नेपालमा उच्च शिक्षा सुधारका लागि अभियान कै आवश्यकता हो त ? - डा.हरिचन्द्र कमली,

विश्व ज्ञान भण्डारको मूल जरोको रूपमा रहेको हाम्रो गुरुकुलीय ज्ञान परम्परा, आधुनिक औपचारिक शिक्षा प्रणालीमा निकै पछाडि पार्नमा राज्य स्तरबाट यसको सुरुवात ढीलो भएको तथ्यलाई पनि मान्न सकिन्छ, किनकि नेपालकाे पहिलो विश्वविद्यालय पनि बल्ल सात दशक पुग्दैछ भने अन्य विश्वविद्यालयहरू त कतिले आफूलाई विस्तार गर्दै छन् भने केही त आफै स्थापित हुन संघर्षरत छन्।
यस्तो अवस्थामा उच्च शिक्षामा धेरै अपेक्षा राख्नु उपयुक्त नदेखिन पनि सक्छ; तथापि सबै भन्दा पुरानो, ठूलो र राज्यको नै उच्च शिक्षाको जमेवारी बोक्दै आएको त्रिभुवन विश्वविद्यालय नै अपेक्षित रूपमा अघि बढ्न नसकेको र उल्टै संकटपूर्ण अवस्थामा पुग्नुले विश्वविद्यालय तथा उच्च शिक्षाको गुणस्तर तथा सुधार सम्बन्धमा विविध चर्चा परिचर्चा हुँदै गरेको पाइन्छ, र याे स्वाभाविक पनि हो। यसै सन्दर्भमा काठमाण्डौ विश्वविद्यालयको पहलमा हालै नेपालका विभिन्न विश्वविद्यालयहरूका उप-कुलपतिहरू को एक दिवसीय सम्मेलन सम्पन्न भएको छ जसमा नेपाल सरकारको सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री पुष्प कमल दाहाल "प्रचण्ड" ज्यूले सम्बोधन गर्दै नेपालका विश्वविद्यालय तथा उच्च शिक्षामा सुधार गर्नु पर्ने सन्दर्भमा आफ्नो कुरा राख्दै, त्रि. वि. को उप-कुलपतिको छनौटका लागि सह-कुलपति तथा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई निर्देशन दिएको जानकारी दिनु भएको थियो।
प्रधानमन्त्री ज्यूले भन्नु भएको आधारमा नै सुधार भइ हाल्छ भन्ने आधार देखिँदैन किनकि नेपालको विश्वविद्यालय तथा उच्च शिक्षामा यति धेरै राजनीतिक प्रभावबाट ग्रस्त छ कि यो त्यति सजिलै र छिट्टै निष्क्रिय भइहाल्छ भन्न सकिन्न। हुन त राजनीतिक निर्णयका आधारमा नियुक्ति गर्दैमा बिग्रीहाल्ने भन्ने पनि होइन किनकि प्रजातन्त्रको पुनर्स्थापना पश्चात प्रजातान्त्रिक सरकारले नियुक्ति गरेका तात्कालिन उपकुलपति प्रा. डा. केदार भक्त माथेमाले त्रि. वि,सुधारका थुप्रै कार्यहरू गर्नु भएको थियो, र त्यस पछिका उपकुलपतिहरूको प्रयासलाई पनि अन्यथा लिन नमिल्ला ?
उच्च पदस्त कार्यकारी भुमिकाहरूलाई राजनीतिक रूपमा नियुक्ति गर्दा, वा भनौं ती पदहरूमा प्रस्ट रूपमा नै राजनीतिक दलका आधारमा भागवण्डा गर्दा, विश्वविद्यालय भित्र प्राध्यापक, कर्मचारी र विध्यार्थीहरूमा राजनीतिक प्रभाव यसरी वढ्यो कि सानो सानो पद र जिम्मेवारीका लागि पनि राजनितिक दृष्टिकोण ले हेर्ने र त्यस अनुसार नै काम गर्ने परिपाटी स्थापित हुन पुग्यो। फलतः अहिले प्राध्यापक, विद्यार्थी र कर्मचारी संघ, संगठन वा समूहहरू यति बलिया भएका छन कि उनीहरूले नचाहदा केही पनि नहुने हों कि जस्तो पाे देखिन्छ! यसैले होला यिनिहरुको राष्ट्रिय सम्मेलनमा पदाधिकारी हुनकाली हानालुछि हुने गर्छ, र सम्मेलन नै पूरा नहुने स्थिति आउँछ; आएको पनि छ।
मेरो दुई दशक लामो प्राध्यापन अवलोकनले पनि के देखिएको छ भने अब राजनीतिक मोडेलको नेतृत्वले विश्वविद्यालय तथा उच्च शिक्षामा अपेक्षित सुधार ल्याउन सक्ने सम्नाभाव देखिदैन। अब याे प्रयास राजनीतिक दलहरूले नगर्दा नै राम्रो यदि उनीहरूले आफ्नो दस्तावेजमा घोषण गरे जस्तै उच्च शिक्षामा सुधार चाहेका हुन् भने। होईन, फेरि पनि बोल्ने/ लेख्ने एउटा गर्ने अर्को हो भने, जनता अब जागी सकेको हुँदा पहिले जस्तो चुप लागेर बस्ने छैनन् र बस्न हुँदैन पनि। अझै भन्ने हो भने नेपालको विश्वविद्यालय तथा उच्च शिक्षाको अवस्था राजनीतिक रूपमा यति धेरै नराम्रोसँग गाजिएको छ कि नागरिक समाजको उच्च शिक्षा सुधारको अभियानले मात्रै यसलाई ठीक ठाउँमा ल्याउन सक्छ। यसै तथ्यलाई मध्यनजर गर्दै, हालै मैले सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री पुष्प कमल दाहाल "प्रचण्ड" ज्युलाई खुला पत्र लेखेको हुँ र उक्त पत्रलाई विभिन्न सञ्चारका माध्यामबाट प्रसारित गरेको हूँ। उक्त पत्र सम्माननीय प्रधानमन्त्री यही मङ्सिर २२ गते धनगढी आउनु भएको अबसरमा प्रत्यक्ष बुझाएको पनि छु र सबै उच्च शिक्षामा सरोकारवाला तथा नागरिक समाजका अगुवाहरूलाई उक्त खुला पत्रको कार्यान्वयनका लागि दबाब दिन आग्रह पनि गर्दछु। विश्वविद्यालय तथा उच्च शिक्षा सुधारका लागि गर्नु पर्ने थुप्रै कार्यहरू छन् र ती सामान्यदेखि निकै चुनौतिपू्ण पनि छन्।
विभिन्न शिक्षाविद् तथा राजनीतिक पार्टीहरुले याद सम्बन्धी धारणाहरू पनि विभिन्न माध्यममार्फत राखेको पाइन्छ। यसै सन्दर्भमा मैले देखेको सुधारको सुरुवात चाहिँ विश्वविद्यालयको उच्च कार्यकारी पदहरूमा गरिने नियुक्तिलाई (क्याम्पस प्रमुख देखि उपकुलति सम्म) नै एक निश्चित मापण्डका आधारमा खुला, प्रतिस्प्रधी र पारदर्शी प्रक्रियाद्वारा गरिएमा, यसरी नियुक्ति गरिएका पदाधिकारीहरुले सुधारका योजनाहरु कार्यान्वयन गराउने हैसियत राख्दछन्। साथै माथिल्लो निकायबाट सुरू गरिएको सुधारको प्रयासले बिस्तारै तल्लो तह सम्म सकारात्मक प्रभाव पार्नेछ र छोटो समयमा नै अपेक्षित सुधार हुँदै जाने छ। यसर्थ, एक बुँदामा समेटिएको यो उच्च शिक्षा सुधारको आग्रहलाई कार्यान्वयन गराउने सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री पुष्प कमल दाहाल "प्रचण्ड" ज्युलाई पुनः आग्रह गर्दै, यस प्रकारको प्राज्ञिक सुधारको प्रयास सचेत नागरिकको साथ र समर्थन बिना कार्यान्वयनमा आउन प्रायः असम्भव हुनेहुँदा, प्राज्ञिक र नागरिक समाजका सबै अगुवाहरूलाई हार्दिक अपिल गर्दछु।
डा. हरिचन्द्र कमली, सह प्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालयले प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई बुझाएको पत्र र पत्र बुझाउँदाको फोटो -
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”