जनै पूर्णिमालाई साझा बनाउने वैकल्पिक प्रस्ताव-सञ्जीव कार्की
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व शनिबार देशभर जनै फेरि रक्षाबन्धन बाँधेर मनाइँदैछ । ऋषि तर्पणीसमेत भनिने यो पर्वका दिन वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, तलाउमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने मान्यता छ । यसरी लगाइने जनैमा हिन्दु धर्मावलम्बी नै भए पनि दलित समुदायको लागि जनै पूर्णिमा अपमान अमर्यादा र आत्मसम्मानमा चोट पुग्ने दिन मानिन्छ l यहाँ जनै पूर्णिमाको समाजशास्त्र र यसको पुनरावलोकन र पुनर्मूल्याङ्कनको लागि एउटा मध्यमार्गी र समन्वयकारी पब्लिक डिस्कोर्स गरिएको छ l
धार्मिक दृष्टिकोण - जनै पूर्णिमा विशेषत: ब्राह्मण, क्षेत्री (उच्च जात) पुरुषहरूले जनै (यज्ञोपवीत) फेर्ने दिनको रूपमा परिचित छ l यसको धार्मिक आधार वैदिक ब्राह्मणवाद मानिन्छ । यसले ‘द्विज’ (दुई पटक जन्मेका) को अवधारणा बोकेको छ l जसअनुसार: पहिलो जन्म जैविक, दोस्रो जन्म वेद अध्ययनको अधिकार प्राप्त गर्दा पाउने प्राधिकार l
समाजशास्त्रीय दृष्टिकोण
जनै विभेद र अपमानको संस्कृतिको प्रतीक हो । यसले जातीय पदानुक्रमलाई धार्मिक रूपमा वैधता दिन्छ, शुद्ध–अशुद्धको मिथकमार्फत उच्च जातको प्रभुत्व र तल्लो जातमाथि सामाजिक दूरी कायम राख्छ । समाजशास्त्रीय रूपमा, यो सत्ता, हैसियत र पहुँचको असमान संरचना कायम राख्ने सांस्कृतिक यन्त्र हो ।
शक्ति र पदानुक्रम - जनै लगाउने अधिकार केवल ‘द्विज’ मानिएका जातिहरूलाई मात्र छ l यसले जातीय पदानुक्रमलाई वैधानिक र धार्मिक आधार दिएको छ तसर्थ यो विभेदी छ l दलित र महिलालाई वेद–अध्ययन र जनैधारणबाट ऐतिहासिक रूपमा वञ्चित राखिएको छ, जसले सामाजिक बहिष्करणलाई संस्थागत बनायो र समाजमा जातीय हाइराकी निर्माण गरेर छुत अछुत, पवित्र अपवित्र, शुद्ध र असुद्धको अवधारणा निर्माण गर्यो र समाजलाई अमानवीय बनायो l लैगिक भूमिकाको पुनःउत्पादन- जनै पूर्णिमा: पुरुष–केन्द्रित धार्मिक संस्कार हो । महिलालाई ‘जनै फेर्ने’ प्रक्रियाबाट बाहिर राखेर पितृसत्तात्मक भूमिकाको पुनःस्थापना जनै पूर्णिमाले गरेको छ यसर्थ यो लैङ्गिक दृष्टिकोणले पनि विभेदलाई संस्थागत गर्ने विधि विधान हो l
सामूहिक पहिचान र सांस्कृतिक एकता
जनै पूर्णिमाले आफ्ना समुदायभित्र ingroup solidarity (भित्रको समूह ऐक्यबद्धता) बढाउँछन् l जनै पूर्णिमा उच्च जातीय पुरुष पहिचानको प्रतीक बनेर समाजलाई उच र निच पवित्र र अपवित्रको धर्सो बनाएर विग्रह र विभाजन ल्याउन भूमिका खेलेको छ l जनै पूर्णिमा जातीय बहिष्करणमार्फत समाजमा आलोचित छ l
परिवर्तनशीलता
जनै पूर्णिमालाई भने केही प्रगतिशील समुदायले जात–धर्मभन्दा बाहिरको समानता र ज्ञान–अधिकारको प्रतीकका रूपमा नयाँ व्याख्या गर्न थालेका छन्, तर मुख्यधारा अभ्यास अझै पनि परम्परागत र विभेदी बहिष्कार र बेमेलकै छ l
आलोचनात्मक संकथन
जनै पूर्णिमा: समाजशास्त्रीय दृष्टिले यो जातीय विभेद र ब्राह्मणवादी वर्चस्वको सांस्कृतिक औजार हो, जसले दलित र महिलालाई ज्ञान–अधिकारबाट ऐतिहासिक रूपमा अलग राखेको कुरा घाम जत्तिकै छर्लंग छ ।
धर्मिक पर्वहरू, परम्परा र विश्वासलाई आधुनिक समाजमा पुनःव्याख्या गरेर समानता, सम्मान र समावेशीकरणतर्फ मोड्न सकिन्छ l जस्तै : जनैलाई ज्ञानको सार्वभौमिक अधिकारको प्रतीक बनाउन, रक्षा बन्धनलाई पारस्परिक सुरक्षा र समान भूमिकाको उत्सव बनाउने आदि l
जनै पूर्णिमा जस्ता पर्व संस्कृति र विश्वासलाई सामाजिक रूपमा एकीकृत गर्न समावेशी, समानता–आधारित र प्रगतिशील रूपान्तरण सम्भव बनाउने वैकल्पिक उपाय पनि एउटा समाज रूपान्तरणको मार्ग हुनसक्छ l जसको लागि जनै पूर्णिमा जस्ता पर्वहरूलाई जात, लिङ्ग, धर्म वा समुदायको आधारमा हुने विभेद अन्त्य गर्ने सन्देश दिन, र समानता–सम्मानको सामूहिक प्रतिज्ञा गर्ने दिन बनाउन सामाजिक जागरण र जातीय विभेदको अन्त्यको प्रारूपको रूपमा लिन सकिन्छ l
उद्देश्य ‘जनै सबैका लागि, राखी सबैबाट सबैलाई’ जस्ता श्लोगन मार्फत सुरक्षा, ज्ञान, र प्रेमको अधिकार सबैको साझा सम्पत्ति हो भन्ने घोषणा गर्दै सामुहिक र समाजिक कार्यमा सबै जात धर्म लिंग र सम्प्रदायलाई समावेश गराउन पहल गर्ने l जसको लागि सामजिक अगुवा राज्यका स्थानीय निकाय आदिले यस्ता विषयको समन्वय र संयोजन गर्न सहज हुन्छ l
पूनःअर्थान्वयनका उपाय
परम्परागत ‘द्विज’ अधिकारको सट्टा जनैलाई ज्ञान, सत्य र समानताको धागोको रूपमा पुनःपरिभाषित गर्ने र जनै फेर्ने होइन, सबै जात–लिङ्गका मानिसहरूलाई एकअर्काको हातमा ‘समानता धागो’ बाँध्ने कार्यक्रम आयोजना गर्ने/गराउने l धागोलाई बहुरङ्गी बनाउने र विविधता र ऐक्यबद्धताको इन्द्रेणी समाजको रङ्गीन चित्र र प्रतीकको रूपमा व्याख्या विश्लेषण गर्ने जसमा सबैले आफ्नो उपस्थिति देख्न सकुन् l जनैको धागो बाँध्ने बेला जातीय विभेद, लैंगिक हिंसा, र अन्याय विरुद्धको सार्वजनिक प्रतिज्ञा गर्ने ।
उत्सवको संरचना
साझा भेला : सबै जात–धर्मका मानिसलाई खुला निम्तो गर्ने ।
समानता धागो/राखी वितरण : रङ्गीन धागो वा राखी, जसमा "समानता", "स्वतन्त्रता", "प्रेम" जस्ता शब्द लेखिएको होस् l
सार्वजनिक घोषणा: सबैले एउटै स्वरमा ‘जातीय विभेद नगर्ने, भेदभावविरुद्ध बोल्ने’ प्रतिज्ञा गर्ने l
साझा भोजन : सबै जातका मानिसले एउटै ठाउँमा, एउटै भाँडोबाट खाने प्रतीकात्मक भोज।
सांस्कृतिक प्रस्तुति : जातीय समानता, महिला सशक्तीकरण, र मानव–अधिकार विषयक कविता, गीत, नाटकको प्रस्तुति l सह अस्तित्व र सामाजिक समन्यवको धारणा भाइचारा मित्रता प्रेम र सद्भाव दिवसको रूप दिने l
सन्देश
जनै : अब यो केवल उच्च जातीय पुरुषको पहिचान होइन, सबैको ज्ञान–अधिकारको धागो हो।
यस्ता पर्वहरू कुनै पनि जात धर्म र संस्कृतिको लिङ्ग र पदानुक्रम र जातीय हाइराकी होइन, सदभावना र सहअस्तित्वको पुल बन्नेछ l
सम्भावित प्रभाव
जातीय र लैंगिक विभेदको सांस्कृतिक पुनरुत्पादनमा कमी हुनेछ ।
परम्परामा भाग लिने सबैको मनोवैज्ञानिक स्वीकृति, किनकि पुरानो स्वरूपलाई पूर्ण अस्वीकार नगरी, नयाँ अर्थ प्रदान गर्दाको रमाइलो र भिन्न किसिमको समता समाजको उत्सव बन्नेछ ।
युवा पुस्तामा समावेशी संस्कृति निर्माणको दीर्घकालीन आधार तय हुनेछ ।
निष्कर्ष
जनै पूर्णिमालाई समाजशास्त्रीय दृष्टिले हेर्दा, यी केवल धार्मिक वा सांस्कृतिक परम्परा मात्र नभई, शक्ति सम्बन्ध, जातीय/लैंगिक पदानुक्रम, र सामूहिक पहिचानको पुनःउत्पादन गर्ने माध्यमको रूपमा बुझिन्छ l तर, सामाजिक चेतना र प्रगतिशील व्याख्याबाट यी पर्वहरूलाई समानता, समावेशीकरण र पारस्परिक सम्मानका उत्सवका रूपमा रूपान्तरण गर्ने सम्भावना अझै पनि बाँकी छ । त्यसैले एउटा विकल्पको रूपमा प्रस्तुत नयाँ र विशेष परिस्थितिमा पूनःअर्थान्वयनका उपाय, उत्सवको संरचना, परिवर्तनशीलताको अवधारणा अन्तरगत समाजको पुनरावलोकन गर्दै समाजलाई आधुनिक सभ्य र समुन्नत बनाउने विकल्पमा विमर्श गरौ l
स्मरणीय : प्रस्तुत लेख लेखकका निजी विचार र धारणा हुन् l akabarey.com विचार सम्प्रेषणको साझा मञ्च भएको कारण सबै किसिमका विचार प्रवाहको माध्यम रहेको छ l - akabarey .com
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'