नेपाली सेलिब्रेटीहरूले सम्बन्ध विच्छेद गरेका घटनाहरूको फेहरिस्त

राजेश पायल राई अर्थात् राई इज किङ्म भनेर चिनिने गायक यतिबेला चर्चा र विवादमा छन् l ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रूपमा चिनिन्छन् l फैलियो माया दुबो सरी र बैगुनी रैछौ मायालु जस्ता गीतहरूका गायक राई चैत १५ गते विवाह सम्बन्ध विच्छेदमा पुगेको र अदालतले राई दम्पत्तिलाई सहमतिमा सम्बन्ध विच्छेद गराइ दिएको खबर बाहिर आए सँगै फेरि एकपटक सम्बन्ध विच्छेद गर्ने कारण सम्बन्ध विच्छेद गर्ने सार्वजनिक व्यक्तित्वहरू बारे चर्चा टिप्पणी र मजाक सुरू भएको छ l राजेश पायल राई र उनकी श्रीमती सङ्बुङ २०७८ असोजमा मात्र विवाह सम्बन्धमा गाँसिएका थिए l सङ्बुङ्ले नै सम्बन्ध विच्छेदको माग गरेर ८ महिना अघि नै मुद्दा दर्ता गराएको मुद्दामा फैसला भएको हो l उनीहरूको एउटा छोरा समेत रहेका छन् l आज सम्बन्ध विच्छेद गर्ने नेपाली सेलिब्रेटीहरूको चर्चा गरौ l मदिरा सेवन गरेर होहल्ला गरेको कारण प्रहरीले पक्रिएको र सम्बन्ध विच्छेद गरेर बसेको दुई कारणले यतिबेला राईको चर्चा चुलिएको हो l
सम्बन्धलाई मस्तिस्कले जोड्घटाउ गर्यो भने यसको दीगोपनमा समस्या निम्तिन्छ । सम्बन्ध हृदयले प्रतिस्थापन गर्नुपर्छ अन्यथा दुर्घटना अवश्यम्भावी रहन्छ । वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु र प्रस्थान भनेकै सम्बन्धविच्छेद हो । मर्यादा, विश्वास र सम्मानको परस्परमा सरोबरी भूमिकाबिना आधुनिक युगमा श्रीमान् श्रीमतीको सम्बन्ध असफल हुन र दुर्घटनामा पुग्ने कुरा अनौठो लाग्दैन ।
सम्बन्धविच्छेदका समाचार हामीले सुन्दै र सुनाउदै आएका छौं । सेलेब्रिटी हुनुको नाताले कलाकार, साहित्यकार नेता, नायक नायिकाहरूको निजी जिन्दगी नितान्त व्यक्तिगत कुरा पनि सार्वजनिक हुन्छन्, जुन अभ्यास हाम्रोमा मात्रै होइन संसारभर चासो, खुल्दुली र खोजिनीतिको विषय बन्छ । समाज सेलेब्रिटीहरूबाट अनुकरण गर्न लायक पक्ष र व्यवहार खोज्छ त्यसैले पनि सार्वजनिक सम्पतिको बारेमा चासो, चर्चा, निन्दा, आलोचना, समर्थन, प्रशंसाजस्ता कुराहरू अस्वाभाविक होइन ।
प्रेम, विवाह, सम्बन्धविच्छेद नितान्त व्यक्तिगत र निजी मामला हो । तर सेलेब्रिटीहरू समाज र दुनियाँका सार्वजनिक सम्पत्ति हुन् । त्यसैले यिनका बारे उठ्ने जिज्ञासा समाजका चलनचल्तीका कुरा हुन् । सामाजिक उतारचढावका समाज पढ्ने बुझ्ने ऐना हुन् । यसर्थ यिनको चर्चा परिचर्चा हुन्छ नै ।
सम्बन्धविच्छेद दुर्घटना मात्रै होइन रोचक पनि बन्दोरहेछ भन्ने कुरा चर्चित साहित्यकार सरस्वती प्रतीक्षाको डिभोर्स सेलिब्रेसनलाई हेरेर पनि भन्न सकिन्छ । केही वर्षअघि फेसबुकमा आफ्ना पूर्वपति ठाकुरसँग लन्च गर्दै गरेको फोटो सार्वजनिक गर्दै सरस्वतीले लेखेकी थिइन्: ‘सम्बन्धविच्छेद गरेको चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग लन्च गरियो । सम्बन्धविच्छेदपछि आ-आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जानियो भने सम्बन्धविच्छेदसमेत एक उत्सव बन्दोरहेछ।’
यसबाट के बुझ्न सकिन्छ भने सम्बन्धविच्छेद गर्दैमा जिन्दगीमा सबै ढोका बन्द हुँदैन, विविध कारणवश वर्तमानमा सम्बन्धबाट अलग भएकाहरुले मनमा तुष बोकेर बसिरहनु पर्छ भन्ने हुँदैन । आवेश उत्तेजना र क्षणिक निर्णयले बदलिएको जिन्दगीको रथ 'ब्याक' पनि हुनसक्छ । एकबारको जिन्दगी हो पुनः मिलन र मित्रता रहिरहन सक्छ । जस्तो सरस्वती र ठाकुरले राख्न सके । तमाम सम्बन्धविच्छेद गरी बाटो अलग गरेकाहरूले ठाकुर र सरस्वतीको अनुसरण आफ्ना सन्तानको खुसी र सुखका लागि पनि गर्नु आवश्यक देखिन्छ ।
विगत ७ आठ वर्ष देखि अलग भएर बसेका श्रीमान् श्रीमतीहरू पनि पुनर्मिलन गर्न चाहेको विषयहरू पनि सामाजिक संजालमा बेला बेलामा आइरहन्छन् l सम्बन्ध विच्छेद नै जिन्दगी सकिएको र एक अर्काको लागि आजन्म शत्रु बन्ने स्थिति होइन भन्ने उदाहरण पनि समाजमा छन् l
केही वर्ष अघि चर्चित संचारकर्मी र हालका चर्चित नेता रास्वपा पार्टीका सभापति एवंम् नेपाल सरकारका उपप्रधानमन्न्त्री रवि लामिछाने र इशा लामिछानेको पारपाचुके होस् या कमेडी किंगको उपमा पाएका हास्यव्यङ्ग कलाकार मनोज गजुरेल र मीनाको छोडपत्र नेपाली मिडिया र समाजमा तरंग उत्पन्न गर्ने घटना हुन् ।
नेपाली सिने जगतका सिद्धहस्त कलाकारदेखि गीतसंगीतका लोकप्रिय साधक पनि पारिवारिक सम्बन्ध टुटाउनेहरूको हारमा छन् । भुवन केसी-सुस्मिता, गौरी मल्ल-प्रज्ज्वल, मौसमी मल्ल-धनविक्रम, शिव श्रेष्ठ- गंगा, मनिषा कोइराला-सम्राट, छवि ओझा-रेखा, छवि-शिल्पा, प्रियंका कार्की-रोचक मैनाली, सञ्चिता लुइँटेल-काश,रिमा विश्वकर्मा-रोबटलगायत रुपा, रन्जना, सौजन्य, झरनालगायत कलाकारहरू वैवाहिक जीवन असफलताको बिन्दुमा पुर्याएर छोडपत्र स्वीकार गर्ने नामहरू हुन् ।
गीतसंगीत क्षेत्रका हस्तीहरु उदितनारायण झा-रन्जना,धिरज राई-छुल्ठिम, अन्जु पन्त-मनोजराज,मिलन अमात्य-मेन्सन विवाहलाई बिछोडमा रूपान्तरण गर्ने कलाकारको रूपमा दर्ज छन् । नेपाली राजनीतिमा आहुतिको नाम पनि सम्बन्ध विच्छेद गर्ने पात्रको रूपमा चिनिन्छ तर आहुतिले आफ्नो सम्बन्ध विच्छेदलाई लिएर कहिल्यै नकारात्मक टिप्पणी गरेका छैनन् l कुन्ता शर्मा र मेघराज नेपाल उर्फ मन्जुल,प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहल र प्रभा बोगटी,प्रचण्ड पुत्री गङ्गा दाहाल र नारायण प्रधान वैवाहिक सम्बन्ध बिछोडमा बदल्ने राजनीतिमा लागेका चर्चित पात्रहरू हुन् l
किन हुन्छ विवाह असफल ?
हुन्छ विवाह असफल ?विवाह असफलका एकै कारण र आधार हुँदैनन् । व्यक्ति र घटना ,परिवेश भूगोल अनुसार कारण र परिणाम आउछन् । त्यसैले यही नै कारण हो भनेर ठोकुवा गर्न सकिन्न । विविध कारण र विविधता पाइन्छ वैवाहिक सम्बन्ध असफल हुनका लागि ।
हिजोआज नेपाली समाजमा सम्बन्धविच्छेदका घटना अधिक हुने गरेका छन् । उच्च तनाव अथवा खटपटी एकाघरमा पतिपत्नी सँगै बस्न नसक्नु, पत्नीसँग पति खुसी नहुनु, पतिसँग पत्नी बेखुश बन्नु ,असमझदारीको उच्चतम अवस्था, बाल विवाह, बहु विवाह, अनमेल विवाह, अन्तर्जातीय विवाह, प्रेम विवाह, असमझदारी, अपहेलना, गरिबी, मदिरा सेवन ,सम्पत्ति, रोग, सेक्समा समस्या ,मनोविकार ,निःसन्तान एवं शंकालु भावना, अनियन्त्रित विवाहेतर रसबसलगायत विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउँछ । अनि परिणाम सम्बन्ध विच्छेदसम्म पुग्छ । यी उल्लिखित कारण परम्परागतरूपमा रहेका भएका र समाजमा देखिएका उदाहरण हुन् । यसबाहेक आधुनिक समाजमा आधुनिकीकरणको नाममा हामी जे गरिरहेका छौं या गर्दैछौ, गर्न उद्दत छौं, त्यो पनि विवाह सुखद नबन्ने कारण छन् ।
‘मेरो शरीर मेरो मर्जी’ भनेर यौनिक स्वतन्त्रतालाई असीमित र अपरिमित बनाउने व्यवहार । विवाहेतर सम्बन्ध । अनियन्त्रित सेक्सको भोक । सेक्स व्यवस्थापनमा अनुशासनहीनता, सामाजिक सञ्जालको गलत प्रयोग, वैदेशिक रोजगारी आदिका कारण पनि सम्बन्ध ब्रेकका आधारहरू बनेको र भएका समाजशास्त्री र मानवशास्त्रीहरूको भनाइ छ l पूँजीवादी समाजमा चरम उपभोक्तावादी संस्कृतिका कारण पनि नारीलाई भोग्य वस्तुको रूपमा मात्रै बुझ्ने हुँदा पनि नारी विद्रोहमा पुग्छे र वैवाहिक जीवनमा खटपट सुरु हुन्छ । लगातारको खटपट अन्ततः पारिवारिक विघटनमा अनुवाद बन्छ ।
आफूमाथिको अन्याय, थिचोमिचो पतिव्रताको नाममा सहनु पर्ने अवस्थामा महिला छैनन् । बरु स्वतन्त्र भएर जसरी पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने भाव र व्यवस्थाको निर्माण भएको छ । वैवाहिक सम्बन्धलाई परिभाषित गर्ने, हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन पनि सम्बन्धविच्छेदको अर्को कारण हो । हिजो श्रीमान–श्रीमती भएपछि जसरी पनि मिलेर बस्नुपर्छ, सहनुपर्छ भन्ने बाध्यात्मक सामाजिक बन्देज थियो । आज समाज खुला छ । स्त्रीलाई गरिने दमन र दुर्व्यहार अपराधको श्रेणीमा पर्छ । अतः महिलाहरू सबै सहेर बस्न सक्दैनन् र महिला अधिकार र मुक्तिको कारण पनि बलजफ्ती सम्बन्ध कायम गर्ने अवस्था छैन ।
त्यसैले पनि आफूमाथिको अन्याय, थिचोमिचो पतिव्रताको नाममा सहनु पर्ने अवस्थामा महिला छैनन्,बरु स्वतन्त्र भएर जसरी पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने भाव र व्यवस्थाको निर्माण भएको छ । महिलाहरू पनि पढेलेखेका र शिक्षित छन् । रोजगारी पाउछन् । पतिको आयआर्जनमा नै निर्भर हुने अवस्थामा कमी आएको छ । घर भत्कन लागेको अवस्थामा घर छाड्ने, त्याग्ने वातावरण क्रमशः, महिलामैत्री बनेको छ ।
टिक्न नसक्ने अवस्था छ भने लोकलाजका लागि घर परिवारको प्रतिष्ठाका लागि नारी सहनशील भएर नै बस्नु पर्छ भन्ने मान्यतामा व्यापक बदलाव आएको छ । त्यसैले नारी विद्रोहको चेत कानुनको फेरो समाउन पुग्छ र सम्बन्धविच्छेद बन्छ । यतिमात्रै होइन अहिले नयाँ कानुनी प्रावधानका कारण पनि पुरुषले चाहेमा सम्बन्धविच्छेद हुनसक्छ, जसका कारण पुरुष पनि इज्जत प्रतिष्ठाको नाममा पत्नीबाट पीडित बनेर बस्न चाहदैन र मुक्ति चाहन्छ यो अर्को कारण हो सम्बन्धविच्छेदको । तर यो कारण अन्य कारणको दाँजोमा आज पनि अपवादको रूपमा मात्र रहेको पाइन्छ l
क्षणिक आवेग, उत्तेजना र भूलका कारण पनि सम्बन्ध विच्छेद
कारणसहित भएका र हुने सम्बन्धविच्छेद स्वाभाविक भए पनि क्षणिक आवेग, उत्तेजना र भूलको कारणलाई अलिकति पनि सहेर कम्प्रोमाइज गर्न नसक्ने जुन संस्कार र व्यवहार पैदा भएको छ त्यो अत्यन्त डरलाग्दो समाज र परिवार विघटनको संकेत हो । सामान्य पारिवारिक खट्पटमा अरूले खेलिदिने र उक्साई दिने अहिले झन युट्युब मार्फत पनि तिललाई पहाड बनाएर सम्बनधमा दरारको स्पेस फराकिलो बनाइदिने र सार्वजनिक बनाई दिने कुरा ट्रेण्ड र पेशाको विषय बनेको छ l पति पत्नीको झगडा परालको आगोको रूपमा चित्रण गरिन्थ्यो र त्यसलाई सामान्य रूपमा लिइन्थ्यो l मिलेर बस्न प्रोत्साहित गरिन्थ्यो तर आजभोलि पति पत्नीको झगडा धन आर्जन गर्ने बाटोको रूपमा पनि कतिले लिएका छन् र झगडामा मिल्ने मिलाउने भन्दा सार्वजनिक गरेर मोलमोलाई गरी द्रव्य आर्जन गर्ने सम्बन्ध विच्छेदको लागि भूमिका निर्वाह गरिदिने युट्युब व्यापार र पत्रकारिता पनि चलेको छ l
सबै झगडाको गन्तव्य डिभोर्स नहुन सक्छ l डिभोर्स गर्ने पर्ने स्थिति एउटा कुरा तर सामान्य कुरालाई उचालेर भावनामा बहकिन लाएर डिभोर्स गर्न बाध्य पारिनु उचित विषय र पक्ष होइन l पूर्वीय विवाह संस्कार र संस्कृति अनि संस्थामाथि नै अविश्वास गरेर विवाह संस्थाको औचित्यमाथि नै प्रश्न उठन थालेको छ जसको निराकरण गर्न समाजशास्त्रीय, मानवशास्त्रीय विश्लेषण खोज र अनुसन्धान जरुरी देखिन्छ । सम्बन्धविच्छेद किन साधारण लाग्छ। विच्छेद असामान्य ढंगले वृद्धि भएको छ, सोको लेखाजोखा अनिवार्य हुनुपर्छ । राजनीतिज्ञ चिन्तक आहुति विवाह संस्था नै खारेज गर्नु पर्छ भन्ने तर्क गरिरहन्छन् l कार्ल मार्क्सले विवाहलाई एउटा पुँजीवादी शोषण पद्धति भित्रको पितृसत्तामक हतियार भनेर चित्रण गरेको पढन पाइन्छ l मार्क्सवादीहरू पुरुषले महिलालाई दमन गर्ने लाइसेन्सको रूपमा विवाहलाई व्याख्या विश्लेषण गर्छन् l
यदि पुरुष र महिला स्वतन्त्र हुन् चाहन्छन् भने विवहा भन्ने संस्था नै खारेज हुनुपर्छ भन्छन् स्वामी कृष्णानन्द भारती l उनी तर्क गर्छन् : ‘बच्चा जन्माउन विवाह नै गर्नुपर्छ भन्ने छैन l विवहा नगरी पनि बच्चा जन्माउन सकिन्छ र त्यसतर्फ महिलाहरूले बहस छेडिसकेका छन् l विवाह बन्धन रहेको कुरा हाम्रो समाजले स्वीकार गरिसकेकोले यसमा किन बस्ने ? हरेक बन्धनलाई तोड्दै अघि बढ्नु पर्छ l’
सम्बन्ध घटना र कारणका आधारमा जोडिन्छ, तोडिन्छ तर अहम र इगो अनि स्टारडमको भावनाले तोडिनु निश्चय नै शुभसंकेत होइन । सामान्य विवाद, भुल, क्षणिक संयम ग्रहण गर्न नसकेको स्थिति अनि कमजोरीलाई आपसमा मन माझेर मिलाउन नसक्दा हुने गम्भीर घटना र सम्बन्धमै पूर्णविराम लाग्ने स्थितिबारे चिसो दिमागले सोच्नु र बुझ्नु अति आवश्यक हुन्छ । सम्बन्ध यसकारण पनि टिकाउनु र बचाउनु पर्छ ताकि आफ्नो सामान्य भूलको शिकार आफ्ना बालबालिका र सन्तान नबनुन् । जीवनभर पश्चातापमा जल्ने परिस्थिति सिर्जना नहोस्।
सम्झौताको करारनामा जसले तोडे पनि आखिर दुर्घटना हुने हो । कहिलेकाहीँको थोरै असमझदारी र सानो भुल तन्काउने, अल्झाउने, बल्झाउने गरियो भने त्यसको परिणाम अकल्पनीय, भयाबह र जिन्दगी नै बेकारको बन्छ । समस्या सुल्झाउने र सुखद निष्कर्षमा पुर्याउन परस्परको अविश्वास अन्त्य गर्ने पहल गर्नु जरुरी हुन्छ।
सम्बन्धविच्छेद हुनु भनेको जीवनको संगतिमा खलल पुग्नु हो । जिन्दगीको लय विश्रृंखलित हुनु हो। समाजमा नूर गिर्नु हो। मानसिक आघात निम्तनु हो । समस्या अभाव र अविश्वासको खाडल बन्नु हो । कलिला बालबालिकाको मन मस्तिस्कमा भय, डर त्राशको छाप जीवनभर रहनु हो । जिन्दगी समस्याग्रस्त बन्नु हो । अर्को भरपर्दो जीवनसाथी नमिल्न पनि सक्छ । आफूले भनेजस्तो भएन भने कतिपटक सम्बन्ध जोडने र छोड्ने ? जोडीमिलेन भने जिन्दगीको रथ एकलकाँटे हुनेछ । समग्रमा सामाजिक जनजीवन चकनाचुर हुनेछ । जिन्दगीको बज्रपात सहनुभन्दा सामान्य असमझदारीलाई सरलीकृत गरी विश्वास दिनु र दिलाउँदा जिन्दगीको दौड जितिन्छ ।
हाम्रो पूर्वीय विवाह प्रणाली अरू भन्दा कम खोटरहीत छ विवहाको सम्बन्धमा भन्ने छ । हाम्रो सभ्यता संस्कृति र मान्यता पश्चिमाको भन्दा अब्बल छ । आधुनिकताको नाममा परसंस्कृति ग्रहणका कारण पनि धेरै समस्या पैदा भएका छन् । आफ्नो मौलिकता र स्वत्व गुमाउदै जाँदा भोलि समाज आजको रूपमा नरहन सक्छ, परिवार तीव्रतर गतिमा विघटनमा जानु ठिक होइन । यसको असर समाज र देशलाई पर्छ । तसर्थ विवाह एक परस्परको सम्झौता पनि हो । यसको सम्झौता भङ्ग गर्ने छुट दुवैलाई छैन ।
समस्या सुल्झाउने र सुखद निष्कर्षमा पुर्याउन परस्परको अविश्वास अन्त्य गर्ने पहल गर्नु जरुरी हुन्छ । प्रेम, विश्वास र सदभावले मृत्युलाई जित्न नसके पनि मृत्युलाई पछाडि धकेल्न सकिन्छ भने सम्बन्धमा विजय हासिल गर्न प्रेम, विश्वास र सद्भावलाई सहयोगी र सूत्रबद्द हतियार बनाउँन सकिन्छ ।
बारम्बारको भुल क्षमायोग्य हुँदैन । तर सामान्य भूललाई इगोको मात हालिदियो भने त्यसले निम्त्याउने परिणाम आफ्नो दुःखको कारण बन्ने पक्का छ । डिभोर्स ह्याप्पी इन्डीङ हुँदैन । कसैगरी रामकृष्ण ढकालको गीत र नियति झैँ आफ्नैसँग बिछोडिएर बस्ने दुर्भाग्य नहोस् कसैको । बाटो सबै सजिला कहाँ हुन्छन् र हिड्न ?
सम्बन्ध विछेदको बढ्दो ग्राफ सुनेर देखेर भने हाम्रो समाज कतै अराजकतातर्फ मात्रै उन्मुख भइरहेको त छैन ? सम्बन्ध विच्छेद नै जिन्दगी दुखको महासागरमा हेलिनु होइन यद्दपि संयम हुँदा थोरै र एकछिन कहिलेकाहीं खप्न र सहन सक्दा जिन्दगीमा सङ्कट विच्छेद टर्छ भने त्यसो किन नगर्ने ? सँगै रहन सकिन्न भने विकल्प किन खुला नगर्ने ?
फोटो सार्वजनिक सन्जालबाट साभार,akabarey.com
कुन उपायबाट कारागार आफ्नो नियन्त्रमा लिन सकिन्छ भनेर सुरक्षा संयन्त्र र प्रशासन सरसल्लाह गर्दै रहेको...
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...