फेसबुक सामाजिक (संजाल) बन्द हुँदाका फाइदा र बेफाइदाहरू
नेपाललगायत विश्वमा फेस बुक जहाँ जहाँ चलेका छन् त्यहाँ यो केवल एउटा सामाजिक सञ्जाल मात्र होइन, नागरिक जीवनको एउटा डिजिटल नशा बनेको छ । सूचना, मनोरञ्जन, व्यापार, राजनीति, सामाजिक अभियान सबै कुराको केन्द्र नै फेसबुकजस्तो देखिन्छ । तर कल्पना गरौँ, नेपालमा फेसबुक केही समयका लागि बन्द भयो भने समाज, अर्थतन्त्र र व्यक्तिगत जीवनमा कस्तो प्रभाव पर्ला ? आजको पुस्ताले फेसबुकलाई दालभातभन्दा पनि आवश्यक मानिसकेको छ । बिहान आँखा खुल्नेबित्तिकै दाँत माझ्नुअघि नै थम्ब–थम्ब स्क्रोल गर्ने, अनि राति निदाउनुअघि पनि निलो स्क्रीनको उज्यालोमा आत्मा अर्पण गर्ने हाम्रो बानी भइसकेको छ । यही परिवेशमा सरकारले नेपालमा दर्ता प्रक्रियामा आउन अस्वीकार गरेको कारण देखाउँदै फेसबुकलाई उक्त प्रक्रिया पूरा नगरेसम्म प्रतिबन्ध गर्ने तयारीमा छ l यसै सेरोफेरोमा फेस बुकलाई आधार मानेर सामाजिक संजालको फाइदा र बेफाइदाको विमर्श गरिएको छ l
फेस बुक बन्द हुँदाका फाइदाहरू
१. मान्छेहरूसँग प्रत्यक्ष कुरा गर्ने संस्कार फर्कनेछ l फेसबुक नहुँदा इनबक्समा म्यासेज होइन, टोलको चौतारीमा भेटेर के छ हाल ? भन्ने अवसर मिल्छ । मान्छे वास्तवमै मान्छे देखिन्छन्, प्रोफाइल पिक्चर मात्र होइन । फेसबुक बन्द हुनु सामाजिक सम्बन्धलाई पुनः भौतिक रूपमै मजबुत बनाउन मद्दत गर्ने तर टाढा बस्नेहरूलाई झन् टाढा पार्ने दुवै असर बोकेको हुन्छ ।
२. समय बर्बाद कम हुन्छ - दिनको ५–६ घण्टा स्क्रोलिङमा गुमेको समय पढाइ, कामकाज, वा निद्रामा लगाउन पाइन्छ । विद्यार्थीको जिपिए बढ्न सक्छ, कार्यालयहरूको उत्पादन क्षमता बढ्न सक्छ l
३. झुठा खबर र हल्ला घट्नेछ -फेसबुक नहुँदा फलानोले फलानोलाई धोका दियो वा नेपाललाई अरब बनाउने योजना जस्ता समाचार तुरुन्तै घर-घरमा पुग्दैनन् । पत्रकारिताले फेरि काम पाउने सम्भावना हुन्छ । अविश्वसनीय र सनसनीपूर्ण हल्लामा कमी आउन सक्छ l
४. मानसिक स्वास्थ्यमा सुधार - ‘लाइक’ संख्या र ‘कमेन्ट’को गणितमा नफस्दा मान्छे आफ्नै जीवनमा केन्द्रित हुन्छन् । आत्मसम्मान आफैंसँगै रहन्छ, अरूको स्टाटसमा होइन । मानिसहरू मानसिक रूपमा हल्का महसुस गर्न सक्छन् । व्यक्तिगत आत्मसम्मान बाह्य प्रतिक्रियाभन्दा आफैंमा केन्द्रित हुन्छ ।
५. बिजुली र इन्टरनेट खर्च बचत - मोबाइल राउटर २४ घण्टा बालिरहनु पर्दैन। घरमा बत्ती धेरै बेर टिक्छ । फेसबुक विज्ञापनमा बर्सेनि खर्च हुने करोडौँ रुपैयाँ बचेर वैकल्पिक प्रचार माध्यममा प्रयोग गर्न सकिने सम्भावना पनि छ । यसले स्थानीय मिडिया, रेडियो, पत्रिका वा नयाँ एप्लिकेसनलाई जीवनदान दिन सक्ने सम्भावना ज्यादा छ ।
हरेक कुराका दुई पक्ष सकरात्मक पक्ष र नकारात्मक पक्ष हुन्छन् l सामाजिक संजाल जीवन र समाज व्यवहारका अभिन्न अङ्ग पनि भएकोले यसको प्रतिबन्धले पार्ने सामाजिक व्यक्तिगत व्यसायिक राजनीतिक आदि असर र बेफाइदाहरू पनि हुन्छन् l
बेफाइदाहरू
१. फेसबुकले लोकतन्त्रलाई सजिलो बनाएको छ l जनताले तुरुन्तै आफ्नो असन्तुष्टि पोख्न, आन्दोलन समन्वय गर्न वा सूचनाहरू फैलाउन प्रयोग गर्न सजिलो थियो । शीघ्र सूचनाको स्रोत खुम्चिने खतरा छ l
२. व्यापार र प्रचारमा धक्का - धेरैले आफ्नो पसल, क्याफे वा चिया स्टेशन फेसबुकमै प्रचार गर्छन् । फेसबुक बन्द भएपछि ग्राहक बोलाउने सजिलो माध्यम हराउँछ । प्रचार-प्रसारको सजिलो माध्यम हराउँछ । नेपालमा हजारौँ साना ठूला व्यवसाय, स्टार्टअप र चिया–कफी पसलदेखि ट्याक्सी रेस्टुरेन्टसम्म फेसबुक विज्ञापनमा निर्भर छन् ।
३. रोजगारी गुम्ने खतरा - फेसबुक एडकै भरमा चलेका डिजिटल मार्केटर, कन्टेन्ट क्रिएटर, पेज एडमिनहरूले ‘कस्तो काम गर्ने त अब ?’ भनेर टाउको कन्याउन थाल्छन् । डिजिटल मार्केटिङमा काम गर्ने युवा बेरोजगार हुने खतरा हुन्छ ।
४. समाचार र जानकारी ढिलो पुग्ने - फेसबुक नहुँदा हावापानीदेखि राजनैतिक उथलपुथलसम्म तुरुन्तै थाहा पाउँदैनौं । फेरि रेडियो/टीभी सुन्ने पुरानो बानी बसाल्नुपर्छ । नागरिक आवाजलाई दमन गर्ने जोखिम पनि बढ्छ । त्यसैले, राजनीतिक दृष्टिले फेसबुक बन्द हुनु एकातर्फ गलत सूचना नियन्त्रण गर्ने कदम जस्तो देखिए पनि अर्कातर्फ अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुन सक्छ ।
५. परदेशिएका मान्छे टाढा हुने - टाढा रहेका परिवार वा साथीहरूसँग फेसबुकमार्फत प्रत्यक्ष कुरा गर्न सजिलो थियो । त्यो कटौती हुँदा घर याद झन् बढ्छ । विदेशिएका परिवार वा साथीहरूसँग सम्पर्क टाढा हुने खतरा पनि त्यतिकै छ ।
६. ‘सोसल’ भन्ने नाम मात्रै बाँकी रहने - फेसबुक नहुँदा मान्छेहरू आ-आफ्नै टापुमा सीमित हुने खतरा हुन्छ । सबैलाई भेट्नुपर्ने सबभन्दा ठूलो चौतारी नै त फेसबुक थियो । अनलाइन मार्केटप्लेस र होम–बेस्ड व्यवसाय कमजोर हुन्छ ।
निष्कर्ष
फेसबुक बन्द हुँदा फाइदाभन्दा बेफाइदा धेरै होला भन्नेहरू छन्, तर वास्तविकता के हो भने, यसले हामीलाई सामाजिक जीवनको अर्को पाठ पनि पढाउँछ l डिजिटल भिडमै डुबेर वास्तविक सम्बन्ध हराउने कि वास्तविक मान्छे भेटेर जीवनलाई अर्थ दिने ? समाज सम्बन्ध र जीवनका विविध आयामका बारे रिथिंक र रिभिजिट गर्न सहयोगी हुनेछ l फेसबुक बन्द हुनु व्यङ्ग्यात्मक तरिकाले हामीलाई बुझाउने घण्टी हो l ‘मान्छे किताब पढ्न छाडेर फेस-बुक पढ्न थालेको देश’ कतै अलिकति दिशा बदल्नुपर्ने त होइन ? दिशा बदल्ने समय व्यवस्थापन गर्ने र आफ्नो दिनचर्या परिवर्तन गर्नेतर्फ हाम्रो ध्यान खिचिने छ l फेसबुक बन्द हुनु कुनै एकतर्फी फाइदा वा बेफाइदाको घटना होइन । यसलाई ‘डिजिटल अभिशापबाट मुक्ति पाउने मौका’ भनेर पनि व्याख्या गर्न सकिन्छ, र ‘सामाजिक, आर्थिक, सूचनात्मक संकट’ भनेर पनि बुझ्न सकिन्छ । सामाजिक संजालको स्वच्छन्दतामा नियमन आवश्यक छ l हरेक कुराका राम्रा पक्षको अनुसरण गरेर नकारात्मक पक्ष त्याग्नु नै सभ्य समाज निर्माणको आधार खडा गर्नु हो l
मुख्य प्रश्न भनेको के हो भने हामीले फेसबुक बन्द हुँदा नयाँ वैकल्पिक प्लेटफर्म, सामाजिक व्यवहार र जिम्मेवार मिडिया निर्माण गर्ने अवसर उपयोग गर्छौँ कि केवल फेसबुक फर्कने कहिले हो ? भनेर प्रतीक्षा मात्र गर्छौँ ? समीक्षा यसैको हुनु जरुरी छ l
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'