रास्वपा सरकारमा जाने विषयमा,केन्द्रीय सदस्य गणेश कार्कीको असहमति पत्र
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले आफ्नो पार्टी रास्वपा अनायास सरकारमा गएको र पार्टी सरकारमा जाने निर्णय समाचारहरूबाट थाहा पाएँ भन्दै आफ्नो गुनासो र जिज्ञासा पार्टी समक्ष राखेको पत्र सार्वजनिक गरेका छन् l मैले कुरा फेर्न नजानेका कारण साथीहरूमा पर्न गएको असुविधाको लागि भन्दै कार्कीले क्षमा याचना समेत गरेका छन् l
उनले लेखेका छन् : 'चुनाव अगाडिका हाम्रा रणनीति, हामीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरू, हाम्रा वाचापत्र र केही अगाडि पनि अब यिनलाई बोक्दैनौ भनेको सम्झना भयो भन्दै थपेका छन् : सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर 'जुन जोगी आए पनि कानै चिरेको' भनेर आम नागरिकहरूको निराश मनस्थितिमा हामी अलग छौं अलग रहने छौं र अलग गर्नेछौं भनेर मत मागेका थियौ तर हामी पनि उनीहरू जस्तै छौं भन्न आफ्नै कान किन आफैले चिर्न थाल्यौं मसँग जवाफ छैन'भनेर कार्कीले प्रश्न गरेका छन् l
'अधिकतम २५ जनाको मन्त्रीमण्डलामा प्रतिनिधिसभामा मात्रै २७५ सांसद हुन्छन् l मन्त्री नभइ केही गर्न सकिन्न भन्ने भाष्य निर्माण गर्ने हो भने मन्त्री हुन् बाँकी सांसदहरूको उपस्थिति अर्थ हीन बेकाम्मे भन्न मिल्छ कि मिल्दैन मसँग यसको जबाफ छैन l यस्ता थुप्रै नागरिकका प्रश्न र जिज्ञासाहरू जसको जबाफ मसँग छैन त्यसैले नैतिकताको आधारमा सरकारलाई समर्थन गर्ने कुरामा र सरकारमा जाने कुरामा मेरो असहमति छ l'
आफ्नो असहमति पत्र दर्ता गरिदिन अनुरोध गर्दै पार्टीका कार्यलय सचिवका नाममा रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले रास्वपा सभापति, संसदीय दलको नेता र नेपाली नागरिकलाई बोधार्थ दिएर पत्र सार्वजनिक गरेका छन् : गणेश कार्की द्वारा सार्वजनिक गरिएको पत्र जस्ताको त्यस्तै :
मिति : २१ फागुन २०८०
श्री कार्यालय सचिवज्यू
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय,
घण्टी घर, बनस्थली
बिषय : असहमति पत्र ।
नमस्कार,
हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएछ, समाचारहरुबाट थाहा पाएँ । ... नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको समाचार र सामाजिक सञ्जालहरुमा देख्न पाएँ । चुनाव अगाडिका हाम्रा रणनीति, हामीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरु, हाम्रा वाचापत्र र केहि अगाडि पनि अब यीनलाई बोक्दैनौँ भनेको सम्झना भयो । थाहा छ, एक थान केन्द्रीय सदस्यलाई भएको सम्झनाले पार्टीको निणर्यमा फरक पर्दैन । उसो त अनौपचारिकरुपमा अनेकौँ पटक तथा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा औपचारिकरुपमा सांसदको सरकार बनाउने/ढाल्ने भन्दा अन्य धेरै जनमुखी कामहरु हुन सक्छन्, तिनलाई प्राथमिकता दिउँ भन्ने मेरो धारणाले पनि फरक पारेन । त्यो मेरो व्यक्तिगत धारणामा सिमित रह्यो । तर यसमा मलाई व्यक्तिगतरुपमा अन्याय भएको भन्ने लागेको छैन किनभने स्वयम पार्टी सभापतिबाट व्यक्त भएका असंख्य विचारहरु पनि केवल व्यक्तिगत धारणामा सिमित भएका देखिए । ति संस्थागत हुन्थे भने 'रोक्ने यीनीहरुलाई भनिएका नेताुहरुलाई उनीहरु भन्दा पहिले पुगेर 'जंगलबाट आएकाहरुले पनि जंगलीराज पुग्योु भनिएकाहरुकै 'राज'लाई झन् सहज बनाइन्न थियो कि ! त्यस्तो के बाध्यताले 'रोक्ने भनिएकाहरुलाई नै बोक्ने’ कित्तामा समाहित नभइ जनमुखी काम गर्नै सकिन्न भन्ने निष्कर्षमा पुगियो ? यो प्रश्नको जवाफ मसँग छैन । सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर 'जुन जोगी आए पनि कानै चिरेको' भनेर आमनागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ । हामी पनि उनीहरु जस्तै छौँ भन्न 'आफ्नै कान किन आफैले चिर्न थाल्यौँ ?' यो प्रश्नको जवाफ मसँग छैन । प्रचण्ड नेतृत्वमा कांग्रेस हटाएर एमाले हुँदैमा के फरक पर्छ ? र पुरानाकै नेतृत्वमा सरकार बन्दा कुन आशाको सञ्चार हुन्छ ? यो नखोजी एमालेसँग अंगालो हाल्दै किन बालुवाटार गयौँ ? यसको जवाफ मसँग छैन । अधिकतम २५ जनाको मन्त्रिपरिषद हुने नेपालमा प्रतिनिधिसभामा मात्रै २७५ सांसद हुन्छन् । मन्त्री नभइ केहि गर्नै नसकिने भाष्य निर्माण गर्ने हो भने त्यसले मन्त्री हुनबाट बाँकी रहने २५० सांसदहरुको उपस्थितिलाई अर्थहीन, बेकाम्मे भन्छ कि भन्दैन ? यसको जवाफ मसँग छैन । वाचापत्रमा फाइल खोल्ने भनेर हाम्रो वाचापत्रमा नै लेखिएका मुद्दाहरु ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरु अब के हुन्छन् ? हामीले दस्तावेजमा गरेको गत ५ बर्षको राजनीतिक समिक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै थियो कि के थियो ? त्यसमा संलग्न भनेर विवादित रहेका व्यक्तिहरुकै सहभागितामा यी काण्डहरुको निष्पक्ष छानविन हुन सम्भव होला ? राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनु पर्ने भन्दै वकालत गरेका हामीले आफ्नोतर्फबाट गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउँन सकौँला ? खारेजै गर्नु पर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाइँ भनौँला ? हाम्रो पार्टीको चरित्र हिजो हामीले नै आलोचना गरेका पार्टीहरु भन्दा भिन्न के भयो ? यस्ता धेरै प्रश्नहरु दिमागमा खेलिरहेका छन्, नागरिकहरुले सोधिरहेका छन्, जसको जवाफ मसँग छैन । यी प्रश्नहरुको जवाफ दिन नसके पछि आफ्नो नैतिकताले सरकारलाई समर्थन गर्ने कुरामा सहमत हुन सकिन । यसैले सरकारलाई समर्थन गर्ने वा सरकारमा जाने निणर्यमा असहमत रहेको जानकारी गराउन यो असहमति पत्र लेखेको हुँ । कृपया ! दर्ता गरिदिनु हुन अनुरोध गर्दछु ।
गणेश कार्की केन्द्रीय सदस्य
बोदार्थ : १. सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी
२. संसदीय दलको नेता, राष्ट्रिय स्वतन्त्र पार्टी
३. नेपाली नागरिक
स्मरणीय : गणेश कार्कीको फेस बुकबाट akabarey.com ले फोटो साभार गरेको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...