उपचुनाव,परिणाम र वास्तविकता - चन्द्रप्रकाश बानिया

स्थानीय तहका प्रतिनिधिहरूको विविध कारणले रिक्त भएका स्थानमा भएको उप निर्वाचन मङ्सिर १६ सकियो र परिणाम पनि आइसक्यो । राजनीतिक दलहरूले आआफ्ना पार्टी बैठकहरूमा चुनावी परिणामको गम्भीर समीक्षा गर्दै गर्लान्, त्यस अनुरूप भावी रणनीति तय पनि होला l उपचुनावमा आफ्नो दलले प्राप्त गरेको मत बारे आफू अनुकुल व्याख्या विश्लेषण गर्लान् l तर्क वितर्क गर्लान् l त्यो उनीहरूको कुरा भयो तर आम नेपालीलाई आफ्नो तर्फबाट आफ्नो ब्रम्हको कुरा लेख्ने, विश्लेषण गर्ने पनि अवसर छ l त्यसैले म आफ्नो अभिमत राख्न लागिरहेको छु l
ठूला सञ्चार माध्यमहरूले निर्वाचन परिणामको गहिरो विवेचना गर्ने रुचि राखेको देखिएन । त्यसैले एक
स्वतन्त्र पर्यवेक्षकीय दृष्टिले हेर्दा परिणाम यस्तो देखिँदो रहेछ :
वैकल्पिक भनिएका नयाँ दलहरूप्रति मतदाताले विश्वास गरेनन्।वैकल्पिकको समग्र मत उत्साहजनक देखिएन l
ठूला पार्टीहरूप्रति पनि मतदाताको भरोसा डगमगाएको देखियो र कैयौं स्थानमा मत परिवर्तन भएको पनि देखियो । अर्थात एमाले, काँग्रेस र माओवादीका सिटहरू साटफेर भए l
माओवादी सकियो भन्ने बजारिया हल्ला झुटो रहेछ भन्ने सावित भयो । एक्लाएक्लै चुनाव लड्ने भन्ने नेपाली काँग्रेस र एमाले आफ्नो भनाईमा अडिन सकेनन् । र १०/११ स्थानमा माओवादी केन्द्र विरुद्ध एमाले काँग्रेसले गठबन्धन गरेको देखियो । अझ रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर आफ्नो पार्टीका जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई एमालेले उम्मेदवार बनाएको विशेष परिघटना पनि यो पटक देखियो l
हुनत एमाले त्यस्तो पार्टी हो ऊ आफू अर्काको चुनाव चिन्हमा पनि चुनाव लड्छ र अरूलाई पनि आफ्नो पार्टीको चुनाव चिन्ह दिन हिचकिचाउदैन l यस अघि पनि एमालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आफ्नो सूर्य चिन्ह दिएर मैदानमा पठाएको थियो भने मदेशवादी हृदय त्रिपाठीलगायतलाई पनि सूर्य चिन्हको उमेद्वार बनाएको थियो l यस पटक कांग्रेसको रुख चिन्हको शरणमा एमाले आफै उमेद्वार बनेर लड्यो l
पालिका उपाध्यक्ष पदमा भएको उपचुनावमा माओवादीकी उम्मेदवार नर पुरा बुढा मगरले कांग्रेस एमालेकी उम्मेदवार, संसदका दुई ठुला पार्टी र दुई तिहाई सरकार चलाएका दलकी केशकुमारी तुलाचनलाई पराजित गर्दै फराकिलो जित निकालेकी हुन् । नर पुराले ३६२७ मत ल्याएर उपाध्यक्ष जित्दा सत्तारुढ गठबन्धनकी केशकुमारी तुलाचनले २१२८ मत मात्र पाएकी हुन् । १४९९ मतको अन्तर असामान्य अनात्र हो l कांग्रेस एमालेलाई त्यहाँका जनताले हानेको नमिठो झापड हो l
सत्तारुढ दुई पार्टीहरूले आपसमा तालमेल गरेरै भए पनि माओवादी आफ्नो पुरानो प्रभाव क्षेत्रमा कमजोर भएको छ भन्ने भाष्य निर्माण गर्न सफल भए पनि नयाँ स्थानहरूमा जित निकालेर माकेले क्षतिपूर्ति लिन सफल भएको देखियो ।
काँग्रेस एमालेले साँच्चै एक्लाएक्लै लड्ने हिम्मत गरेका भए माओवादी केन्द्र सबभन्दा ठूलो दलको रूपमा उपचुनावमा देखिँदो रहेछ भन्ने कुरा पनि स्पष्ट भयो ।
माओवादी केन्द्रको स्थिति अपेक्षाकृत राम्रो देखिए पनि त्यसको कारण उसको लोकप्रियता बढेको भने होइन । नेपाली मतदातको रोजाईमा माके पर्नुको मुख्य कारण काँग्रेस र एमालेप्रतिको असन्तुष्टी र नयाँ पार्टीहरुप्रतिको वितृष्णा हो भन्नू अत्युक्ती हुदैन ।
जताततै राप्रपाका उमेदवारहरूको जमानत जफत गराएर नेपाली जनताले राजतन्त्रप्रतिको अरुचि मेटिएको छैन भन्ने कुरा सिद्ध गरिदिएभन्दा अन्यथा पक्कै हुने छैन l धर्मनिरपेक्षताप्रति नेपाली जनमत दृढ रहेको छ भन्ने कुरा पनि मतपरिणामले देखायो ।
यसपटकको उपनिर्वाचनलाई २०८४ को निर्वाचनको लागि मिनि जनमत सँग्रहको रुपमा मान्ने हो भने माओवादीका छरिएका टुक्रासहित अन्य साना कम्युनिष्ट घटकहरू मिलेर माकेको नेतृत्व चुनावी मैदानमा उत्रने हो भने सबैभन्दा ठूलो दलको रुपमा उदाउन सक्ने सम्भावना हाललाई नकार्न सकिन्न l
अथवा समाजवादी मोर्चालाई अझ सुदृढ बनाएर चुनावमा उत्रने तयारी आजैबाट थाल्ने हो भने अझ राम्रो परिणामको सम्भावना स्पष्ट देखियो l केही वस्तुगत आधारहरू तयार भए l
यद्दपि सबै कुराको निर्धारण माओवादीले लिने नीति, तय गर्ने दिशा, पुर्याउने ढङ्ग र जनताले गर्ने विश्वासले निर्धारण गर्नेछ l
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l