पूर्वमन्त्री जयप्रकाश आनन्दका संस्मरणमा किसुनजी

हामी एक दुई अपपवाद बाहेक कोईराला परिवार कै सदस्यहरूबाट कोठा भरिएको थियो । यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोईरालाको देहावसान भएको थियो । यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोईराला यसलाई आफ्नो निजी कोठा बनाउनु भएको थियो ।
किसुनजीको व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन । सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भुइँमा बस्नु भएको थियो । कोईराला वर्चस्वको पारिवारिक माहौलमा किसुनजीको बज्रासन बसाईले उहाँलाई एउटै सतहमा बसेकाहरू मध्ये सबैभन्दा अग्लो बनाएको थियो ।
गिरिजा बाबु त्यहाँ हुनु हुन्थेन । बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि देशको शक्तिशाली प्रधानमन्त्रीको रूपमा किसुनजी पहिलो पटक बिराटनगर कोईराला निवास पुग्नु भएको थियो । नोना कोईरालालाई उहाँले सधैं नोनाजी भनी सम्बोधन गर्नु हुन्थ्यो । ऊ बेलासम्म गिरिजा बाबू प्रधानमन्त्रीको दाबेदार हुने कुरै थिएन । अन्तरिम सरकार थियो । संविधान नै आएको थिएन । निर्वाचन नै भएको थिएन । यस बेला किसुनजी सबै कांग्रेसजानका आँखाका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वागतमा नोना कोईरालाको खुट्टा भूईमा थिएन । दुश्मनलाई पनि घरमा माया गर्ने कोईरालाहरूका सामु त्यस बेला सबैभन्दा प्रिय पात्र जो थिए । फेरि किसुनजी नोनाको लागि नेता मात्र थिएन; राम नगरकी छोरी नोनाका लागि किसुनजी पारिवारिक पुरोहितका वंशज थिए, जो प्रजातन्त्र स्थापनाको लडाईमा कोईरालाहरूको ईगो सफल भएको प्रतिकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो ।
हामी मस्का भन्छौ नि, मस्का लगाउने ! किसुनजी नोनालाई मस्का लगाउदै हुनुहुन्थ्यो । हामी तिर हेर्दै भन्नु भो: बुझ्नु भो, म जेलमा हुदाँ सधै नोनाजीको हातबाट बनेको खाना सम्झेर बस्थे । सात सालमा बिराटनगर मजदूर हडतालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोईराला परिवारका महिला समेत नौ जनालाई बिराटनगरबाट अड्डासार गरेर काठमाडौँ पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका बीरांगना भन्दै
हुनुहुन्थ्यो ।
नोनाले पस्कनु भएकी रेड लेबल ह्वीस्कीका केही पेगपछि किसुनजी अचानक गम्भीर हुनुभ । विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुदै गयो । बद्रि बस्नेत, अशोक कोईराला, हरि सापकोटा, रमेश धिमिरे, उमेश गिरी, वशन्त भट्टराई, नगेन्द्र ढुंगेल हामीहरू थियौं । यिनै जमात तर्फ हेर्दै किसुनजीले सोध्नु भो, ल भन्नुस् म कुन शक्तिको प्रेरणाले सोर्ह बर्षसम्म जेल बस्न सके हुलाँ ? यो सबैका लागि समस्या खडा गर्ने जिझासा थियो । संसारिकतामा नफसेको, आध्यात्मका उपासक, चरित्रका हठी, स्वभावका रमाईलो र व्यवहारका कुशाग्र-यो र यो भन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका किसुनजी यत्रो वर्ष कुन प्रेरणाले जेल बस्नु भो; यो भन्ने सामर्थ्य त्यहाँ कसैमा थिएन ।
"शक्तिमा मानिस देवत्व देख्छ । राजालाई त हामीले अवतार नै मान्यौं । राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालिन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे । हिन्दूहरूको सबैभन्दा लामो पूजाआजा त शक्ति पीठहरू मै हुन्छ । शक्तिका अगाडिसँगै जेलमा रहेका श्रीभद्र शर्मा,रूद्र प्रसाद गिरीहरू टिक्न सकेनन् । म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र ?"
किसुनजीमा जीवनका तत्ववोधहरूले ठाँउ ओगट्दै गएको थियो । हामी सब मौन रहेर, किसुनजीका कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भै सकेका थियौं । अर्थशास्त्रीका बारेमा भन्छन नि; चार जना घाघरान अर्थशास्त्रीका बीच बसेका पाचौं अज्ञानी त्यतिंजेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका वारेमा बोल्दैनन् । किसुनजीका सामुन्ने हामी त्यस्तै भएका थियौं । म त निश्चय नै ।
तर, ससाना कुरामा रिसाउने, असन्तुष्ट भैरहने, हर बखत आफु मै पुरूषार्थ देख्ने हामी जस्ताका लागि भने यो गह्रौ सवाल थियो कि कुन प्रेरणाले किसुन जी यत्रो लामो समयसम्म अविचलित रूपमा, अडिग भै जेलमा बस्न सक्नु भयो !
उहाँ भन्दै हुनुहुन्थ्यो; नोनाजी, राममणि आचार्य दी़क्षित जस्ता ऊ बेलाको प्रशासकहरू आउथे, सादा कागज छोडेर जान्थे । किसुनजी मनमा जे आउँछ, चार लाईन लेखेर दिनोस् । जेलबाट रिहा हुनोस् र गर्नुस राजनीति भन्थे । धेरैले यसो गरेका पनि थिए । कतिपय पटक आफू गलेके र भोलि बिहानै छुट्ने बाटोमा बढने प्रबल ईच्छा बन्ने गरेको निश्चयी भएर राती सुत्ने गरेको सुनाउनु भयो । तर, बिहान बिषम् अवस्थामाप्रति दिन बिताउने गरेका साथी भाईहरूको प्रतिबद्धताबाट आफूले ती कुराहरूलाई बिर्सने गरेको सुनाउनु भयो ।
"धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन् । होईन, प्रारब्ध भनेको आन्तरिक दृढता हो । अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ । यहि प्रारब्धले बाह्य परिणाम दिन्छ । प्रतिकूलतासँग लडने क्षमता दिन्छ । यही क्षमता मैले जेलमा आर्जन गरे र म यत्रो लामो समयसम्म टिक्न सके..!" किसुनजीले कमसे कम मलाई त यन्त्रवत् श्रोता बनाउनु भएको थियो त्यस दिनको राती । ह्वीस्की फिका भएको थियो । जीवनमा अमिट रंगहरू थपिएको थियो । मध्य रात्रीसम्म सम्झेर लेखि ती कुराहरू लेखि बसें ।
उहाँले नोना आमा तिर उन्मुख हुदै भन्नु भयो; नोनाजी यही त्यो कुरा हो जो तपाईको कूल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो । मैले राम्ररी ठ्म्याएको थिए, नोना आमाको अनुहार किसुनजीको प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो ।
म आज सम्झिन्छु, नेपालको राजनीतिमा थोरै समय भित्र सबकुछ कसरी फेरियो । राजनीतिको ध्येय पनि, औचित्य र परिभाषा पनि !
स्मरणीय: पूर्वमन्त्री जयप्रकाश आनन्दको पूर्व प्रकाशित लेख akabarey.com ले आज कृष्णप्रसाद भट्टराइको १०० औ जन्म जयन्तीमा जयप्रकाशजीको अनुमतिमा प्रकाशित गरेको छ l भटराईजीको फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक
हिन्दुहरूले जात प्रथालाई यसकारणले मान्छन् किनभने यो नितान्त धार्मिक आस्था हो । जातपात मान्नुमा उनीह...
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...