मेरो लेखनको मूल ध्येय भन्नु आत्मसन्तुष्टि मात्र हो - निबन्धकार ज्ञानेन्द्र विवश

'मसँग’ एक पृथक स्तम्भ हो ।
यो स्तम्भमा नेपाली वाङ्मयका विविध क्षेत्रका साधक, स्रष्टाहरूसँग सम्वाद गरिन्छ । ‘मसँग’ को दोस्रो अङ्कमा नेपाली वाङ्मयका चर्चित निबन्धकार,कलाकार तथा सामाजिक चिन्तक श्री ज्ञानेन्द्र विवश हुनुहुन्छ ।
नेपाली अमूर्त कलाका उम्दा कलाकार, ललित निबन्धका विशिष्ट व्यक्तित्व. शालीन जीवन-शैली,सरल मिजास र प्राञ्जल भाषाका साधक । नेपाली वाङ्मयमा एक दर्जनभन्दा बढी पुस्तकका सर्जक ।
वि.सं. २०२७ असार १२ गते चिसापानी - ८ खोटाङमा माता विष्णुमैयाँ श्रेष्ठ र पिता धननारायण श्रेष्ठको पुत्र रत्नको रूपमा जन्मनु भएका श्री ज्ञानेन्द्र विवशसँग अकबरे डट कमका साहित्यिक सहकर्मी श्री श्रीबाबु कार्कीले गरेको अन्तर्वार्ताको सार-सङ्क्षेप ।
- ज्ञानेन्द्र दाइ नमस्कार । कसरी वितिरहेको छ आजभोलि तपाईंको दिन-दैनिकी ?
• नमस्कार ! बिहानदेखि बेलुकासम्म अर्थात ओछ्यानबाट बिउँझेदेखि फेरि ओछ्यानमा नपल्ट्युन्जेल व्यस्ततामै मेरो दैनिकी बितिरहेछ । व्यस्ततानै मेरो दैनिकी हो जस्तो मलाई लाग्छ ।
- तपाईंको भर्खरै मात्र 'अर्धकधको अवसान' निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । के छ, यो निबन्ध सङ्ग्रहको विशेषता ?
• मेरो नयाँ निबन्ध सङ्ग्रह अर्धकदको अवसानमा जम्मा ३६ वटा निबन्धहरू छन् । यी प्रत्येक निबन्धहरूमा प्रकृति, प्रेम र जीवनका विविध पक्षहरूलाई मैले भावनात्मक अनुभूतिमा पाठकहरूका लागि एउटा बेग्लै माला उनेर पेश गरेको छु ।
भुँडीपुराण प्रकाशनबाट प्रकाशित यो सङ्ग्रहमा मेरो हृदयको अनेकौं दृष्टिकोणहरू प्रतिबिम्बित भएको महसुस गर्न सक्नुहुन्छ । यो सङ्ग्रहमा हाम्रै मन र मुटुका स्पन्दनहरू छन् । हाम्रै पाखापखेराका सुसाइहरू छन् । हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू छन् । हाम्रै जीवन, समाज र समयका तस्बिरहरू छन् । वास्तवमा यो पुस्तक समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप हो भन्ने मैले ठानेकाे छु ।
- तपाईं त काठमाडौं महानगरपालिकाको जिम्मेवार तहमा पनि हुनुहुन्छ ? कला र साहित्यलाई कसरी समय उभारिरहनुभएको छ ?
• हो, म काठमाडौँ महानगरपालिकाको कर्मचारीका रूपमा कार्यरत छु । त्यसमा पनि वडा कार्यालयको जिम्मेवारीले फुर्सदिलो समय निकै कम हुन्छ । वडामा अनेक किसिमका सेवाग्राहीहरुसँग काम गर्नुपर्छ । मैले उनीहरुसँगको संवाद, विवाद र मिलापमा अनेकौँ अनुभूतिहरुको सँगालोमा आफूलाई हराउँछु । र, पछि तिनैलाई मेरो लेखनको विषय बनाएर लेख्छु । यसरी मेरो लेखन भइरहेकै छ । मैले केही पढिरहेको छु । कार्यक्रमहरूमा कम उपस्थित हुन्छु । तर मेरो साहित्यिक मन सिर्जनधर्मकै कर्ममा तल्लीन छ । यसमै म रमाउन सक्छु, रमाएको छु र रमाइरहन चाहन्छु ।
- तपाईं साहित्यमा नजिकिनुको खास कारण के हो ? जसले तपाईंलाई यो क्षेत्रमा निरन्तर तानिरहेको छ ?
• साहित्यमा म मैले थाहा नपाउँदै लागेको थिएँ भन्ने मलाई लाग्छ । किनभने मैले थाहा पाउँदा नै म केही न केही गरिरहन रुचाउँथेँ । सिर्जनात्मक कर्म मेरो ध्याउन्न हुन्थ्यो । ग्रामीण बालवयका ती विगत दिन र त्यतिबेलादेखि यतिबेलासम्म पनि मेरो साथ साहित्य, कला र संस्कृति छँदै छ । मेरो अभिरुचिले विश्राम लिएको छैन । बरु झन्-झन् समुन्नत उचाइयात्रातिर हिँडिरहेको छ भन्ने मलाई लाग्छ । हुन त मेरो सिर्जनात्मक यात्राले कुनै उपल्लो चुलीको आरोहण गरोस् कि नगरोस् यसमा मलाई कुनै मतलव छैन । तर म सधैँ सिर्जनकर्ममा नै रमाइरहन रुचाउँछु ।
- तपाईंको लेखन सुरुवात कसरी भयो ? तपाईंलाई त धेरैले प्रसिद्ध कलाकारका रूपमा पनि चिन्छन् तर अहिले निबन्धकारका रूपमा बढी सक्रियता देखिन्छ । निबन्ध र कलाकारिता यी दुई परिचयमा कुनमा बढी सन्तुष्ट हुनुहुन्छ ?
• मैले सुरुमा अक्षर चिन्नुअघि चित्र बनाउँथेँ । मेरो रुचि कलाबाट भए तापनि कलालेखनमा लाग्दै निकै वर्ष व्यतीत भए । तर यो कलालेखन विधा अत्यन्त रुखो र अरुचिको विषय हो । त्यसर्थ हाल केही वर्षदेखि मैले निबन्ध र नियात्रामा आफूलाई केन्द्रित गरिराखेको छु । तथापि म निबन्धमा कला घोल्न रुचाउँछु । निबन्धमा कलात्मक पहिचान कायम राख्न चाहन्छु । पाठकले कत्तिको महसुस गर्नुभएको छ मलाई थाहा छैन । तर मेरो निबन्ध वा नियात्राभित्र सदैव कलाकारिताका विम्ब-विधानहरूलाई नै मैले प्राथमिकतामा राखेर लेख्ने गर्छु । यति भनिसकेपछि मेरो अभिप्राय र सन्तुष्टिको मापन सायद यहाँले गर्नुभयो होला भन्ने मलाई लाग्छ ।
- तपाईंले प्रारम्भिक चरणमा देखेको साहित्य र अहिले देखिएको नेपाली साहित्यको परिवेशमा कत्तिको अन्तर पाउनुभएको छ ?
केही अन्तर त अवश्य हुन्छ । तर मेरो अनुभवमा निकै धेरै अन्तर आइरहेको छ दिनदिनै । मूलतः मेरो वयस्क उमेरमा जस्तो पठन संस्कृतिको आज ह्रास भइसकेको छ । किताब पाउनासाथ जुनसुकै विधाको किन नहोस् नपढी चित्तै बुझ्दैनथ्यो चालीस र पचासको दशकसम्म । पढ्नुको भोक यति तीव्र हुन्थ्यो गोरखापत्रको ‘सर्वेभवन्तु सुखिन...’ देखि सूचना, विज्ञापन हुँदै प्रधान सम्पादकको नामसमेत पढिन्थ्यो । साहित्यिक किताब प्रेमको कुरा त उल्लेख गरी साध्य छैन । कैयौँ उपन्यास, कथा, कविता, चित्रकथा, इतिहास आदि पढिए । नेपाली साहित्यका त छँदै थिए । त्यसबाहेक केही अङ्ग्रेजी साहित्य र अझ बढी हिन्दी उपन्यास, कथा र निबन्धहरू धेरै पढियो । दुःखको कुरा आजका पुस्ताले पढेको देख्न नपाउँदा साह्रै नमज्जा लाग्छ । अन्तर भन्नु सायद यही हो कि श्रीबाबुजी ...?!
- सिर्जना क्षेत्रमा लाग्न केले प्रेरणा गराउ“दो रहेछ ?
• यसमा प्रथमतः अभिरुचि हुनुपर्छ । यो अभिरुचि भन्ने कुरा स्वयम् आफैँलाई पनि थाहा नपाइकन हुँदोरहेछ । त्यसपछि परिवेश आफ्नै मन, परिवार र प्रकृति । यति भएपछि लेखन, पढ्नलाई कसैले, केहीले छेक्न सक्दैन । तिनै प्रेरणा र प्रभावलाई क्रमशः हुर्काउँदै, परिष्कृत पार्दै, परिपक्व पक्वान्न बन्न योग्य भएपछि प्रकाशन गर्नुपर्छ । त्यो प्रकाशित सिर्जना सबैको चासोको विषय र सबैले भोगिरहेको, अनुभव गरिरहेको जस्तै लाग्यो भने वास्तवमा त्यो उत्कृष्ट साहित्य हुन सक्छ भन्ने मेरो विश्वास रहेको छ ।
- संसारका कुनै पनि साहित्यकार, विद्वान्, समालोचक र दार्शनिकहरूले साहित्यको सर्वस्वीकार्य परिभाषा दिन सकेका छैनन् । यद्यपि लामो समयदेखि निबन्धमा साधना गरिरहेको निबन्ध साधकका हैसियतले निबन्ध के हो भन्ने लाग्छ ? वा तपाईंलाई चाहिँ कस्ता निबन्धहरूले मस्तिष्कमा गहिरो प्रभाव छोड्छन् ?
• मेरो विचारमा निर्बन्ध अनुभूतिहरूको कलामय अभिव्यक्ति नै निबन्ध हो । जसरी कवितामा आफ्नोपन, कलापक्ष, चोटिलो, खँदिलो अभिव्यक्ति हुनुपर्छ त्यसरी नै निबन्धमा पनि आफ्नै किसिमको मौलिकता लेपन भएको हुनुपर्छ । जहाँ आफू, आफ्नो परिवेश, प्रकृति र तिनमा सिलसिलाबद्ध भावना नदी जस्तै सललल बगेको होस् । आफैँ पाठक भएर पढ्दा पनि बेग्लै आनन्दले ती शब्दहरूमा रसास्वादन गर्न सकियोस् । बस् ....यस्ता निबन्ध पढ्दा मन-मस्तिष्कमा बेग्लै प्रभाव पार्न सक्छ भन्ने मलाई लाग्छ । म मेरा प्रायः निबन्धहरूमा पनि यस्तै रचना पस्किने कोशिश गर्ने गर्छु ।
- ज्ञानेन्द्र विवश निबन्धकार, नियात्राकार, कलासमीक्षक, कलाकार वा एक राष्ट्रसेवक कर्मचारीमध्ये आफूलाई कुन रूपमा चिनाउन पाए हुन्थ्यो भन्ने लाग्छ ?
• मित्र भाइ ! म विचरा विवशले कसरी तपाईको यो जिज्ञासालाई मेटाउँन सकूँला र ! म हिजोदेखि आजसम्म लेख्दै छु, लेखिरहेको छु र बाँचुँनज्याल लेखिरहने छु । म मजस्तो नै भएर चिनाउन चाहन्छु । मेरो लेखनले मलाई जसरी चिनाउँछ त्यसरी नै चिनिनँ चाहन्छु । तथापि म कोही पराई सामु चिनिनँ र चिनाउन चाहन्न । म जहाँ, जे र जस्तो छु अहिले मेरा लागि यही परिचय र यत्ति नै प्रशस्त छ । निबन्ध, नियात्रा, कलानिबन्ध, कलाकारको जीवनकृति, कलासमीक्षा आदि मेरालेखनका विषय र विधा हुन् । जात्रापर्वसँग सम्बन्धित मेरा रचनाहरू पनि प्रशस्तै छन् । डेढ दशकअघि नै ‘१०१ प्रसिद्ध नेपाली जात्रा–संस्कृति विषयक मेरो कृति प्रकाशनको तयारीमा पुगेको थियो , अफसोस सो कृति अझै अप्रकाशित अवस्थमै छ ।
अब रह्यो कर्मचारीका विषयमा । यो त मेरो जीवनको अर्का पाटो भयो । लेखनले खुवाउँदैन । केवल आत्मसन्तुष्टि मात्र हिन्छ । तर राष्ट्रसेवक कर्मचारीको पेशाले काम गरेपछि माम पनि दिन्छ ।
- निबन्धमा पनि धेरै हाँगाहरू छन् । तपाईं ललित निबन्ध, नियात्रा र संस्कृति सम्बन्धी निबन्धात्मक आलेख पनि लेख्दै आउनुभएको छ । तपाईंलाई सन्तुष्टि दिलाउने निबन्धको कुन क्षेत्र बढी प्रभावकारी देख्नुहुन्छ ?
• मेरा लागि लेखनका विधा निबन्ध र नियात्रा नै सन्तुष्टि निम्ति काफी छन् जस्तो मलाई लाग्छ । जहाँ मैले देखे-भोगेका, आत्मानुभूति गरेका अनेक भावनाहरूलाई एउटै मालामा उनेर सुहाउँदिलो शीर्षकमा सार्वजनिक गर्न सक्छु । धेरै विषयहरू छन् लेख्नका लागि कति र कहिले लेख्ने भन्ने ध्यान्न बाँकी नै छ । समय मिलाएर, फुर्सद निकालेर ती विषयहरूलाई अनुकूल शब्दहरूका मिठासमा लिपिबद्ध गरेर यौटा सुन्दर सिर्जना गर्नु गाह्रो पनि छ, सजिलो पनि लाग्छ ।
कहिले निबन्ध लेख्दा धेरै आनन्द मिल्छ । कहिले नियात्रामा भावनाहरू पोख्नुको सन्तुष्टिले आह्लादमय आभास प्रदान गर्छ । वास्तव जुन विधामा लेखे तापनि लेखिसकेपछिको तृप्ति साह्रै मीठो हुन्छ । त्यस बेग्लै मिठासले पुनः अर्को नयाँ सिर्जना लेख्न प्रेरित गर्छ । यसरी आफूले आफैँलाई प्रोत्साहित गर्दै लेख्नु मेरो नियमित कर्म हो । केही न केही नलेखी त म बस्नै सक्दिनँ । हप्तामा कम्तीमा पनि यौटा नयाँ सिर्जना प्रकाशित हुन्छन् ।
- कुनै समय निबन्धमा तपाईंहरू ( श्रीओम श्रेष्ठ ’रोदन’, युवराज नयाँघरे, भीष्म उप्रेती र ज्ञानेन्द्र विवश ) चार जनाले संयुक्त निबन्धकृति पनि दिनुभयो । त्यो सोँच कसरी आयो ?
•|सामूहिक सोंच-विचारकै उपलब्धि थियो त्यो । जुनबेला लेखनका लागि हाम्रा अनुभूतिहरू उर्वर थिए । तारुन्य प्रभाव र प्रहारले लेखन र प्रकाशनको पनि ती दिनहरू अत्यन्त सुखद थिए । त्यही मेसोमा हामीले पनि संयुक्त निबन्धको सँगालो निकाल्ने अठोट गर्याै । गत २०७९ सालमा सो सँगालो प्रकाशनको २५ वर्षगाँठ पनि हामीले मनायौँ । यद्यपि समय गन्तीले २५ वर्षअघिकै योजना लम्बिँदै २०५४ सालमा बल्ल कृति प्रकाशित भएको थियो ।
- नेपाली साहित्यमा सम्मान र पुरस्कारहरू प्रायः विवादित भएको पाइन्छ । अझ पुरस्कार ‘एकहातले दिने र अर्को हातले लिने’ गरिन्छ भन्ने पनि मान्यता छ । यसमा तपाईंको धारणा के छ ?
• मेरो विचारमा पुरस्कार र सम्मान भन्ने कुरा कदापि पनि विवादित हुनुहुँदैन । निष्पक्ष मूल्याङ्कनबाट प्रदान गरिने पुरस्कार तथा सम्मानले सम्मान गर्ने संस्थाकै शिर उचो हुनुपर्छ । तर हामीकहाँ नातावाद, चाकडी, नजिकका प्रिय पात्रलाई खुसी पार्न, चित्त बुझाउन, ऋण तिर्न आदि अनेक स्वार्थ प्राप्तिका निम्ति प्रदान गरिन्छ । यसमा योग्यता, क्षमता, समर्पण, साधना र लेखकीय मौलिकताको कुनै लेखाजोखा नै गरिँदैन । यस किसिमको परिपाठले पुरस्कारको औचित्य र गरिमा गौरवमय हुनुको सट्टा तपाईले भन्नुभएजस्तो अफसोस ‘एकहातले दिने र अर्को हातले लिने’ परम्परा विकसित छ ।
- अहिलेसम्म तपाईंको लेखनको मूल ध्येय तपाईंको ख्याति,लेखकीय आत्मरञ्जना वा समाजप्रतिको उत्तरदायित्व के हो भन्ने ठान्नु भएको छ ?
- तपाईले प्रश्नमा उल्लेख गर्नुभएको कुराभन्दा भिन्न अभिमत छ यसमा मेरो । मेरो लेखनको मूल ध्येय भन्नु आत्मसन्तुष्टि मात्र हो मेरा लागि । यसमा ख्याति, आत्मरञ्जना वा सामाजिक उत्तरदायित्व केही छैन । कसैले ‘लेख’ भनेर म लेख्न सक्दिनँ । कसैले खबरदार ‘नलेख’ भनेर म नलेखिरहन सक्दिनँ । त्यसैले मेरो लेखनको कुनै ध्येय, धोको, ख्याति केही छैन । तपाईले भन्नुभए जस्तै वास्तवमा केवल लेखकीय आत्मरञ्जना मात्र हो । 'स्वान्त सुखाय' भनिन्छ नि हो त्यही । अर्थात् म मेरो लेखनप्रति कसैले जे सुकै प्रतिक्रिया जनाओस् वा नजनाओस् त्यसप्रति मेरो कुनै गुनासो छैन । कसैले मेरो लेखनलाई सर्वोत्तम वा सर्वश्रेष्ठ भनिदिँदैमा मेरो लेखनले रातारात विश्वसाहित्यमा स्थान पाउन पुग्ने होइन ।
- तपाईं आफ्ना अनुज पुस्ताका निबन्धकारहरूबाट कस्तो सिर्जनाको अपेक्षा राख्नुहुन्छ ?
• मेरा अनुज पुस्ताले पढिदिउँन मजाले आफ्ना समकालीन र अघिल्लो पुस्ताका लेखन शैली, शिल्प, प्रस्तुतिहरूलाई । निबन्ध लेख्नका लागि प्रशस्तै विषयहरू छन् । तर आफूलाई पनि खार्नुपर्छ, माझ्नुपर्छ लेखनमा । घुम्नुपर्छ, हिँड्नुपर्छ, पढ्नुपर्छ । आत्मसात गर्दै मनन-महसुस गर्नुपर्छ । जीवन र प्रकृतिलाई गहिराइमा पुगेर चिन्न र बुझ्न सक्नुपर्छ । यति गर्न सक्दा आजका पुस्ताहरूले निबन्ध र नियात्रा विधामा केही न केही नयाँपन आफनो लेखनमा अवश्य ल्याउन सक्ने छन् भन्ने मेरो विश्वास रहेको छ ।
- नेपाली निबन्धमा प्रा.डा. हरूले आफ्नो अहम् र आत्मश्लाघा पोख्ने माध्ययम बनाए अनि निबन्धका गम्भीर पाठकहरू विच्किए / हच्किए भन्नेहरू पनि छन् । के यो यथार्थ हो ? या दोष मात्रै हो, तपाईंलाई के लाग्छ ?
• तपाईका यी विचारसँग म सय प्रतिशत सहमत छु । यथार्थ यही हो ।
- जाँदा-जाँदै मैले सोध्न छुटेको र तपाईंलाई भनौं-भनौं लागेको कुनै विषय थियोे कि ?
• लेखनका विषयमा यति धेरै संवाद र प्रेमपूर्ण संलाप भइसक्यो । बाँकी रहनु भनेको पुनः संवादको क्रम जोड्न हो । यत्तिकैमा समाप्त होइन, हुनु हुँदैन । त्यसर्थ तपाईले सोध्न छुटेका र मैले भन्न बिर्सेका कुराहरू अझ धेरै छन् । अहिलेलाई यतिकैमा छुटिनु राम्रो होला । छुटेका र बिर्सेका कुरा थाँती राखी नयाँ सोँच र सिर्जनाका साथ फेरि भेटिनुपर्छ हामी । मिठो संलापको नवीकरण गर्दै आ-आफ्ना समय र सिर्जनाको समीक्षा गर्न बाँकी छ / गर्दै गरौंला ।
तस्बिर ज्ञानेन्द्र विवशले उपलब्ध गराउनु भएको हो l सम्पादक
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् । यो सात वर्षको अवधिमा जनताले अनुभूति गर्नेगर...
खानी खनिजको सदुपयोग अहिलेको आवश्यकता हो । तर प्राकृतिक स्रोत साधनलाई वन पर्यावरण भनेर खण्डित गरिएको...
समय चिन्ने र समयलाई सदुपयोग गर्ने व्यक्ति मात्र सफल भएको मैले देखेको छु l