‘नेपालऋषि’बाट विभूषित डा.जगमान गुरुङ को हुन् ?

काठमाडौँ,भाद्र,१२
विश्व हिन्दु महासंघले संस्कृतविद् डा.जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो । समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले गुरुङलाई सो उपाधि प्रदान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति रही सकेका डा. जगमान गुरूङ मूलतः नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुन् । विक्रम संवत् २००३ सालमा हाल कास्कीको मादी गाउँपालिकमा जन्मिएका उनले गण्डकी अञ्चल हुलाक कार्यालयमा मुखिया पदमा सरकारी सेवाको सुरुवात गरेर त्रिभुवन विश्वविद्यालयमा हेड असिस्टेन्ट अनुसन्धानकर्ता हुँदै सहप्राध्यापक भएर ६३ वर्षको उमेरमा अवकाश पाएका व्यक्ति हुन् । गुरुङ हिन्दु धर्म र संस्कृतिका ज्ञाता र इतिहासविद् मानिन्छन् l कुनै शास्त्रीय व्याख्या, इतिहासको बारे जिज्ञासा र संस्कृति बारे विवेचना र संशय प्रकट भएमा त्यसको निराकरण गर्ने विद्वान् को रूपमा डाक्टर जगमानको नाम अग्र पङ्क्तिमा आउँछ l
विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका गुरुङको जीवनी यहाँ प्रस्तुत छ ।
पारिवारिक पृष्ठभूमि
मेरो जन्म लमजुङ हाल कास्की जिल्लाको मादी गाउँपालिका–३ को मिरउमरा वंशमा भएको हो । मेरा बाबुआमा किसान हुनुहुन्थ्ययो खेतीकिसानीबाट घरपरिवारको निर्वाह हुने गर्दथ्यो । मेरा जेठाबा हर्कजङ्ग गुरूङ याङ्जाकोटको मिरउमरा (सैनिक कमान्डर) हुनुहुन्थ्यो । उहाँ ज्योतिष र तन्त्रमन्त्र जान्नुहुन्थ्यो । विसं २०१७ सालमा प्रधानपञ्च पनि हुनुभयो । म जेठाबाबाट धेरै प्रभावित भएँ र उहाँको सङ्गतमा रहेँ । उहाँबाट मैले तन्त्रमन्त्र र ज्योतिष विद्या सिकेँ । उहाँको शेषपछि छ गाउँ याङ्जाकोटको मिरउमराको सन्तानको हैसियतले त्यहाँको मौलो पूजा चलाइरहेको छु ।
बाल्यकाल र अध्ययन
म गाउँले वातावरणमा हुर्कें । सामान्य मध्ययवर्गीय बालकको जस्तो जीवन हुन्छ, त्यस्तै मेरो जीवन रह्यो । मैले कखरा बाबाट घरमा सिकेँ । त्यसपछि गाउँलेले चलाएको पाठशालामा कास्की अर्घौं झाँगरमारेका विचारी शेखरनाथ त्रिपाठी गुरूबाट बाह्रखरी पढेँ । पहिलो वर्णमाला, लिखितम धनीका नाम, चुच्चेचोला असनी, जग्गाको राजीनामा, बालकको नाम जुराउन जानेपछि पढाइ सकियो । वेणी पाठशालामा ऊँ नमः चण्डिकायः, दुर्गा कवच निःशुल्क पढियो । विसं २०१३ सालमा डिस्ट्रिक सोल्जर मोड (भारतीय सैनिकले चलाएको स्कुल) मा प्राथमिक स्कुलमा पाँच कक्षासम्म पढेँ ।
अध्ययन र रोजगारी सँगसँगै
विसं २०१८ सालमा ६ कक्षामा भर्ना हुन पोखरा रामघाटस्थित सोल्जर मोड हाइस्कुलमा पढेर एसएलसी गरेँ । यो स्कुल भारतीय सैनिकमा कार्यरत नेपाली नागरिकले चलाएका थिए । एसएलसीपछि पृथ्वीनारायण कलेजमा आईए पढेँ ।
नतिजा आउन एक वर्ष लाग्ने भएकाले गण्डकी हुलाक नियन्त्रण कार्यालयमा मुखिया पदमा १० रुपियाँ तलब पाउने गरेर जागिर खाएँ । घर लमजुङ भएकाले बेजिल्ला भएकाले थप भत्ता पाइन्थ्यो । विसं २०३२ मा लमजुङको पाँच गाउँ पञ्चायत कास्कीमा गाभियो । आईएपछि बीए गरेँ । अस्थायी मुखियाको जागिर छोडेँ ।
नयाँ शिक्षा आएपछि पृथ्वीनारायण क्याम्पसमा हेड असिस्टेन्ट भएँ । सहायक प्रशासक भएँ । पोखरामा त्रिविविले मानविकीको डीन कार्यालय राख्यो । डीन भएर प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना आउनुभयो । मैले उहाँलाई कर्मचारी भर्नामा सहयोग गरेकाले उहाँ मलाई राम्रो मान्नुहुन्थ्यो । उहाँले मलाई सजिलो हुनेगरी काठमाडौँ नेपाल तथा एसियाली अध्ययन केन्द्रमा पठाइदिनुभयो ।
काठमाडौँ बसाइ : जीवनको नयाँ मोड
नेपाल तथा एसियाली अध्ययन केन्द्रका निर्देशक डोरबहादुर बिष्ट हुनुहुन्थ्यो । म यस केन्द्रमा पहिले काजमा गए पनि छ महिनापछि सरुवा नै भएर गएँ । त्यतिबेला तलब ४०० रुपियाँ थियो । पुल्चोकमा जेठानको घरमा बसेँ ।
कपिलवस्तु मौजा भएका जेठानले बहिनीलाई पेवा दाइजो पनि दिए । श्रीमतीका दिदीहरू अविवाहित भएकाले बहिनीलाई पैसा दिइरहन्थे । यसले गर्दा हाम्रो जीवन निर्वाह राम्ररी नै भयो । विसं २०३५ मा त्रिविविमा नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा एमए भर्ना भएँ । ०३६ को आन्दोलनले नतिजा आउन ढिला भयो ।
विसं २०३९ मा मैले एमए प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र विद्याभूषण र गोकुलचन्द्र पदक पनि पाएँ । विसं २०४१ म त्रिविविमा सहायक प्राध्यापकमा परीक्षा दिएर पास भएँ । सिनासको दरबन्दीबाट इतिहास विभागमा सहायक प्राध्यापक भएँ । पछि अन्तर्वार्ताका माध्यमबाट उपप्राध्यापकमा बढुवा भयो ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा वासुदेव त्रिपाठी कुलपति हुँदा प्राज्ञ परिषद् सदस्य भएँ । ६३ वर्षको उमेरमा सहप्राध्यापकबाट अवकाश पाएँ । यसबाहेक मैले नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान केन्द्रमा चार वर्ष कार्यकारी निर्देशक भएँ र फेरि दुई वर्ष कार्यकाल थपियो । विसं २०७५ साउन १७ देखि सो पदबाट अवकाश लिएँ । विसं २०७५ पुस २ गतेदेखि नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति नियुक्त भएर कार्य गरिरहेको छु ।
लेखन एवम् अनुसन्धान कार्य
विसं २०३४ सालमा मैले ‘गुरूङ जाति तथा संस्कृति’ नामक पुस्तक तयार गरेँ । यो पुस्तक प्रकाशन गर्दा श्रीमतीको हातको सुनको चुरा बेचेर छापेको थिएँ । एमएमा पढ्दा ‘नेपालको एकीकरणमा गुरूङहरूको भूमिका’ शोधपत्र लेखेँ । यो पुस्तक बौद्ध अर्घौं सदन (पोखरा) ले छाप्यो । केही पैसा र सर्वाधिकार दियो ।
नेपाल र एसियाली अध्ययन केन्द्रमा हुदा उपल्लो मुस्ताङमा छ महिना बसेर गुम्बाको अध्ययन गरेर ‘मुस्ताङको सांस्कृतिक सम्पदा’ पुस्तक लेखेँ र छापियो । विसं २०६१ मा सिनासबाट ‘नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रसवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन’ नामक पुस्तक प्रकाशित भयो । यस पुस्तकको धेरै चर्चा भयो ।
यसै किताबको प्रभावले मलाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पनि बनायो । यसबाहेक मेरो ‘गण्डकी प्रसवन क्षेत्रका सांस्कृतिक सम्पदा’ नामक कृति पश्चिमाञ्चल विकास मञ्च नामक संस्थाबाट छापियो । त्यस्तै ‘तमुवानको ऐतिहासिक वृत्तान्त’ नामक कृति केही आफ्नै र केही लण्डनवासी भाइहरूको साठी हजारको सहयोगले छापियो ।
यसबाहेक मेरा तीन पुस्तक ‘नेपालको राष्ट्रियताको समीकरणमा शिव–बुद्ध समन्वयवादको भूमिका’, ‘शैव दर्शन र बौद्ध दर्शनको तुलनात्मक अध्ययन’ र ‘शैव तन्त्र र बौद्ध तन्त्रको तुलनात्मक अध्ययन’ प्रकाशन हुन बाँकी नै छन् । यी पुस्तकमा शैव दर्शन र बौद्ध दर्शन र तन्त्रलाई नेपाली मानसिकताले कसरी अपनाएको छ ?, नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकासमा यसले कस्तो भूमिका खेलेको छ ? जस्ता विषयमा चर्चा गरेको छु । यसबाहेक विभिन्न पत्रपत्रिकामा ७५ लेख प्रकाशित छन् ।
नेपाली संस्कृतिका आधार
नेपाली संस्कृतिको प्रकृति समन्वयात्मक छ, समन्वयात्मक अध्यात्मवादले समन्वयात्मक नेपाली संस्कृतिको संरचना र विकास भएको छ । समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकास भएको छ । प्रादेशिक संरचनामा नेपाललाई हिमाल, पहाड, नेपाल मण्डल र मधेसमा विभाजन गर्न सकिन्छ ।
यसो भए पनि नेपाली चाडपर्वमा समन्वयको भाव पाइन्छ । एउटै तीर्थस्थलमा विभिन्न समुदायका मानिस मेला भर्न जान्छन् । चाडपर्वको तिथिमिति एउटै भए पनि मनाउने तरिका फरक छ । यसले नेपालीका बीचमा सामाजिक सद्भाव, धार्मिक–सांस्कृतिक सहभाव एवम् राष्ट्रिय एकताभाव जोडिएको छ ।
नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले ‘चार जात छत्तीस वर्ण’ को संज्ञा दिएका थिए । अहिले हामी ‘सयौँ थुँगाफूलका हामी नेपाली’ भनेर राष्ट्रियगान गाउँछौँ । त्यसो भएमा मात्र ‘समृद्ध नेपाल सुखी नेपाली’ को योजना सफल हुन्छ । समन्वयात्मक नेपाली संस्कृतिले त्यस उद्देश्यको परिपूर्तिका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।
भविष्यका योजना
म नेपाल प्रज्ञाप्रतिष्ठानमा निश्चित कार्ययोजनासाथ आएको छु । यस कार्यकालमा नेपालका सातै प्रदेशको भौगोलिक अवस्थिति, ऐतिहासिक पृष्ठभूमि, जनजीवन, भाषा–साहित्य, तीर्थस्थल, चाडपर्व, सामाजिक संस्था, कला–वास्तुकलाजस्ता विषयमा केन्द्रित भएर ग्रन्थहरू प्रकाशनमा ल्याउने सोचेको छु । त्यसको साथै सातै प्रदेशमा यस कार्यकालमा त्रिदिवसीय सांस्कृतिक सङ्गोष्ठी गर्ने, त्यसमा कार्यपत्र पनि लेखाउने, काठमाडौँमा ‘वयं राष्ट्रे जागृयाम पुरोहिता’ अर्थात् ‘हामी राष्ट्रमा अग्रगामी भै जागौँ’ नारा लिएर नेपाली संस्कृति र राष्ट्रियता विषयमा प्रवचन, कार्यपत्रजस्ता कार्यक्रम गर्ने र तिनलाई पुस्तक बनाएर प्रकाशित गर्ने योजनासहित कार्य गरिरहेको छु ।
हाल ७७ वर्ष उमेर भएका गुरुङ प्रज्ञाप्रतिष्ठानको आफ्नो कार्यकाल समाप्त गरेर चिन्तन,मनन, अध्ययन अनुसन्धानमा व्यस्त छन्
Akabarey.com ले यो सामग्री राससबाट साभार गरेको हो l akabarey.com परीक्षण प्रसारणमा छ l
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...