अति महत्त्वाकाङ्क्षा अवसरवादको जननी - ताराबहादुर कोइराला

प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँगको गठबन्धन छापामार शैलीमा तोडेर एमाले सम्मिलित सरकार बनाए । अकस्मात र हठात् निर्णय गर्नु र पिपलपाते देखिनु प्रचण्ड प्रवृत्ति भएको छ l नेपालको राजनीतिमा २०५१ साल पछाडि विकसित भएको फोहोरी सत्ता खेलको निरन्तरतामा प्रचण्डले पनि आफ्नो सहभागिता अरू पुराना खेलाडीलाई तल पर्नेगरी खेलिरहेका छन् । हाम्रा नेताहरू भित्र विकसित सत्ता लिप्सा,पदलोलुप र चरम अवसरवादको पराकाष्ठाको उदाहरण प्रचण्डको माओवादी केन्द्र हो भने अन्य पार्टी र नेता यसका पूरक भाग हुन् l हरेक सत्ता समीकरणको कारण नेपालको राजनीतिक वृत्तमा थुप्रै दृश्य अदृश्य प्रश्नहरू उठ्ने गर्छन् यसपटक त्यस्तै संशय, आशंका र खुल्दुलीहरू पैदा भएका छन् l जुन पहिले भएका घटनाको दाँजोमा उल्लेख्य मानिन्छ l जसको असर विस्तारै देखिन्छ l कारणहरू कतिपय सतहमा छन् कतिपय क्रमशः प्रकट होलान् l
गठबन्धनमा रहेको पहिलो शक्तिको रूपमा यसको प्रत्यक्ष असर नेपाली काङ्ग्रेसमा परेको छ र यो परिस्थितिमा नेपाली जनताहरूले काङ्ग्रेससँग परिपक्व भूमिकाको आशा राखेका छन । म एक काङ्ग्रेस कार्यकर्ता भएकोले पार्टी सभापति र नेताहरूलाई आफ्नो सुझाव प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
श्रीमान् सभापतिज्यू,
नेपालको राजनीतिमा विकसित पछिल्लो घटनाक्रम विकृत भए पनि स्वभाविक थियो । यसको मूल दोषी हामी सबै हौं । चाहेर नचाहेर विधि मिच्ने, पद्धति भत्काउने र विवेक मार्ने कामका हामी मतियार बनेका छौं । राजनीतिककर्मीको नाताले विकसित चिन्तन, प्रवृत्ति र मनोवृत्तिले उत्पन्न गरेको गलत परिणामको जिम्मेवारी हामी सबैले लिनै पर्छ । अब ढिलो नगरिकन निर्मम भएर आत्मामूल्याङ्कन र आत्मासमिक्षा गर्नु पर्ने बेला आएको छ । यसमा सबै दोष प्रचण्डको थाप्लोमा हालेर उम्कने छुट न एमालेलाई छ न नेपाली काङ्ग्रेसलाई छ ? किनभने प्रचण्ड प्रवृत्तिलाई खेल्ने र अराजक बनाउने, उनका सबै धोकाघडीलाई सामान्य मानेर तत्काल स्वीकार गर्ने ग्राउण्ड हामीले उपलब्ध गराएका हौँ l उनको अस्थिर राजनीतिमा मलजल गर्ने काम अन्य पार्टीले पनि गरेका हुन् l यसर्थ दोषभागी हामी सबै छौं l यो सत्य नकार्ने नैतिक हिम्मत कसैसँग नहोला शायद ?
जनता निराश, कार्यकर्ता उदाश , हताश र नेता बदनाम छन । गलत सावित भैसकेको परम्परा र कार्यशैलीले मुलुक र जनताको भलो पनि हुदैन र राष्ट्रिय स्वाभिमानको रक्षा पनि गर्न सकिंदैन । यथास्थितिमा देश चलाउन खोज्नु भयङ्कर दुर्घटनाको आमन्त्रण हो । भए गरेका गलत काम र भुलत्रुटि कबोल गरेर सच्चिएर जानुको विकल्प हामीसँग बाँकी छैन ।
नेपालका कम्युनिस्टहरू सैद्धान्तिक रूपमा लोकतान्त्रवादी होइनन् । समयको दवावले लोकतन्त्र मानेका मात्र हुन । २०५४ सालमा वामदेव गृहमन्त्री हुदा भएको स्थानीय निर्वाचन, ओली प्रधानमन्त्री हुँदा गरेका काम र प्रचण्डले बेलाबखत दिने धम्कीले उनीहरू भित्र रहेको निरंकुश सोच जिवित रहेको पुष्टि हुन्छ । कम्युनिष्ट जिनमा अधिनायकत्व हुन्छ रहन्छ नै l निर्वाचन र लोकतन्त्रको माध्यमबाट निरंकुश शासन चलाउने आधुनिक कम्युनिस्ट हरूको नयाँ फर्मुला हो । तर मौका पाउने बित्तिकै कम्युनिस्टहरू आफ्नो नैसर्गिक स्वभावमा फर्कन्छन् l यो तथ्य कम्तिमा काङ्ग्रेसले भुल्नु हुँदैन l आफ्ना नेता बीपीबाट काङ्ग्रेसले कम्युनिस्टसँग गर्ने सैद्धान्तिक व्यवहार सिक्नु पर्छ l तथापि कतिपय अपवाद व्यवस्था परिवर्तन गर्न गरिएका गठजोड र समीकरण अस्वाभाविक मानिन्न l
यो पद्धति असफल भएपनि पद्धतिलाई नै दोष दिएर उनीहरू मुक्त हुन्छन् । लोकतान्त्रिक पद्धतिको वारिस नेपाली काङ्ग्रेस हो । यसको संरक्षण गर्ने, जनउत्तरदायी बनाउने र यसको मर्म र भावना अनुरूप आचरण र व्यवहार गर्ने हामी काँग्रेसहरूको खास र विशेष जिम्मेवारी र कर्तव्य हो । राजनीतिक अस्थिरताको अन्त्य गरेर मुलुकमा विश्वासयोग्य र भरपर्दो पद्धति विकासमा योगदान र नेतृत्व गर्ने दायित्व पनि नेपाली काङ्ग्रेस कै हो ।कुनै पनि तर्कले यसबाट विमुख हुने छुट हामीलाई छैन । इतिहासले दिएको गौरवपूर्ण अभिभारा र वर्तमानले सम्झिएको हाम्रो दायित्व सदैव स्वागतयोग्य छ l
सबैखाले सत्ता समीकरणको तितो अनुभव हासिल गरिसक्यौं । यसले पारेको नकारात्मक असरको पीडा देश र जनता मात्र होइन काङ्ग्रेस आफैले भोगिरहेको छ । नेपाली काङ्ग्रेसका पछिल्ला दिनहरूमा अन्तराष्ट्रिय सम्बन्ध कमजोर बन्दै गैरहेको छ । नेपाली जनमत कम्युनिस्ट स्याल हुँइयाबाट प्रभावित हुनेगरेको छ । भ्रष्टाचार,बेथिति र राजनीतिक अस्थिरताको लागि नेपाली काङ्ग्रेसलाई बढी दोष दिने गरिएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपाली काङ्ग्रेस इतिहासमै सबैभन्दा असजिलो र चुनौतीपूर्ण अबस्थामा छ । यो अवस्थाबाट पार्टी र देशलाई मुक्त गर्न पार्टी भित्रैबाट सुधारको अपरिहार्यता छ त्यो अब सुरुवात गरिहाल्नु पर्दछ । आफू सुध्रिने र राजनीति सुधार्ने अभिभारा काङ्ग्रेसको हो l
नेपाली काङ्ग्रेस भित्र गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र अधिवेशनहरूमा आर्थिक चलखेल तीव्ररूपमा बढेर गैरहेको छ । विधि विधान, पद्धति र परम्परा हामीले ध्वस्त बनायौं । सत्ता लिप्सा, मनोमानी र अनुशासनहीनता बढेर आपसी ममता, मर्यादा, सद्भाव, विश्वास र सम्मान घटेर गएको छ । आफ्नै साथीहरूलाई ईर्स्या, घृणा र उपेक्षा भावले हेर्न थालेका छौं । २०४८ सालको निर्वाचनमा ११४ सिटको बहुमत प्राप्त काँग्रेस कमजोर बन्दै माओवादीसँग गठबन्धन गर्नुपर्ने हालतमा पुगिसकेको छ ।
गठबन्धनका अभ्यास दुई पटक स्थानीय ( २०७४ र २०७९) र पछिल्लोपटक २०८० को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन साथै राष्ट्रिय सभाको निर्वाचन माघ ११ समेत गरेर आइसकेका छौं l हामीलाई पार्टीको भविष्यप्रति कम चिन्ता छ तर पद प्राप्त गर्ने लक्ष्यको लागि बढी समय र ऊर्जा खर्च गरिरहेका छौं । अधिवेशनको मतदानमा धाधली गर्छौं र मतगणनामा सेटिङ मिलाउछौं । विरोधीसँग निर्वाचनमा हार्छौं, तर आफ्नै आन्तरिक प्रतिस्पर्धामा आफ्नै साथीलाई हराएर अबिर माला गरेर जात्रा गर्छौ र सेखी झार्छौं । ठुलो विजयको रूपमा आन्तरिक प्रतिस्पर्धाको जितहारलाई बनाउँछौं l
हाम्रा धेरै नेताहरूमाथि लागेको भ्रष्टाचारको आरोप काङ्ग्रेस भएकै कारण अप्टी लगाएका हुन कि सत्य हो ? छानबिन गरेर दोषी देखिए कारबाही गर्ने र निर्दोष सावित भए आफ्नो नेतामाथि जनताले गर्व गर्न पाउने अवस्था सिर्जना किन नगर्ने ? नेताहरू भ्रष्टाचारी हुन भनेर प्रचार भैरहदा इमानदारहरूमाथि अन्याय भैरहेको छैन र ? भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण गरेर पार्टी बदनाम हुनुभन्दा भ्रष्टाचारमाथि प्रहार गरेर पार्टीको गरिमा र गौरव बढाउनु पर्छ । यसको लागि साहस गर्न सक्नुपर्छ त्यसो भयो काङ्ग्रेस कहिल्यै पराजित हुनु पर्दैन ।नैतिक रूपमा अविचल रहनु भनेको जहिल्यै विजयी बन्नु हो l विजय पराजय नैतिकता र इमानसँग जोडिने चिज पनि हो l
सत्ता गुमेको झोंकमा प्रचण्डलाई सत्ताच्यूत गर्न एमाले, माधवकुमार नेपाल र यतिसम्म कि रवि लामिछानेलाई समेत प्रधानमन्त्री बन्न काङ्ग्रेसले प्रस्ताव गर्यो र साना पार्टीहरूलाई बुढानिलकण्ठमा बोलाएर हारगुहार गरिरहेको कुरा प्रचारमा आइरहेको छ । यदि यो साँचो हो भने यसले राम्रो संदेश दिदैन ।काङ्ग्रेसको लागि प्रत्युत्पादक मात्र होइन घातक सिद्ध हुनेछ । यो काँचो खेल नखेल्न म सभापतिज्यूलाई हार्दिक आग्रह गर्दछु । नव निर्मित गठबन्धनको लामो भविष्य नदेखेका ओली र प्रचण्ड मध्यावधि निर्वाचनमा जाने सम्भावनालाई पनि नकार्न सकिदैन । ओली र प्रचण्डबाट हुने सम्भावित अनिष्टबाट देशलाई जोगाउने र देश अनि जनताको हितमा खबरदारी गरेर रचनात्मक प्रतिपक्षको भूमिकामा रहनु काँग्रेसको हितमा हुनेछ । आफ्नै नेतृत्वमा भरपर्दो सत्ता समीकरणको अवसर नआएसम्म पर्ख र हेरको रणनीति काङ्ग्रेसले लिनु सर्वथा उचित देखिनेछ l
भ्रष्टाचार, सुशासन, रोजगारी र राजनीतिक स्थायित्व साथै आर्थिक विकास, विज्ञान र प्रविधि , जलविद्युत विकास, सडक यातायात, कृषि, पर्यटलगायतका महत्त्वपूर्ण विषयहरूमा महासमितिमा विस्तृत छलफल र बहस भएन र कुनै निष्कर्षमा पुगिएन । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा जुँगाको लडाइँ बनाएर हल्लाखल्ला मात्रै भयो र समय बित्यो । उच्च प्राथमिकताका रहनु पर्ने राष्ट्रिय एजेन्डाहरू छायाँमा परे । पार्टी भित्र विकसित नमिलेका कुरा, समाल्नु पर्ने र विधि पद्धतिका विषयहरूले खासमा प्रवेश नै पाएनन ।
अन्तर्राष्ट्रिय सम्बन्ध, देश भित्रका समसामयिक जल्दाबल्दा विषयहरू र समृद्धिक सन्दर्भमा विकल्प सहितको नीतिगत कार्ययोजना काङ्ग्रेसले प्रस्तुत गर्छ भन्ने आशा थियो । सबै अधिकार केन्द्रीय कार्यसमितिलाई जिम्मा लगाएर सबैलाई निरास बनायो । जनभावनाको सम्बोधन गर्ने योसूवर्ण अवसर थियो । सदुपयोग गर्न सकेनौं । राजनीतिमा सत्ता त आउने र जाने गर्छ । हामीले चिन्ता गर्नु पर्दैन । यो प्रतिपक्षको भूमिकामा रहदा पार्टी भित्र एकता मजबुत बनाउने र जनाता तथा मुलुकको हितमा योजनाबद्ध हिसाबले लक्षहरू किटान गरेर काम गर्न समयको सदुपयोग गरौ । सत्ता प्राप्तिको हतारो नगरौं ।
आफूबाट भइरहेको काम सबै ठिक छ भन्ने सभापतिज्यूलाई लागेको होला । तर बास्तविकता फरक छ । प्रजातान्त्रिक आन्दोलनका लडाइँमा तपाईंको अतुलनीय योगदान छ । गणेशमानजी, किसुनजी र गिरिजाप्रसादको मनमुटाव र झगडा हुदा रामचन्द्र पौड्याल, शैलजा दिदी र तपाई शेरबहादुर देउवा ( RSS ) ले समन्वय र समझदारी गर्न खेल्नु भएको भूमिका र गर्नु भएको मेहनत सह्रानीय छ, स्तुत्य छ ।
सभापतिज्यूले प्रधानमन्त्री हुँदा लिनु भएको राष्ट्रिय अडान, आर्थिक विकासमा पुर्याउनु भएको योगदान र समन्वयात्मक भूमिकाको प्रशंसा गर्नै पर्छ । नेपाली काँग्रेसको सभापति रहदा पार्टी भित्र समावेशी सिद्धान्त तपाईंकै योगदान हो । नेकपाको विभाजन पछाडि एमाले र माओवादीलगायतका दलहरूले प्रधानमन्त्रीकोलागि प्रस्ताव गर्दा हतारमा निर्णय नगरेर देखाउनु भएको धैर्य परिपक्वताको परिचय थियो यद्धपि पदको लागि पार्टी फुटाएको, सांसद किनबेच, पजेरो संस्कृति भित्र्याउने र प्रधानमन्त्री पाएपछि गोरखाका राजाबाट न्याय पाएँ भनेर राजाको प्रतिगमसँग सम्झौता गर्ने जस्ता कामहरूले तपाईंको विगत बेदाग भने छैनन् ।
सभापति रहँदा भागबण्डाको परम्परा सुरु गरेको, गुटबन्दी, आफ्ना मानिसलाई मात्र अवसर दिने र टिकट वितरणमा आफ्नाहरूलाई मात्र छनोट गर्ने काम गलत भैरहेको गुनासो छ । झन् उमेरको कारणले पनि विश्राम लिए हुने भन्ने आम चाहना छ ।
नयाँ पुस्ताका नेताज्यूहरू,
नेपाली काङ्ग्रेसको नेतृत्व नयाँ पुस्ताले नै गर्ने हो । नयाँ पुस्ताको योगदान र आवश्यकताको म सम्मान र समर्थन गर्दछु । पार्टीभित्र शेररबहादुर इतर दोस्रो पुस्ता र युवाहरूको समूह पनि गुटबन्दीमा मरेर लागेको देखिन्छ । जुन कारणले शेरबहादुर देउवाको विकल्पमा आफूलाई प्रस्तुत गर्न खोजीरहनु भएको छ तिनै गलत भनिएका कामहरू तपाईंहरू पनि गर्दै हुनुहुन्छ । उमेर र तरिका फरक होला तर कार्यशैली, चिन्तन र चरित्रमा फरक देखिएन । यसो हुनु भनेको नयाँ पुस्ताप्रतिको भरोसा टुट्नु हो l समझमा रहनु होला l
विधि र पद्धतिमा पार्टी चलोस, योग्यता, क्षमता र कामको आधारमा निष्पक्ष मूल्याङ्कनको परिपाटी बसोस् । पार्टी भित्र विकसित विकृति, विसंगति र बेथितिको अन्त्य होस । गुटबन्दीले मात्र नेतृत्व प्राप्त हुन्छ भन्ने हीनताबोधबाट मुक्त भएर सबै काङ्ग्रेसलाई आफ्नै मान्नुहोस् । नेताहरू मिलेर पार्टी हाँक्नुहोस् । दर्जा तपाईंहरू लिनुस । सुशासन, रोजगारी र न्याय जनतालाई दिएर राष्ट्रिय स्वाभिमानको रक्षा गर्नुहोस् । आम कार्यकर्ता र जनताको यही चाहाना छ ।
आफ्नो तागत, क्षमता र कर्ममा विश्वास नभएको नेतृत्व कमजोर हुन्छ र पद पाउन गलत विकल्पलाई साधन बनाउछ । भविष्यका नेताहरू असल संस्कार भएका, लोभ र पापबाट मुक्त, स्वाभिमान र क्षमतावान हुन भन्ने हाम्रो सदिच्छा हो । तपाईंहरूको महत्वाकांक्षा पूरा गर्न पनि मिलेर जानुको विकल्प छैन । नभए अति महत्वाकांक्षा चरम अवसरवादमा परिणत हुने हो । अवसरवादी चरित्र दुर्घटनामा पर्छ ।
मिलेर गए शेरबहादुर दाइको सम्मानजनक बहिर्गमन हुनेछ र ढिलो चाँडो अरूको पनि पालो आईहाल्छ । तपाईंहरू बिचको विवाद, विभाजन, वैमनष्य र लडाइँले काँग्रेसको गौरवपूर्ण इतिहासमाथि प्रहार हुदै जाने र भविष्य खतरामा पर्ने स्थिति बन्यो भने इतिहासले क्षमा गर्ने छैन । इतिहासमा कलङ्क बोकेर रहने कि गौरव ? " नरहे बाँस्, नबजे बाँसुरी " नहोस महोदय ! अति महत्त्वाकाङ्क्षा अवसरवाद जन्माउँन पुग्छ l अति अवसरवाद जहिल्यै र जसले गरे पनि घाटाको व्यवसाय हो l
जय नेपाल !
लेखक कोइराला दोलखा जिल्ला काङ्ग्रेसका नेता हुन् l फोटो कोइराला स्वयंले उपलब्ध गराएका हुन् akabarey.com
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l