भीमबहादुर तामाङको स्मृतिमा पूर्वमन्त्री जयप्रकाश आनन्दको संस्मरण
म भीमबहादुरजीको पैतृक गाउँ दोलखाकोझुले पुगेको छु । काठमाडौँबाट हिडदाँ २/४ जना मन मिलेका साथी भाइलाईसँगै लिएर जाने उहाँको रोजाईमा १/२ पटक म पनि परेको थिएँ । आजभन्दा कम्तिमा पनि २५/३३ वर्ष पहिला भीमबहादुरजीको गाउँ पुगेका जो कोही मान्छेले, मात्र बुझ्न सक्छ कि कति दुरूह तथा अन्कन्टार रहेको थियो त्यो गाउँ ! त्यहाँ पुग्ने बाटो कल्पना गर्नुस् त्यस्तो दुरूह ठाउँका भीमबहादुरजीलाई उहाँको पिताले आज भन्दा ७०/७५ बर्ष अघि राम्रो र उच्च अंग्रेजी शिक्षाका लागि कालिम्पोंग पठाएका थिए । एक अपठित पिताका लागि अंग्रेजी शिक्षाको कत्रो अर्थपूर्ण महत्वको आकलन थियो । भीमबहादुरलाई कालिम्पोंग पठाउनुबाट नै बुझिन्छ ।
वास्तवमा ज्ञान, शिक्षा र सम्पति सदैव, सबै समयमा मानिसको खोजीको विषय रहि आएको हो । शिक्षालाई ज्ञानको सन्दर्भमा त हेरिन्छ नै । तर, शिक्षा धनको आर्जन तथा त्यसको बिस्तारको पूर्वाधार पनि हो भन्ने कुरा उत्तिकै बिर्सन नसकिने तथ्य हो । ठूल्ठूला तपस्वी र योगीहरूमा विद्यमान रहने शिक्षा प्राप्तिको यो जिजीविषा त्यस जमानामा भीमबहादुरका पितामा अवश्य पनि रहेको कुरा बिर्सन सकिन्न् । भीमबहादुर शिक्षा र ज्ञानको खोजीमा रहनु भयो तर धनार्जनमा उहाँको ध्यान गएन । यसमा उहाँ अपवाद रहनु भयो ।
एक दिन उहाँले मलाई विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षकको खोजी गरिदिन भन्नु भयो l उहाँले मलाई सुझाउनु भयो, साथै मधेसबाट यस्तो शिक्षक ल्याउदाँ पिछडिएका समाजका गरिब मानिस खोज्नु होला । सके सम्पन्न परिवारका र उच्च कहलिन जातहरूका मानिस न लिई आउनु होला । उहाँले भन्नु भयो, यिनीहरूमा अलिकति भोग विलासको स्वभाव हुन्छ, अन्कन्टार पहाडी भागमा आउँदा शिक्षणको साथै चेलिबेटीतिर बढी झुकाव राख्छन । यसबाट बडो बदनामी हुन जान्छ । लामो समय बस्दैनन् । यसरी उहाँमा गहिरो सामाजिक सावधानी, चेत र दायित्वको बोध थियो । आज पनि दोलखा जिल्लामा कैयौं यस्ता शिक्षकहरू छन्, जो मधेसबाट त्यहाँ गई सामाजिक अन्तर्घुलनको नमूना भएका छन् । यसै मध्येका एक रामजीवन सिंह त दोलखाबाट संसदको शायद राष्ट्रिय सभामा समेत प्रतिनिधित्व गरेका थिए । यसरी विभिन्न व्यक्तिहरूका सहयोगबाट दोलखामा मात्र हैन रामेछाप जिल्लाका विभिन्न बिद्यालयहरूमा अन्तरसामुदायिक शिक्षकहरू पुग्न सके । हालका समयमा यस्ता शिक्षकहरूको सोच बढी सामाजिक सामन्जस्यपूर्ण छ । कुरो त सामान्य हो । तर, यसको सन्देश व्यापक छ ।
शिक्षा भीमबहादुरजीका लागि ठूलो प्राथमिकताको क्षेत्र रह्यो । साथीभाइका छोराछोरीको पढाईका लागि मद्दत पुर्याउन उहाँसँग पर्याप्त समय रहन्थ्यो । पूर्व सभामुख दमननाथ ढुंगानालगायत कयौं नाम चलेका तर बेफुर्सदी मानिसहरूका छोराछोरीको शिक्षाको केही जिम्मेवारी उहाँले लिनु भएको थियो । दार्जिलिंग, कालिम्पोंग, कर्सियांग र सिक्किमका स्कूलहरूमा भर्ना गराउनु र छुट्टीहरूमा लिई आउने जिम्मेवारीलाई बडो सहजताका साथ भीमबहादुरजीले निर्वाह गर्नु हुन्थ्यो । साधारण झै लाग्ने यो कुरो असाधारण थियो । शिक्षा प्रतिको उहाँको यो सहयोगात्मक भावको मर्म बुझ्न मैले उहाँको पिताजीको उल्लेख गरेको हुँ ।
एउटा रोचक प्रसंगको उल्लेख गर्छु । लामो काराबासपछि बीपी कोईराला बाराणसीको मेहबुरगंजमा बस्नु भएको थियो । सुशील कोईराला, चक्र बास्तोला, वीरेन्द्र दाहाल र भीमबहादुरजी त्यहीं रहनुहुन्थ्यो । त्यो बडो कठिन समय थियो । बीपीले शसस्त्र प्रतिरोधको कार्यनीति लिनु भएको थियो । नेपालबाट सरकारी सन्यन्त्रको आँखा छलेर नेपाली काँग्रेसका मानिसहरू बीपीलाई भेटन बाराणसी पुग्ने गर्दथे । उनिहरूको आउने र जाने तरिका बडो गोप्य तरिकाको हुन्थ्यो । बाराणसीमा बस्ने धेरै जसो कम्युनिष्टहरू पंचायति सरकारको जासुसी गर्दथे । उनिहरू बहसका लागि बीपी कहाँ आउथे र नेपाल फर्की जाने काँग्रेसीहरूका बारेमा नेपालतिर खबर पठाउने गर्दथे । यी सब कुरालाई विचार गरेर नेपालबाट आउनेलाई सुरक्षित बास स्थलसम्म र फर्किने बेलामा रेल रिजर्वेशन गराई गन्तव्य तिर पठाउने जिम्मा भीमबहादुरको थियो । मुगलसराय रेलवे जंक्शनका पुलिसले उहाँको यस राजनैतिक भूमिकालाई बुझेका थिएनन् । हर समय स्टेशनमा रेल टिकट खरीद गर्ने तर आफू स्वयंले यात्रा नगरी अरूलाई रेल चढाउने गरेको उहाँको भूमिकालाई रेल पुलिसले “टिकट दलाल” को रूपमा बुझ्न थालेका थिए ।
एक दिन गुल्मी अर्घाखाचींतिरका साथीहरूलाई रेल चढाउन मुगलसराय स्टेशन गएको भीमबहादुरजी साँझपख फर्किनु भएन । बीपी लगायत सबैलाई अनेकन् दुष्चिन्ताले व्यग्र बनायो । व्यापक खोज तलाश भयो । तीन दिनपछि मुगलसराय रेल्वे स्टेशनका पुलिसबाट थाहा भयो कि एक जना टिकटका दलाल जो नेपाली हुन् रेलवेका थुनामा छन् । भीमबहादुरजी रेलवे पुलिसको नजरमा चढेका थिए, उनिहरूलाई लागेको थियो कि यो नेपाली रेलवे टिकट ब्ल्याकमा बेच्ने गर्छन् । यसरी भीमबहादुरजी थुनिए र उहाँको परिचय खुलेपछि रिहा गरिए । यो कुरो धेरै पछिसम्म हाँसी मजाकको बिषय रहिरह्यो । मैले ठट्टाका साथ सोधेको थिए-तपाई त तीन महिनाका लागि रेलवे थुनामा पर्नु हुन्थ्यो । अनि के हुन्थ्यो नि ? तुरून्त भन्नु भयो-कठिन समयमा पार्टीको कोषमा तीन महिनाका लागि एक जना उपर हुने व्यय भार कम हुने थियो । त्यस बखत प्रवासमा रहेका एक जनालाई पार्टीले मासिक भारू २५०/- को सहयोग जोहो गरेको थियो ।
बगैचा र बागवानीका बडो शौकिन हुनुहुन्थ्यो भीमबहादुरजी । साथै फलफूलका बडो जानकार । खासगरी गोदाबरी, गुलाफ र मखमली फूलको बिशेषज्ञ नै हुनुहुन्थ्यो । बीपी कोईराला आफ्ना भाइ तारिणीप्रसाद कोईरालाको काठमाडौँ जयबागेस्वरी स्थित निवासमा बस्नु हुन्थ्यो । त्यहाँको बँगैचा बडो आकर्षक थियो । यसको सम्पूर्ण हेरचारको काम उहां स्वयंले गर्नु हुन्थ्यो । बीपीका बिचारहरू सुन्न हरेक बिहान त्यहाँ कार्यकर्ताहरू, पत्रकारहरूको ठूलो जमघट लाग्ने गर्थ्यो । सबैको ध्यान बीपीकाप्रति हुन्थ्यो, तर आफूले लगाएको फूलहरू कार्यकर्ताहरूले कुल्चि दिन्छन कि भनेर भीमबहादुर बगैचाको पालोपहरा मै तैनाथ रहनु हुन्थ्यो । जीवनको अन्तिम सम तिर उहाँ वरिष्ठ अधिवक्ता तथा नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीको घरको एक भागमा बस्न थाल्नु भएको थियो । त्यहाँ जानेहरूले गोदाबरीका दर्जनौं जातहरू हरेक फूल र बागवानीका बारेमा भीमबहादुरजीको लगाव तथा अनुराग थाहा पाउथे ।
बाराणसीमा एक दिन बीपी कोईरालाले शैलजा आचार्यका स्वभावका बारेमा केही प्रतिकृया जनाउनु भएको थियो । यो सार्वजनिक प्रतिकृया थिएन, केही अन्तरंग परिजनहरूका बीच मात्र उहाँले भन्नु भएको थियो । त्यो कुरो पछि शैलजाले थाहा पाउनु भयो, जुन शैलजाको तत्काल दु:ख र विक्षिप्ताको कारण हुन गयो । जीवनको पहिचानका बारेमा शैलजामा द्विविधा उत्पन्न भयो । यस कुरोले सुशीला कोईरालालाई बडो चिन्तित बनायो । सुशीला कोईरालालाई भीमबहादुरमा रहेको स्त्री स्वभावको मनोवैज्ञानिक विश्लेषण क्षमताको पूरा जानकारी थियो । यस निम्ति उहाँले भीमबहादुरजीलाई आग्रह गर्नु भयो र तत्पश्चात भी बहादुरले थाहा नपाउदों प्रकारबाट शैलजासँग हिमचिम बढाएर गम्भीर मनोवैज्ञानिक बहस तथा विश्लेषणको आधारमा शैलजालाई स्थिर गराउन सक्नु भयो । चक्र बास्तोला, जो शैलजाका बहिनी ज्वाई हुनुहुन्थ्यो, मलाई भन्नु भयो-“यो शैलजाको लागि पुनर्जीवन थियो ।”
जन्मको आधारमा अर्थात प्रकृति प्रदत्त लिंगको आधारमा महिलालाई बुझ्न सकिदैन। महिलाको निर्माण त जन्मको धेरैपछि उसको चेतनाको वि कास तथा समाजलाई बुझ्ने उस भित्रको आन्तरिक स्पन्दनबाट पो हुन्छ-यसो भन्नु हुन्थ्यो भीमबहादुरजी। सन् १९४५ मा फ्रान्सेली मनोवैज्ञानिक ‘सिमोन द बुआ’को पुस्तक ‘सेकेण्ड सेक्स’ प्रकाशित भएको थियो । उहाँ सन् ६० तिर यसको गहन अध्ययन गरिसक्नु भएको थियो । चक्र बास्तोला बीपी पछि ती थोरै व्यक्ति मध्ये थिए जो भीमबहादुरजीलाई “पुरूषको साधारण पहिरनमा सच्चा तथा वास्तविक फेमिनिष्ट ठान्दथे । म आज पनि संझिन्छु, भीमबहादुरजी भन्नु हुन्थ्यो-महिलाहरू भन्नाले उसको लैंगिक प्रकृति बाहेक उसमा अन्य कुनै पनि त्यस्तो विषय हुन्न् जसले सबै महिलालाई समान जनाओस् । सबै महिला उस्तै हुदैनन् । महिलाका बारेमा संसारमा कुनै त्यस्तो पाठ छैन, जसको अध्ययन गरेर सबै महिलाहरूमा लागू हुने कुनै कुरा सिक्न सकियोस् ।
केही यस्ता अनुभवहरू पनि छन् जसले पुरूषको तुलनामा महिलाहरूको अधिक संभावनालाई उजागर गर्दछ । यद्यपि यस्ता अनेकौं देशहरू छन् जहाँ महिलाहरूका लागि समान साँस्कृतिक मापदण्ड अवलम्बन गरिएको भनिन्छ । तर, त्यहाँ पनि महिलाहरूको पहिचानका बारेमा गंभीर मतभेदहरू देखिन्छ। महिलाहरूका बारेका अनुभव स्थानीयताबाट बढी प्रभावित रहेको उहाँको राय हुन्थ्यो । शैलजाको अध्ययन गरेर मंगलादेवी सिंहको र सुशीला कोईरालाका बारेमा धारणा बनाउन नसकिने भन्नु हुन्थ्यो ।
भीमबहादुरजी अनेकन् सुशिक्षित महिलाहरू-सुशीला कोईराला, मंगलादेवी सिंह, शैलजा आचार्य, भुवन ढुंगाना लगायत कयौंका प्रिय हुनुहुन्थ्यो । उहाँहरूसँग कुनै पोलिटिकल एजेण्डामा कुरा नगर्ने । महिला मनोविज्ञान, साहित्य, फूलबारी, लुगाफाटा, फैशन, बच्चाहरूको हेरचार, पढाई र एडमिशन-यी बिषयहरूमा भीमबहादुरजी नेता पत्नीहरू तथा कयौं महिला नेतृहरूको बडो पसन्दीता मानिस हुनुहुन्थ्यो । यसको एउटा दार्शनिक आधार थियो-“सायद सबैभन्दा ठूलो गल्ती तपाइँ गर्न सक्नुहुन्छ कि महिलाहरू सबै उस्तै हुन् भन्ने विश्वास गर्नु ।” यस मान्यताले उहाँलाई चर्चित र अचर्चित सबै महिलाहरूलाई पृथक पृथक पहिचानको रूपमा मान्न प्रेरित गर्थ्यो, न कि एकार्काको पूरकको रूपमा । यसरी भीमबहादुरजीका लागि हरेक महिला आपस्तमा तुलना गर्न नसकिने, सबैको स्वतन्त्र पहिचानको व्यक्तित्व हो भने ठहरमा पुर्याएको थियो । यसरी उहाँ बडो प्रिय रहनु भयो, महिलाहरूमा ।
म भीमबहादुरजीसँग सँगै बस्थे। बिस २०३८ पछि कयौं बर्षहरूसम्म । अनेकन बहसहरूमा सरिक रहन्थे । आज उहाँका बारेमा थोरै लेख्नु पर्दा ती कुराहरू संझिन बडो कठिन भएको छ । तपाई कुनै दार्शनिक जस्तो मानिसको, जसको विचारहरू प्रकाशनको रूपमा उपलब्ध छैन । जो तपाईको कुनै अध्यापक जस्तो पनि रहेन । जस्को मूल कार्यक्षेत्र राजनीति थियो, जहाँ असंख्य विषयहरूमा तपाईको असहमति पनि रहेको थियो-तेस्तो मानिसको दार्शनिक सोचहरूको उल्लेख गर्नसक्नु कठिन काम हुन्छ । अहिले भीमबहादुरजी को स्मृतिले मलाई सोही कठिन अवस्थामा पुर्याएको छ । तर म राजनीति बाहेक उहाँका कतिपय कुराहरूमा अभिभूत थिए । शायद यसै कारणले केही स्मृतिहरू, यादहरू, कुराकानीका प्रसंगहरू मनमा जगाउदै छु ।
थोरै राजनीतिका बारे:
राजनीतिमा उहाँको प्रवेश ०१६ सालको संसदीय कालभन्दा पूर्व नै भएपनि एउटा सबल व्यक्तित्वको रूपमा उहाँको राजनीतिक परिचय प्रवासको राजनीतिबाट भएको हो । नेपाली काँग्रेसको प्रवासको राजनीति भनेकै शसस्त्र कारवाहीको राजनीति हो । कुनै शान्पूतिर्ण आन्दोलनको लागि नेका प्रवासमा बस्नु परेको होईन । भीमबहादुरजी प्रवासको राजनीतिमा सदैब शसस्त्र कारवाहीको पक्षमा रहनु भयो । तर, कहिले पनि कुनै कारवाहीमा सशरिर सरिक हुनु भएन ।
शसस्त्र कारवाहीको वैचारिक पक्षलाई बलियो बनाउने काममा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ निजी रूपमा चे गुवेरीयन हुनुहुन्थ्यो । चेबाट प्रभावित रहनु भयो । तर, चे को वैचारिक प्रभावलाई फैलाउँदा कार्यकर्ताहरू पूर्ण रूपमा कम्यूनिष्ट हुन पुग्छन भनी उहाँले चे गुवेराका क्रान्तिकारी शिल्पलाई नेपालको आवश्यकता भनी बीपीको सोचको रूपमा छलफलमा ल्याउनु हुन्थ्यो । नेपाली काँग्रेसले वि स २०१८ मा शुरू गरेको शसस्त्र कारवाही वा त्यस पछिका कारवाहीहरूलाई औपचारिक रूपमा के नामाकरण गर्ने यस्ता सामान्य जस्तो देखिने सवालमा उहाँ बडो गंभीर र मिहीन छलफल गर्नु हुन्थ्यो । शसस्त्र कारवाहीलाई आन्दोलन भन्ने कि क्रान्ति भन्ने ? उहाँले नेपाली काँग्रेसको २०१८ साल पछिको शसस्त्र कारवाहीहरूलाई ‘प्रतिरोध’ रेसिसडेन्ट मुभमेन्ट भनी स्वीकार गराउन तथा औपचारिक लेखनमा प्रयोग गराउन बडो शालीन बहसलाई अगाडी बढाउनु भयो ।
कोईरालाहरूको पारिवारिक सन्दर्भमा बिहानको चियाको बडो महत्व रहेको छ । बीपी र पछि गिरिजा बाबुको समयमा एका बिहानै चियाका लागि सबै जम्मा हुन्थे र त्यहाँ बडो गम्भीर छलफल विचार विमर्श हुन्थ्यो । बडो जीवन्त खाले चर्चाहरू । यस अवसरहरूमा भीमबहादुरजीको उपस्थितिको आफ्नै रौनक रहन्थ्यो । उहाँका कुराहरूलाई बीपीले बडो महत्वका साथ सुन्नुहुन्थ्यो । त्यसमा सरिक हुनेहरूलाई यदाकदा लाग्दथ्यो कि बीपी पनि प्रभावित हुनु भयो । राम्रो तर्कशिलता देखिन्थ्यो भीमबहादुरमा । उहाँ यस तरिका बारे ठट्टा गर्नु हुदै चक्र बास्तोला बिहानको चिया खाने बेलामा बीपी समक्ष मजाकमा भन्नु हुन्थ्यो: 'भीमबहादुरजीले सान्दाजुलाई तान्दै हुनुहुन्छ । सान्दाजुले आफूलाई ठाउँमा रोक्नु पर्दछ ।'
राजनीतिमा बीपीको शसस्त्र पक्षधरता र किसुनजीको अहिंसक विचार दुई धारको रूपमा लामो समयसम्म विद्यमान रहेको थियो। तर, भीम बहादुर जी दुबै नेताका उतिकै प्रिय थिए। किन यस्तो नि भनी मैले सोद्धा भीमबहादुर भन्नु हुन्थ्यो: मेरो विचार क्रान्तिकारी , शसस्त्र पक्षधरताका लागि बीपीमा वैचारिक प्रवलता रहेको छ । तर्कपूर्ण औचित्यको आधारमा बीपीको दृष्टिकोणको निर्माण हुन्छ । म त्यसमा सहमत रहन्छु । यस कारणले मलाई बीपी मन पर्छ । तर, म शसस्त्र कारबाहीमा सरिक हुन्न् । ‘वारियरनेश’ वा लडाकुपना यौटा नितान्त निजी गुण हुन, जुन आफुमा न रहेको भीमबहादुरजी स्वीकार गर्नु हुन्थ्यो । किसुनजीलाई उहाँले सदैब धरातलमा उभिएको देख्नु हुन्थ्यो । भीमजी भन्नु हुन्थ्यो-बीपीको जीवनमा निजी प्रयोजनका लागि अध्यात्मको स्थान छैन । राजनीतिका लागि बीपीले बैचारिक दर्शनहरू बुझ्नु हुन्छ । जबकि, किसुनजी राजनीतिका लागि वैचारिक दर्शनको उपयोगभन्दा निजी जीवनमा अध्यात्मको स्थानलाई महत्वपूर्ण ठान्नु हुन्छ । यसरी एकै उद्देश्यका लागि दुई धार रहेको उहाँ सोच्नु हुन्थ्यो । भीमबहादुरजीको नजरमा गणेशमानजी बीपीको पूरक बढी रहनु भयो । गजब थियो भीमबहादुरजीको समझ । नेताहरूलाई बुझेर, जानेर उहाँ मौलिक गुणहरूका आधारमा लगावहरूको निर्धारण गर्नु हुन्थ्यो । यो थियो उहाँको शैली ।
स्मरणीय : कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङको १३औँ स्मृति दिवसमा पूर्वमन्त्री जयप्रकाश आनन्दको स्मरण उहाँको फेसबुकबाट साभार गरिएको छ l - सम्पादक
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
इतिहासको लामो विभेदकारी शासन व्यवस्थाको कारण अन्याय, अत्याचार, विभेद र शोषणको शिकार भई दयनीय जीवन या...