'गौशाला २६ को परिचय'- जनक कार्की

कविता -
को हो गौशला २६ ?
प्रिय भिड तिमीलाई गौशला -२६ सँग परिचित हुने
उत्कट चाहना छ
होइन ?
नियालेर हेर
गौशला -२६ तिम्रै वरिपरि छिन्
बाह्र हप्ताको गर्भमा
जब लिङ्ग निर्धारणबाट
योनी पहिचानमा आएपछि
जसको एबोर्सन भयो
तिनै हुन् - गौशाला -२६
केही ग्राम दाइजो कम हुँदा
जो जलाइएकी थिइन्
आफ्नै श्रीमान र सासुससुराको मिलेमतोमा
तिनै हुन -गौशला-२६
जो समसाँझैमा हवसको सिकार भएर घामसँगै अस्ताइन,
जसलाई आफ्नै हजुरबाले चकलेट देखाएर जिन्दगीको गुलियो निखारिदिए
तिनै हुन् -गौशला -२६
जसको गोप्य भिडियो आफ्नै प्रेमीद्वारा सार्वजनिक भएपछि
घरको सिलिङ फ्यानमा घुमिरहिन्
जो पत्रकारले नाङ्गो फोटो छापिदिछु भनी ब्ल्याकमेलमा परेर
आफ्नो नाडी काटिन्
तिनै हुन् -गौशला -२६
जसको सुत्केरीमा आराम नपाएर आङ खस्यो
जसको सार्वजनिक भिडमा स्तन घोचियो
जसलाई जागिर खानका निमित्त लजमा अन्तर्वार्ता गरौं भनेर बोलाइयो
तिनै हुन- गौशाला -२६
धेरै पर पुग्नु पर्दैन प्रिय भिड
तिम्रै वरपर छन् -गौशाला -२६
अलिअलि तिम्री आमासँग
अलिअलि तिम्री श्रीमतीसँग
अलिअलि तिम्रा दिदीबहिनीसँग
अलिअलि तिम्रा छोरीसँग
हुबहु मिल्छ - गौशला -२६ को अनुहार ।
अझै पनि हेर्न मन छ गौशला -२६ को अनुहार ?
गडेर हेर सर्वत्र देखिन्छ गौशला -२६
पितृसत्ताले मैमत्त आफनै अनुहारमा हेर
आफ्नै अहङ्कारमा हेर
त्यहीं देखिन्छ गौशला -२६ को अनुहार ?
गौशाला २६ कविताका सर्जकको बारेमा (पाल्पामा जन्मिएका जनक कार्की कविता,कथा,समीक्षा र साहित्यिक पत्रकारितामा कलम चलाउँछन् उनका सिर्जनाहरू विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् उनको संयुक्त कविता सङ्ग्रह `अनुहारको भिड´ प्रकाशित छ । उनको कथा बाह्रखरी उत्कृष्ट कथा -२०७९ मा चयन भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध कथा प्रतियोगितामा उनलाई उत्कृष्ट कथाद्वारा सम्मानित गरिएको छ । भरतपुर प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको कविता प्रतियोगितामा उनले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्, janakkarki27@gmail.com l )
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।