क्रिस्टोफर म्याक क्याण्डलेसको स्मृति र मेरो जन्म दिन

पढाइ त के हो र यार ? एउटा प्रमाण पत्रको अङ्कहरूको परिणाम न हो l जागिर त के हो र यार जीवन जिउने प्रक्रिया न हो l विवाह के हो र यार ? जीवन संस्कार पछिको अर्को संस्करण न हो l
उच्च शिक्षा अध्ययन पुरा गरेपछि घर छोडेर संसार चाहार्छु भनेर निस्कँदा म्याक क्याण्डलेसको दिमाग यसरी नै चलेको थियो l उसले उच्च शिक्षा पूरा गरुन्जेलसम्मका प्रमाणपत्रहरू सब च्यातेर बाल्यो l त्यसमा बैंक कार्डहरू पनि थपेर एकछिन आगोको राप लियो l वचत रकमहरू दान गर्यो l उसले प्रेमिका र बाबुआमालाई पनि त्याग्यो l रित्तो गोजी र एउटा ब्याकप्याक झोला बोकेर घरबाट निस्क्यो l ऊ हिच हाइकर थियो l संसार नियाल्ने,पढने हुटहुटीले उसलाई जागृत गरायो l ऊ कलेजको एउटा अब्बल विद्यार्थी र खेलाडी थियो l
जब मान्छेलाई सपनाले भुलुक्क उमाल्छ उसलाई त्यतिबेला संसारमा हरेक चिज असम्भव छ झैं लाग्दैन l पाएँ भने संसार नै जित्छु र बेच्न सक्छु भन्ने कल्पना गर्छ l म्याक क्याण्डलेसको विद्रोही सपनाले उसलाई कहाँ मात्र पुर्याएन l संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको अन्नानडेलमा उसको वाल्यकाल बितेको थियो l इमोरी विश्वविद्यालयबाट उसले इतिहास र मानव विज्ञानमा उच्चशिक्षा पुरा गर्यो l साहसिक यात्रामा अत्यन्त रुचि राख्ने म्याक क्याण्डलेस परिवार र आफ्नो सहर छोडेर डुल्दै डुल्दै एउटा यायावर बनेर अलस्काको फेयरब्यांक पुग्यो l
हरेक दिन बदलिरहने हावापानी, वातावरण, प्रकृति, मान्छेको व्यवहारलाई सामना गर्दै रित्तो गोजी नै ऊ सपनाको गन्तव्यमा पुगेको थियो l सपनाको गन्तव्यमा पुग्न त्यति सहज छैन जति सपना सहजसँग देखिन्छ l चाहे सामान्य मान्छेमा होस् या कल्पनाशील साहसिक मान्छेमा ? कैयन महिना लगाएर गरेको उसको रित्तो गोजीको यात्रा विश्व सामु निकै रोमान्चक छ l
अलस्काको जङ्गलमा झन्डै चार महिना एक्लो जङ्गली जीवन व्यतित गरेर १८ अगस्ट १९९२ मा उसले आफ्नो जीवन अन्त्य गरेको थियो l उसको मृत शरीर फेयरब्यांक नजिकै १४२ नम्बरको पुरानो बस् भित्र भेटिएको थियो l एक्लो साहसिक जीवन जिउन हिंडेको म्याक क्याण्डलेस जीवनको अन्त्यतिर भोकसँग पराजित भयो l ऊ बाँच्न त चाहन्थ्यो तर बाँच्ने चाहनाको भोक मार्न उसले जुन जङ्गली घाँस चपायो, त्यही विषालु घाँसले उसको जीवन चपायो l भोकले लखतरान परेको बेला ऊ मर्नु अगाडि आफूले लेखेको डायरी समातेर हात हल्लाउदै जीवनको अन्तिम फोटो खिचेको थियो l ‘मेरो जीवन सुखमय छ र भगवानलाई धन्यवाद छ अलबिदा ! भगवानले सबैलाई कल्याण गरून’ मर्नु अगाडि उसले डायरीमा कोरेको थियो l
सन् १९९६ जोन क्र्याकरले म्याक क्याण्डलेसको जीवनमाथि ‘इन टु द वाइल्ड’ पुस्तक लेखे उक्त पुस्तक प्रकासनपछि पाठकहरू पुस्तकको वास्तविक कथासँग निकै मोहित भए l प्राकृतिक संसारको बारेमा जुन पुस्तकले अमेरिकी सांस्कृतिक विचारलाई प्रतिनिधित्व गर्दछ l वास्तविक कथामा आधारित उक्त पुस्तकमाथि सन् २००७ मा प्रसिद्ध हलिउड चलचित्र निर्देशक सन पेनले ‘इन टु द वाइल्ड’ चलचित्र नै निर्माण गरे जुन चलचित्र विश्वभरका चलचित्रप्रेमीहरू बिच प्रसिद्ध बन्यो l सन् २०२३ को वर्षा मौसममा म एङकरेज, अलास्कामा सरोज भट्टराईको घरमा पाहुना बन्न पुगेको थिए l सरोज मेरो कलेजको साथी थियो l ऊ सँग पुरै बिस वर्ष पछाडि भेट भएको हो l
सुताइमा नयाँ अनुभव बटुल्नु भनेर उसले मलाई उसको घरको आँगनमा भएको क्याम्पिङ्ग बसमा सुतायो l क्याम्पिङ्ग बसमा विशेष गरी गर्मी मौसममा सपरिवार घुम्न जाने चलन हुन्छ l जहाँ बस नै एउटा सानो घर हुन्छ l सुत्ने ओछ्यान, भान्सा ट्वाइलेटजस्ता आधारभूत सुविधा बसमै हुन्छ l भोलिपल्ट बिहान सरोजले मलाई क्याम्पिङ्ग बसमै चिया लिएर आए l मैले 'इन् टु द वाइल्ड' को बारेमा उनलाई सुनाएँ l 'इन् टु द वाइल्ड'चलचित्र मैले निकै वर्ष अगाडि हेरेको थिएँ l म्याक क्याण्डलेसले जीवनको केही समय बिताएको र जीवनको अन्तिम दिन र क्षण बिताएको बस हेर्ने इच्छा थियो l
एंङ्करेजबाट उक्त बस भएको ठाउँ पुग्न ५७५ किमी टाढा थियो l साइकलमा जाने हो भने झन्डै ६ दिन लाग्थ्यो l साइकलमा जानु भनेको जीवनलाई केही जोखिम मोलेर जानुपर्थ्यो l विशेषगरी बाटोमा पर्ने जङ्गलमा भालुहरूको भयंकर डर हुन्थ्यो l सरोजले दिपक र विज्ञानलाई बोलाए l उनीहरू मलाई लिएर 'इन् टु द वाइल्ड'को बस देखाउन लिएर जान राजी भए र हामी त्यतातिर लाग्यौं l
सयौ तालहरू, लाखौ सल्लाका रुखहरूलाई सुसेली मार्दै देनाली हिमालको काखबाट हामी पाँच घन्टामा उत्तरी धुर्वको फेयर ब्यांक पुग्यौ l म्याक क्यान्डलेसको जीवनले चर्चित बनेको बस् भित्र पस्यौ l उनले लखेको डायरीहरू पढ्यौ उनले खिचेका फोटो नियाल्यौ र हामीले पनि थुप्रै फोटोहरू खिच्यौ l सिमसिम पानी पर्यो नजिकै रहेको एउटा रेस्टुरेन्टमा परिचय पत्र ( जहाँ रक्सी सेवनको लागि उमेर पुगेको परिचय पत्र आवश्यक हुन्छ ) देखाएर दीपक र मैले एक-एक पेग हुस्की मगायौ l फेरि थप्यौं l फेरि थप्यौ र थापीरह्यौ l म्याक क्याण्डलेसको दुखद अन्त्यको बारे चर्चा परिचर्चा गरिरहयौ l उसको मूर्खताको कुरा गर्यौ l उसको साहसको कुरा गर्यौ त कहिले उसको दुखद मृत्यु पीडाको कल्पना गर्यौ l
फर्किंदा विज्ञानका ठट्यौली गफलाई मैले साथ दिएँ l बाटोभरि दिपक जडितले लेखेका गीतहरू सुन्यौ l एङ्करेज फर्किंदा रातको ११ बज्यो l सूर्यको लाल किरणले हामीलाई छायाँमा बदल्यो l १२ फेब्रोरी १९६८ मा क्यालीफोर्निया राज्यमा म्याक क्यान्डलेसको जन्म भएको थियो l विद्रोही एड्भेन्चरर क्यान्डलेस जन्मेको ५ दिन पछि १७ फेब्रोरीमा म जन्मेको थिएँ l २४ वर्षको उमेरमा ऊ मृत्युपछि विश्व प्रसिद्ध पात्र बन्यो l संसार जित्छु भनेर हिंडेको विद्रोही ऊ फेरि कहिल्यै फर्केर आएन l तर म संसारको धेरै भूभाग टेकेर जीवितै फर्केर आएँ l साहसिक यात्रा गर्ने हरेक मान्छेको जीवन ‘इन् टु द वाइल्ड’ हो l सपनाको गन्तव्यमा पुगेपछि कोही फर्कन्छन् कोही फर्कंन्नन् l म्याक क्याण्डलेस कहिल्यै फर्किएन l तर म जीवितै फर्किएँ l जीवनको वास्तविक अर्थमा ऊ भाग्यमानी थियो कि म भाग्यमानी थिए ?
जीन्दगी यात्रा हो,यात्रा
थाहा छैन कहाँ पुगिन्छ ?
अनवरत हिंडिरहे त के भरोसा
मोडिए फेरि भेटिन्छ
(पुष्कर शाह विश्व साइकल यात्री तथा सरमाथा आरोही हुन् ) पुष्कर शाहको संसारलाई 'साढे पाँच फन्को' किताब अत्यन्तै चर्चामा छ l पुष्कर शाहको आज जन्म दिन पनि भएकोले akabarey.com हार्दिक शुभकामना व्यक्त गर्दछ l
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...