'पोएट आइडल'को जज बारे विचारोत्तेजक विमर्श - नारायण गाउँले

कविता लेख्नेहरूले मात्रै कविता बुझ्न सक्छन् भन्ने सोच आफैमा अपूर्ण छ l त्यसो हुँदा पाँच कक्षादेखिका विद्यार्थीलाई किन कविता पढाउनु ? हजारौंले कविताको किताब किनिदिऊन् भन्ने किन आग्रह राख्नु ? यस्तो सोचले कवितालाई झन् सञ्कुचन गर्दछ l अनि लेख्नेले या लेख्नेहरूले मात्रै बुझ्ने कविता त्यसै पनि 'आइडल' कविता हुन सक्दैन । भिन्न पृष्ठभूमि र पेशाका हजुरामादेखि नातिसम्मले सुन्दा 'वाह' निस्कियोस् न, तब पो कविता !
फेरि यो 'पोएट आइडल' हो, 'पोएट्री' होइन । कविता प्रतियोगिता होइन यो, जहाँ सीमित शब्दको घेराबन्दीमा एउटा कविताका बनोट-बुनोट, रस, लय, भाव, अलङ्कार, शब्दशक्ति या अभिव्यक्ति कौशल हेरेर विजयी घोषणा गरियोस् l त्यसको लागि ठूलो संस्था प्रज्ञा प्रतिष्ठान छँदै छ ।
भनिएकै 'पोएट आइडल' छ भने यसमा खास एउटा कविताको मात्रै भूमिका पक्कै हुँदैन । कवित्वका अलावा प्रस्तुति, अभिनय, तत्काल श्रोतामा पर्ने प्रभाव र दर्शकलाई समातिराख्न सक्ने कला जस्ता विविध पक्ष हुन सक्छन् । 'पार्श्वगायन र कन्सर्ट' जस्तै उस्तै भएर पनि फरक हुन सक्छन् । आजसम्म हामीले पाठकका लागि कविता पढ्दै आयौं, यो श्रोता र दर्शकका लागि कविता होला । किताबमा साह्रै उच्च लागेको कविता मञ्चमा पढ्दा सामान्य लाग्न सक्छ भने मञ्चमा पढ्दा वाह वाह पाएका कविता या गजल छापिएर पढ्दा सामान्य लाग्न सक्छ । यो कार्यक्रम छाप्ने कविताको होइन ।
त्यसैले केकी अधिकारीलाई त्यस्तो कुनै कार्यक्रमको 'जज' बनाउँदा हाम्रो टाउको दुख्नुको अर्थ छैन । उनमा निर्णय गर्न सक्ने क्षमता छैन भन्ने हामी को हौं ? हाम्रा दिदीबहिनीले कविता बुझ्दैनन् ? राम्रो र नराम्रो कविता छुट्याउन सक्दैनन् ?
मार्क्सवाद, प्रगतिवाद, प्रगतिशीलता, अस्तित्ववाद जस्ता शब्द घोकेको र एकदुई पेग धोकेर छेउ न टुप्पोको कविता लेखेको मान्छे मात्रै कविताको मर्मज्ञ हुँदैन ।
कविता र कवि समाजको लागि हो भने समाजका विभिन्न वर्गबाट 'जज'हरू राख्न सकिन्छ । एकल जज त पक्कै होइन । हाम्रो भाषामा कविता नै बुझ्ने पनि त त्यहाँ छन् पक्कै । केकी हुँदा यो छनोट अझ अझ बहुआयामिक हुन पनि त सक्छ ।
अघिल्लो संस्करणमा पनि तपाईं-हामी यस्तै नकारात्मकता या अति कवितात्मकताको शिकार थियौं । यस्तो पनि रियालिटी शो हुन्छ र भन्ने थियो ! भयो ! मजा आयो ! नेपाली कविताको सर्वोच्च स्तर निर्धारण प्रतियोगिता होइन यो, एउटा रियालिटी शो हो, जुन कवितामा आधारित छ । मजा आए हेरौं, नत्र प्रज्ञाको कविता प्रतियोगिता छँदैछ !
कविता प्रतियोगिता र रियालिटी शोको भिन्नता सम्म थाहा नभएकाले अरूको क्षमतामाथि किन 'जज' गर्नु ?
कविको नाम समेत हटाएर एउटा बन्द कोठामा गरिने कविताको मूल्याङ्कन र स्टेजमा दिने दमदार कवितात्मक प्रस्तुतिको आधारमा व्यक्तिले जित्ने व्यावसायिक र मनोरञ्जनात्मक शो उस्तै हुनुपर्छ भन्ने ? अझ यसमा भोट पनि मिसिन सक्ला । खासमा यो सहभागीमध्ये 'ग्ल्यामरस' कवि छान्ने कार्यक्रम न हो । यत्ति हो, छालाको ग्ल्यामरमात्र नभएर सिर्जनात्मक ग्ल्यामर खोजिएला त्यहाँ ।
कविता मात्रैको स्पर्धा होइन भने निर्णायक पनि त्यसै अनुसार राख्न परेन ? एउटा प्रस्तुतिले आम दर्शकमा पार्ने तत्क्षणिक प्रभावलाई एउटा कविता लेख्नेले बढ़ी टिप्न सक्छ कि सुन्नेले ?
कविता लेख्नेले त एउटा धार, भाव या मनःस्थितिमा लेखेको हुन्छ, लेख्न सक्छ । तर पाठकमा त त्यो सीमितता हुँदैन । ऊ अझ बहुआयामिक हुन सक्छ ।
गत साल, कविको पनि रियालिटी शो हुन्छ र भनेर साथीहरूले सुरुमैं खिस्सी उड़ाए । निर्णायक बारे कटाक्ष गरे । पत्याइयो र हेरिएन लामो समय । यसो टुक्राटाक्री फेसबुकमा आउन थालेपछि हेरियो । मजा आयो । त्यसपछि खोजेर हेरियो । त्यत्रो निगेटीभीटी चिर्दै आयोजकले शोलाई अघि बढ़ाए ।
आज तिनैले फेरि निर्णायक भएन भनेको देख्छु । हिजो शोलाई चाहिने भन्दा हलुका लिनेहरूले अहिले चाहिने भन्दा बढ़ी गर्हुँगो लिएको हो कि ?
स्मरणीय : नारायण गाउँले समाजिक संजालमा आलोचनात्मक विमर्श बनाउन खप्पिस लेखक हुन् l सत्यका अनेक आयाम र पाटा बारे गाउँलेले आफ्नो आलोचनात्मक सङ्कथन प्रस्तुत गर्दछन् l आफ्नो ज्ञान समझ र दृष्टि भन्दा पर पनि सत्य हुनसक्छ, एउटा धारणा एउटा व्यक्तिको बुझाई मात्र अन्तिम सत्य होइनन् भन्ने तत्वबोध श्री गाउँलेको पब्लिक डिस्कोर्समा पढन पाइन्छ l akabarey.com ले प्रस्तुत विचार उहाँको सामाजिक सन्जालबाट साभार गरेको छ l लेखकलाई आभार व्यक्त गर्दै हामी पाठक सामु यो विचार राख्दछौं l विमर्श ज्ञान निर्मितिको माध्यम हो l
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l