वैकल्पिक र सुसंस्कृतिक राजनीतिका प्रयोक्ता उज्वल थापा -सञ्जीव कार्की

आज उज्वल थापा स्मृति दिवस हो l स्वर्गीय थापा र वैकल्पिक राजनीतिबारे केही स्मृति l
गणतन्त्र नेपालको रूपमा २०६५ जेठ १५ गतेको संसदले विधिवत फैसला गरे पनि नेपालको राजनीति गणतन्त्र अनुकुल हुन् सकिरहेको थिएन, आज पर्यन्त गणतन्त्र कार्यन्वयनमा संघीयताको विषयमा थुप्रै अलमल, असमन्जस्य छ l त्यतिबेला नहुने कुरै थिएन ? संविधान बन्न सकिरहेको थिएन l नेपालको राजनीति तरल थियो l त्यहीबेला नेपाली राजनीतिक क्षितिजमा उज्वल थापाहरू आशाको उज्यालो बोकेर उदाएका थिए l
आफ्नो औपचारिक राजनीति यात्राको छोटो दौरानमा उज्वलले जे गरे र जे गर्न खोजे कतिपय कमजोरी पनि गरे र कति कुरा मानक बनाएर स्थापित पनि गरिदिए l यद्दपि राजनीतिमा उनले लामो समय काम गर्न पाएनन् उनलाई २०७८ जेठ १८ गते कोरोना संक्रमणले यो धराको बास अन्तिम बनाई दियो l उनै उज्ज्वल थापाको स्मृति दिवसमा उनीप्रति श्रद्दा सुमन अर्पण गर्दै केही संस्मरणहरू राख्नु सान्दर्भिक होला l
जति बेला सडकमा टायर बाल्नु र असहमति हुने बित्तिकै सडक बन्द गरेर ‘नेपाल बन्द’ जस्तो अत्यन्तै अराजक, अनैतिक र देशलाई घाटा लाग्ने बन्दको अपसंस्कृति मौलाएको थियो । अराजकता नै सरकारको विरोध गर्ने सजिलो माध्यम, उपाय र अश्त्र थियो । राजनीतिक दलका नेताहरू, तिनका भगनी संगठनहरू लाठी बोकेर सडकमा निस्कन्थे, मानौँ सडक युद्ध स्थल हो, त्यहाँ सर्वसाधारणलाई बाधा गरेर युद्ध गर्नु उनीहरूको धर्म हो l उनीहरू कर्तव्यका खातिर सडक कब्जा गरेर ‘नेपाल बन्द’, ‘अञ्चल बन्द’ ‘उपत्यका बन्द’, ‘जिल्ला बन्द’ र कतिपय स्थानीय ठाउँ बन्द गरेर आफ्नो बहादुरी प्रदर्शन गर्थे l नेपाल बन्द एउटा गलत संस्कृतिको रुपमा विकास भएको थियो तर यसको विरोध गर्ने यसको विरूद्ध उत्रने भाष्य र काउन्टर बनेको थिएन l
बन्दरूपी युद्ध देश बनाउने अचुक अस्त्र हो । सडकको भाँडभैलो, बन्द, चक्काजाम, धुलो, धुवाँ, डाङडाङ डुङडुङ नै समृद्धिको माध्यम र सहज उपाय मानेझैं गरिन्थ्यो । लाग्थ्यो सडक पार्टीहरूको आफ्नो बपौती हो तिनले त्यहाँ जे गरे पनि हुन्छ, जसलाई बाधा खडा गरे पनि हुन्छ, अन्यथा देश बन्दैन, राजनीति सुध्रिदैन, राज्यले सुन्दैन, जनसरोकार र जनताले विरोध प्रकट गर्ने भनेको नै, राज्यलाई आफ्नो माग सुनुवाइ गर्न बाध्य पार्ने उपयुक्त तरिका नै, ठाउँ बन्द जिल्ला बन्द ,देश बन्द हो । यसरी बन्दको अपसंस्कृति मौलाएको थियो l बन्द घातक हो यसले देशको अर्थतन्त्रदेखि समग्र पक्षलाई पक्षघात गर्छ भन्ने सोच राजनीतिमा क्रियाशील पार्टीहरूमा थिएन l
कुनै पनि माग पूरा गराउने रामवाणको रूपमा बन्द गर्नुपर्ने नियम जस्तो बनेको थियो । बन्द राजनीतिक पार्टीको आम अभ्यास र साझा विरोधको शैली र सिद्धान्त बनेको थियो l त्यतिबेला केही युवा ‘नेपाल खुल्ला छ’ ‘नेपाल बन्द गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गर्नु हो’ । भविष्य अरू अन्धकार बनाउनु हो । बन्द तोडफोड हिंसा अराजकता बिना पनि राज्यलाई आफ्नो माग सुनाउन र माग पूरा गर्न सकिन्छ । सरकारको विरोधको नाममा बन्द हडताल जस्ता कुरा गर्नु राजनीतिक संस्कार होइन,अब राजनीतिको कल्चरलाई नवीन रूपमा बदल्नु पर्छ । रुढीवादी राजनीतिको विरुद्ध सिर्जनात्मक राजनीतिको मियो बनेर उभिने कसरत गर्दै राजनीतिको कोर्स, नयाँ शिराबाट सुरु गर्नुपर्छ भनेर उत्साही युवाहरू सडकमा निस्के । बन्दको विरोध गरे । नेपाल बन्द गर्नेले बनाउन सक्तैनन् हामी नेपाल सधैँ खुल्ला राख्छौँ । नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कने थोरै युवा मध्यका लिडर थिए उज्वल थापा । यसरी सडकमा निस्कने रिक्सा चलाएर नेपाल खुल्ला छ भन्ने आव्हान गर्ने युवाहरूमा उज्वल थापाका अलावा गोविन्द नरायण, पुकार बम, सन्तोष प्रधान, शशिविक्रम कार्की, मिलन पाण्डे, विराजभक्त श्रेष्ठलगायत अन्य युवाहरू थिए l जसले नेपाल बनाउने र सरकार सेवक बन्नुपर्छ शासक होइन भन्ने परिकल्पना गरेर सेवक सरकार, विवेकशील नागरिक र हितकारी राज्यको अवधारणा बोकेर राजनीतिलाई सुसंस्कृत बनाउने अभियानको नेतृत्वको अग्र पंक्तिमा थिए l
स्वदेशमै केही गर्नुपर्छ भन्ने उदेश्य लिएर अमेरिकाबाट फर्किएर थापा उद्यमशीलता र समाजसेवामा सक्रिय भएका बेला नेपालमा राजनीतिक अस्थिरता चरम उत्कर्षमा थियो । प्रथम संविधानसभा गठन भए पनि संविधान बन्न सकेको थिएन । कहिले यो समूह त कहिले त्यो समूहले हरेक दिनजस्तो बन्द र हडताल गर्ने गर्थे । जनता हैरानी र सकसमा थिए l बन्दको विरोध गर्ने ल्याकत जनतामा थिएन बन्दको विरोध गर्न हुन्छ भन्ने नै कसैमा चेतना थिएन l
बन्द र अराजनीतिले आजित भएका केही युवासँग मिलेर थापाले २०६५ सालमा सामाजिक सञ्जालमा 'बन्द विरुद्ध अभियान'का लागि एउटा समूह बनाए । उक्त अभियानमा आबद्ध युवाहरू नेपाल बन्द घोषणा भएका दिन "नेपाल खुला छ" भन्ने ब्यानर बोकेर सवारीसाधन चलाएर हिँड्न थाले । राजधानीको माइतीघर मण्डलमा उनीहरू बन्दका दिन पनि प्लेकार्ड बोकेर उभिन्थे । त्यसको एक वर्षजति पछि थापाकै सक्रियतामा युवाहरूले 'परिवर्तनका लागि हामी नेपाली एक' अभियान सुरु गरे l उनीहरूले सामाजिक सञ्जालदेखि सडकसम्म 'ज्याला पूरा लियौ, अब संविधान देऊ' भन्ने नारा पनि घनिभूत तवरले लगाए । यस्ता अभियानले मात्र समाजमा परिवर्तन ल्याउन सम्भव नदेखेपछि आफूहरूले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने सोच बनाएर थापाले विसं २०६९ विवेकशील नेपाली भन्ने समूह तयार गरेर औपचारिक राजनीतिको मार्गमा पाइला चालेका थिए ।
युवाले आफ्नो देश राम्रो बनाउनु पर्छ र हामीले जिम्मेवारी लिनुपर्छ भन्ने हुटहुटीका साथ उज्वलले वैकल्पिक राजनीति सुरु गरेको बताउँथे l "शान्त, सभ्य र सुसंस्कृत तरिकाले राजनीति गर्नुको विकल्प छैन भनेर उनले अभियान सुरु गरेका थिए, त्यसबाट उनले एउटा पृथक् पहिचान बनाउन सफल पनि भए l नेपालको राजनीतिमा वर्षौँदेखि जमेर रहेका विसङ्गतिमाथि सानै भए पनि प्रहार गरेका थिए थापाको समूहले र त्यसले जमेको ठूलो पोखरीमा फालिएको सानो ढुङ्गा झैं नेपाली राजनीतिमा तरङ्ग पक्कै ल्याइदियो जसको परिणाम नेपाली राजनीतिमा विभिन्न तरिकाले अभिव्यन्जित भैरहेको छ ।
२०७९ को स्थानीय चुनावमा फरक ढङ्गले परम्परागत पार्टीहरूलाई विस्थापित गर्दै काठमाडौँमा बालेन्द्र शाह, धरानको मेयरमा हर्क साङ्पाङ र धनगडीको मेयरमा गोपी हमालहरूको उदय त्यसैगरी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि केही स्थानीय तहमा विजय प्राप्त गरे l २०७९ को सङ्घीय चुनावमा रास्वपाले पनि चमत्कारी विजय हात पार्यो भने जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेश र सङ्घमा आफ्नो उपस्थिति सत्ता राजनीतिलाई प्रभाव पार्ने हैसियतमा निर्माण गर्यो l यो सबको पछाडि नयाँ आउनु नयाँलाई पत्याउनुमा थापाको वैकल्पिक राजनीतिको परोक्ष प्रत्यक्ष प्रभाव रहेको कुरा भन्न कन्जुस्याई गर्नु पर्दैन l पार्टीहरूको केन्द्र भञ्जन गर्न उज्वल थापाले रोपेको राजनीतिको बीज उत्प्रेरणाको रूपमा जीवन्त छ l
नेपाल खुल्लै छ । नेपाल बन्दै छ । नेपाल हाम्रो घर हो, डेरा होइन तसर्थ घर बनाउने जिम्मा प्रत्येक नेपालीको जिम्मेवारी हो । जिम्मेवार र विवेकशील नागरिक भएको देश बनाउने सङ्कल्प बोकेर उज्वलहरू सडकमा निस्केर बोल्न थालेका हुन् । माइतीघर मण्डललाई सरकार बाहिर बसेकाहरूले सरकारको विरोध गर्ने र आफ्नो माग सुनाउने थलोको रूपमा विकास गरे ।
जबकि त्यतिखेर सडक बन्द गरेर ,रेलिङ तोडफोड र आगजनी हिंसा बिना विरोध गर्न सकिन्छ र त्यो विरोध प्रभावकारी हुन्छ भन्ने सोच कसैमा पलाएको थिएन । बन्द गर्नु गलत हो भन्ने चेतना जनमानसमा उब्जेकै थिएन । आज माइतीघर सरकारलाई आफ्नो कुरा सुनाउने भन्ने र सरकारले गरेका जनघाती कदमको विरोध गर्ने मानक स्थल र फ्रिडम पार्क बनेको छ l तत्कालीन नेकपाको सरकारले पनि प्रतिबन्ध लगाएको माइतीघर मण्डलमा स्वयं प्रचण्ड र माधव झलनाथ 'हामी यहाँ छौं' भन्दै ओलीको विरोधमा बस्न पुगेका थिए l माइतीघर अहिले नागरिकको गुनासो देश दुनियाँलाई सुनाउने थलोको रूपमा विकास भएको छ l आन्दोलन, संघर्ष र पर्दर्शनको पर्याय माइतीघर बनेको छ l
एक प्रकारले चलेको र बन्द चक्काजाम नै संस्कार र राजनीतिको अपसंस्कृति बनेको बेला फरक आयाम र सोचका साथ समाज रूपान्तरणको नारा बोकेर उज्वलहरू सडकमा प्रदर्शन गर्न निस्के र फरक धारको राजनीतिक कल्चरको अभ्यास गर्न थाले । सडकमा नारा जुलुस गर्दा देखिने अनुशासन र आफ्नो कार्यक्रम गर्दा निस्कने फोहोर आफै उठाउने अभियान अरूका लागि अनौठो र आश्चर्य लाग्दो थियो । थोरै मान्छे त्यसमा पनि अल्लारे जस्ता देखिने युवयुवतीहरूको प्रदर्शनलाई मान्छेहरूले र परम्परागत राजनीतिमा अभ्यस्त राजनीतिक दलका नेताकार्यकर्ताले भुराभुरीको रमाइलो, फुर्सदको बसिबियाँलो र प्रणय दिवस मनाउने अवसर भनेर खिसी गरे तर यो सानो समूह एउटा मिसन र नेपालमा सुसंस्कृत सुसङ्गत वैकल्पिक राजनीतिक आफ्नो अभीष्ट बनेर आएको थियो ।
दूषित राजनीतिलाई सफा गर्न सफा मान्छे चाहिन्छ भन्दै उज्वलहरू आफ्ना नवजवान साथीहरूका साथ राजनीतिमा देखिए l अराजनीतिलाई राजनीति भनिन्छ भनिन्थ्यो तर राजनीति कस्तो हुनु पर्छ दल कस्तो हो र नेताकार्यकर्ता कस्तो हुनुपर्छ भन्ने सिकाउन उज्वलहरूले राजनीतिको मेलो पक्रेका थिए l भलै उज्वलले पनि साझा पार्टीसँग एकतागर्दा त्यसलाई सार्थक तुल्याउन सकेनन् l एकढिक्का बनाएर वैकल्पिक राजनीतिको कोर्स आफैले अगाडि लैजान सकेनन् l आफ्नो पार्टीको गतिलाई गतिवान बनाउन सकेनन् l उनले एकता नगर्नु पर्थ्यो गरेपछि पार्टीलाई एकीकृत बनाउन सक्नु पर्थ्यो l उनीद्वारा स्थापित पार्टी नेपाली राजनीतिमा प्रभावकारी छैन तर उनका अनुयायीहरू विभिन्न ढङ्गले राजनीतिमा छन् l 'विवेकशील नेपाली पार्टी र विवेकशील साझा पार्टी' भनेर पार्टीको अस्तित्व पनि कायम छ कति स्वतन्त्र पार्टीमा लागेर सांसद र नेता भएका छन् l कति नैतिकता मूल्य र सिद्धान्तको राजनीति भनेर लागि नै रहेका छन् l आफ्नो पूर्वत मानक र पहिचान छोडिसकेका छैनन् l
राजनीतिको फोहोर हामीले नै उठाउने र त्यो हिम्मत गर्न सफेद मन र मस्तिष्कका युवा राजनीतिमा चाहिन्छ उज्वलको ध्येय थियो । लुटतन्त्र बढारेर मौलिक नेपालवादको सुसंस्कृत राजनीति, पारदर्शी राजनीति उज्वलको लक्ष्य थियो । राजनीति महँगो र पैसावालको पहुँचमा मात्र भएको बेला राजनीतिलाई सबैको लागि सुगम र मितव्ययी पारदर्शी र जबाफदेही बनाउने उद्देश्य बोकेर हिँड्ने अभ्यासमा थिए उज्ज्वलहरू ।
चुनाव प्रचारप्रसारमा भव्य र्याली मोटर र बाइकहरूको ताँती लिएर हिँड्ने पार्टीहरूको अघिल्तिर रिक्सा चलाएर, साइकल चढेर, ट्याम्पो चढेर काठमाडौं शहरमा चुनाव प्रचारको लागि निस्कनु हास्य र खिसीको पात्र बन्नु थियो । उपहासको पात्र बनेर पनि कुकुर जस्तै आज्ञाकारी बन्नुपर्छ भन्दै कुकुर( उज्वल अभियानको प्रथम चुनावमा चार युवाहरू २०७० को संविधानसभामा काठमाडौँबाट उज्वल थापा, गोविन्द नारायण, पुकार बम र सन्तोष प्रधान ) डोर्याउँदै उज्वलहरू काठमाडौंमा हिँड्थे यिनीहरूको यस्तो पारालाई राजनीतिक पार्टीका मान्छेहरू धज्जी उडाउँथे, उनीहरूको उमेद्वारीलाई लिएर दुधे बालबालिकाको राजनीतिक भाँडाकुटीको संज्ञा पनि दिन्थे ।
आम मान्छेहरू पनि केही युवायुवतीका यस्ता प्रचारलाई देखेर छक्क परेर हेर्थे । यी मान्छेहरू परम्परागत पार्टीभन्दा फरक ढङ्गले प्रस्तुत भएको देख्दा धेरैको लागि रमिता थियो तत्कालीन विवेकशील पार्टीको चुनावी प्रचार । मान्छेको ध्यान खिच्न अचाक्ली काम गर्नु पर्दैन केवल अलि फरक ढङ्गले काम गरे पुग्छ । देश भक्तिलाई प्राथमिकतामा राखे पुग्छ । जनतालाई केन्द्रमा राखे हुन्छ l
देशभक्त भन्दै भारतको विरोध गर्दा नेपाल बन्द गर्ने परिपाटीको अघि नेपाललाई माया गर्नेले बन्द होइन खुल्ला नेपाल राख्नुपर्छ भन्ने अवधारणा नै वास्तवमा मान्छेको बुद्धिको बिर्को खोलिदिने झटका भइ दियो । आज बन्द गर्न पार्टीहरू हिचकिचाउने र डराउने कारणको पछिल्तिरको कारण हो उज्वल थापा टिमको राजनीतिक चेतना र जन जागृति अभियान र बन्दप्रतिको विरोध र नेपाल खुला राख्ने सन्देश ।
आज बन्दको विरोध आम जनताले गर्छन् फलस्वरूप जनताको लागि भन्दै जिल्ला बन्द र नेपाल बन्दको अपसंस्कृतिमा धेरै कमी आएको छ । यसको श्रेय तत्कालीन विवेकशील दल र त्यसको नेता हुनुको कारण उज्वल थापाको भागमा जान्छ । उज्वल असाध्यै बिरामी भएर उपचार गराउँदा गराउँदै परलोक गए । उनको लागि मुटु झिकेर दिन चाहने युवाहरूको साथ थियो तर पापी कोरोनाले त्यो अध्याय सँधैका लागि बन्द गरिदियो ।
कोरोनासँगको भौतिक युद्धमा दुई हप्ताको रस्साकस्सीपछि पराजित बने । उज्वलप्रति किन मान्छेहरूको यतिविधि श्रद्धा त्यो हो निष्ठापूर्वक आफ्नो उद्देश्यमा तल्लीन भएको मान्छे प्रतिको भरोसा । भलै दुई पटक चुनाव लड्दा उज्वलले जित्न सकेनन् उनको पार्टी पनि राष्ट्रिय स्तरको हुन सकेन तर उनीहरूले जुन विश्वासको मत पाए त्यो भावी नेपालमा परिवर्तनको संकेत भनेर विश्लेषण गर्ने आधार हो । उनीहरूले सकारात्मक प्रचार गरेर आफ्नो मुद्दा स्थापित गरे जसको कारण सही उद्देश्य र आशयप्रति मान्छेहरूमा विश्वास पलाउँदै गएको प्रमाण हो उज्वलप्रति मान्छेहरूको माया र सहानुभूति । नेताहरू बदनाम र अराजक भएको बेला एउटा सानो पार्टीका नेताप्रति मान्छेहरूको सद्भाव र स्वतःस्फूर्त आर्थिक सहयोग सामान्य विश्वासमात्रै होइन भरपुर आस्था थियो ।
उज्जवल सिकिस्त विरामी थिए उनको उपचारको लागि उनका शुभेच्छुकहरूले सहयोगको लागि सार्वजनिक आव्हान गरे l उज्वललाई माया गर्ने देश विदेशका शुभेच्छुकहरूले उनको सुस्वास्थ्यको कामना गर्दै रकमहरू पठाउन थाले त्यसैबेला दुर्गा प्रसाईले उज्वलको उपचार खर्च आफूले बेहोर्ने कुरा सार्वजनिक गरेर माफिया दलाल र व्यापारीहरू कसरी नेताको समीप पुग्छन् र आफ्नो स्वार्थ सिद्ध गर्न प्रभावित गर्ने बाटो रोज्छन् त्यो बुझ्न, बुझाउन सहयोग गरे । स्वार्थ समूहको सहयोग लिने अनि ऊ मुताबिक चल्ने नेताहरूको विशिष्ट गुण भएको कारण देशको राजनीति माफिया दलाल र बिचौलियाहरूको फन्दामा परेको हो ।
विवेकशील नेपाली दलका संस्थापक सिर्जनात्मक राजनीतिका शुत्राधार सामाजिक अभियन्ता उज्ज्वल थापाको परिवारले प्रसाईको सहयोग नलिएर उनको सदाशयतालाई धन्यवाद दिएको कुराले नेपाली नेताकार्यकर्तालाई एउटा पाठ जरुर सिकाएको छ/हुनुपर्छ । उज्वलको देहान्तपछि परिवारले थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा व्यक्त गर्दै उनको जीवनको सादगीपनलाई मृत्युपछि पनि तडक भडक साथ अन्तिम यात्रा नगरेर साधारणढङ्गले सम्पन्न गरे l आज कतिपय नेता मृत्युपछि पनि परिवारको कारण बदनाम देखिएका छन् l आफ्ना पति, पिता, पत्नी र दाजुभाइ, दिदीबहिनी, आफन्तको आदर्श बचाउन परिवारको पनि सचेतता र निगरानी जरुरी हुन्छ ।
नेता बिरामी हुँदा उपचार खर्च बेहोरिदिने, छोराछोरी पढाई दिने, विदेश सयर गराइदिने, पार्टीको कार्यक्रममा जाँदा हेलिकप्टर रिजर्भ गरिदिने, नेता कार्यकर्तालाई घरजग्गा उपहार दिने, शेयर उपहार दिने, गाडी उपहार दिनेलगायत अनेकौँ उपहार, सौगात,नजराना जे भने पनि खर्चिलो र प्रभाव पार्ने हेतुले दिने र सो बापत प्रकारान्तरले आफ्नो दुनो सोझ्याउने, राज्यमा अनावश्यक प्रभुत्व जमाउने नेताकार्यकर्ताबाट राज्यको नीति निर्माण तहमा प्रभाव पारी आफ्नो पेशा व्यवसाय लाभको अंश बढाउने उपाय नै व्यापारी र स्वार्थ समूहको रणनीतिक चाल हो । जसमा हाम्रो देशका प्रायः सबै नेता फसेका छन् । आपद्को सहयोग मानवीय र सहृदय हुनुपर्छ नकि भावी फाइदा नाफा घाटाको हिसाब हेरेर । सेवा व्यापार होइन मानवीय धर्म हो, तर स्वार्थी व्यापारीहरू नाफाघाटाको विषय बनाएर मानवीयता प्रदर्शन गर्छन् l
पार्टीका नेता कार्यकर्ता चुकेका र चुकाइएका यस्तै प्रवृत्तिको कुत्सित नियत र चाल बुझ्न नसकेर हो । सहयोग चन्दा र दानको रूपमा जे आए नि जसको आए नि लिने परिपाटी परिवर्तन गर्न उज्वल थापाको परिवार र उनका शुभचिन्तकले लिएको सावधानी प्रशंसनीय छ । पार्टीको लागि मात्रै होइन देशको लागि खाँचो पर्ने नेता गुमाउँदा देश शोकाकुल बनेको थियो ।
मान्छेहरूको मायाले ईश्वरीय नियममा फेरबदल गर्ने तागत राख्थ्यो भने उज्वलले देश विदेशका नेपालीबाट काफी माया पाएका थिए तर दैवको लीला स्वीकार गर्नु र सहनुको विकल्प थिएन, उज्वल परमधाम गए । उनी गए पनि उनको पार्टी सानो भए पनि उनले दिएको सन्देश र छोडेको छाप अमूल्य छ l उनले देखाएको वैकल्पिक राजनीतिको राजमार्ग फराकिलो बनेको छ l पुराना राजनीतिक दलको एकाधिकारवादमा थोरै भए पनि कमी आएको छ l विकल्प निर्विकल्प हुन्छ भन्ने भाष्य निर्मित भएको छ जसको कारण राजनीतिमा युवाहरूको आकर्षण र धक्का देखिने गरी प्रकट भएको छ l
नेपाली राजनीतिमा मौलाएको अप संस्कृति र विरोधको ध्वंसात्मक तरिका बदलेर रचनात्मक विरोध र सिर्जनात्मक राजनीतिको सुरुवात गर्न जुन नेतृत्व उज्ज्वलले लिएका थिए त्यो नेपाली युवामाझ लोकप्रिय र अमिट छाप र प्रभाव छोड्ने राजनीतिको एक प्रयोगको रूपमा सदैव रहन्छ । उनको सोच,शैली र चिन्तन नेपालको लागि झन् जरुरी थियो । दुर्भाग्य उज्वल लामो समय यस धरामा रहन पाएनन् l
उज्वल आलोचनालाई सहज रूपमा लिएर सक्दो आलोचना गर्न र त्रुटि कमजोरी भनिदिन आग्रह गर्थे । उनको त्यो शैली मलाई पनि खुब मन परेको थियो । उनी प्रश्नलाई निस्तेज होइन प्रश्न गर्ने मान्छेलाई मन पराउथे l प्रश्न, प्रश्न मात्र होइन त्यो समस्या चिन्ने र गाँठो फुकाउने उपाय पनि हो भन्थे त्यसैले उज्वललाई प्रश्नहरूसँग अलगाव बस्न मन पर्दैनथ्यो l
यो पङ्क्तिकार तत्कालीन विवेकशीलदलप्रति आलोचनात्मक भएर आर्टिकल लेख्थ्यो l व्यङ्ग्य गर्थ्यो खबरदारी गर्थ्यो उज्वल भेटमा आफ्ना स्पष्टीकरण राख्थे l कतिपय आफ्ना असहमति म्यासेज गर्थे l रचनात्मक, सिर्जनात्मक सोच र शैली आजको राजनीतिक मूल कार्यभार हो भन्ने उज्वललाई राम्रोसँग थाहा थियो । उनी विरामी भएपछि उनको स्वास्थ्यमा चमत्कारिक परिवर्तनको कामना गरेर बस्ने लाखौं मान्छेलाई निराश पार्दै उज्वल महायात्रामा निस्के । अब उज्वल एउटा राजनीतिक दर्शन आन्दोलन विचार र सुसंस्कृत राजनीतिको जग बनेर बसिरहेका छन् l २०७६ मा भएको विवेकशील नेपाली दलको अधिवेशनबाट थापाले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेर नेतृत्व परिवर्तनको एउटा मानक निर्माण गरिदिए l यो देख्दा सामान्य लाग्ला तर नेतृत्व जाम गरिरहने र चार दशकसम्म एकै व्यक्ति र प्रवृत्ति राजनीतिको नेतृत्वमा बस्नेका विरुद्धको झापड पनि हो l
देश र जनताका लागि काम गर्ने' एउटा 'नायक'को खोजीमा जनता भएको कारण उज्वल थापाकै प्रतिबिम्ब ठानेर कतिपय नेता चुनिएर पनि आएका छन् l २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपालीले काठमाण्डूका चार क्षेत्रबाट स्वतन्त्र रूपमा आफ्ना उम्मेदवारहरू उठाएको थियो । त्यस बेला थापा क्षेत्र नम्बर-५ बाट उम्मेदवार बनेका थिए। तर उनले विजय प्राप्त गर्न सकेनन् l जति मत प्राप्त गरे त्यो विद्रोहको बीज भन्थे l
दोस्रो संविधानसभाको निर्वाचनपछि भने २०७१ सालमा थापाकै नेतृत्वमा विवेकशील नेपाली दल गठन भयो । उक्त दलले २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिँदा विशेष गरी काठमाडौँ महानगरपालिकामा युवा रञ्जु दर्शनालाई मेयरको प्रतिस्पर्धी बनाएपछि उनले प्राप्त गरेको २३००० प्लस मतले निकै चर्चा पायो । राजनीतिमा विकल्पको खोजीलाई सम्भावनाको ढोका खोलिदियो l
गुणस्तरीय स्वास्थ्य, शिक्षा पूर्णतया निःशुल्क र राज्यको दायित्वभित्र हुनुपर्छ भन्दै निरन्तर अभियान चलाउने र डाक्टर गोविन्द केसीको हर अभियानमा सक्रिय उज्वल थापा आफै महँगो उपचार पद्धतिसँगै रोग विरुद्ध लड्दा लड्दै बिदा भए यो राष्ट्रको सपुतको असमयको प्रस्थानले आम सकारात्मक सोच र शैली भएका मान्छेहरूलाई स्तब्ध बनाएको थियो । मृत्यु अनिवार्य र अन्तिम सर्त हो जन्मकै दिन करारनामा गरिएको तर एक होनहार सपुतको असान्दर्भिक मृत्यु वियोग मुटु चुँडाउने कष्ट हुँदोरहेछ l
उज्वल थापा एउटा नवीन राजनैतिक विचार,दृष्टान्त र सकारात्मक आन्दोलन हुन । वैकल्पिक राजनीतिको पर्याय खडा गर्ने युगको हाँक् भोलिको पुस्ताको प्रतिनिधित्व गर्ने नेपाली राजनीतिले तय गर्ने मार्ग हुन् । उज्वलले सल्काएको दियो निभ्दैन, उज्वलको भौतिक शरीर निभे पनि । सकारात्मक सुसङ्गत राजनीति जसले र जुन पार्टीले गरे पनि हुन्छ यसमा किञ्चित पनि दुबिधा छैन र हुनु पनि हुँदैन । सारा मान्छेको अनेकौँ प्रार्थना बिन्ती र अनुरोधलाई लत्त्याउँदै दैवले धर्तीको राम्रो मान्छे आफ्नो लागि लिएर गयो ।
राष्ट्रप्रमुख प्रधानमन्त्रीलगायत समस्त राजनीतिक दलले उज्वलप्रति दर्शाएको प्रेम,श्रद्धा सहानुभूति र सद्भावले उनको छोटो समयको तर लामो र अग्लो राजनीतिक उचाइको प्रतिनिधित्व गर्छ ।
उज्वलजी तपाईंसँग शिक्षण अस्पतालमा गोविन्द केसी अनशनरत रहँदा पटक पटक विभिन्न भलाकुसारी, उद्यमशीलता कृषि, राजनीति अनि नेपालको स्वास्थ्य र शिक्षाबारे भएका सकारात्मक छलफल, सरकारको रवैयाको विरोधमा सडकमा सँगसँगै पलेटी कस्दाका क्षण स्मृतिमा सदैव राख्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु l एउटा निष्ठाको राजनीति गर्ने साधकप्रति हार्दिक स्मरण l
(स्मरणीय : पूर्व प्रकाशित विचारहरू आज पुन प्रकाशित गरिएको छ l तस्बिर सार्वजनिक संजालबाट साभार - सम्पादक )
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”
देशको खस्कदो आर्थिक अवस्था र द्वन्द्व उन्मुख अन्तराष्ट्रिय परिस्थिति हेर्दा मुलुकले आगामी वर्ष तीव्र...