के हो जनै पूर्णिमा र रक्षा बन्धन ?

काठमाडौँ, भाद्र,१४
जनै पूणिर्मा बारे अनेक भनाई र विश्वासहरू रहेका छन् l जनै पूर्णिमा अथवा रक्षा बन्धन नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।
भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको लामो आयु र हरेक विघ्न-बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी-बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ ।
रक्षा बन्धनको चलन कसरी चल्यो अथवा रक्षा बन्धनको नाम कसरी रक्षा बन्धन रहन गयो भन्ने बारेमा अनेक प्रश्नहरु समय-समयमा उठ्ने गर्छ ।
पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविश्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ । तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो । दैत्य देवताहरुमाथि भारी पर्न थाले ।
देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए । तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् । संयोगले त्यो दिन श्रावण पूणिर्माको दिन थियो । मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो ।
त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ । जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे ।
राजा बली महान दानवीर थिए । उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राहृमणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे । बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुर्ण आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।
बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर-अमर हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए ।
भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।
नारदले बताएअनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ ।
यसलाई आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो, रक्षा बन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौं । कुविचार, कुसंस्कार, कुदृष्टिले हामीलाई दानव बनाइरहेको छ । तामासिक खानपान, रहनसहनले हामी आफैलाई नष्ट गर्दैछ । यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो ।
रक्षाबन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ । यो आत्मअनुशासनको एउटा विधी हो ।
सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो यो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले हामीलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ । यो पर्वलाई विषतोडक पर्व समेत भनिन्छ ।
हरेकजासो पर्वलाई हामी विजयोत्सवको रुपमा पनि मनाउने गछौं । रक्षाबन्धन पनि मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ । सूत्र आत्माको मर्यादा र संयमको प्रतिक हो । सूत्र कुनैपनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ, पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।
नेपालमा दलित कतिपय दलित अभियन्ता र अगुवाहरूले जनै पूर्णिमालाई अपमान गर्ने र विभेद गर्ने, आफूलाई उच्च जातको गर्व गर्ने डोरोको रूपमा चित्रण गरेर यो संस्कृतिलाई विरोध गर्ने गरेका छन् l जनै पूर्णिमामा जनै हिन्दु धर्मालम्बीहरूले धारण गरे पनि सोही धर्मालम्बी भित्रको कथित अछुतले लगाउने चलन नभएको हुँदा यो विभेद गर्ने डोरोको रूपमा गरिएको तर्कमा पनि दम छ l यद्दपि जनै लगाउने र रक्षा बन्धन बाध्नेकाम हाल आएर दलित समुदायले पनि गर्ने र कहींकहीं दलित र गैर दलितसँगै बसेर लाउने गरेको पनि पाइन्छ l akabarey.com परीक्षण प्रसारणमा छ l
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्यरुपमा मनाउने गरिन्छ...
आमा नहुनेहरू मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् ।
माण्डव्यले आफूले यो सम्मान प्राप्त गर्दा गौरवान्वित महसुस गरेको र थप राष्ट्र सेवामा उर्जा थपिएको बता...