प्रचण्डकै कारण सङ्घीय गणतन्त्र धरापमा - डा. जगन कार्की

गणतन्त्र र सङ्घीयताका लागि आन्दोलन भए, कयौं सहिद भए, १७००० मानिसको ज्यान गयो तर देशमा भनिए जस्तो न सर्वहाराको शासन आयो न जनताको पक्षमा थोरै पनि देखिने गरी काम हुन सक्यो l परिवर्तनको सुखभोग नेताको हकमा देखियो तर सामान्य जनमा खासै देखिएन l
२०४६ सालमा प्रजातन्त्र आएपछि सब समस्या हल हुन्छ भनियो l विकास र आर्थिक स्तरले फड्को मार्ने सपना देखाइयो तर परिस्थति त्यस्तो बनेन/ भएन l सांसद खरिद बिक्री काण्ड, लाउडा, धमिजा काण्डदेखि नेताका आफन्त पोस्ने काम भयो । २०४६ सालमा आएको बहुदलीय प्रजातन्त्रको कालखण्डमा राजनीतिक दलमा आएका सत्ता लिप्साका कारण ९/९ महिने अस्थिर सरकार बने ।
भ्रष्टाचार र अराजकताले माओवादी जनयुद्धलाई मलजल गर्यो, राजतन्त्रलाई फाल्ने षड्यन्त्र बुन्ने जमिन तयार गरिदियो । जनताका समस्या साधन भएनन् फलतः जनता आन्दोलित भएर माओवादी जनयुद्धलाई समर्थन गर्न बाध्य भए ।
माओवादीसँग आस र त्राशले जनता माओवादी जनयुद्धको समर्थनमा देखापरे l तथापि जनयुद्धबाट मात्र पार लागेन देशी विदेशी शक्तिहरूले दलहरू र माओवादीलाई मिलाइ दिए l टाउकाको मूल्य तोक्ने र तोकिने एक ठाउँमा आएर आन्दोलन चर्किएपछि १२ बुँदे समझदारी बन्यो । राजा मार्फत संसद पुनर्स्थापना गराइयो, पुनर्स्थापित संसदले राजालाई फालिदियो । झण्डा, राष्ट्रिय पोसाक फेरने अनेक नौटंकी हल्ला चलाईए नयाँ नेपालको हौवा चलाईयो जनताले फेरि धोका नै पाए । नेतालाई शान्ति र क्रान्तिका नाममा बिदेशी एड देखि क्यान्टोनमेन्टसम्म कमाइका धन्दा बने ।
यसरी एकले अर्कोलाई मौकामा धोका दिएर उथलपुथल गर्दै अघि बढेको व्यवस्थाको जग बलियो थिएन, सधैँ हल्ली रहयो र उथलपुथलको अनवरत शृंङ्खला जारी छ l राजा फालेर संविधान सभा पछि देशलाई स्वीजरल्याण्ड बनाइने सपनाले जनता आन्दोलित थिए, जम्बो संविधानसभा २ कार्यकाल अरबौं रकम दोहन गरेर संविधान जारि गरियो । जनतासँग प्रसस्त सुनुवाई नगरी हठात ठेलेर, पेलेर र जनताले दिएका दिन भ्याएका सुझावलाई पनि रद्दीको टोकरीमा फ्याँकेर, कतिपय विषय जनताका भावना विपरित संविधानमा उल्लेख गरियो l फास्ट ट्रयाकमा बनेको संविधानले ल्याएको वर्तमान व्यवस्थाको मुख्य उपलब्धि गाउँका चप्पले सरकारहरू प्रदेश मन्त्री र मुख्य मन्त्री बनेर ६-६ महिनामा म्युजिकल चेयर खेलेका छन् । जुन दुर्भाग्यपूर्ण छन् l
यसै बीच कम्युनिस्ट पार्टीहरूको एकताको उथलपुथल भयो, बहुमतको सरकार र स्थायित्वले देश बन्ने अर्को फ़ण्डा ल्याईयो । आखिर बहुमतको सरकार बन्दा पनि स्थायित्व आएन l सत्ताको लोभ र लुछाचुडीले पार्टी फुटेर निरन्तर किचलो झिकीरहे र उनिहरूकै हालीमुहाली इसारामा देश चलेको छ ।
हाल ४६ साल पछि जन्मिएका नवसामन्तहरूको कब्जामा देश परेको आभास हुन्छ । नयाँ व्यवस्था र नेपाल र उन्नत भनेर बनाईएको संविधान अनुसार चलेको गणतन्त्र नेपालमा पनि गणतन्त्रका १६ बर्षमा १३ सरकार बने, नेताहरूका रहर पूरा भए जनता रैतीबाट माथि उठन सकेनन् । यसले यिनीहरूको नियत राजा फाल्ने, सामान्तवादको अन्त्य गर्ने नरहेको तर आफै राजा र सामन्त बन्ने ध्येय रहेको व्यवहारले प्रस्ट हुन्छ । जस्तै पारिवारिक विरासत फाल्ने, जनताको मताधिकारले नेता चुनिने एक पटक योगदान गरेपछि नैतिक रूपमा अरूलाई सत्ता सुम्पिने लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उड़ाएका छन् l प्रजातान्त्रिक मूल्य र मान्यताको पगरी गुथाएर हुने नहुने सबै गरेका छन् l
हालको यस्तो खिचडी चुनावी व्यवस्था र राजनीतिक कुकर्मले जन्माएको मास फ्रस्टेसनबाट दैनिक २ हजार हाराहारीमा युवा देश छोडेर भाग्न बाध्य पारिएका छन् । पलायन रोज्न विवश छन् l टाठाबाठाले सहकारी कब्जा गरेका छन्, बैंक मालिक र व्यापारी एकै छन l लघुबित्तको नाममा गरिबका धन बन्धक छन, वित्तीय पासोमा गरिव जनता परिरहेका छन् । सत्ता प्राप्त गर्नु भनेको सार्वजनिक सम्पत्तिको दोहन गर्ने र जनतामा दलाल र भ्रष्टहरूका व्यापारिक अभीष्ट लागूगर्ने लाइसेन्स प्राप्त गर्नु हो भन्ने भाष्य निर्माण गरिएको छ ।
यी नेतालाई न विकासको चिन्ता छ न जनताका दैनिक समस्याको चिन्ता । ४६ साल पछिका नेतृत्वले त गति छाड़े नयाँ आएका पनि सत्ता पाए ७ खून माफ़ हुने भ्रममा देखिनु पक्कै गतीलो सङ्केत होइन । यसले अनिष्ट निम्त्याउने खतरा रहन्छ l
फ्रान्सिस्को फुकुयामाले पुराना नेताको आन्दोलन र त्यागको नाममा नयाँ संभ्रान्तहरूले लोकतान्त्रिक प्रणाली क्याप्चर गरेर संगठित लुट मच्चाउने परिपाटीले राज्यहरू असफल बन्ने गरेको दृष्टान्त प्रस्तुत गरेका छन् । यसर्थ यसबाट लोकतन्त्रलाई बचाउन बलिया र संगठित राज्यका संरचनाहरूको जरुरी रहेको उनि प्रस्ट्याउछन्। फुकुयामाले भने झैं नेपालमा आख़्तियार, अदालतनदेखी विश्ववि द्यालय सम्मको अराजनीतिक हस्तक्षेप र भागबन्डा छ । अख़्तियार भ्रष्टचार छोप्न प्रयोग भएको दलीयतन्त्रको अस्त्र भएको छ ।
ठुलो आश्चर्य चाहीं देशलाई स्वीजरल्याण्ड बनाउँछु, जनताको पक्षमा लड़छु अधिकार स्थापना गर्छू भन्ने प्रचण्ड आफै सत्ता लिप्सामा चुर्लुम्म डुबेका छन् l उनका कार्यकर्ता पुँजीवाद र सुनका भरिया बनेका छन । सङ्घीयताको गलत अभ्यासले नागरिक अवाक छन । विदेशी शक्ति एमसीसी बीआरआई जस्ता रणनीतिक योजना लिएर आएका छन । छिमेकमा हिन्दुत्वको नाममा सत्ताको दरो पकड़ जमेको अवस्था छ । उथलपुथलका नाममा प्रचण्डको कम्युनिस्ट एकता, चाइनासँगको मुण्टो जोड़ाइ र सहयात्री कांग्रेसलाई धोका दिएको परिप्रेक्षमा राजावादी शक्तिले निर्णायक भन्दै व्यवस्था फेर्ने आन्दोलनको सुरूवात गरेको छ ।
जसरी कांग्रेस माओवादी मिलेर राजतन्त्र गयो, अब कांग्रेस, राजावादि शक्ति र दक्षिण छिमेकीको रणनीतिक स्वार्थ एक ठाउँमा आउने राजनीतिक भूगोल प्रचण्डको सत्तालिप्सा र सत्तास्वार्थले तयार गरिदिएको छ l तीन-तीन महिनामा सङ्घीय सरकार परिवर्तन गरेर जनतालाई व्यवस्थादेखि वितृष्णा उत्पन्न गर्ने र अवाक पार्ने प्रमुख पात्र प्रचण्ड नै हुन् । प्रचण्डकै कारण सङ्घीय गणतन्त्र धरापमा छ भन्ने निस्कर्ष निकालियो भने अन्यथा हुने छैन l जसरी राजतन्त्र अन्त्यको लागि पूर्वराजा ज्ञानेन्द्रको शक्ति र सत्ताको महत्वाकांक्षा सहयोगी बन्यो त्यसरी नै सङ्घीयता विगठन बन्ने परिस्थति प्रचण्डका अराजनीतिक हर्कत नबन्लान भन्न सकिन्न l
अबको निकास : जनतामा भ्रम मुक्ति र सचेतना
प्रथमत: जनतामा देशमा विद्यमान समस्या र छु मन्तर गरेर हल गर्ने हिरोको खोजीमा ग़लत व्यक्ति र प्रवृत्तिलाई प्रोत्साहन गर्ने क्रम रोकिनु जरुरी देखिएको छ ।
सौताको रिसले पोईको काख विगार्ने नेपाली उखान झैं एक ग़लत प्रवृत्तिको अन्त्य अर्को अराजकलाई मलजल गरेर पटक्कै समाधान प्राप्त हुदैन ।
ठुलो त्याग र बलिदानले प्राप्त लोकतान्त्रिक व्यवस्थाले दलित,उत्पीड़ित,जाति र जनजातिका अधिकारको संरक्षण गरेको छ । निरङ्कुश राजतन्त्रहुँदा पनि राजनीतिक स्थायित्व हुँदा राजा महेन्द्रले पञ्चायत कालमा पनि प्रसस्त विकास गरेका थिए । यसर्थ राजनीतिक स्थायित्व कायम गर्न अब दुई ध्रुवका समाजवादी कित्ता र पुँजीवादी ध्रुवका दलहरूलाई राखेर च्याखे थाप्ने दलहरूको उन्मूलन गर्नुपर्ने आवश्यकता टडकारो देखिएको छ, यो पहिले विद्यमान ठूला दलका डनहरबाट उन्मुक्तिका लागि कार्यकर्तामा जागरण अत्यावश्यक देखिएको छ ।
हालको मुख्य समस्याहरू लोकतान्त्रिक पद्दति र राजनीतिक दल क़ब्ज़ा गरेर बसेका ४६ साल पछि निरन्तर दल र सरकार चलाई सकेका परीक्षित अनुहारहरू हुन् । यसमा नामै लिँदा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाललगायतका नेताहरूको क़ब्ज़ाबाट उन्मुक्ति पाए अहिलेको व्यवस्था पनि क्रमश सुधार उन्मुख हुने देखिन्छ । यी बाहेक पनि अन्य समस्याग्रस्त व्यक्तिहरू छन् तर तिनबाट दलहरूले विस्तारै निकास पाउने देखिन्छ । दलहरू, व्यवस्था होइन व्यक्ति र प्रवृत्ति खराब देखियो । जसरी हाल देउवा पत्नी भारत पुगेर लम्पसार पर्न तयार भएकी छन् उसै गरी हरेक भ्रष्ट र सत्तालिप्सालाई नङ्गयाएर बसी नसक्ने पार्ने र एकपटक योगदान गरीसकेकालाई बिदाईका लागि दवाब दिन सके ३ दशकका आरोह अवरोहसँग खारिएका पुराना दलहरूमा देखिंदै गएका आस लाग्दा परिपक्व नेताहरूबाट पनि सम्वृद्धि र विकास संभव देखिन्छ ।
नयाँ सिकारूले नयाँ प्रयोग गरेर अर्को दशक खेर फाल्नुभन्दा हाल विद्यमान बिकृतिहरूबाट मुक्तिका लागि सामूहिक पहल गर्न सके ढिलो चाँडो फोहोर राजनीति सङ्गल्याएर प्रयोग गर्न सकिने सम्भावनाको अन्त्य भएको छैन l
(लेखक कार्की बेलायतमा प्राध्यापनरत छन् )
हामी कमजोरीमा क्षमा माग्ने विषयलाई हीनताबोध र लघुताभासको विषय मान्दैनौ l कमजोरीमा क्षमा मागेर सच्चिए...
हिन्दुहरूले जात प्रथालाई यसकारणले मान्छन् किनभने यो नितान्त धार्मिक आस्था हो । जातपात मान्नुमा उनीह...
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...