकेका छैनन् l संरचनात्मक लाभांस लिएकालाई पनि दलित, महिला र जनजाति बराबरको कोटामा सहमत हुन्छन् l
गरिबका कुरा गर्छन् तर धनीका बंगलामा बस्छन, झुपडीको दर्शन बोक्छन पार्टीको दस्तावेज लेख्न रिसोर्ट चाहर्छंन l कुटनीतिक रूपमा पनि एक अर्को कार्ड प्रयोग गरेको कारण दुई ठूला छिमेकीसँगको सम्बन्ध जहाँ र जुन हाइटमा पुग्नुपर्ने र जति सहज हुनुपर्ने र जति विश्वासको लेवल हाँसिल गर्नु पर्ने हो त्यहाँ पुगेको देखिदैन l
विरोधाभास र प्रचण्ड
प्रचण्ड जे देखिन्छन त्यो होइनन जे छन् त्यो अभिनय मात्रै जस्तो लाग्छ l परस्परमा दुश्मनी , शंका, अविश्वास, दोस्ती र दुर्नियत आरोह र अवरोह पागल घोषणादेखि अंकमालसम्म प्रचण्ड अस्थिर र असन्तुलित बनेका तथ्यहरू हुन l आफू माओवादी सिद्दान्तको जडसूत्रवादी ठेकेदार नभएकोले परिवर्तनशील र ऐतिहासिक आवश्यकता अनि समयको मागलाई सम्बोधन गर्ने ल्याकत भएको डाइनामिक लिडरको उपमाले अस्थिरताको आरोप बचाउको अस्त्र बोल्छन l प्रचण्ड कति अस्थिर र विरोधाभाषपूर्ण जिन्दगीमा छन् भन्ने कुरा बुझ्न उनका वैयक्तिक अभ्यास र शैलीलाई हेर्नु सान्दर्भिक हुन्छ l
ईश्वरको नाममा प्रधानमन्त्रीको सपथ नखाने प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएकै बखत भैंसी पूजा गर्न २०६६ माघमा चतरा पुगे l स्मरण रहोस उनलाई भैसी पूजा गराएर लोक हसाउने व्यक्ति बलात्कारको अभियोगमा पुर्पक्षमा परेर मुद्दा खेपिरहेका सिद्ध बाबाको नामले चिनिने कृष्ण गिरी हुन l २०७५ जेठमा आफ्नो पूर्वजको थलो भन्दै काब्रेको नाला पुगेर कुलपूजामा सरिक बन्दा गर्वानुभूतिको बर्णन सुनाए l यावत घटना र शृंखलाको आधारमा प्रचण्डको व्यक्तिगत जीवन र राजनीतिक जीवनमा वैचारिक स्खलन र सांस्कृतिक रूपान्तरणका थुप्रै घटना र परिबन्दहरू सिर्जना भएका छन् l
प्रचण्डको वैचारिक स्खलनको
श्रीमती सीतालाई उपचारको बहानामा रामदेव बाबाको शरणमा पठाएर गौ पूजा र गौ सेवामा लगाउनु l त्यस्तै अर्को दृस्टान्त हो,बैशाख १०, २०७५ मा आफ्नो पचासौ वैवाहिक वर्ष गाँठमा परम्परागत विवाह गरेर भव्य भोज आयोजना l जनवादी बिहे गर्नु पर्छ भन्ने प्रचण्ड आदर्श कुन दुलोमा विश्राम गर्न पुग्यो आम नेकपा कार्यकर्ताले गर्नुपर्ने केन्द्रीय प्रश्न हो l नेताले आम मान्छेको लागि सहज र सरल हुने संस्कृति निर्माण गर्ने हो l
माओवादीकी पूर्व कार्यकर्ता एवम् कवि निभा शाह आक्रोश पोख्दै लेख्छिन् : प्रचण्ड सांस्कृतिक मिटरव्याजी हुन् l यिनले हाम्रो सांस्कृतिक भावनासँग खेलेर हामी क्याडरहरूलाई सांस्कृतिक अलगाववादमा फसाउँदै हामीलाई टीका संस्कार, संस्कृति कुसंस्कार हो मान्नु हुँदैन, नमान भने l दशैँ तिहार फागु मान्नु हुँदैन भनेर गलत स्कुलिङ् गरे l गाई काट्न लगाए अहिले आफू गेरुबस्त्र धारी बने l
प्रचण्ड तिनै मान्छे हुन जसले मूर्तिपूजाको विरोध गरे,मन्दिरका पुजारीको टुपी काटि दिने,गाई मारेर खान लगाएर गाईको आन्द्राले मन्दिरमा डोरी बेरे जस्तै बेरिदिने,जनै चुँडाइ दिने,देवता छैनन धर्म संस्कृति भनेको पाखण्ड हो, संस्कृत शिक्षा सामन्तवादी व्यवस्थाको वैचारिक शोषणको बलियो हतियार हो जसलाई बहिष्कार गर्दै, समुल नस्ट पार्नुपर्छ भने र संस्कृत पढ़ाइ हुने लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई रूखमा बाँधेर विभत्स मृत्युको उपहार दिए l बुर्जुवा शिक्षाको बहिष्कार गर्न जनताका छोराछोरीलाई उत्प्रेरित गरे र आफ्नो सरकारको पालामा शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने कार्यक्रम बनाए l कापी कलम छोडेर शिक्षा बहिष्कार गर्ने कार्यकर्ताको हकमा शैक्षिक प्रमाणपत्र धितोमा ऋण कार्यक्रम कति पेचिलो र अपमानको विषय बन्यो होला ? माओवादी नेताकार्यकर्ताले हेक्का राख्नुपर्ने विषय थियो l
आम कार्यकर्तालाई सामान्य जनवादी विवाह गर्न उक्साइयो l मृत्युकर्मलाई हिन्दुधर्मको ढोंग भनियो l कतिपयलाई तत्कालीन अवस्थामा कृयाकर्म गर्न रोक लगाइयो l बाबुआमाका कृया गर्न बसेका छोराछोरीलाई कृयास्थलबाट उठाएर लगियो र निर्मम ढंगले मारियो l
नियतिको क्रुर खेलमा प्रचण्ड
प्रचण्ड आफैले बा आमाको कृया गरेनन तर समयको फैसला सँधै कहाँ एकनास हुँदोरहेछ र ? आफ्ना बाबुको मृत्यु हुँदा सुटमा ठाँटिएर लेदरको जुत्ता लगाएर क्रान्तिकारी दागबत्ती दिने प्रचण्ड छोरी ज्ञानुको मृत्युहुदा सामान्य पहिरनमा आर्यघाट पुगेर सार्वजनिक रूपमा आँशु खसाले l
आफ्ना सन्तानको माया कसलाई हुदैन र प्रचण्ड पनि यही धर्तीका अरू जस्तै शारीरिक अवयव भएका मानिस हुन् उनीसँग पनि आँशु ,हाँसो ,सुख ,दुख छ , मानवीय संवेदना छ तसर्थ अररूलाई झैँ उनलाई पनि दुख्ने पोल्ने हुन्छ नै, त्यसैले छोराको मृत्युमा प्रचण्ड जुन वैराग्यमा पुगे त्यो आम मान्छेको गुण हो कम्युनिष्ट नेताको प्रवृति होइन l
देश र आफ्नो भूगोलको सांस्कृतिक चेतना, परम्पराको अटुट शृंखला र धार्मिक आध्यात्मिक भावना एकाएक कहाँ हराउँछ जुन मान्छेको रगतको कण कणमा बगेको हुन्छ जसलाई मेटाउन हटाउन सजिलै सकिन्न जुन कुराको अप्ठ्यारो सिद्दान्तमा जे भने पनि प्रचण्डलाई गहिरोसँग परेको कुरा उनका गतिविधि र परिवर्तनले सङ्केत गरेका छन् l आफूलाई दुख पर्दा मान्छेले पुकार्ने पहिलो नाम आमा र भगवान हो l हामी पूर्वीय दर्शन,शिक्षा, धर्मसंस्कृति र सभ्यताबाट दीक्षित र अनुप्राणित नेपाली हौ l
आफ्नो संस्कृति धर्मप्रति यदाकदा विचलित बने पनि त्यसलाई चटक्क छोड्ने हामीसँग नैतिक तागत र साहस छैन यत्र तत्र सर्वत्र हामी धार्मिक प्रवृति र अनुष्ठानबाट बाँधिएका छौ l जहाँ जाउँ, जसो गरौ हाम्रो व्यवहार , जीवन शैली, पद्दति, आचरण र व्यहारमा धर्म संस्कृतिको गहिरो प्रभाव र अमिट छाप छ जुन विगतको निरन्तरता हो l
एकाध अपवाद बाहेक सांस्कृतिक र धार्मिक ,जीवन शैलीमा बाँच्ने अभ्यस्तता आज पनि उही छ जसलाई आजको भोलि बदल्ने चेष्टा समाज विज्ञानको गतिको नियम बिपरित हुन्छ l हामीले राजनीतिक परिवर्तनको खातिर राजा फाल्यौ तर हाम्रो सांस्कृतिक परम्परा र शैलीमा आज पनि राजाको स्थानलाई नकार्न र त्याग्न सकेका छैनौ l चाहेर नचाहेर राजाको स्थान बनिरहेको हुन्छ l
हामी हर व्यवहारमा, हर जिन्दगीमा सांस्कृतिक निरन्तरताको पक्षमा बाँधिएका छौ जसको पछिल्लो प्रमाण प्रचण्डको विवाह अनि त्यसको सामाजिक र मनोवैज्ञानिक अध्ययन हो l सामाजिक र व्यवहारिक अनि पारिवारिक कारणले हाम्रा आस्था र विश्वास कति छिटो गर्ल्याम गुर्लुम ढल्छन भन्ने कुराको लागि अरू प्रमाण र तथ्य खोतल्नु जरुरी छैन, मार्क्सवादी, माओवादी प्रचण्डमा आएको विचलन हेर्दा पुग्छ l
व्यक्तिको मनोविज्ञान समाजको मनोविज्ञानसँग कसरी जेलिएको हुन्छ ? मान्छे आफूलाई नपरी चेत्दैन भन्ने ताजा उदाहरण हुन प्रचण्ड l आफ्नो बाबुको मृत्यु , छोरीको मृत्यु अनि एक मात्र जवान छोराको मृत्युले प्रचण्डमा जुन बदलाव आयो त्यो हाम्रो धार्मिक सांस्कृतिक मनोविज्ञानको प्रभाव हो l
पिताको देहावसानदेखि छोरीको महाप्रस्थान अनि अकल्पनीय रूपमा एकमात्र छोराको देहान्तले प्रचण्ड अति कमजोर मनोविज्ञानमा छन त्यसैले उनले विगतका आफन्तको मृत्यु वियोग भन्दा फरक रूपमा आफूलाई प्रस्तुत गरे l छोराको दागबत्ती दिदा कट्टर हिन्दुधर्मका अनुयायी झैँ प्रस्तुत भए भलै उनले १३ दिने कृयाकर्म गरेनन् तर एक भौतिकवादी चिन्तक धार्मिक अस्थातिर बिस्तारै झुक्दै र गल्दै,घिसारिंदै पुगे l
यिनको यो स्वीकारोक्ति सांस्कृतिक सामाजिकीकरणको अभिव्यक्ति हो तसर्थ समाज र संस्कृति अनि धार्मिक रुढता एक व्यक्तिले एक चुड्का बजाएको भरमा परिवर्तन हुन कठिन हुन्छ l हिन्दु धर्म र संस्कृति अनि परम्परा सबै एकै होइन् र समग्रमा एकै भनेर बुझिन्छ त्यो बुझाई परिवर्तन गरि यहाँ भित्रका अवैज्ञानिक परम्परा र चलनलाई छोड्नु, परिमार्जन गर्नु र परिस्कृत रूप दिनु आजको टडकारो खाँचो हो l
निषेध र प्रतिशोध गरेर यसमा परिवर्तन खोज्नु मुर्खता हो l यसर्थ प्रचण्ड अब धर्मलाई पाखण्ड र अफिम भन्ने स्थितिमा छैनन् l सामाजिक भएर सोच्नु बुझ्नु र व्यवहार गर्नु आजको प्रचण्ड मनोदशा हो l आत्मिक चैन र शान्ति बिनाको जीवन कसैलाई मन पर्दैन र प्रिय हुदैन अशान्तमनले सँधै दुविधाग्रस्त र शंकालु बनाउछ l
राजनीतिका धुरन्धर विद्वानहरू भन्छन : यदि हाम्रो पूर्वीय धर्म,संस्कृति वेद, पुराण, उपनिषद र महाभारतको यथेस्ट अध्ययन मार्क्सले गरेको भए धर्मलाई अफिम भन्दैन थिए होला l पश्चिमा धर्म संस्कृति र धार्मिक पुस्तक पढेका भरमा मात्र मार्क्स धर्मलाई अफिम भन्ने निष्कर्षमा पुगे यो तर ‘पूर्वीय दर्शन बेद बेदान्तको अध्ययनको समय उनलाई मिलेन यदि मिल्थ्यो भने धर्म र संस्कृतिलाई हेर्ने मार्क्सको दृष्टिकोण विल्कुल फरक हुन्थ्यो होला l’
पारिवारिक शोक सन्ताप र श्रीमती सीताको असाध्यै रोग बिमारको कारण प्रचण्ड होम, जप यज्ञ यज्ञादीसम्म गर्ने स्थितिमा आइपुगे र श्रीमती सीताको निधनमा ( २०८० असार२७ ) अनौपचारिक क्रियाकर्ममा सहभागी भएर भौतिकवादी कम्युनिष्ट हुनुको वैचारिकी परित्याग गरे l
प्रधानमन्त्रीको शपथ दौरा सुरुवाल लगाएर खाए भने दौरासुरुवाललाई आजकल आफ्नो अभिन्न पोशाक बनाएका छन् l गेरु वस्त्र धोती पाटा फेरेर महाकालेश्वरको दर्शन गर्दा इण्डियामा प्रचण्डको जुन चर्चा भएको छ त्यसले उनमा आएको मूलभूत सैद्दान्तिक विचलन छताछुल्ल भएको छ l
हिन्दु धर्मका अनुयायीले जे गरेका छन ती सबै कर्म प्रचण्डले पुरा गरिसकेका हुनाले उनी पूर्णतया विचलनमा पुगेका छन् भन्दा अतिरन्जना हुँदैन l विक्षिप्त मनस्थितिमा रहेका पारिवारिक शान्ति खलबलिएका शोक र संतापाले प्रताडित नेपाली राजनीतिका दुर्भाग्यपूर्ण जीवन बाँचेका एक आम मान्छे हुन् प्रचण्ड l यिनलाई पनि शान्ति र अमन चैन चाहिन्छ l
अनुभूतिको तहमा गहिरिएर प्रचण्डले बुझ्नु पर्ने बुझाउनुपर्ने तथ्य र सत्य के हो भने प्रचण्डको जस्तो मुटु छ त्यस्तै मुटु प्रचण्डको जनयुद्दको कारण सब घर परिवार गुमाएका, विचल्लीमा परेका श्रीसम्पति हरण गरिएका, अनाहकमा मारिएका नागरिक, बेपत्ता, अङ्गभङ्ग भएका तिनका छोराछोरी र बाबुआमा सबैको पनि छन् l तिनका पनि दुखका महासागर छन् , अप्ठ्यारो र दुरवस्थाका दुर्दान्त दिनहरू छन् l
गंगामाया अधिकारीले आफ्नो छोरा मार्नेलाई सजाय देऊ भन्दा भोकै बसेको पति गुमाउनु पर्यो प्रचण्ड कमरेड तपाईले विवाहहको पचासौं वर्ष उत्सव मनाउँदा भोकै मरेका श्रीमानको अन्त्यस्टि गंगामायाको परम्परागत अधिकार भुल्नु हुदैनथ्यो l आफ्नो मृत पतिको अन्तिम बिदाइको हक गंगामायाबाट खोसिनुको मानवीय संवेदना सबैको हकमा बराबर हो, पद ,प्रतिष्ठा इज्जत र रबाफमा निर्धारित हुने कुरा होइन l
चोट पर्दा, हात्ती. मुसा र कमिलाले फरक फरक अनुभूति गर्दैनन् त्यस्तै आफ्नो छोरा काल गतिले मर्नुमा तपाईहरुको पिडा र अनाहकमा जवान छोरा तपाईको बन्दुकको कारण नन्दप्रसाद र गंगा मायाले छोरा गुमाउनुको संवेदेना कुन चै घटी बढी होला र ? तपाईलाई चोट पर्दा जति दुख्छ त्यति नै दुख १७ हजार नेपालीले भोगेका छन्, बहुलाएका छन् विक्षप्त भएका छन् l
यो धर्तीमा बाँच्ने अधिकार उनीहरूको पनि उतिनै थियो जति प्रचण्डका नेता कार्यकर्ताको छ ? त्यसैले प्रचण्ड कमरेड अब नहुनु भै सके आत्माबोध गरेर पछुताउनुको विकल्प छैन अब जे गरे जसो गरे पनि मरे, मारेको ज्यान फर्कदैन त्यसैले क्षमायाचनाको लागि अब कहिल्यै एक नेपालीले अर्को नेपाली नमार्ने कसम खाएर आत्मिक आनन्द र शान्तिको लागि राजनीति छोडेर आध्यात्मिक शान्ति,भाइचारा, पारस्परिक मेल ,सहअस्तित्व र मर्यादाको खातिर बोल्ने, लेख्ने, र अनुभव आदानप्रदान गर्ने र देशको अभिभावक बन्ने समय आएको छ l गणतन्त्र ल्याउन ज्यानको बाजी राखेर लडेका प्रचण्ड गणतन्त्रको असली हकदार भने पक्कै हुन् l
तपाईलाई शान्तिको खाँचो छ l सुनको पलङ्मा सुतेर अनिँदो रहँदा सडक पेटीमा मस्त ढुङ्गाको सिरानी हालेर निदाई रहेका मान्छेलाई सोध्नुस् शान्ति कहाँ छ ? प्रचण्डज्यू तपाईलाई शान्तिको खाँचो छ l अशान्त हृदयले दिने परिचय भनेकै अस्थीरता अन्योल र अराजनीति हो l
स्मरणीय : प्रधानमन्त्री प्रचण्डको फाइल फोटो प्रयोग गरिएको छ l
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l