राजनीतिमा नानीमैया दाहाल नारीप्रतिको उपहास कि विद्रोहको बिम्ब ?
नानी मैया दाहाललाई खराब र नेपाली राजनीतिको विकृत पात्रको रूपमा प्रस्तुत गर्दा किन टाउको दुख्दैन नारीवादी र अधिकार कर्मीको ? नानीमैयालाई हरेक चुनाव ताका अपमानित गर्ने होच्याउने र उनको योगदानको अवमूल्यन गर्दा आम नारीको अपमान भएको नदेख्ने नारीवाद कस्तो हो ? २०४८ को संसदीय चुनावमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई एमाले महासचिव मदन भण्डारीले काठमाडौँ क्षेत्र नं. १ बाट चुनाव हराउँदा पनि नानी मैयाजस्ताले पनि चुनाव जित्छन् भन्ने दृष्टान्त प्रस्तुत गरिएको थियो । त्यस्तैगरी पूर्वराष्ट्रपति विद्या भण्डारीको जितलाई पनि नानीमैयाको जितको उपमा दिइयो ।
राजनीतिमा कुनै नारी र कुनै नयाँ पुरुष पात्रको चर्चा र ख्याति नानी मैयासँग दाँजिन्छ र नकारात्मक बिम्बको रूपमा चर्चा गरिन्छ किन ? अधिकार, इज्जत र मर्यादा कुनै वाद विशेष र व्यवस्था विशेष लिङ्ग अनि तिनका अनुयायीको मात्र पेवा हो ? पञ्चायतमा चुनाव जित्नु नानीमैया दाहालको अपराध हो ? जनताका मुद्दा उठाएर तत्कालीन व्यवस्थाका गलत पात्र विरुद्ध जनताको मत पर्नु र विजयी बनेकी पात्रको उपहास जनअभिमत प्रतिको पनि अन्याय र अपमान थियो । नकारात्मक भोटकै अभ्यासमा नानीमैया विजयी बनेकी भए पनि जनताको अभिमत हो l
आज पनि कसैको जित र कसैको हारलाई पञ्चायतमा नानीमैया दाहालको जितसँग तुलना गरेर नानीमैयाको अपमान गर्दै जनमतको अवमूल्यन गरिन्छ । सत्ताको चास्नीमा डुबुल्ल्की मार्ने जोगमेहर श्रेष्ठलाई लौरो लगाउने हिम्मत भएकी महान महिला हुन् नानीमैया, जसले जोगमेहर श्रेष्ठ तत्कालीन व्यस्व्थाका हस्ती भन्दा दोब्बरभन्दा बढी मत ल्याएर रापंसमा विजयी भएकी थिइन् । जोगमेहरलाई कम मत र दाहाललाई बढी मत काठमाडौँका जनताको निसाफ थियो l तर उनको बदनामी गरिन्छ किनकि उनी नारी पात्र हुन् । पितृसतात्मक सोच र शैलीलाई नारी उदय सह्य हुँदैन र अपमानको भाष्य खडा गरिन्छ । नानीमैयाको विजयको लागि योगदानगर्नेहरूले नै उनको अपमान गरेका छन् l
व्यक्ति र बोलीको स्वभावको कुरा गर्ने हो भने आज पनि संसदमा पुगेका पुरुष सांसदले, मन्त्रीहरूले संसद्को माइकको मर्यादा राख्न सकेका छैनन् । विगत केही दिनको संसद्को विकृत अभ्यासलाई कुन पुरुष प्रवृत्ति भनेर आलोचना गर्ने ? के पुरुषहरू संसदमा कपडा नै खोलेर उत्रनु सभ्य हुनु हो ? आज पनि संसदमा कोही कपडा खोलेर नै नग्न नृत्यमा निमग्न छन् भने कोही कपडा लाएर दौरा सुरुवाल लाएर सुट र टाइमा ठाँटिएर नै नाङ्गो भएको दुनियाँले देखेको छैन र ? झट्ट सुन्दा अश्लील नसुनिए पनि माननीयहरू अश्लील बोलिरहेका हुन्छन् l अश्लील हर्कत गरिएरहेका हुन्छन् l अश्लिल हुनु भनेको साडी उचाल्नु र अण्डरवेर फुकाल्नु मात्र होइन, अमर्यादित आचरण र व्यवहार गर्नु पनि हो l अनैतिक भ्रष्ट र पदीय मर्यादा बाहिर निस्केर बोल्नु पनि हो l आफ्नो उचाइको ख्याल नराख्नु पनि हो l आफ्ना स्वार्थको लागि नाङ्गिनु र जनताको भलाईको लागि अश्लील देखिनु यी दुई फरक कुरा हुन् l नानीमैयाले आम मान्छेको लागि गरिन् त्यो नकाम थियो कि सुकाम इतिह्समा दर्ज भएको विषय हो l
संसदमा पुगेका मन्त्री भएका आजसम्मका थुप्रै माननीयहरू कति रक्सी खाएर बाटोमा हल्ला गर्ने, ठुला कुरा गर्ने त कति चिया पसलका गफाडी ग्राहकभन्दा माथि नभएको दृश्य पटक पटक र झल्झली देखिएका छन् ।तिनको बारे खै बिम्ब प्रतिक ? के ती पुरुष हुनुको नाताले तिनको स्तरप्रति खेदजनक बिम्ब नबनेको हो ? पक्कै हो ? किनभने स्थानीय निर्वाचनमा काठमाडौँको मेयरमा बालेनको विजय, धरानमा हर्क साङपाङको विजयलाई नानी मैयाको पुनरागमन भनियो l
२०७९ को सङ्घीय चुनावमा काठमाडौँ क्षेत्र नं. २ बाट चुनाव जित्ने रास्वपाकाकी सांसद सोविता गौतम र ललितपुर क्षेत्र नं, ३ बाट चुनाव जित्ने तोशिमा कार्कीको जित र समग्र रास्वपाको जितलाई नानी मैया प्रवृत्तिको नयाँ भर्सन भनेर उपहास गरियो । यसले जनताको अभिमतको मानमर्दन गर्ने र विशेष गरी नारी पात्रलाई बेज्जत गर्ने, होच्याउने, गिल्ला गर्ने क्रमलाई आज पर्यन्त निरन्तरता दिएको पाइन्छ । जुन खेद जनक छ । यस्तो खेदजनक कार्य स्वयं नारीहरूबाट पनि भैरहेको छ । यसमा नारी सचेतता जरुरी देखिन्छ l २०६४ मा चुनाव जित्ने बेला माओवादी सांसदहरूलाई पनि नानी मैया प्रवृत्तिको पुनरावृत्ति भनेर होच्याईयो l कांग्रेस एमालेका ठुला भनिएका नेताहरूको हारलाई अस्वाभाविक मानियो l जनताको फैसला र विवेकमा प्रश्न गरियो ?
नानीमैयाको राजनीति
१० वर्षकै हुँदा २०११ सालमा त्रिभुवन ग्राम विकासको सभापति भएर राजनीतिमा लागेकी २०२९ सालमा जोरपाटी गाउँको उपप्रधानपञ्च बनेकी नानी मैया कसैको दया,निगाह र बक्सिसमा उप प्रधानपञ्च र राष्ट्रिय पञ्चायतको सदस्य बनेकी होइनन् । । त्यतिबेला उनको भूमिका कुनै पुरुषको भन्दा कम थिएन । जनमुखी काम गर्न दवाव दिने र कामचोरको सातो बोक्ने प्रवृति थियो उनीमा । २०३८ सालको चुनावमा ६५७७७ मत प्राप्त गरेर देशको राजधानी सहरबाट राष्ट्रिय पञ्चायतमा पुगेकी मान्छे हुन् उनी । नानीमैया एकाएक र चिट्ठा परेर राजनीतिमा आएकी होइनन् । बरु तत्कालीन समाजमा विद्रोह गर्ने सशक्त हाँक भएकी नारी हुन ? उनको उपस्थिति र विजय अनि उनको काम तारिफ योग्य बन्नु पर्ने हो तर ......? उनले आफ्ना लागि नभएर आम सर्वसाधारणका लागि काम नगर्नेको विरुद्ध दुर्वाच्य बोलेकी हुन् । अन्यायको खिलाफमा न्यायको आवाज बोल्दा रुढ देखिएकी हुन् । लबस्तरोपनको विरुद्ध उनले कतिपय अवस्थामा लबस्तरो शब्द मार्फत नै प्रहार गरेकी हुन् l
नानीमैयाका कामहरू
व्यक्तिगत जीवनबाट टाढा बसेर जनताका लागि काम गर्ने पात्र र प्रवृत्ति हुन् नानीमैया दाहाल । काठमाडौंबाट जितेकी रापंस भए पनि उनीकहाँ सहयोग माग्न आउने देशको जुनसुकै ठाउँका मानिसलाई आफ्नो ठानिन् । विद्यार्थी, गरिब, दुःख पाएका, औषधि गर्न नसक्ने अवस्थाका मानिसलाई जहिल्यै सहयोग गरिन् । त्यसका लागि मन्त्री, रापंस, सांसद न्यायाधीश र कर्मचारी ती जुनसुकै तहका हुन्जो,सुकैसँग झगडा गर्न, भनाभन गर्न वा हात हालाहाल गर्न पनि तयार हुन्थिन् । निडर र हक्की स्वभाव र अन्याय नसहने उनको बानीको कारण विद्यार्थी, मजदुर र सर्वसाधरणको काम नगर्ने कर्मचारी, प्रहरी ,हाकिम, मन्त्री सबैलाई मुख छोडनु र उस्तै परे हात हाल्नु उनको विशेषता थियो । नानी मैयाको मुखले सर्वसाधारणले सेवा पाए कि हैरानी ? पक्कै सेवा पाए।तसर्थ जनताको पक्षमा खरो बोल्ने र जनताको सेवाको लागि काम गर्ने पात्र कसरी खराब हुन्छ ? के आजका माननीयहरू जनताको पक्षमा नानीमैया जत्तिको खरो र खतरा निस्कन सकेका छन् ? बरु नानी मैया भन्दा स्तरहीन छन् जनताको लागि नानी मैया जत्तिको लगाव राखेर काम गर्न सकेका छैनन् l नानी मैयालाई विद्रोह, र कामयावी नारीको बिम्ब उपयुक्त हुन्छ l
राष्ट्रिय पञ्चायत सदस्य भएपछि नानीमैयालाई आर्थिक समितिमा परिन्। रुद्रप्रसाद गिरी समिति सभापति थिए । पढेलेखेको नभए पनि आफ्नो कर्तव्यबाट भने उनी कहिल्यै पछि हटिनन् । गलत कामको साक्षी कहिले पनि बसिनन् । भत्ताका लागि हस्ताक्षर गरेर भाग्ने काम गरिनन् । ‘सही गएर गइहाल्नुस् । भत्ता आइहाल्छ भन्थे । भत्ता खान आको हो र ? हिसाब हेर्न आएको हो । कहाँ जान्छु भन्थेँ,’ आफूले अड्डी कसेका दिनलाई स्मरण गर्दै उनले भनिन्, ‘बेरुजु त खुब समात्थेँ ।’नानी मैयाले नयाँ पत्रिकासँगको ( २०७८ वैशाख ११ शान्ति तामाङसँग ) भनेकी छन् ।
उपप्रधानपञ्च भएपछि पनि उनले थुप्रै सुधारका काम गरिन् । साल्ट ट्रेडिङमा घन्टौँ बस्नुपर्ने लाइन उनले व्यवस्थित गरिन् । ‘मलाई जोरपाटी गाउँको उपप्रधानपञ्च भएपछि गाउँ पञ्चायतले साल्ट ट्रेडिङमा पठायो । एक माना तेल लिनका लागि पनि घन्टौँ लाइन बस्नुपर्ने । यस्तो पनि कहीँ हुन्छ भनेर हामी एक पैसा धेरै तिरौँ । दिनभर यो घाममा तातिनतिर नलागौँ । यसमा सबैले हो मा हो मिलाए । त्यसपछि एक माना तेल र नुनका लागि लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भयो,’ उनले सम्झिइन् । उनको पहलपछि नै सबैतिर सामान सर्वसुलभ पाइन थालेको थियो । गाउँ उपप्रधानपञ्च र राष्ट्रिय पञ्चायतको सदस्य उनी काठमाडौं जिल्लाको सबै जसको घर–घर पुगिन् । ‘गरिबलाई दुःख दिनेलाई सीधै पापी र अपराधी भनिन् थर्काइन् ।उनले काम गर्नेलाई दुख दिएकी होइनन् काम चोर्ने र गरिबमारालाई थर्काएकी हुन् । यो त एउटा उदाहरण भयो । तर, गाउँ र जनताका लागि उपप्रधानपञ्च भएपछि उनले यस्ता थुप्रै काम गरिन् । सुकम्बासीहरूलाई बस्ती बसाउने, भूमिसुधार लागू गरेर भूमिहीनहरूलाई जग्गा दिलाउने, कसैलाई दुःख पीडा भयो भने समाधान गर्ने, बिजुली, पानी निर्माणमा सहयोग गर्नेजस्ता सामाजिक काम गरेपछि उनको लोकप्रियता झनै बढेको थियो ।
न्यायाधीश कुटेको प्रसङ्ग
उपप्रधानपञ्च हुँदाको एक घटनालाई उनले जताततै उधृत गरेको पाइन्छ। गरिब किशोरीको न्यायका लागि उनले न्यायाधीशलाई हातै हालेको घटना छ ‘कपनको एउटी गरिबकी छोरीको बलात्कारपछि बच्चा जन्मियो । तर, गुपचुप राख्न खोजे । मिलाउन खोजे । मैले आफ्नै पहलमा उजुरी दिएँ । तर, बारम्बार न्यायाधीशले उल्टै गरिब देखेर केटीलाई हप्काए । त्यही दिन दिउँसो मैले न्यायाधीशलाई तीन छाता हानिदिएँ’ । त्यसपछि त्यही दिन न्यायाधीशले न्वारान पनि गर्नू, मानाचामल पनि दिनू, अंश पनि दिनू भनेर मुद्दा जिताइदिएको प्रसङ्गको चर्चा हुन्छ । बलात्कार गर्नु अत्यतै नीच र घटिया काम हो नै l त्यसमाथि पनि बलात्कृतले न्याय नपाउनु दुर्भाग्यपूर्ण स्थिति हो तत्कालीन चेत र परिवेशमा बलात्कृतले माना चामल र अंश पाउनु ठुलै कुरा थियो l आजको चेत र परिवेशले बलात्कारीलाई अन्य कारबाहीको विषय उठाउन सक्छ त्यो अर्थमा नानिमैयाको पहलको न्याय अर्धन्याय देखिए पनि त्यो समयमा त्यति हिम्मत गर्नु सामान्य विषय थिएन l नानी मैयाले सूर्यबहादुरलाई पनि लबस्तरो शैलीमा प्रश्न गरेको चर्चा पाइन्छ l
पञ्चायतको सदस्य हुँदा अरू आफ्नो जिल्लामा मात्र काम गर्थे, उनी भने सबै जिल्लाका काममा खटिन्थिन् । यही कारण पूर्व मेचीसम्मका मानिस मन्त्रालयमा केही काम भए उनलाई अघि लगाउँथे । ‘आफ्नो गाउँठाउँमा विकासका काम आएन भने मन्त्रालयमा डेलिगेसन आउँथे । तर, मन्त्री काम गर्न मान्दैनथे,’ उनले भनिन्, ‘तँ भोलि भोट माग्न त्यहाँ जान पर्दैन, काम गर्ने कि नगर्ने भनेर म झपारिदिन्थेँ । अनि काम हुन्थ्यो । त्यही भएर मलाई अघि लगाएर लान्थे जसको कारण सरकारी अड्डामा सबैले मान्थे र जनताको काम हुन्थ्यो ।
कुनै पनि व्यवस्था आफैमा खराव र असल मात्र हुँदैन त्यसलाई परिचालन गर्ने हात र शासकीय रोलमा पुग्नेको चरित्रमा पनि भर पर्छ।पञ्चायतमा बदनाम पात्र पनि थिए र बदनाम पात्रलाई राजनीतिक झापड लगाउने पात्रहरू पनि हुन्थे।नानीमैया त्यस्तै बदनाम पात्रलाई झापड हान्ने पात्र हुन् ।पञ्चायतमा काम गरेर उनले शोषण दमन र उत्पीडनको काम गरिनन् धन आर्जन गर्ने मोहमा लागिनन् बरु राजनीति गर्दा आफ्नो पैतृक धन रित्याइन । आजका प्राय मन्त्री र माननीयहरू धन आर्जन गर्न मरिहत्ते गर्छन् पुरुष सांसद सुत्केरी भत्ता लिएर बदनाम छन् ।
घर हुनेहरू काठमाडौँमा डेरा भत्ता लिन्छन् तर नानीमैयाले त्यस्तो कुनै वित्तीय अपराध गरिनन् जति सकिन आफ्नो बुताले भ्याएको राम्रो गरिन् ।उनको हक्की निडर स्वभाव अन्न्याय नसहने बानी मानक प्रतीक र बिम्ब बन्नु पर्ने हो तर उनले प्राप्त गरेको विजय खिल्ली, उटपट्याङ् व्यङ्ग्य र उपहासको बिम्ब बनेर नारी पात्र माथिको मजाक गर्न केन्द्रित छ । नानीमैया पात्र र प्रवृत्तिको अपव्याख्या गरेर इतिहासमाथि नारी विद्रोहप्रति अपमानले डामिएको छ l जसलाई बदल्न सकिएन भने नारीप्रतिका अपमानका भाष्य र बिम्बहरू बन्नेक्रम रोकिने छैनन् l
स्मरणीय : नानी मैयाको स्थानमा कुनै पुरुष पात्र हुन्थ्यो भने उसलाई दिने दर्जा,सम्मान र मर्यादा कति माथि र महान हुन्थ्यो । तर एक नारीको हकमा उनलेे पाएको अमर्यादा घीनलाग्दो भालेवाद हो, जसलाई पछ्याउँदै हिंड्न् नारीवादीहरू आज पनि मन्जुर देखिन्छन् । नानी मैयाको अपमान र अमर्यादा गर्ने भाष्य सच्याउनु पर्ने र उनलाई विद्रोही, जनसेवक र बोल्ड नारीको रूपमा चित्रित गर्नु इतिहास र नारी पात्र माथिको न्याय हुन जान्छ l
फोटो : फाइल फोटो प्रयोग
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...