स्वास्थ्य पूर्णतया नि:शुल्क र सर्वसुलभ शिक्षा बनाउने दायित्व अन्तरिम सरकारको काँधमा
अन्तरिम सरकारको आजको प्राथमिक कार्य जनताको जीवनसँग प्रत्यक्ष सम्बन्धित स्वास्थ्य र शिक्षामा ऐतिहासिक निर्णय लिने पनि हो । संविधानले सुनिश्चित गरेको मौलिक अधिकारलाई व्यवहारमा उतार्ने यो सर्वोत्तम अवसर हो । स्वास्थ्यको दायित्व पूर्ण रूपमा राज्यले वहन गर्ने र शिक्षालाई सर्वसुलभ, एकरूप र व्यवहारिक बनाउने दिशामा नीतिगत निर्देशन जारी गर्नु अहिलेको टड्कारो खाँचो मात्र होइन, जनताको आवाज पनि हो । आम जनताको भलाईको लागि निर्णय गर्दा देखा पर्ने आर्थिक समस्या र कानुनी व्यवधानलाई आँखा चिम्लेर अगाडि जानु श्रेयष्कर हुन्छ l किनभने वर्तमान सरकार निर्माण पनि त्यस्तै बाध्यकारी अवस्थाको सिर्जना हो l सर्वजन हितायको पक्षमा काम गर्दा आवश्यकताको सिद्धान्तले सामाजिक वैधता प्राप्त गर्दछ l सामाजिक वैधता भनेको कानुनी, नैतिक र संवैधानिक वैधताको आरम्भ हो l
नेपालमा स्वास्थ्य अधिकारका लागि सर्वाधिक निरन्तर र नैतिक संघर्ष गर्ने व्यक्ति प्राडा. गोविन्द केसी हुन् । सन् २०६९ सालदेखि अहिलेसम्म २३ पटक सत्याग्रहमा २७० दिन निर्जल निराहार बसेर राज्यलाई जिम्मेवार बनाउन खोजे । विडम्बना, उनका मागहरू हरेकपटक वाचा र सम्झौतामा सीमित रहँदै गए । तर अहिले परिस्थिति फरक छ l वर्तमान प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल स्वयं डा. केसी आन्दोलनका अग्रसमर्थकहरू हुन् । यसैले यो सरकारबाट स्वास्थ्य र शिक्षामा ऐतिहासिक नीतिगत कदमको अपेक्षा स्वाभाविक छ । जनताको स्वास्थ्य र शिक्षामा ऐतिहासिक फड्को मार्ने काममा मन्त्रीमण्डलमा सहभागी सबै मन्त्रीहरू एक भएर लाग्नेछन् l जनतालाई प्रत्यक्ष लाभ दिने विषय पनि यहि हो l
सडकबाट बनेको सरकारले सडककै आवाज सुनिनु पर्छ । जनताको स्वास्थ्य, शिक्षा र गरिमा नै वास्तविक लोकतन्त्रको मापन हो । यदि सरकारले निशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा तथा व्यवहारिक शिक्षा सुनिश्चित गर्न नीतिगत निर्णय गर्यो भने, त्यो केवल आजको सरकारको उपलब्धिमा मात्र सीमित हुँदैन l भावी सरकारहरूका लागि बाध्यकारी मानक बन्नेछ । राज्यले गर्ने यस्तो किसिमको घोषणा र व्यवहारिक कार्यन्वयनलाई जनताले भरपूर सघाउने छन् l जनताको स्वास्थ्य शिक्षा र सुरक्षामा गरिने लगानी राज्यको आफ्नो उभिने बलियो धरातल हो l
राज्यले केही आर्थिक भार वहन गर्नुपरे पनि जनताको समर्थन अटुट रहनेछ । बरु भ्रष्टाचार नियन्त्रण र स्रोतको पारदर्शी व्यवस्थापन भयो भने यस्तो नीतिले आर्थिक संकट होइन, सामाजिक स्थायित्व ल्याउनेछ । नागरिकलाई मेरो र हाम्रो राज्य भन्ने भावनात्मक लगाव उत्पन्न गर्नेछ l राज्यले उचित दायित्व निर्वाह गर्दा नागरिकपनि राज्यप्रति विशेष बफादार रहने छन् l राज्यको सम्पतिको सुरक्षा र सम्वर्द्धन गर्न आगाडी आउनेछन् l
डा. केसीको माग र आन्दोलन आज केवल उनको व्यक्तिगत संघर्ष होइन l नेपाली जनताको सामूहिक सपना हो । त्यो सपना पूरा गर्न आजको सरकारले नैतिक, ऐतिहासिक र राजनीतिक साहस देखाउने बेला छ l आम जनताको आवाज र समयको पदचाप पछ्याएर जनतालाई सरकार (राज्य) आफ्नो भएको प्रत्याभूति दिन सुशिला कार्कीको सरकारले अविलम्ब पहल थालोस् l स्वास्थ्य पूर्णतया नि:शुल्क र सर्वसुलभ शिक्षा बनाउने दायित्व अन्तरिम सरकारको काँधमा आएको छ l यो ऐतिहासिक भूमिका वर्तमान सरकारले कुनै पनि बहानामा चुक गर्ने छैन l सरकारलाई दीर्घकालीन हितको काम गर्ने जुनसुकै पनि म्याण्डेड प्राप्त छ l देशलाई माया गर्ने संस्कारको निर्माण गर्न राज्यको जनताप्रति विशेष लगानी जरुरी छ त्यो लगानी शिक्षा स्वास्थ्य सुरक्षा र रोजगारीको वातावरणमा गर्न सकिन्छ l जिम्वेवार नागरिक, नैतिक नेता र अभिभावक राज्य ( सरकार) को अवधारणाको मूर्तरूप दिन अन्तरिम सरकारले खुट्टा कमाउनु हुँदैन l
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...