सत्ता साहचर्य र सामाजिक,राजनीतिक नैतिकता
सत्तासँगको सहवास राजनीतिक पार्टीको प्राकृतिक र नैसर्गिक हक हो । यद्यपि साहचर्यको पनि नियम र अनुशासन हुन्छ । कोसँग साहचर्य ठिक कोसँग बेठिक उसले तय गरेको सार्वजनिक नैतिकता र सामाजिक नैतिकताले निर्धारण गर्छ । बोलीमा जतिसुकै नैतिकता र आदर्शका कुरा फलाके पनि व्यवहारले तुरुन्तै पुष्टि गर्छ कसले कति नैतिकता कायम राख्छ ? सत्ता स्वार्थले नैतिकताको सकस सबैमा देखिने गरेको छ l
जुनसुकै पार्टी, जुनसुकै नेता कानुनले वैध भनेको बेलादेखि सत्तासँगको सहवासमा आँतुर रहन्छन् । सत्ता भोग र वितरणको लागि हो । आजसम्मको घटना, परिघटनाले सत्ता भोग र रास लिलामा सीमित देखिन्छ सत्तासँग नीति र नैतिकता लिएर हिंडेका उदाहरण कमै छन् l समस्याको चुरो यही हो । सत्ता सम्मोहन बाहेक आजसम्म उच्च नैतिकता सहित सत्तालाई वरण गर्ने, त्याग गर्ने घटना अपवाद मात्रै हुन् । सत्तासँग टाढा र नजिक हुन पनि नैतिकताको आवश्यकता पर्दछ l नेपाली राजनीतिमा यो दुर्लभ विषय हो l
रास्वपा,राप्रपा, नागरिक उन्मुक्ति र जनमत पार्टी वैंसालु जोवनले धपक्क बलेका नवजवान युवायुवती जस्तै हुन् । यिनीहरूमा सत्ता भोगको वासना जागृत हुनु अस्वभाविक होइन । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले आलोपालो र संयुक्तरूपमा पटक पटक सत्ताभोग गरेका देखेका पार्टीहरूमा सत्ताभोगको लालसा कसरी अनौठो मान्नु ? नयाँ पार्टी र नेताहरू यही समाजका उत्पादन हुन् l
बारम्बारको सत्ता भोगले कहिल्यै तृप्त हुन नसकेका बुढा ... हरू हुरुक्क भएर ..... ओगटेको देखेका हामी मस्त युवावयको सत्ता सहभोगको इच्छालाई कसरी अप्राकृतिक भन्न सक्छौं ? प्राकृतिक इच्छालाई जोरजबर्जस्त दबाउनु भन्दा स्वभाविक निकासका लागि निमन्त्रणा गर्नु ठिक हो भन्ने तर्क पनि छन् l तथापि निर्लज्ज वरण र अनैतिक सहवास असामाजिक घटना र परिघटना हुन् l
सहवासको तीव्र इच्छा भएपछि समाज, नैतिकता, परिवार,सम्बन्ध, हैसियत र पछि प्राप्त हुने बेस्ट अपरच्युनिटी लात मारेर युवा युवती बिहे गर्छन् । बाउ आमाको सदा वैरी रहेका मान्छेका छोराछोरी पनि आपसमा सहवास गर्छन् , कतिले बिहे गर्छन् र कतिको बिहे अत्यन्तै सफल भएको पनि समाजमा उदाहरण छन् ।
पोखराको लिटरेचर फेस्टिवलमा बन्दुक लिएर मार्न आएका ससुराको म पछि असाध्यै प्रिय ज्वाइँ भएँ भनेर साहित्यकार खगेन्द्र संग्रौला केही वर्ष अघि सुनाएको रोचक दृष्टान्त र प्रेम कहानी पनि छ । वैवाहिक मामला र सत्ताप्रेममा शत्रु मित्र, मित्र शत्रु हुन नहुन सक्छन् l को कहाँ कतिखेर कसको हुन्छ भर हुन्न l त्यसैले सत्तालाई ठेगान नभएको चीजसँग तुलना गरिन्छ l सत्ताको स्वाद जोसँग बसेर लिँदा स्वादिलो लाग्छ त्योसँग बसेर लिने चलन छ l
नेपाली राजनितीमा कांग्रेससँग चुनावी गठबन्धन गरेर २०७९ मा चुनाव लडेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसँग सत्ता सेयर गर्न राजीखुशी भए र जोडिए l चुनाव अघि 'नो नट एगेन' भनेर पुराना दल पुराना नेतालाई असफल,अयोग्य,अपराधी करार गरेर भाषण गरेका रवि लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा कुनै संवैधानिक सङ्कट र बाध्यता बिना नै खुरुक्क उपप्रधानमन्त्री बनेर गए l आफूलाई विश्वासघात गर्ने प्रचण्ड कांग्रेसको लागि विश्वासको मत दिनुपर्ने र बिनामोलाहिजा अँगालो हाल्नुपर्ने प्रधानमन्त्री बने l
प्रधानमन्त्रीमा प्रचण्डलाई बोकेको एमाले राष्ट्रपति चुनावसम्म आइपुग्दा माओवादीसँग विच्केर प्रचण्ड सरकारबाट बाहिरियो l सत्ता पस्दा र बस्दा कुनै नैतिकता नियम र विश्वास नभएर पनि राजनीतिकदलहरू गन्धे राजनीतिको गोलचक्करमा फसेका छन् l नयाँ हुन् या पुराना सत्ता सहवासको लागि कुरकुरे वैंश लागेका केटाकेटी झैं आँतुर र हतारमा देखिन्छन् l
त्यसैले सत्ताको मामिला पनि सामान्य रूपमा लिनुपर्छ । सत्ता, पिरती र युद्धमा नाजायज केही हुन्न रे ।
राजनीति सत्ता विमुख हुन र जोगी बन्न कसैले गर्दैन भन्ने भाष्य उसै बनेको होइन । सबै कहाँ नेपाल मजदुर किसान पार्टी जस्तो राजनीतिमा मुर्ख्याइ गरेर बस्छन् र ? सत्तामा जाँदा पापलाग्ने बिजुक्क्छेजीलाई मात्रै हो । अरू जो जान्छन्, पुण्य आर्जन गरेर फर्कन्छ्न् । नर्कमा रहने बस्ने त नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टी मात्रै हो । चित्रबहादुर केसी समेत सत्ताको चास्नीमा उपप्रधानमन्त्री बनेर फस्न पुगे ।जबकि केसीको राजनीतिक वेट कुनै प्रधानमन्त्री भइ सकेका व्यक्ति भन्दा कम थिएन जरूर बढी थियो l भलै उनी कुनै विवाद र काण्डमा परेनन् तर उनले उपप्रधानमन्त्री बन्नुको औचित्य पनि पुष्टि गर्न सकेनन् l केवल सत्ताको स्वाद मात्र लिए l आफ्नो स्वच्छ छविमा सत्ताको मोहको हिलो लाएर फर्किए l
अहिले फेरि कोसीमा कांग्रेसको एक पक्षले गरेको घातलाई तुष जमाएर बसेका प्रचण्ड एमालेलाई हात लिएर कांग्रेसलाई सत्ताबाट बिदा गर्ने प्रपन्चको तयारीमा रहेको चर्चा छ l यो चर्चा केवल चर्चा मात्र होइन विषयको गंभीरता पनि हो l सरकारमा बस्न सकिएन र पुगिएन भने भोलि आउने अनिष्टले पनि दलहरूलाई घेरेको छ त्यसैले सत्तामा जानु र टिक्नु राजनीतिकदलहरूको आफ्नो स्वार्थ पनि हो l संविधानले प्रत्याभूति दिएको खेल खेल्नु सर्वथा अनौठो विषय पनि होइन l नैतिकताको स्थान नभएको अराजनीतिमा जायज र नाजाय छुट्ट्याउन मुश्कील छ l
कामना गरौ हतारमा जजसले बिहे गरे पनि फुर्सदमा कोही कसैलाई पछुताउन नपरोस् । सबैको घर गृहस्थी सुखमय होस् । भो पुग्यो अब सँगै बस्न सकिन्न भनेर सम्बन्ध विच्छेद गरीसकेका जोडी पनि यदाकदा पुनर्मिलन गरेर बसेका कुरा सुन्न पाइन्छन् । त्यसैले नेपाली राजनीति र सत्तामा कोही बस्ने र छुट्टिने घटना स्वाभाविक नै मानिन्छ l
साहित्यकार सरस्वती प्रतीक्षाले ब्रेकअप एनिवर्सरी पूर्व श्रीमान् सँगै बसेर सेलिव्रेट गरेको र विगतको समीक्षा गरेको कुरा उनले आफ्नो भित्तामा तस्विर सहित पोस्ट गरेको कुरा धेरैलाई जानकारी छ । जिन्दगी जिउने कला जस्तै हो राजनीति,सत्ता र स्वार्थ पनि । स्वार्थ कहिले कोसँग मिल्छ कहिले कोसँग फरक हुन्छ l
सहवास अर्थात् सँगै बस्नु । सन्तान जन्माउने उद्देश्यले विपरीत लिंगीहरूसँगै बस्नु नै वास्तविक अर्थमा सहवास हो । प्राचीन समयमा प्रचलित नियमअनुसार सहवासबाट वंशवृद्धि, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु तथा मानसिक एवं शारीरिक स्वास्थ्य वा सुख हासिल गर्न सकिन्छ भन्ने मानिन्थ्यो l सत्ता साहचर्यको उदेश्य पनि देश विकास सम्मुनति र समृद्धि हो यसको लागि कोसँग सहकार्य गर्ने कोसँग नगर्ने भन्ने सम्बन्धित दलहरूले सोच्ने विषय हो l साहचर्यको नैतिकता दोहोरो हुन्छ l अझ तेहेरो र त्यो भन्दा पनि बढी हुन्छ l यहाँ प्रचण्ड मात्र पनि नैतिकताको लागि प्रश्नीय व्यक्ति होइनन् l नैतिकताको प्रश्न सबै दल र नेताको हकमा लागू हुन्छ l प्रचण्ड प्रवृतिको उत्पादनमा सबै दलहरूको हिस्सेदारी रहेको छ l पवित्रताको मापदण्ड रातारात बन्छन् र रातारात भत्कन्छन् l यसो किन हुन्छ ? किनभने दलहरूसँग निष्ठा र नैतिकता भन्ने जिनिसको अभाव छ l
मानिसले नियमहरूमा बाँधिएर सहवास गरेको खण्डमा ऊ संस्कारी हुन्छ र विभिन्न बाधाव्यवधानहरूबाट मुक्त रहनसक्छ । पशुवत सहवासबाट जीवन नष्ट हुन्छ । झन् हिजोआज त मानिसको सहवास पशुको भन्दा पनि निकृष्ट तहमा पुगेको छ । सहवासमा सदाचारको अभाव छ, नियम एवं लज्जाको मर्यादा लत्याइएको छ । सहवासको पनि आफ्नै नियम छ । बलजफ्ती सहवास गैरकानुनी हो,यस्ता सहवासले दुर्घटना निम्त्याउँछ र सम्बन्धलाई अङ्गभङ्ग गराउने खतरा रहन्छ । सत्ता साहचर्य र सहवास देशको समग्र हितको लागि कामयाबी बन्नुपर्छ l तव मात्र नैतिकताको कसीमा खरो उत्रन सकिन्छ l
नैतिकता, विश्वसनीयता र प्रतिष्ठासँग जोडिने र जोगिने चिज अलि पृथक हुन्छन् । पशुवत सहवासले नैतिकता क्रमशः धराशायी बन्दै गइरहेछ l कसैलाई गाली र लान्छना गर्नु ठिक छैन प्रवृत्ति भने सत्ताको घीनलाग्दो देखिन्छ l
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...