सडक दुर्घटना र रोकथामका उपायहरू-इ.ज्ञानबहादुर कार्की

सवारी साधन प्रयोग गरेर यात्रा गर्नु हाम्रो जीवनको दैनिक आवश्यकता भित्र पर्दछ । यात्राको क्रममा विभिन्न समयमा सवारी चालकले नियन्त्रण गुमाएर अथवा सवारी साधनको यान्त्रिक गडबडी भएर वा सडकको अवस्था वा अन्य कुनै कारणले सवारी साधन आफैँ दुर्घटनामा परी वा आफ्नो कारणले अन्य सवारी साधन वा व्यक्ति दुर्घटनामा परी धनजनको क्षति भइरहेको विकराल अवस्था छ । नेपालीहरूको चाडबाडमा पनि दुर्घटनाको दर धेरै हुने गरेको पाइन्छ l
हाम्रो देशमा सडक दुर्घटनाबाट भइरहेको धनजनको क्षतिको अवस्था कहालीलाग्दो छ । यात्रा सुरू गरेपछि गन्तव्य स्थान नपुगेसम्म यात्रा सुरक्षित हुन्छ वा हुन्न भन्न सकिने अवस्था छैन । ढुक्क भएर यात्रा गर्न सकिने अवस्था छैन ।
दुर्घटना आफै हुने कुरा होइन । यो कुनै कारणले हुने हो । दुर्घटनाको कारण पत्ता लगाएर रोकथामको उपायलाई प्रभावकारी रूपले अवलम्बन गर्न सकिएमा दुर्घटना रोक्न सकिन्छ वा पुरै रोक्न नसके पनि न्यूनीकरण भने अवश्य गर्न सकिन्छ । सडक दुर्घटनाको हालको विद्यमान अवस्था र त्यसलाई न्यूनीकरण गर्न रोकथामका उपायहरूको बारेमा उल्लेख गर्दछु ।
सडक यातातातको विद्यमान अवस्था र दुर्घटनाको तथ्यांक
२०७५ साल श्रावणदेखि २०८० साल माघ सम्म करिब साँढे पाँच वर्षको अवधिमा १ लाख १२ हजार सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट करिब १४ हजार १ सय व्यक्तिले ज्यान गुमाएका छन् भने ३२ हजार १ सयभन्दा बढी गम्भीर घाइते भएका छन् ( नयाँ पत्रिका, ६ चैत्र २०८० )
यो तथ्यांक हेर्दा सरदर प्रत्येक वर्ष २० हजारभन्दा बढी सवारी दुर्घटना भएका छन् र दुर्घटनाको कारण सरदर २५०० भन्दा बढीले ज्यान गुमाएका छन् र ५८०० भन्दा बढी गम्भीर घाइते भएका छन् ।
साथै गएको साँढे चार वर्षको अवधिमा सुरक्षामा खटिएका १ सय ७ जना विभिन्न ओहदाका ट्राफिक प्रहरीले पनि सवारी साधनको ठक्करबाट ज्यान गुमाएको तथ्यांकमा देखिन्छ ।
हालै २०८० फाल्गुन १ गतेदेखि चैत्र ५ सम्म पाल्पा, कपिलवस्तु, धादिङ, उदयपुर र बाग्लुङमा गरी ५ वटा ठूला दुर्घटना भएका छन् र यी दुर्घटनामा ४५ जनाको ज्यान गएको छ भने १ सय २४ जना सख्त घाइते भएका छन् l
सवारी चालक अनुमति पत्र -
गत ५ वर्षको अवधिमा नेपालभरिका विभिन्न यातायात कार्यालयहरूबाट ७३ हजार नक्कली सवारी चालक अनुमति जारी भएको कुरा सार्वजनिक भएको छ । यो कुरा सार्वजनिक भइसकेपछि अनुसन्धानको क्रममा अरू थप २३ हजार थान पनि जारी हुने क्रममा रहेको कुरा बाहिर आएको छ । ( अनलाइन खबर,२५ पौष २०८०) । साथै सम्बन्धित कार्यालयका कर्मचारी र विचौलियासँगको मिलेमतोमा असक्षम व्यक्तिले पनि चालक अनुमति पत्र लिइरहेको कुरा पनि विभिन्न मिडियाले सार्वजनिक गरिरहेको पाइन्छ ।
विद्यमान ऐन कानुन तथा नीति नियम -
राष्ट्रिय सडक सुरक्षा परिषद भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत कामगर्ने एउटा आधिकारिक निकाय हो जसले पर्याप्त सडक सुरक्षा ऐन तथा नीति नियमको अभावमा प्रभावकारी तरिकाले काम गर्न सकिरहेको छैन ।
सङ्घ वा प्रदेशको सदनमा वा कुनै पनि स्थानीय तहमा सडक सुरक्षाको एजेण्डामा कुनै छलफल हुने गरेको देखिँदैन । न त कुनै माननीय सांसदहरूबाट यसको विषयमा सशक्त आवाज नै उठ्ने गरेको छ ।
सरकारको ध्यानाकर्षण तथा सरकारी निकायबाट भइरहेको कामको प्रभावकारिता
ठूला दुर्घटना दिनहुँ हुने गरेको कारण मानवीय क्षति बढिरहेकोले २०८० माग महिनाको सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटनाको कारण र कमजोरीहरू पत्ता लगाउन निवर्तमान सचिव धनबहादुर तामाङको अध्यक्षतामा एउटा ५ सदस्यीय कार्यदल बनायो ।
हालसालै बागलुङको निसिखोलामा भएको बस दुर्घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले यो घटनाबाट पाठ सिकेर दुर्घटना कम गर्न कार्यक्रम बनाउन आव्हान पनि गर्नुभयो । कतिपय ठूला दुर्घटना पश्चात त्यसको अध्ययन तथा अनुसन्धान गर्न सरकारले कार्यदल गठन गरेको हुन्छ,तर अध्ययन अनुसन्धानपछि पत्ता लागेका कुराहरू प्रभावकारी रूपमा व्यवहारमा लागू भएको पाईंदैन । यो हाम्रो देशको ठुलो समस्या हो l अनुसन्धानको निस्कर्ष कार्यान्वयनमा न आउनु र विषय विज्ञका कुरा सुनुवाइ गर्न कन्जुस्याई गरिनु l
ठूला दुर्घटनाहर बारम्बार भइरहेको हुन्छ । मुख्य गरी ज्यान गुमाउनेहरूलाई श्रद्दान्जली, पीडित घर परिवारलाई समवेदना, अध्ययनको लागि कार्यदल बनाउने जस्ता सामान्य औपचारिकता पुरा गर्ने र सकेको उद्दार कार्य गर्ने बाहेक सरकारको दुर्घटना रोक्ने दीर्घकालीन उपायहरू सोच्ने, यसको चिन्ता गर्ने, नीति नियम बनाउने, विज्ञका सिफारिस मान्ने र व्यवहारमा लगाउने कुनै पनि कुरामा गम्भीरता देखिदैन ।
नेपालमा भएका सडक दुर्घटनाको विषयमा अनुसन्धान गरेर धेरै लेखहरू लेखिएको छन् । कसैले यसैमा विद्यावारिधि पनि गरेका छन् । दुर्घटनाको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा र सरकारलाई आवश्यक सुझावहरू प्राप्त भइरहेको हुन्छ तथापि यस विषयमा सरकार पटक्कै संवेदनशील भएको जस्तो लाग्दैन l सडक सवारी, सडक नियम, चालक, सडकको स्तर, ट्राफिक यात्रु, नियामक निकाय,नीति निर्माता, यात्रु सबैको यथोचित प्रयत्नबाट सडक सवारीलाई सुरक्षित र भरपर्दो बनाउन सकिन्छ l
सरकारी निकायबाट दुर्घटना कम गर्न कार्ययोजनाहरू बनेका छन् तर ती कार्ययोजनाहरू प्रभावकारी रूपले लागू भएको देखिँदैन । बरू दुर्घटना दिनदिनै बढिरहेको अवस्था छ ।
सवारी साधन र गाडीको अवस्था -
वर्षौं पुराना र थोत्रिएका सवारी साधनहरू पनि चलिरहेका छन । पुराना गाडिहरूको यान्त्रिक अवस्था अत्यन्तै खराब भएको हुन सक्छ जुन दुर्घटनाको एउटा कारण हुन सक्छ । गाडी गुडाउनु पूर्व गाडीको अवस्था निरीक्षण गर्ने, यात्रामा लैजान ठीक छ भने मात्र गुडाउने चलन छैन । जहाँ पुगेर बिग्रिन्छ त्यही मर्मत गर्ने गरिन्छ । यसले गर्दा कुनै पनि बेला गाडीको यान्त्रिक गडबडी भएर पनि दुर्घटना भइरहेको अवस्था छ । त्यस्तै कुनै निश्चित समयको अन्तरालमा आधिकारिक निकायबाट नियमित रूपले गाडीको अवस्था चेक जाँच गर्ने पद्धति छैन । ब्रेक राम्रो नलाग्ने, साइड लाइटहरु नबल्ने, हर्न नलाग्ने तथा टायर खिइएर नाजुक अवस्था भइसकेका गाडिहरू पनि चलिरहेका हुन्छन् ।
सडकको अवस्था -
प्रायःग्रामीण सडकहरू नक्सा, सर्भे, ईन्जिनियरिङ् डिजाइन बिना नै निर्माण गरिएका छन् । यी सडकहरूमा धेरै ठाउँमा घुम्ती पुग्दैन, कतै धेरै भिराला छन् भने कतिपय धेरै साँघुरा छन् । विपरीत दिशाबाट अर्को गाडीलाई साइड दिन ठाउँ नपुगेर छेउ च्याप्न जाँदा अथवा धेरै ब्याक गर्नु पर्दा दुर्घटनाको जोखिम बढिरहेको हुन्छ ।
कतिपय सडकहरूमा पानी कटाउने नाला ( साइड ड्रेन ) भएर पनि त्यसको मर्मत सम्भार हुन नसकेर नाला सञ्चालनमा हुँदैन । नालाबाट बग्ने पानी सडकबाट बगिरहेको हुन्छ । पानीको कारण सडक बिग्रिएर असुरक्षित भइरहेको हुन्छ । कच्ची र भिरालो सडक त्यसमाथि पानी बगेर हिलो भएपछि सडक असुरक्षित हुनु कुनै नौलो कुरा भएन । यस्तै परिस्थितिमा नै प्राय सबै ग्रामीण सडकहरुमा सार्वजनिक सवारी गुडिरहेका हुन्छन् ।
सडक सवारी गुडाउन सुरक्षित छ, छैन, निरिक्षण गरेर सडकको अनुमति लिएर गर्ने पद्धति छैन । त्यस्तै गरी कतिपय राजमार्गहरूमा समेत यत्रतत्र खाल्डाखुल्डीहरू हुन्छन् । तीव्र गतिमा आएका सवारी साधनहरू अचानक यस्ता खाल्डा छल्नुपर्दा अर्को गाडीसँग ठोक्किएर पनि दुर्घटना भइरहेको अवस्था छ ।
कतिपय सडकहरूमा मुख्यगरी वर्षातको समयमा पहिरोबाट हुने दुर्घटनाको जोखिम पनि अति धेरै छ । उदाहरणको लागि मुग्लिन नारायणगढ सडक खण्डमा गाडी चालकहरूले घण्टौंसम्म कुर्नु पर्दा धैर्य गुमाएर पहिरो खस्दै गरिरहेको अवस्थामा समेत छिटो पार गर्न प्रयास गरेका हुन्छन् जसले गर्दा पहिरोले थिचिएर, पुरिएर जनधनको क्षति भइरहेको अवस्था छ ।
सवारी चालक -
कतिपय सवारी चालकहरुले हुबहु ट्राफिक नियम पालन नगरेको अवस्था छ जस्तैः मादक पदार्थ सेवन गरेर आफू सामान्य अवस्थामा नआउँदै गाडी चलाउने,मोबाइल फोनमा लामो कुरा गर्दै एक हातले मात्र गाडी चलाउने, तिब्र गतिमा चलाउने आदि । त्यस्तै कतिपय चालकले अगाडिको गाडीलाई ओभरटेक गर्दा हतारिएर असुरक्षित तरिकाले गर्छन् । यो प्रायः काठमाडौं उपत्यका बाहिर हुने गर्छ ।
उपत्यका बाहिर बोलेरो गाडी, पिक अप, ट्रक, ट्र्याक्टर आदिमा पछाडि मान्छे चढाउने अझ सामानमाथि मान्छे राखेर चलाउने गरेको देखिन्छ । यो कारणबाट गाडी ओभर लोड पनि हुन्छ र दुर्घटनाको जोखिम पनि बढेको हुन्छ । कतिपय सवारी चालकमा गाडी चलाउने राम्रो दक्षता नै हुँदैन । सिक्ने उद्देश्यले जबर्जस्ती चलाइरहेका हुन्छ्न । त्यस्तै कहिलेकाहीं चालकले आफ्नो सहयोगीलाई यात्राकै क्रममा सिकाउन कोशिस गरिरहेको पनि देखिन्छ ।
अर्को महत्वपूर्ण पाटो चालकको स्वास्थ्य सम्बन्धी जटिल समस्याहरू रहेका हुनसक्छन् । उनीहरूको मानसिक तथा शारीरिक अवस्था आदि नियमित चेक जाँच गर्ने र चालक सुरक्षित यात्राको लागि ठीक छ भने मात्र सवारी लैजान पाउने कुनै व्यवस्था छैन । चालकको लागि प्रसस्त निन्द्रा पुगेको हुनुपर्छ । अनिन्द्रा पारिवारिक झमेला, व्यवसायिक झमेला,साहुसँगको पर्ने खटपट र यात्रुसँगको लफडाबाट चालक मुक्त रहनुपर्छ । लामो रुटमा एउटै चालकले लगातार गाडी चलाउँदा धेरै थाकेको हुन्छ ।गाडी चलाउने समय अवधि सीमित गर्ने कुरामा कुनै कडाइ गरिएको छैन । चालक थाकेर,निदाएर पनि दुर्घटना भइरहेको अवस्था छ । कतिपय चालकहरूलाई ट्राफिक नियम उल्लंघन गरेमा अथवा आफ्नो गल्ति भएर कसैको ज्यान गएमा वा अङ्ग भङ्ग भएमा के कस्तो सजाय भोग्नुपर्छ, के कस्तो क्षति पूर्ति व्यहोर्नु पर्छ भन्ने राम्रो ज्ञान पनि नभएको अवस्था छ ।
सडक सुरक्षा सङ्केत, सुरक्षा बार तथा मार्किङ -
काठमाडौ उपत्यकाबाट बाहिर जाने कतिपय सडकहरूमा सुरक्षा सङ्केतहरू पर्याप्त छैनन् । कतिपय भएको ठाउँमा पनि राम्रोसँग मर्मत नभएको अवस्था छ । कतिपय सडकमा राखिएका सुरक्षा बार भरपर्दा र उल्लेखित प्रयोजनको लागि बलिया छैनन् । गाडीले छुने साथै भत्किएर जाने खालका छन् ।
उपत्यकाभित्र तथा अन्य मुख्य शहरहरूको कतिपय ठाउँहरूमा जेब्रा क्रसिङ छैन र भएका ठाउँहरूमा पनि राम्रो मर्मत सम्भार नभएको र दुरुस्त नभएको कारण स्पष्ट देखिँदैन, जसको कारण पनि पैदल यात्रुहरूले जतासुकैबाट बाटो काटिरहेका हुन्छन् । यी विविध विद्यमान कारणहरूले गर्दा सडक दुर्घटना नियन्त्रण हुन सकिरहेको छैन ।
दुर्घटना रोकथाम तथा न्यूनीकरणका उपायहरू
१.नक्कली सवारीचालक अनुमतिपत्र लिएर अथवा ट्रायल पास नगरी सवारी साधन चलाउने सवारी चालकले सुरक्षित तरिकाले गाडी चलाउन सक्दैन । नक्कली सवारी चालक अनुमति पत्र जारी गर्ने तथा सम्बन्धित कर्मचारी र बिचौलिया मिलेर असक्षम व्यक्तिले पनि चालक अनुमति पत्र लिने जस्ता गैर कानुनी गतिविधि बन्द गर्नुपर्छ । जारी भएकालाई पनि खारेज गर्नुपर्छ ।
२.राष्ट्रिय सडक सुरक्षा परिषद् तथा सम्बन्धित सबै तहका निकायहरुलाई दुर्घटना नियन्त्रणको लागि आवश्यक पर्ने ऐन र कानुन तथा नीति निर्देशनहरू तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ ।
३.दुर्घटना नियन्त्रणको लागि सङ्घदेखि प्रदेश र स्थानीय सरकारसम्म तीनवटै तहलाई सक्रिय बनाउन सरल र शक्ति सम्पन्न संयन्त्र निर्माण गर्नुपर्दछ ।
४.विगतदेखि अहिलेसम्म भएका विभिन्न दुर्घटनाको अध्ययन अनुसन्धान गरेर तयार गरेको रिपोर्ट संकलन गरी पुनः विस्तृत अध्ययन गरी त्यसको समीक्षा गरेर त्यसबाट पत्ता लागेको कुरालाई लागू गर्नुपर्छ ।
५.अधिराज्यभर चलिरहेका पुराना जीर्ण सवारी साधनलाई निश्चित अवधिपछि पूर्ण रूपले हटाउनुपर्दछ ।
६.निश्चित अन्तरालमा गाडीको अवस्था अनिवार्य चेक जाँच गर्ने र राम्रो अवस्थाको गाडी मात्र सवारीमा लैजाने पद्धति बनाएर कडाइका साथ लागू गर्नुपर्छ ।
७.स्थानीय स्तरमा बनेका प्राय ग्रामीण सडकहरुमा सडक सेफ्टी स्ट्यान्डर्ड नमिलेको र नपुगेको हुन्छ । त्यस्ता
सडकहरूमा सवारी साधन चलाउनु पूर्व सम्बन्धित निकायले स्थानीय सरकारको समेत उपस्थितिमा सडकको अवस्था चेक जाँच गरी, गाडी चलाउन उपयुक्त भएको प्रमाणित गरेर मात्र गाडी चलाउन अनुमति दिने पद्धति बनाउनुपर्छ। कतिपय ग्रामीण सडकहरू सुख्खा मौसममा मात्र चलाउन सकिने तर वर्षातको समयमा र अझ रात्रिको समयमा बढी जोखिम हुने खालका हुन्छन् । अनुमति प्रदान गर्दा यस्तो कुराहरू पनि विचार गर्नुपर्छ ।
८.सबै तहका सडकहरुको नियमित निरीक्षण गर्ने र नियमित रूपले आवश्यक मर्मत सम्भार गर्न भरपर्दो संयन्त्र बनाउनुपर्छ ।
९.धेरैजसो सवारी दुर्घटना चालकको लापरवाहीले हुने गरेको अध्ययनबाट पुष्टि भएकोले मापसे, गति नियन्त्रण तथा मोबाइल प्रयोग आदिमा ट्राफिक नियममा कडाइ गर्नुपर्दछ । सहरी क्षेत्र तथा उपत्यका भन्दा बाहिर यो विषयमा धेरै नै फितलो अवस्था भएको र ठूला दुर्घटना पनि सहर तथा उपत्यका बाहिर नै हुने गरेकोले आवश्यक ठाउँहरूमा थप जनशक्ति व्यवस्थापन गरी यस कामलाई उच्च प्राथमिकता दिनुपर्छ।
१०.सम्बन्धित यातयात समिति तथा व्यवसायीले चालकको शारीरिक अवस्था, मानसिक अवस्था राम्रो भएको तथा दक्ष चालक मात्र राख्न पाउने र चालकको नियमित अन्तरालमा स्वास्थ्य चेक अनिवार्य गर्ने र गरी नियम बनाई लागू गर्नुपर्छ ।
११.लामो रुटका चालकले लगातार सवारी चलाउँदा चालक निदाउने, थाक्ने आदि भएकोले नेपाल श्रम ऐन अनुसार गाडी चलाउने अवधि, आराम गर्ने समय आदि व्यवस्थामा कडाइ गर्ने र चालकको ड्युटी अदल बदल गर्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ।
१२.चालकहरुलाई निश्चित समयको अन्तरालमा ट्राफिक ऐन नियम कानुन सम्बन्धी पुनर्ताजकी तालिमको व्यवस्था गर्नुपर्दछ साथै चालकले गल्ती गरेमा के कस्तो सजाय भोग्नु पर्छ भन्ने विषयमा तथा सुरक्षित ड्राइभिङ सबन्धी नियमित (कम्तिमा वर्षमा एक पटक ) प्रशिक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ ।
१३.पिक अप गाडी तथा बोलेरो गडीमा र ट्रयाक्टर आदिमा पछाडि मान्छे बोक्न नपाउने तथा ट्रयाक्टर, ट्रक आदिमा लोडमाथि मान्छे हाल्ने कार्य नेपाल अधिराज्य भरि कडाइका साथ नियम लागू गरी पुरै बन्द गर्नु पर्छ ।
१४.ओभरलोड हुने गरी सामान हाल्ने, सार्वजनिक बसमा सिट भन्दा बढी यात्रुहरू खाँद्ने आदिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ ।
१५.सडकको सबै आबस्यक ठाउँहरूमा उपयुक्त र बलिया सेफ्टी व्यारिएर निर्माण गर्नुपर्ने तथा नपुग भएको ठाउँमा थप्नुपर्ने कामलाई तिब्रता दिनुपर्छ ।
१६.सडकमा पर्याप्त मात्रामा सुरक्षा सङ्केत तथा सूचनाहरू राख्ने तथा सडक मार्किङ तथा जेब्रा क्रसिङहरूलाई सधैँ दुरुस्त राख्नुपर्दछ ।
१७.ट्राफिक सुरक्षा सचेतना सम्बन्धी कार्यक्रम तथा सवारी सम्बन्धी नियम कानुनहरूलाई हरेक स्थानीय रेडियोहरु तथा हरेक सञ्चार माध्यम प्रयोग गरी व्यापक प्रसारण गर्नुपर्छ ।
१८.पैदल यात्रीहरू गाडीसँग सडकमा नै हिँड्नुपर्ने अवस्था भएको ठाउँमा अनिवार्य फुटपाथ निर्माण गर्नुपर्छ ।
१९.दुर्घटना रोक्न तथा न्यूनीकरण गर्न बनेका विभिन्न कार्ययोजनाहरूलाई प्रभावकारी रूपले कार्यान्वयन गर्नुपर्छ ।
सडक दुर्घटना रोक्न सकिने कुरा हो, प्रयास गरे रोक्न सम्भव छ ।
लेखक इ. ज्ञानबहादुर कार्की,स्वास्थ्य, सुरक्षा तथा वातावरण प्रबन्धकको रूपमा खिम्ती,जलविद्युत केन्द्र हिमाल पावर लिमिटेडमा विगत लामो समयदेखि कार्यरत छन् l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”