कांग्रेसको रणनीति गण्डकीमा बहुमत जुटाउने र मधेशमा सरकार बचाउने

प्रदेश सरकारमा अनुकूलताले कांग्रेस उत्साही : गण्डकीमा बहुमत जुटाउने र मधेशमा सरकार बचाउने
उपेन्द्र यादव, अध्यक्ष, जसपा नेपाल : मधेश सरकारको विषयमा मिलेर जाने विषय बैठकमा छलफल भयो । प्रारम्भिक रूपमा सकारात्मक छलफल सुरु भएको छ । बैठकमा कुनै पनि प्रस्ताव आएको र अगाडि बढिसकेको छैन । थप छलफलपछि निष्कर्षमा पुग्नेछौँ ।
महन्थ ठाकुर, अध्यक्ष, लोसपा : प्रतिपक्षमा रहेका दलहरूबीच छलफल भएको हो । मधेश सरकारका विषयमा पनि छलफल भयो । निरन्तर छलफलबाट निष्कर्षमा पुग्नेछौँँ ।
प्रदेशमा राजनीति अनुकूल हुन थालेपछि कांग्रेस उत्साही देखिएको छ । उसले महिना दिनभित्र गण्डकीमा बहुमत जुटाउने र मधेशमा विपक्षी गठबन्धनको सरकार सुरक्षित गर्ने रणनीतिअनुसार काम थालेको छ ।
शक्ति जुटाउन कांग्रेसले सत्तागठबन्धनकै पार्टीसँग पनि संवाद बढाएको छ । यसैअनुसार बुधबार एकीकृत समाजवादी पनि विपक्षी गठबन्धनको बैठकमा सहभागी भएको छ । एकीकृत समाजवादीको सहयोग रहे मधेशमा विपक्षी गठबन्धनको सरकार सम्भव छ ।
सर्वोच्चको परमादेशसँगै बुधबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त भए । १४ जेठमा सर्वाेच्चको परमादेशअनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । तर, अहिलेको अवस्थामा पाण्डेसँग बहुमत छैन ।
बहुमत जुटाउन केन्द्र र प्रदेशमा गृहकार्य थालिएको कांग्रेस नेताहरूले बताएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत विश्वासको मतका लागि कांग्रेसले प्रदेश र केन्द्रमा गृहकार्य अघि बढाएको र गण्डकी सरकारले विश्वासको मत पाउने दाबी गरे ।
प्रवक्ता महतले प्रदेश सभामा रहेका दलहरूसँग छलफल भइरहेको र समन्वयका लागि सबै विकल्प खुला राखेर अघि बढ्ने बताए । ‘गण्डकीमा फेरि कांग्रेसको सरकार बनेको छ । तत्कालको हिसाबकिताबमा विश्वासको मतका लागि समस्या देखिन्छ । तर, सरकारलाई सधैँ अस्थिर बनाउने पक्षमा अरू दलका सांसद पनि छैनन्,’ उनले भने, ‘प्रदेशमा केन्द्रकै समीकरण कायम रहनुपर्छ भन्ने छैन । विश्वासको मत पाउने अवस्था आउँछ । प्रदेश र केन्द्र दुवैतिर संवाद सुरु भएको छ ।’
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेससँग २७ मत मात्र छ । कांग्रेसले दुई सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई आफ्नो पोल्टामा पारे पनि ऊसँग बहुमत पुग्दैन । पाण्डेलाई ३१ बहुमत पु¥याउन एमाले वा माओवादीको सहयोग चाहिन्छ ।
पाण्डेले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको बाटो खुल्नेछ । जसअनुसार प्रदेश सभामा बहुमतको आधार पेस गर्न सक्ने कोही सदस्यले मुख्यमन्त्रीको दाबी गर्न सक्छ । एमाले–माओवादी गठबन्धनसँग पनि बहुमत छैन ।
एमालेसँग उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ र एक सिट एकीकृत समाजवादी गरी ३१ सिट छ । सभामुखले विश्वासको मत दिन नपाउने र ३० मतलाई बहुमत मान्दा एमाले नेता अधिकारी नेतृत्वको सरकार ढलेको थियो ।
यस अवस्थामा गठबन्धनलाई दुई सिट रहेको राप्रपाको साथ चाहिन्छ । तर, गण्डकीमा राप्रपाले पर्ख र हेरको नीति लिने भएको छ । ‘अदालतको परमादेशले भर्खर फेरि कांग्रेस नेतृत्वमा सरकार बनेको हो । विश्वासको मतका लागि तीस दिनको समय छ । तत्काल हामी निर्णय लिँदैनौँ । परिस्थितिको विश्लेषण गरेर पार्टीले उपयुक्त निर्णय लिनेछ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने ।
अर्कोतर्फ कांग्रेसले जसपा नेपालमा फुटसँगै संकटमा परेको मधेश सरकारका विषयमा समेत छलफल थालेको छ । पार्टी विभाजनसँगै जसपा नेपाल केन्द्रीय गठबन्धनबाट बाहिरिएको छ । मधेशमा जसपा नेपालका सरकारलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएका छन् । यससँगै सरकार अल्पमतमा परेको छ । सरकारले ३० जेठभित्र विश्वासको मत लिनुपर्नेछ ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा बुहमतका लागि ५४ मत आवश्यक पर्छ । अंकगणितका आधारमा कांग्रेससँग २२, जसपा नेपालको १९, एकीकृत समाजवादीको ७ र लोसपाको ८ गरी ५६ सांसद पुग्छन् । यस आधारमा कांग्रेसले सरकार गठनको सम्भावनाबारे छलफल थालेको हो ।
सरकारको सुरक्षाका लागि केन्द्रमा प्रतिपक्षमा रहेका र सत्तासाझेदार दल एकीकृत समाजवादीसँग संवाद अघि बढाएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दलहरूबीच मधेशमा सहकार्य गरेर जाने विषयमा छलफल भएको बताए । ‘मधेश सरकारको विषयमा सामान्य छलफल भयो । उपेन्द्रजीले मधेशका दलहरूसँग छलफल गरिरहनुभएको छ । माधव नेपाल मधेश सरकारमा नै रहेकाले छलफलका लागि आउनुभएको हो,’ उनले नयाँ पत्रिकासँग भने ।
लोसपा अध्यक्ष ठाकुरले बैठकमा मधेशमा सरकार गठनको विषयमा छलफल भएको र थप छलफलबाट निष्कर्षमा पुग्ने बताए । ‘प्रतिपक्षमा रहेका दलहरूबीच छलफल भएको हो । मधेश सरकारका विषयमा पनि छलफल भयो । निरन्तर छलफलबाट निष्कर्षमा पुग्नेछौँँ,’ उनले भने ।
बैठकमा जसपा नेपालका अध्यक्ष यादवले जसपा नेतृत्वमा रहेको सरकार जोगाएर जाने प्रस्ताव गरेका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफू सकारात्मक रहेको भन्दै पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए । यससँगै एकीकृत समाजवादीको निर्णयपछि थप निर्णायक छलफल गर्ने नेताहरूको तयारी छ ।
यादवले बैठकमा मधेशमा सरकारको विषयमा छलफल भएको, तर कुनै पनि प्रस्ताव अगाडि नबढेको दाबी गरे । ‘मधेश सरकारको विषयमा मिलेर जाने विषय बैठकमा छलफल भयो । प्रारम्भिक रूपमा सकारात्मक रूपमा छलफल सुरु भएको छ । बैठकमा कुनै पनि प्रस्ताव आएको र अगाडि बढिसकेको छैन । थप छलफलपछि निष्कर्षमा पुग्नेछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।
एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेससँग सरकारमा सहकार्यको विषयमा छलफल भएको बताए । ‘हामी मधेश सरकारमै छौँ । मधेशमा माओवादी –एमाले गठबन्धनमा हामीलाई समावेश गरिएको छैन । मधेश सरकारमा सहभागी नभएकाले हामी पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिन्छौँ,’ उनले भने ।
स्मरणीय : पत्रपत्रिका स्तम्भ अन्तर्गत akabarey.comले यो केशवप्रसाद पाण्डेको सामग्री नयाँ पत्रिका दैनिकबाट साभार गरेको छ l सम्बद्ध पक्षलाई धन्यवाद l शीर्षक हेरफेर गरिएको छ l फाइल फोटो प्रयोग गरिएको छ l सम्पादक )
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...
अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ ।