समय चिन्ने र समयलाई सदुपयोग गर्ने व्यक्ति मात्र सफल भएको मैले देखेको छु - कुबेर कार्की

हामीले अकबरेका दश प्रश्न सुरु गरेका छौं । यो शृङ्खलामा समाजका सबै क्षेत्रका मानिसहरूलाई हामी दश प्रश्न सोध्छौं । हामीसँग पहिलो शृङ्खलामा हुनुहुन्छ - दोलखाका पुराना राजनीतिज्ञ / शिक्षासेवी तथा समाजसेवी ९५ वर्षिय जेष्ठजन श्री कुबेर कार्की उहाँले जफेको श्री चनौटे आधारभूत विद्यालय / झुलेमा रहेको श्री अमर माध्यमिक विद्यालयको स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । उहाँ दोलखा जिल्ला पञ्चायत सदस्य र जनकपुर अञ्चल सभापति समेत हुनु भएको थियो l उहाँको जन्म १९८६ पुष ३० गते हालको तामाकोसी गाउँपालिका वडा नं. २ झुलेमा भएको हो l उहाँ अहिले पनि चस्मा नलगाइ पत्रपत्रिका पढ्नु हुन्छ र राजनैतिक घटनाक्रममा अपडेट हुनुहुन्छ l स्वर्गीय सत्यमोहन जोशीसँग काम गर्नु भएका ज्येष्ठजन कार्कीसँग अकबरेडटकमले दश प्रश्न सोधेर आफ्नो शृङ्खलाको सुरूवात गरेको छ l
१. नमस्कार ! आराम हुनुहुन्छ ? आजभोलि कसरी चल्दैछ तपाईंको दैनिकी ?
- नमस्कार आराम छु भन्नुपर्ला । आधा सन्चो, आधा विसन्चो छ सधैं । केही समयदेखि अलिक अस्वस्थ छु । घरमै आराम गरिरहेको छु । हरेकदिन नित्यकर्मबाट दिन सुरुहुन्छ । मनमा भक्तिभाव जागृत हुन्छ । मनमनै भजन गुन्गुनाउँछु । ईश्वरलाई सम्झिन्छु । केही समयअघिसम्म मन्दिर पुग्थें । प्रवचनहरू सुन्थें । अहिले त्यो अवस्था छैन । घरमै बसेर दिन बिताउँछु l
२. तपाईंको जीवनमा सम्झिनै पर्ने कुनै विशेष दिनको स्मृति छ भने सुनाइदिनुहोस् न ?
- याे उमेरसम्म आइपुग्दा पिडाका दिनहरू अनेक छन् । खुसीका दिनहरू पनि हुने नै भए । दु:खका दिनहरू पनि हुने नै भए । विशेष दिनभन्दा दु:खका दिनहरू बढी सम्झना हुन्छ । आफन्तहरू गुमाउँदाको पीडा अलिक गहिरोसँग मनमा गढ्छ । त्यस्तो विशेष दिन म अहिले सम्झन्न पनि ।
३. तपाईंले आफ्नो नियमित काम बाहेक घर-भान्सामा कत्तिको सघाउनु हुन्छ ?
- मैले १०/११ वर्षको उमेरदेखि खाना बनाउन थालेको हुँ । पहिले-पहिले पकाउन जाँगर गर्थें । अहिले पनि यदाकदा चिया / खाजा बनाएर खान्छु । भान्सामा अहिले त सहयोग गर्न सक्दिन पनि तर पहिले जाँगर लाग्थ्यो । तरकारी काट्ने / केलाउँने गर्थें ।
४. तपाईंको परिवारका सदस्यलाई मनपर्ने तपाईंको उत्कृष्ट 'पाककला' के हो ? जो तपाईंको परिवारले मीठो र स्वादिलो मानेर खानुहुन्छ ?
- मैले धेरै कुरा बनाएको छु । परिवारले के मन पराए त्यो त भन्न सक्दिन । तर आफूलाई माछा र ढिडाे बनाएर खाँदा निक्कै मीठो लाग्थ्यो । अहिले पनि आफूलाई चाहिँ ढिडाे मन पर्छ ।
५. तपाईलाई मन नपर्ने कुराहरू
- मन नपर्ने कुराहरू धेरै छन् । त्यो सबै भन्ने कुरा सम्भव छैन । खासगरी दुर्व्यसनीमा लागेको मानिस मलाई मन पर्दैन । कुलतले व्यक्ति आफू मात्रै होइन, समाजलाई नै नराम्रो असर गर्छ । लामो-लामो कपाल पाल्ने । नचाहिँदो फेसन गरेर हिंडेकाे पनि मलाई मन पर्दैन l
६ . तपाईले आफ्नो जीवनमा गरेको उत्कृष्ट कार्य के हो भन्ने लाग्छ ?
- मैले यो गरें,त्यो गरें भनेर आफैले भन्नु राम्रो नहोला l मैले गरेको कुरा समाजले राम्रो नराम्रो भनिदिए हुन्छ l पिताजी ( अमरबहादुर कार्की ) को शिक्षामा ठुलो लगाव थियो l उहाँ ५१ वर्षको उमेरमा नै बित्नु भयो l मैले थोरै भए पनि उहाँका अधुरा काम पूरा गर्ने प्रयत्न गरें l
७. कसैले जीवनको परिभाषामा के रहेछ ? भन्ने प्रश्न गर्यो भनें - तपाईंको उत्तर के होला ?
जीवन अचम्मको हुनेरहेछ । कसैलाई बाँच्न खोज्दा पनि कतै केही सीप नलाग्ने ! कसैलाई जीवनको मोह नहुँदा नहुँदै पनि बाँच्नुपर्ने । अहिले मलाई जीवनको मोह छैन । ईश्वरको यही लीला अनौठो लाग्छ । जीवन आफ्नो वसमा छैन । हामीलाई अदृश्य शक्तिले संचालन गरिरहेको छ त्यो नै अचम्म लाग्छ ।
८. खाने कुरामा सबैभन्दा मन पर्ने खानेकुरा के हो ?
- मैले अघि पनि भनें । म ढिडाे खान खुव मन पराउँछु । मोहीको कडी, फापर वा केराउको साग मलाई मन पर्ने खानेकुरा हुन् । अहिले पनि खाना रुच्दैन, घरमा मेरो लागि ढिडाे नै पाक्छ ।
९. तपाईंले आजसम्म मानवीय सेवाभावले कुनै काम गर्नुभएको छ ?
- पहिले पहिले त मानवीय दु:ख पीडामा सहयोग गरियो । विरामी भएको ठाउँमा रातसाँझ नभनी पुगिन्थ्यो । मरुवा-परुवामा नछुटाउने चलन नै थियोे । कोही विरामी पर्दा बोकेर अस्पताल पुर्याउनु पर्थ्यो । तर अहिले यातायातको सजिलोले भएको छ । अहिलेकोभन्दा पहिलेको समाज अलिक सामाजिक र सहयोगी थियोे ।
१०. तपाईंले आफैंले आफैंलाई कत्तिको चिन्नु भएको छ ? तपाईंलाई समाजले कसरी चिनोस् भन्ने लाग्छ ?
- आफूले आफैंलाई चिन्न त्यति सजिलो छैन । हरेक मानिस फरक-फरक स्वभावको हुन्छ । फरक फरक क्षमताको हुन्छ । मानिसलाई ईश्वरले पनि चिन्न सदैन् भन्छन् । ईश्वरले चिन्न नसक्ने मानिसलाई म कसरी चिनुँ ? आफूले आफूलाई चिन्न सक्नु भनेको पनि ठूलो कुरा हो । अब मलाई समाजले जसरी चिने पनि हुन्छ । यसैगरी चिन्नुपर्छ भन्ने छैन । समय चिन्ने र समयलाई सदुपयोग गर्ने व्यक्ति मात्र सफल भएको मैले देखेको छु l मैले सिकाउने जीवन जिउने मूल मन्त्र यही हो l
फोटो साभार : श्रीबाबु कार्की
कुबेर कार्कीद्वारा लिखित राम नाम :
मेरो लेखनप्रति कसैले जे सुकै प्रतिक्रिया जनाओस् वा नजनाओस् त्यसप्रति मेरो कुनै गुनासो छैन ।
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् । यो सात वर्षको अवधिमा जनताले अनुभूति गर्नेगर...
खानी खनिजको सदुपयोग अहिलेको आवश्यकता हो । तर प्राकृतिक स्रोत साधनलाई वन पर्यावरण भनेर खण्डित गरिएको...