प्राणघातक क्यान्सरले जीवन चुँडेकी, नेपालकी कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको जीवनी

चन्द्रप्रसाद न्याैपाने -
प्रा.डा. उर्मिला प्याकुरेल (मधुश्री) सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं. ३ कालिका उखुबारीमा २०३७ साल असार ६ गते पिता देवीनाथ प्याकुरेल तथा माता मनमाया प्याकुरेलबाट जन्मिएकी हुन् ।
उर्मिला ६ दाजुभाइ तथा ५ दिदीबहिनीमध्ये ११ औँ अर्थात् सबैभन्दा कान्छी हुन् । यिनको विवाह भएन । उर्मिलाका दाजु उद्धवप्रसाद प्याकुरेलका अनुसार श्री कालिका आधारभूत विद्यालय, उखुबारीबाट ८-९ वर्षको उमेरदेखि अर्थात् २०४५ सालबाट प्रराम्भिक शिक्षा लिन थालेकी उर्मिलाले कक्षा ४-५ श्री जनजागृति मा.वि, पुरानाकोटमा र कक्षा ६-१० सम्म श्री बाघभैरव मा.वि. ठोकर्पामा पढेकी हुन् । श्री बाघभैरव मा.वि. ठोकर्पाबाट २०५५ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उर्मिलाले २०५७ सालमा पाटन संयुक्त क्याम्पसबाट आइएस्सी, २०६१ सालमा त्रिचन्द्र कलेजबाट बिएस्सी र २०६३ सालमा त्रिभुवन विश्व विद्यालयबाट एमएस्सी गरेकी हुन् ।
वि.सं. २०६६ देखि २०६९ सम्म सममिट मावि. मा शिक्षण पेसामा संलग्न रहेकी उर्मिला २०६८ साल मङ्सिर ६ गतेबाट उपप्राध्यापकमा खुला नियुक्ति भएकी थिइन् । उर्मिलाले वि.सं. २०७३ सालमा विद्यावारिधिको उपाधि पाएकी हुन् । २०७६ साल साउन ७ गते सहप्राध्यापकमा खुला नियुक्ति पाएकी उर्मिला लगत्तै २ वर्षपछि २०७८ साल चैत ११ गते प्राध्यापक पदमा नियुक्ति भएकी थिइन् ।उर्मिला जन्मले ३९ वर्ष १ महिना १ दिनको हुँदा सहप्राध्यापक र ४१ वर्ष ९ महिना ५ दिनको दिन प्राध्यापकमा नियुक्ति भएकी थिइन् भने ३६ वर्षको उमेरमा गणित विषयमा विद्यावारिधिको उपाधि लिएकी हुन् । गणित विषयमा मात्र नभई सम्भवतः समग्र विषयमै यिनी नेपाली महिलामा कान्छी प्राध्यापक हुन् ।
गाउँमा नजिक स्कुल थिएन । २०४५ सालमा घरनजिकै श्री कालिका प्रा.वि स्थापना भयो र उनको कखरा त्यसै दिनबाट सुरु भयो । हुने बिरुवाको चिल्लो पात भने झैँ उनी तल्लो कक्षादेखि नै उत्कृष्ट नतिजा हाँसिल गर्दै गइन् । उनले कक्षा आठमा अध्ययन गर्दागर्दै उत्कृष्ट छात्रा छनोटमा परेर जापान भ्रमण गर्ने अवसर प्राप्त गरेकी थिइन् ।
विद्यालयतहदेखि नै साहित्यमा रुचि राख्ने प्याकुरेलले राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् । यिनले सन् २०१७ नोभेम्बरदेखि २०१९ अक्टोबरसम्म अलेक्जेन्डर फन्ड हम्बोल्ड फाउन्डेसन जर्मनीमा महाविद्यावारिधि अनुसन्धाता तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट सन् २०१६ मा युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेकी थिइन् ।उर्मिलाले अध्ययन अनुसन्धानका क्रममा जापान, जर्मन र फिलिपिन्सको भ्रमण गर्ने अवसर पाएकी थिइन् । यिनको अनुसन्धान काठमाडौँको ट्राफिक समस्या समाधान गर्न गणितको व्यावहारिक प्रयोगमा केन्द्रित बनेको थियो । अनुसन्धानका क्रममा उनी नेपाल तथा विदेशका प्राज्ञिक सङ्घ संस्थाहरूमा संलग्न भई सक्रिय थिइन् ।
निम्नमध्यम वर्गीय परिवारमा जन्मिएर यो सफलता हासिल गर्नु उक्त परिवारका लागि गर्वको विषय थियो । उनको अध्ययन अध्यापन कार्यमा परिवारको महत्वपूर्ण हौसला र सहयोग रहेको पाइन्छ । उर्मिलाका अनुसन्धानात्मक लेखहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । यिनका लगभग १५० ओटा फुटकर गीतकविता 'मधुश्री' को नामबाट विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । लगभग एक दर्जन गीतिकथा रेडियो नेपालको मधुवन कार्यक्रमबाट प्रसारित छन् । उर्मिलाले लगभग २०० पृष्ठको स्मरण लेखेकी छिन् । यिनको एमएस्सी अध्ययनदेखि पिएचडी एवम् अनुसन्धानात्मक कार्यको सफलतामा डा. फादर प्रा.डा. टङ्कनाथ धमलाको योगदान महत्त्वपूर्ण रहेको बुझिन्छ ।
सन् २०१७ मा महाविद्यावारिधिका निमित्त जर्मनमा रहँदा उनलाई क्यान्सर देखियो । उनले २ वर्षसम्म जर्मनमै क्यान्सरको उपचार गरिन् । सन् २०१९ मा नेपाल फर्किएपछि पनि लगातार क्यान्सरको उपचार गराइरहिन् तर २०७९ कार्तिक मङ्सिरदेखि किमोले उनको शरीरमा काम गर्न छाड्यो । अन्तिम समयसम्म पनि निको हुने र ससक्त रूपमा आफ्नो अनुसन्धानका कार्य सफल बनाउने कुरामा उनको आत्मविस्वास कायमै थियो तर त्यो समस्यासँग लड्दालड्दै ४२ वर्षको उमेरमा २०७९ साल चैत्र २९ गते उनको निधन भयो । उनको सम्झनामा परिवाजनको नेतृत्वमा "प्रा.डा. उर्मिला प्याकुरेल" प्रतिष्ठान खुलेको छ । प्रतिष्ठान सञ्चालनका लागि ५० लाखभन्दा बढी आर्थिक सहायता जुटिसकेको छ । प्रतिष्ठानले आगामी दिनमा शैक्षिक एवम् साहित्यिक क्षेत्रका उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कृत गर्नुका साथै विविध सामाजिक काम गर्ने उद्देश्य राखेकाे छ ।
सिन्धुपाल्चोककाे माटाेमा जन्मिएकी प्रा.डा. एक हाेनाहार प्रतिभाप्रति हार्दिक श्रद्धाञ्जली !
बृहत्तर महाकाव्यकार, जनताका प्राज्ञ, चार दर्जन कृतिका साधक, द्रष्टा,आदरणीय चन्द्रप्रसाद न्यौपानेप्रति आभार व्यक्त गर्दै उहाँको अनुमतिमा यो सामग्री हामीले प्रकाशन गर्ने अवसर प्राप्त गरेका छौं l
akabarey.com परीक्षण प्रसारणमा छ l
छुवाछुत र जाति विभेदलाई गम्भीर मानवाधिकार उलंघनको विषय बनाउनुपर्छ र यो विषयलाई अन्तर्राष्ट्रियकरण गर...
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...