भीमबहादुर तामाङको स्मृतिमा पूर्वमन्त्री जयप्रकाश आनन्दको संस्मरण
म भीमबहादुरजीको पैतृक गाउँ दोलखाकोझुले पुगेको छु । काठमाडौँबाट हिडदाँ २/४ जना मन मिलेका साथी भाइलाईसँगै लिएर जाने उहाँको रोजाईमा १/२ पटक म पनि परेको थिएँ । आजभन्दा कम्तिमा पनि २५/३३ वर्ष पहिला भीमबहादुरजीको गाउँ पुगेका जो कोही मान्छेले, मात्र बुझ्न सक्छ कि कति दुरूह तथा अन्कन्टार रहेको थियो त्यो गाउँ ! त्यहाँ पुग्ने बाटो कल्पना गर्नुस् त्यस्तो दुरूह ठाउँका भीमबहादुरजीलाई उहाँको पिताले आज भन्दा ७०/७५ बर्ष अघि राम्रो र उच्च अंग्रेजी शिक्षाका लागि कालिम्पोंग पठाएका थिए । एक अपठित पिताका लागि अंग्रेजी शिक्षाको कत्रो अर्थपूर्ण महत्वको आकलन थियो । भीमबहादुरलाई कालिम्पोंग पठाउनुबाट नै बुझिन्छ ।
वास्तवमा ज्ञान, शिक्षा र सम्पति सदैव, सबै समयमा मानिसको खोजीको विषय रहि आएको हो । शिक्षालाई ज्ञानको सन्दर्भमा त हेरिन्छ नै । तर, शिक्षा धनको आर्जन तथा त्यसको बिस्तारको पूर्वाधार पनि हो भन्ने कुरा उत्तिकै बिर्सन नसकिने तथ्य हो । ठूल्ठूला तपस्वी र योगीहरूमा विद्यमान रहने शिक्षा प्राप्तिको यो जिजीविषा त्यस जमानामा भीमबहादुरका पितामा अवश्य पनि रहेको कुरा बिर्सन सकिन्न् । भीमबहादुर शिक्षा र ज्ञानको खोजीमा रहनु भयो तर धनार्जनमा उहाँको ध्यान गएन । यसमा उहाँ अपवाद रहनु भयो ।
एक दिन उहाँले मलाई विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षकको खोजी गरिदिन भन्नु भयो l उहाँले मलाई सुझाउनु भयो, साथै मधेसबाट यस्तो शिक्षक ल्याउदाँ पिछडिएका समाजका गरिब मानिस खोज्नु होला । सके सम्पन्न परिवारका र उच्च कहलिन जातहरूका मानिस न लिई आउनु होला । उहाँले भन्नु भयो, यिनीहरूमा अलिकति भोग विलासको स्वभाव हुन्छ, अन्कन्टार पहाडी भागमा आउँदा शिक्षणको साथै चेलिबेटीतिर बढी झुकाव राख्छन । यसबाट बडो बदनामी हुन जान्छ । लामो समय बस्दैनन् । यसरी उहाँमा गहिरो सामाजिक सावधानी, चेत र दायित्वको बोध थियो । आज पनि दोलखा जिल्लामा कैयौं यस्ता शिक्षकहरू छन्, जो मधेसबाट त्यहाँ गई सामाजिक अन्तर्घुलनको नमूना भएका छन् । यसै मध्येका एक रामजीवन सिंह त दोलखाबाट संसदको शायद राष्ट्रिय सभामा समेत प्रतिनिधित्व गरेका थिए । यसरी विभिन्न व्यक्तिहरूका सहयोगबाट दोलखामा मात्र हैन रामेछाप जिल्लाका विभिन्न बिद्यालयहरूमा अन्तरसामुदायिक शिक्षकहरू पुग्न सके । हालका समयमा यस्ता शिक्षकहरूको सोच बढी सामाजिक सामन्जस्यपूर्ण छ । कुरो त सामान्य हो । तर, यसको सन्देश व्यापक छ ।
शिक्षा भीमबहादुरजीका लागि ठूलो प्राथमिकताको क्षेत्र रह्यो । साथीभाइका छोराछोरीको पढाईका लागि मद्दत पुर्याउन उहाँसँग पर्याप्त समय रहन्थ्यो । पूर्व सभामुख दमननाथ ढुंगानालगायत कयौं नाम चलेका तर बेफुर्सदी मानिसहरूका छोराछोरीको शिक्षाको केही जिम्मेवारी उहाँले लिनु भएको थियो । दार्जिलिंग, कालिम्पोंग, कर्सियांग र सिक्किमका स्कूलहरूमा भर्ना गराउनु र छुट्टीहरूमा लिई आउने जिम्मेवारीलाई बडो सहजताका साथ भीमबहादुरजीले निर्वाह गर्नु हुन्थ्यो । साधारण झै लाग्ने यो कुरो असाधारण थियो । शिक्षा प्रतिको उहाँको यो सहयोगात्मक भावको मर्म बुझ्न मैले उहाँको पिताजीको उल्लेख गरेको हुँ ।
एउटा रोचक प्रसंगको उल्लेख गर्छु । लामो काराबासपछि बीपी कोईराला बाराणसीको मेहबुरगंजमा बस्नु भएको थियो । सुशील कोईराला, चक्र बास्तोला, वीरेन्द्र दाहाल र भीमबहादुरजी त्यहीं रहनुहुन्थ्यो । त्यो बडो कठिन समय थियो । बीपीले शसस्त्र प्रतिरोधको कार्यनीति लिनु भएको थियो । नेपालबाट सरकारी सन्यन्त्रको आँखा छलेर नेपाली काँग्रेसका मानिसहरू बीपीलाई भेटन बाराणसी पुग्ने गर्दथे । उनिहरूको आउने र जाने तरिका बडो गोप्य तरिकाको हुन्थ्यो । बाराणसीमा बस्ने धेरै जसो कम्युनिष्टहरू पंचायति सरकारको जासुसी गर्दथे । उनिहरू बहसका लागि बीपी कहाँ आउथे र नेपाल फर्की जाने काँग्रेसीहरूका बारेमा नेपालतिर खबर पठाउने गर्दथे । यी सब कुरालाई विचार गरेर नेपालबाट आउनेलाई सुरक्षित बास स्थलसम्म र फर्किने बेलामा रेल रिजर्वेशन गराई गन्तव्य तिर पठाउने जिम्मा भीमबहादुरको थियो । मुगलसराय रेलवे जंक्शनका पुलिसले उहाँको यस राजनैतिक भूमिकालाई बुझेका थिएनन् । हर समय स्टेशनमा रेल टिकट खरीद गर्ने तर आफू स्वयंले यात्रा नगरी अरूलाई रेल चढाउने गरेको उहाँको भूमिकालाई रेल पुलिसले “टिकट दलाल” को रूपमा बुझ्न थालेका थिए ।
एक दिन गुल्मी अर्घाखाचींतिरका साथीहरूलाई रेल चढाउन मुगलसराय स्टेशन गएको भीमबहादुरजी साँझपख फर्किनु भएन । बीपी लगायत सबैलाई अनेकन् दुष्चिन्ताले व्यग्र बनायो । व्यापक खोज तलाश भयो । तीन दिनपछि मुगलसराय रेल्वे स्टेशनका पुलिसबाट थाहा भयो कि एक जना टिकटका दलाल जो नेपाली हुन् रेलवेका थुनामा छन् । भीमबहादुरजी रेलवे पुलिसको नजरमा चढेका थिए, उनिहरूलाई लागेको थियो कि यो नेपाली रेलवे टिकट ब्ल्याकमा बेच्ने गर्छन् । यसरी भीमबहादुरजी थुनिए र उहाँको परिचय खुलेपछि रिहा गरिए । यो कुरो धेरै पछिसम्म हाँसी मजाकको बिषय रहिरह्यो । मैले ठट्टाका साथ सोधेको थिए-तपाई त तीन महिनाका लागि रेलवे थुनामा पर्नु हुन्थ्यो । अनि के हुन्थ्यो नि ? तुरून्त भन्नु भयो-कठिन समयमा पार्टीको कोषमा तीन महिनाका लागि एक जना उपर हुने व्यय भार कम हुने थियो । त्यस बखत प्रवासमा रहेका एक जनालाई पार्टीले मासिक भारू २५०/- को सहयोग जोहो गरेको थियो ।
बगैचा र बागवानीका बडो शौकिन हुनुहुन्थ्यो भीमबहादुरजी । साथै फलफूलका बडो जानकार । खासगरी गोदाबरी, गुलाफ र मखमली फूलको बिशेषज्ञ नै हुनुहुन्थ्यो । बीपी कोईराला आफ्ना भाइ तारिणीप्रसाद कोईरालाको काठमाडौँ जयबागेस्वरी स्थित निवासमा बस्नु हुन्थ्यो । त्यहाँको बँगैचा बडो आकर्षक थियो । यसको सम्पूर्ण हेरचारको काम उहां स्वयंले गर्नु हुन्थ्यो । बीपीका बिचारहरू सुन्न हरेक बिहान त्यहाँ कार्यकर्ताहरू, पत्रकारहरूको ठूलो जमघट लाग्ने गर्थ्यो । सबैको ध्यान बीपीकाप्रति हुन्थ्यो, तर आफूले लगाएको फूलहरू कार्यकर्ताहरूले कुल्चि दिन्छन कि भनेर भीमबहादुर बगैचाको पालोपहरा मै तैनाथ रहनु हुन्थ्यो । जीवनको अन्तिम सम तिर उहाँ वरिष्ठ अधिवक्ता तथा नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीको घरको एक भागमा बस्न थाल्नु भएको थियो । त्यहाँ जानेहरूले गोदाबरीका दर्जनौं जातहरू हरेक फूल र बागवानीका बारेमा भीमबहादुरजीको लगाव तथा अनुराग थाहा पाउथे ।
बाराणसीमा एक दिन बीपी कोईरालाले शैलजा आचार्यका स्वभावका बारेमा केही प्रतिकृया जनाउनु भएको थियो । यो सार्वजनिक प्रतिकृया थिएन, केही अन्तरंग परिजनहरूका बीच मात्र उहाँले भन्नु भएको थियो । त्यो कुरो पछि शैलजाले थाहा पाउनु भयो, जुन शैलजाको तत्काल दु:ख र विक्षिप्ताको कारण हुन गयो । जीवनको पहिचानका बारेमा शैलजामा द्विविधा उत्पन्न भयो । यस कुरोले सुशीला कोईरालालाई बडो चिन्तित बनायो । सुशीला कोईरालालाई भीमबहादुरमा रहेको स्त्री स्वभावको मनोवैज्ञानिक विश्लेषण क्षमताको पूरा जानकारी थियो । यस निम्ति उहाँले भीमबहादुरजीलाई आग्रह गर्नु भयो र तत्पश्चात भी बहादुरले थाहा नपाउदों प्रकारबाट शैलजासँग हिमचिम बढाएर गम्भीर मनोवैज्ञानिक बहस तथा विश्लेषणको आधारमा शैलजालाई स्थिर गराउन सक्नु भयो । चक्र बास्तोला, जो शैलजाका बहिनी ज्वाई हुनुहुन्थ्यो, मलाई भन्नु भयो-“यो शैलजाको लागि पुनर्जीवन थियो ।”
जन्मको आधारमा अर्थात प्रकृति प्रदत्त लिंगको आधारमा महिलालाई बुझ्न सकिदैन। महिलाको निर्माण त जन्मको धेरैपछि उसको चेतनाको वि कास तथा समाजलाई बुझ्ने उस भित्रको आन्तरिक स्पन्दनबाट पो हुन्छ-यसो भन्नु हुन्थ्यो भीमबहादुरजी। सन् १९४५ मा फ्रान्सेली मनोवैज्ञानिक ‘सिमोन द बुआ’को पुस्तक ‘सेकेण्ड सेक्स’ प्रकाशित भएको थियो । उहाँ सन् ६० तिर यसको गहन अध्ययन गरिसक्नु भएको थियो । चक्र बास्तोला बीपी पछि ती थोरै व्यक्ति मध्ये थिए जो भीमबहादुरजीलाई “पुरूषको साधारण पहिरनमा सच्चा तथा वास्तविक फेमिनिष्ट ठान्दथे । म आज पनि संझिन्छु, भीमबहादुरजी भन्नु हुन्थ्यो-महिलाहरू भन्नाले उसको लैंगिक प्रकृति बाहेक उसमा अन्य कुनै पनि त्यस्तो विषय हुन्न् जसले सबै महिलालाई समान जनाओस् । सबै महिला उस्तै हुदैनन् । महिलाका बारेमा संसारमा कुनै त्यस्तो पाठ छैन, जसको अध्ययन गरेर सबै महिलाहरूमा लागू हुने कुनै कुरा सिक्न सकियोस् ।
केही यस्ता अनुभवहरू पनि छन् जसले पुरूषको तुलनामा महिलाहरूको अधिक संभावनालाई उजागर गर्दछ । यद्यपि यस्ता अनेकौं देशहरू छन् जहाँ महिलाहरूका लागि समान साँस्कृतिक मापदण्ड अवलम्बन गरिएको भनिन्छ । तर, त्यहाँ पनि महिलाहरूको पहिचानका बारेमा गंभीर मतभेदहरू देखिन्छ। महिलाहरूका बारेका अनुभव स्थानीयताबाट बढी प्रभावित रहेको उहाँको राय हुन्थ्यो । शैलजाको अध्ययन गरेर मंगलादेवी सिंहको र सुशीला कोईरालाका बारेमा धारणा बनाउन नसकिने भन्नु हुन्थ्यो ।
भीमबहादुरजी अनेकन् सुशिक्षित महिलाहरू-सुशीला कोईराला, मंगलादेवी सिंह, शैलजा आचार्य, भुवन ढुंगाना लगायत कयौंका प्रिय हुनुहुन्थ्यो । उहाँहरूसँग कुनै पोलिटिकल एजेण्डामा कुरा नगर्ने । महिला मनोविज्ञान, साहित्य, फूलबारी, लुगाफाटा, फैशन, बच्चाहरूको हेरचार, पढाई र एडमिशन-यी बिषयहरूमा भीमबहादुरजी नेता पत्नीहरू तथा कयौं महिला नेतृहरूको बडो पसन्दीता मानिस हुनुहुन्थ्यो । यसको एउटा दार्शनिक आधार थियो-“सायद सबैभन्दा ठूलो गल्ती तपाइँ गर्न सक्नुहुन्छ कि महिलाहरू सबै उस्तै हुन् भन्ने विश्वास गर्नु ।” यस मान्यताले उहाँलाई चर्चित र अचर्चित सबै महिलाहरूलाई पृथक पृथक पहिचानको रूपमा मान्न प्रेरित गर्थ्यो, न कि एकार्काको पूरकको रूपमा । यसरी भीमबहादुरजीका लागि हरेक महिला आपस्तमा तुलना गर्न नसकिने, सबैको स्वतन्त्र पहिचानको व्यक्तित्व हो भने ठहरमा पुर्याएको थियो । यसरी उहाँ बडो प्रिय रहनु भयो, महिलाहरूमा ।
म भीमबहादुरजीसँग सँगै बस्थे। बिस २०३८ पछि कयौं बर्षहरूसम्म । अनेकन बहसहरूमा सरिक रहन्थे । आज उहाँका बारेमा थोरै लेख्नु पर्दा ती कुराहरू संझिन बडो कठिन भएको छ । तपाई कुनै दार्शनिक जस्तो मानिसको, जसको विचारहरू प्रकाशनको रूपमा उपलब्ध छैन । जो तपाईको कुनै अध्यापक जस्तो पनि रहेन । जस्को मूल कार्यक्षेत्र राजनीति थियो, जहाँ असंख्य विषयहरूमा तपाईको असहमति पनि रहेको थियो-तेस्तो मानिसको दार्शनिक सोचहरूको उल्लेख गर्नसक्नु कठिन काम हुन्छ । अहिले भीमबहादुरजी को स्मृतिले मलाई सोही कठिन अवस्थामा पुर्याएको छ । तर म राजनीति बाहेक उहाँका कतिपय कुराहरूमा अभिभूत थिए । शायद यसै कारणले केही स्मृतिहरू, यादहरू, कुराकानीका प्रसंगहरू मनमा जगाउदै छु ।
थोरै राजनीतिका बारे:
राजनीतिमा उहाँको प्रवेश ०१६ सालको संसदीय कालभन्दा पूर्व नै भएपनि एउटा सबल व्यक्तित्वको रूपमा उहाँको राजनीतिक परिचय प्रवासको राजनीतिबाट भएको हो । नेपाली काँग्रेसको प्रवासको राजनीति भनेकै शसस्त्र कारवाहीको राजनीति हो । कुनै शान्पूतिर्ण आन्दोलनको लागि नेका प्रवासमा बस्नु परेको होईन । भीमबहादुरजी प्रवासको राजनीतिमा सदैब शसस्त्र कारवाहीको पक्षमा रहनु भयो । तर, कहिले पनि कुनै कारवाहीमा सशरिर सरिक हुनु भएन ।
शसस्त्र कारवाहीको वैचारिक पक्षलाई बलियो बनाउने काममा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ निजी रूपमा चे गुवेरीयन हुनुहुन्थ्यो । चेबाट प्रभावित रहनु भयो । तर, चे को वैचारिक प्रभावलाई फैलाउँदा कार्यकर्ताहरू पूर्ण रूपमा कम्यूनिष्ट हुन पुग्छन भनी उहाँले चे गुवेराका क्रान्तिकारी शिल्पलाई नेपालको आवश्यकता भनी बीपीको सोचको रूपमा छलफलमा ल्याउनु हुन्थ्यो । नेपाली काँग्रेसले वि स २०१८ मा शुरू गरेको शसस्त्र कारवाही वा त्यस पछिका कारवाहीहरूलाई औपचारिक रूपमा के नामाकरण गर्ने यस्ता सामान्य जस्तो देखिने सवालमा उहाँ बडो गंभीर र मिहीन छलफल गर्नु हुन्थ्यो । शसस्त्र कारवाहीलाई आन्दोलन भन्ने कि क्रान्ति भन्ने ? उहाँले नेपाली काँग्रेसको २०१८ साल पछिको शसस्त्र कारवाहीहरूलाई ‘प्रतिरोध’ रेसिसडेन्ट मुभमेन्ट भनी स्वीकार गराउन तथा औपचारिक लेखनमा प्रयोग गराउन बडो शालीन बहसलाई अगाडी बढाउनु भयो ।
कोईरालाहरूको पारिवारिक सन्दर्भमा बिहानको चियाको बडो महत्व रहेको छ । बीपी र पछि गिरिजा बाबुको समयमा एका बिहानै चियाका लागि सबै जम्मा हुन्थे र त्यहाँ बडो गम्भीर छलफल विचार विमर्श हुन्थ्यो । बडो जीवन्त खाले चर्चाहरू । यस अवसरहरूमा भीमबहादुरजीको उपस्थितिको आफ्नै रौनक रहन्थ्यो । उहाँका कुराहरूलाई बीपीले बडो महत्वका साथ सुन्नुहुन्थ्यो । त्यसमा सरिक हुनेहरूलाई यदाकदा लाग्दथ्यो कि बीपी पनि प्रभावित हुनु भयो । राम्रो तर्कशिलता देखिन्थ्यो भीमबहादुरमा । उहाँ यस तरिका बारे ठट्टा गर्नु हुदै चक्र बास्तोला बिहानको चिया खाने बेलामा बीपी समक्ष मजाकमा भन्नु हुन्थ्यो: 'भीमबहादुरजीले सान्दाजुलाई तान्दै हुनुहुन्छ । सान्दाजुले आफूलाई ठाउँमा रोक्नु पर्दछ ।'
राजनीतिमा बीपीको शसस्त्र पक्षधरता र किसुनजीको अहिंसक विचार दुई धारको रूपमा लामो समयसम्म विद्यमान रहेको थियो। तर, भीम बहादुर जी दुबै नेताका उतिकै प्रिय थिए। किन यस्तो नि भनी मैले सोद्धा भीमबहादुर भन्नु हुन्थ्यो: मेरो विचार क्रान्तिकारी , शसस्त्र पक्षधरताका लागि बीपीमा वैचारिक प्रवलता रहेको छ । तर्कपूर्ण औचित्यको आधारमा बीपीको दृष्टिकोणको निर्माण हुन्छ । म त्यसमा सहमत रहन्छु । यस कारणले मलाई बीपी मन पर्छ । तर, म शसस्त्र कारबाहीमा सरिक हुन्न् । ‘वारियरनेश’ वा लडाकुपना यौटा नितान्त निजी गुण हुन, जुन आफुमा न रहेको भीमबहादुरजी स्वीकार गर्नु हुन्थ्यो । किसुनजीलाई उहाँले सदैब धरातलमा उभिएको देख्नु हुन्थ्यो । भीमजी भन्नु हुन्थ्यो-बीपीको जीवनमा निजी प्रयोजनका लागि अध्यात्मको स्थान छैन । राजनीतिका लागि बीपीले बैचारिक दर्शनहरू बुझ्नु हुन्छ । जबकि, किसुनजी राजनीतिका लागि वैचारिक दर्शनको उपयोगभन्दा निजी जीवनमा अध्यात्मको स्थानलाई महत्वपूर्ण ठान्नु हुन्छ । यसरी एकै उद्देश्यका लागि दुई धार रहेको उहाँ सोच्नु हुन्थ्यो । भीमबहादुरजीको नजरमा गणेशमानजी बीपीको पूरक बढी रहनु भयो । गजब थियो भीमबहादुरजीको समझ । नेताहरूलाई बुझेर, जानेर उहाँ मौलिक गुणहरूका आधारमा लगावहरूको निर्धारण गर्नु हुन्थ्यो । यो थियो उहाँको शैली ।
स्मरणीय : कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङको १३औँ स्मृति दिवसमा पूर्वमन्त्री जयप्रकाश आनन्दको स्मरण उहाँको फेसबुकबाट साभार गरिएको छ l - सम्पादक
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...