एमाले धनमाया विश्वकर्माहरूको रगत, पसिना र श्रमले निर्मित

धनमाया विश्वकर्माहरूको समय पञ्चायतकालीन समय थियो l जतिबेला पार्टीहरूमा लाग्नु, सङ्गठन गर्नु र पञ्चायत तर गतिविधिमा संलग्न हुनु सहज विषय र समय थिएन l त्यसमा पनि दलित समुदायको महिलाको लागि घर छोडेर बाहिर निस्कनु र पार्टी सङ्गठनमा लाग्नु आफ्नै घर र समाजको दृष्टिमा दुर्बोध्य काम थियो l एकातिर समाज र प्रशासनको डर अर्कोतिर आफ्नै घरका मान्छेलाई मनाएर बाहिर निस्कनु जोखिमपूर्ण यात्रा थियो l
धनमाया विश्वकर्माले त्यस्तै जोखिमको यात्रा रोज्नु भयो जसको फल आज उहाँका छोराछोरी पुस्ताको स्वतन्त्रता र लोकतान्त्रिक गणतन्त्रको स्वच्छन्दता पाइरहेका छन् l त्यस अर्थमा धनमायाहरूले गर्नु भएको संघर्षको उपादेयता देखिन्छ l आफू अन्यायमा परेर पछाडि नै रहे पनि राज्यको कुनै निकायमा प्रवेश नपाए पनि लोकतन्त्रको लागि गणतन्त्रको लागि योगदान गर्न पाएकोमा धनमाया विश्वकर्मा गर्व गर्नु हुन्छ l
धनमाया विश्वकर्माहरूको रगत,पसिना र आँशुले प्राप्त लोकतन्त्रको फल खानेहरूलाई लोकतन्त्र कसरी प्राप्त भयो कति दुख,धपेडी,भोक,प्यास,अभाव,ताडना र तपस्या गरेर आएको हो भन्ने थाहा छैन l जसले लोकतन्त्रको लागि लगानी गरेको छैन त्यसको लागि गरिएको दुख र पीडाको अनुभूति हुने कुरा पनि भएन l त्यसैले लोकतन्त्र गणतन्त्रलाई सामान्य अर्थमा बुझ्छन् l तर जसको जीवनको अमूल्य समय जनताको अधिकार स्थापनार्थ बितेको छ उसको लागि लोकतन्त्र जतिसुकै प्रतिकुल स्थितिमा पनि सर्वप्रिय छ l
आफ्नो पार्टी तत्कालीन अवस्थामा नेकपा माले र पछि नेकपा एमालेको सदस्यको रूपमा ४० वर्षभन्दा बढी समयदेखि खटेको, आफ्नो जवानी र जीवनको अमूल्य समय खर्च गरेकोमा धनमायालाई कुनै पश्चाताप छैन l नेकपा एमाले यस्तै समर्पित प्रतिबद्ध पार्टी कार्यकर्ताको कारण जस्तै प्रतिकूल अवस्थामा पनि बलियो छ l सङ्गठनको बल नै नेकपा एमालेको आधार हो l हुन् त कुनै अमुक नेताको नाम लिएर उनको त्याग दूरदृष्टि आदिको कारण नेकपा टिकेको र बलियो बनेको तर्क गरिन्छ तर नेकपा टिकाउने र प्रतिकूल अवस्थामा पनि बचाउने काम धनमाया विश्वकर्मा जस्ता भुइँ तहमा बसेर पार्टी संगठन गर्ने र त्यसको बदलामा कुनै लाभ र लोभको ठुलो सपना नबोकेका नेताकार्यकर्ताको कारण हो l नेकपा एमालेको जग भएर काम गर्ने धनमाया विश्वकर्मा आज akabarey.com को व्यक्ति,चित्र र चरित्रमा समावेश पात्र हुनुहुन्छ l
२०१९ साउन २१ गते सालमा स्याङ्जाको पेलाकोटमा ( हाल गल्याङ् नगरपालिका वडा नं. ७ ) दुर्गाराम विश्वकर्मा र समुन्द्र विश्वकर्माकी छोरी भएर जन्मनु भएकी धनमाया विश्वकर्मा २०४० सालमा अखिल नेपाल किसान सङ्घमा आवद्ध भएर नेकपा मालेको महिलासङ्घको सदस्य हुँदै भूमिगत रूपमा कम्युनिस्ट पार्टीको कार्यकर्ता भएर आजपर्यन्त अनवरत पार्टीमा क्रियाशील नाम हो l उहाँलाई पार्टी संगठन र सम्पर्कमा लैजाने व्यक्ति हुनहुन्छ सिसराम पाठक l
अविवाहित धनमायाको सर्वस्व भनेको पार्टी नेकपा एमाले नै हो l घर परिवार छोराछोरी,भाइ भतिजाभतिजी,श्री सम्पत्ति, सम्पूर्ण अस्तित्व उहाँको पार्टीसँग जोडिएको छ l
विभिन्न माध्यमबाट भूमिगत भएका कम्युनिस्ट पार्टीका मान्छेहरूको सम्पर्क सहयोग र सक्रियतामा तिजको गीतमा जनवादी गीत गाएर नाटक खेलेर, सांस्कृतिक कार्यक्रमहरू गरेर कम्युनिस्ट राजनीति मार्फत जनता जगाउँदै आउनु भएकी धनमाया अहिले ६२ वर्षकी हुनु भयो l उहाँसँग कक्षा १० टेस्ट पासको औपचारिक शैक्षिक योग्यता रहेको छ l आफ्नो बुबाको सानैमा मृत्यु भएको र गरिबीको कारण त्यसभन्दा माथि पढन पाउनु भएन l अनौपचारिक रूपमा जीवन अनुभवका थुप्रै शिक्षा दीक्षा र व्यवहारिक अनुभवको खानी नै छ l २०४६ सालको जनआन्दोलनमा कालो झण्डा राख्दै राती राती पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनमा पार्टीले खटाएको काम गरेर पञ्चायतको पुत्ला दहन गर्ने, जुलुस निकाल्नेलगायतका काम गरेर व्यवस्था फाल्ने सङ्घर्षमा लाग्नु भयो l
धनमायाको घर सेल्टर
बहुदलीय व्यवस्थाको पक्षमा पञ्चायत विरुद्ध सङ्घर्ष गर्नुभन्दा अगाडि भएको चुनावमा जनपक्षीय उमेद्वार उमेशचन्द्र थापालाई जिताउन अहोरात्र खट्नु भयो l जतिबेला कम्युनिस्ट कार्यकर्तालाई आश्रय दिने मान्छे पाउन मुश्किल हुन्थ्यो त्यतिबेला पार्टीका भूमिगत कार्यकर्ताहरू,सांस्कृतिक कार्यक्रमका कलाकारहरूको आश्रयस्थल हुन्थ्यो धनमायाको घर l जुन घर आफैमा सम्पन्न थिएन सोही घरमा भूमिगत नेताकार्यकर्ता र कलाकारलाई खुवाउने सुताउने बन्दोबस्त गर्नु पर्थ्यो जतिसुकै असहज स्थिति भए पनि पार्टीको लागि बन्दोबस्त गर्न पाउँदा आफूले पाएको दुख र अप्ठ्यारोको प्रवाह हुँदैनथ्यो l जनताको मुक्ति दलितको मुक्ति र समग्र व्यवस्था परिवर्तनमा आफूले गर्न सकेको योगदान सम्झेर गर्वकै महशुस हुन्थ्यो र आज पनि हुन्छ l २०४६ को परिवर्तन पश्चात स्याङ्जाको पेलाकोटमा कम्युनिस्ट पार्टीको सदस्य खुला रूपमा बनाउन धनमायाको योगदान विशेष र उल्लेख्य छ l २०५० देखि २०५३ सम्म खानेपानी र सरसफाईको उत्प्रेरक भएर कार्य गरेको कारण समाजसँग घुलमिल हुन् र संगठनको काम गर्न सहज भएको धनमाया बताउनु हुन्छ l
धनमायाको सामाजिक सक्रियता
२०४१ सालमा पेलाकोटमा शिक्षा कार्यालयले योजना गरेको तीन महिने अनौपचारिक शिक्षा कार्यक्रमको व्यवस्थापन समितिमा रहेर गाउँका दिदीबहिनीहरूलाई अनौपचारिक शिक्षा दिएर साक्षर बनाउन भूमिका निर्वाह गरेको l २०४१ सालमा पेलाकोटमा जनप्रगतिशील युवा क्लव गठन गरी कोषाध्यक्ष बनेर जनचेतना र वृक्षरोपण गर्ने काम गरेको l २०४४ सालमा आँधीखोलामा अनौपचारिक शिक्षा सहयोगीको भूमिका गर्दा वृक्षरोपण,फलफूल खेती नर्सरी,तरकारी खेती, धुवाँरहित चुलो,पोषणयुक्त सर्वोत्तम पीठो बनाउने कामको नेतृत्व गरेको l २०४५ देखि २०५० सम्म आँधीखोला परियोजना अन्तर्गत संचालन भएको अनौपचारिक शिक्षाको कार्यक्रममा पेलाकोट, सिर्सकोट,पिंढीखोला तीन दोबाटे,निबुवा खर्क कृष्ण गण्डकी,जगददेवी,तुलसी भञ्ज्याङलगायत ठाउँहरूमा पार्ट टाइम निरक्षणको काम गर्दै अखिल नेपाल महिला सङ्घको सदस्यता वितरण र महिला जागरणको काम पनि सँगसँगै गरेको l महिलालाई असहज थियो पुरषसँग कार्य गर्न र सङ्गठन गर्न त्यसैले २०५० मा कालिका महिला जागरण आमा समूह मार्फत महिला जागरण गर्दै महिलालाई पार्टीमा लाग्न सङ्गठन गर्न सहज स्थिति निर्माण गर्न योगदान गर्नु भयो l महिला जागरण र साक्षरतामा धनमाया विश्वकर्माको जीवन्त इतिहास निर्माण भएको छ l
२०५० देखि २०५३ मा फुल टाइम उत्प्रेरकको भूमिका निर्वाह l २०५४ देखि दाङमा वृक्षारोपण उत्प्रेरक भएर कम गरेको l २०५६ सालमा पिछडिएको समूदाय विकास मन्च गठन गरी उत्पीडित समुदायको आर्थिक सामाजिक शैक्षिक उन्नतिको लागि अध्यक्ष रहेर भूमिका निर्वाह गरेको l २०५६ सालमा हेल्भेटास नेपालको जलस्रोत व्यवस्थापन कार्यक्रमको मूल समितिमा रही खानेपानी कार्यक्रममा क्रियाशील २०६० मा गैरसरकारी संस्था महासंघको उपाध्यक्ष भएर काम गरेको l
२०६० देखि २०६४ सम्म नेपाल राष्ट्रिय निमाविको विद्यालय व्यवस्थापन समितिमा रहेर काम गरेको आदि जस्ता थुप्रै सामाजिक काममा सक्रिय भएर काम गरेको अनुभव रहेको छ l गाउँ घरबाट परदेशी दाजुभाइको चिठी हुलाकबाट ल्याइ दिने र चिठी लेखिदिने काम गरेर समाजका दाजुभाइ दिदीबहिनीको चिठीको प्रतिउत्तर लेखिदिने र हुलाकमा लागि दिने काम गर्दा गाउँका मान्छेहरूसँग सम्बन्ध प्रगाढ रह्यो र पार्टी सङ्गठन महिला सङ्गठनको कुरा गर्न सजिलो भयो l
राजनीतिक सक्रियता
नेकपा एमालेको सदस्यता नं. ७३८२ ( धनमाया विश्वकर्मा पार्टी सदस्यता लिएको नेकपा एमालेको २०४७ पौष ) २०४० साल देखि तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर काम गर्न थाले पनि वैधानिक रूपमा नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्गजाको २०४९ देखि सदस्य हुँदै उपाध्यक्ष हुँदै गण्डकी अन्चल समन्वय समितिको सदस्य सम्मको भूमिका, २०६२, ०६३ को आन्दोलनमा जिल्लामा बसेर आन्दोलनको नेतृत्व गरेको l २०६३ देखि नेकपा एमाले क्षेत्र न. ३ क्षेत्रीय कमिटीमा सक्रिय भएर कार्य गरेको l हाल दलित महिला महासङ्घ केन्द्रीय सदस्य र मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य तथा स्याङ्जा जिल्लाको इन्चार्जको रूपमा राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको छ l
मुक्ति समाजको एक कार्यकाल राष्ट्रिय परिषद सदस्य l २०६२ देखि मुक्ति समाज केन्द्रीय महिला विभागको सदस्य l २०५० सालको उदिया चौर दुध काण्डमा सक्रिय सहभागीजसलाई (लेखक झलक विश्वकर्माले आफ्नो किताब 'राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति') मा पनि उल्लेख गरेका छन् l २०५१ सालको जगत्रदेवी मन्दिर प्रवेश l नेकपा एमाले पेलाकोट गाविसको ३ कार्यकाल सदस्य l जिल्ला कमिटि हुँदै पार्टीको प्रदेश कमिटिको सदस्य,२०५४ मा गाविस र पछि जिविसमा मनोनित भएर २०५९ सम्म स्थानीय निकायमा काम गरेको अनुभव छ l
राजनैतिक सङ्घर्ष र विभेद
आफू बाहिर पिंढीमा र गैर दलित समुदायका मान्छे भित्र बसेर पार्टीको बैठक बसिन्थ्यो l पार्टी भित्र पनि ऊ बेलै विभेद थियो l आफ्नै पार्टीका नेताकार्यकर्ताले पनि विभेद गर्छन् पहिले पहिले प्रत्यक्ष विभेद गर्थे अहिले विभेदको स्वरूप फेरिएको छ तर विभेद गर्छन् अप्रत्यक्ष गर्छन् तर त्यसको सुइँको नपाइने होइन l विभेदका नपुरिने घाउहरू छन् l अपमान र अमर्यादाका थुप्रै घटना दुर्घटना छन् l मान्छेले, मान्छेलाई मान्छेको व्यवहार नगरेका पीडा र दुखका अनगिन्ति कथाव्यथाहरू छन् l आज पनि बेस्सरी चहर्याउँछन् घाउहरू किनभने त्यति दुख गरेर प्राप्त लोकतन्त्र गणतन्त्रको फल दलित समुदायको भागमा यथोचित रूपमा परेको छैन l राज्यका निकायमा दलितको उपस्थिति दारुण नै छ l
प्रतिरोध
चिया खाएर दलितले गिलास माझ्नु पर्ने हुन्थ्यो तर गैर दलितलाई गिलास माझ्नु पर्दैन थियो त्यसैले किनेर चिया खाने ठाउँमा पनि यस्तो विभेद गरेको कारण चियाको गिलास माझ भनेरभन्दा गिलास फालेर प्रतिरोध गरेको प्रतिरोधको इतिहास पनि छ l झट्ट सुन्दा एउटा गिलास फाल्नु के प्रतिरोध जस्तो लाग्न सक्छ तर प्रतिरोध आफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यो नै प्रतिरोध हो l आत्मसम्मानको लडाई हो l त्यही लडाई अन्तर्गत धनमायाले गिलास फाल्नु भयो र समता र मर्यादाको लडाईलाई आफ्नो ठाउँबाट अगाडि बढाउनु भयो l
सहकारी अभियन्ता, मन्दिर पस्ने अभियान, सामाजिक जागरण, छुवाछुत र विभेद विरूद्धको अभियान, साक्षरता अभियान, महिला सिप मुलक र आयमूलक कार्यक्रम साक्षरता अभियान मार्फत राजनीति र समाज सेवामा आज पर्यन्त सक्रिय रूपमा लाग्नु भएकै छ l
बालीघरे प्रथा विरुद्ध सङ्घर्ष गर्दै आरुखर्कको बाँझो जमिनमा दलितको लागि बाँझो जग्गामा उत्पादन अभियान संचालनमा दीपक विश्वकर्मा र लोकदर्शन विश्वकर्मासँगै नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो l
सातुचामल र गुन्द्रुक
सातु, सामल, गुन्द्रुक बोकेर सङ्गठनमा लागेको कुरा आजको युवा पुस्तालाई एउटा कथा जस्तो लाग्छ l उहाँहरूले सातु चालम बोकेर, खाली खुट्टा हिंडेर, भूमिगत रूपमा विभिन्न सेल्टरमा बसेर काम गर्दै कम्युनिस्ट पार्टीको सङ्गठन गर्नु भएको हो l भूमिगतकालमा उहाँ सँगै भूमा विश्वकर्मा पनि सक्रिय हुनुहुन्थ्यो l राजनीति गर्न आज जस्तो सहज थिएन आज फोन मोबाइल इमेल र इन्टरनेट छ सामाजिक सन्जाल छ सजिलो छ तर त्यतिबेला बिजुली बत्ती र मोटरबाटो समेत थिएन, मानिसमा चेतनाको स्तर कम थियो l पार्टीमा लाग्नु जोखिमको कुरा थियो l ज्यान जान सक्थ्यो l सहज रूपमा हिंडडुल गर्न सम्भव थिएन l ज्यानको माया मारेर पार्टीको लागि काम गर्नु पर्थ्यो l
आज पनि सहज छैन दलित र महिलालाई
कम्युनिष्ट भएपछि जातभात भन्दैन, नारी पुरुषमा भेद हुँदैन सबैलाई समान व्यवहार गर्छ, कम्युनिस्ट गरिबका पक्षधर हुन् l अन्याय अत्याचारको विरोध गर्छ भनेर पार्टीमा लागिएको हो l तर आफ्नै पार्टीमा पनि विभेद पाइयो l महिलाको नाममा l दलितको नाममा l गरिबको नाममा l पार्टीले दिने अवसरको समान वितरण भएको छैन दलित महिला र गरिब हुनुको फरक नियति पार्टीका नेताकार्यकर्ताको लागि छ l कहिलेकाहीं यी सब कुराले दुख लाग्छ l पीडा हुन्छ l दलितको मर्यादा र आत्मसम्मानमा आज पनि ठेस लागेकै छ l दलितलाई राजनीतिमा स्थापित हुन सजिलो छैन l यद्दपि आज पर्यन्त पार्टीको झण्डा बिसाएर अन्यत्र लागिएको छैन l जति दुख गरे पनि पार्टीले उपयुक्त जिम्मेवारी र मौका दिएको छैन l आज पार्टीमा धन भएका डन भएका र उच्च जात भनिनेहरूको बोलवाला छ l
दलितसँग प्रयाप्त पैसा पनि छैन चुनाव जित्न पैसा चाहिन्छ त्यसैले पार्टीले कतै चुनावी प्रतिस्पर्धा गराउन मान्दैन l दलितलाई कतै टिकेट दिए पनि जिताउन मान्दैनन् l दलितलाई जिताए दलितलाई नमस्कार गर्नुपर्छ भन्ने हीनताबोध भएको पाइन्छ l आफ्नै अगुवाइ गरेर मन्दिर बनाएको ठाउँमा अहिले कुनै भेदभाव छैन, त्यसमा भने सन्तोष मिलेको आत्मसम्मान प्राप्त गरेको अनुभूति छ l
उहाँले आफ्नो जग्गा दान दिएर पचास लाखको कृषि सहकारी संस्थाको भवन बनाउन योगदान दिएर दाताको छवि पनि निर्माण गर्नु भएको छ l
अन्तरजातीय विवाहलाई सहयोग र समर्थन
गैरदलित र दलितको १० जोडीको सफल अन्तरजातीय विवाह भएको गाविस थियो पेलाकोट l थुप्रै अन्तरजातीय विवाह गर्नेलाई घरमा भित्र्याउन सहयोग गरेकोजस्ता काम गरी अन्तरजातीय विवाहलाई सामाजिक मान्यता दिलाउन र विभेद मुक्त समाज निर्माण गर्न ग्रासरुटबाट योगदान दिनु भयो l
मानवाधिकारवादी,बुद्धिजीवी स्याङ्जा जिल्लावासी शुशील विके भन्नुहुन्छ: सङ्घर्ष र इमानको पर्याय हो धनमाया विश्वकर्मा मैले उहाँलाई यसरी चिनेको छु l' सुशील भन्नु हुन्छ: उहाँ जस्ता सङ्घर्ष र दुख गरेका पात्रलाई समाजमा चिनाउनु पर्छ l इतिहासको उत्खनन गरेर नव इतिहासको रचना गर्नु पर्छ l उहाँको जीवन गाथाले पार्टीलाई पनि सचेत गराओस् र नयाँ पुस्तालाई पनि विगतको दुखको याद दिलाउन र प्रेरणा लिन सहयोग पुगोस् l'
जतिसुकै इमान सङ्घर्ष र दुखको कथा लिएर पार्टीमा समर्पित भएर लागे पनि धनमायालाई पार्टीले उचित मूल्याङ्कन गरेर राजकीय जिम्मेवारीमा पठाएको छैन l नेकपा एमाले २०५४ मा विभाजित हुँदा र २०५२ पछि माओवादीको चर्को दवाब हुँदा पनि धनमाया यताउता हुनु भएन र २०७८ भदौ २ गते पुन नेकपा एमाले विभाजित हुँदा उहाँले नेकपा एमाले छोडने कल्पना समेत गर्नु भएन l एमालेको नेताकार्यकर्ता नै भएर रहनु भयो l
धनमाया विश्वकर्माले आज पर्यन्त पार्टीको लागि समाजको लागि, महिला र दलित समुदायको लागि गर्नु भएको योगदान विशेष र उलेख्य छ l धनमाया जस्ता समर्पित नेताकार्यकर्तालाई पार्टीले उचित मूल्याङ्कन गर्न नसकीरहेको कारण नै पार्टीहरूको आधारभूत चारित्रिक स्खलन भएको हो l त्याग योगदान र समर्पणको मूल्याङ्कन गर्न सक्दा पार्टीहरूमा थुप्रै धनमाया विश्वकर्माहरू जन्मने प्रक्रियाको अन्त्य कहिल्यै हुने छैन l
फोटो स्रोत : धनमाया विश्वकर्मा र सुशील विके
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...