कमरेड पशुपति चौलागाईको चौथो स्मृति दिवसमा केही स्मरण - सञ्जीव कार्की

आधारभूत जनताको तहबाट उठेका कमरेड पशुपति चौलागाईं साँचो अर्थमा जनताका नेता थिए । पशुपति चौलागाईंको विशेषता कम्युनिस्टसँग हुने विशेषता थियो जनपक्षीय कम्युनिस्ट थिए । कम्युनिस्ट चरित्र र आचरण धेरै कम्युनिस्ट नामधारी नेताकार्यकर्तासँग छैन तर दोलखाका यी नेतासँग त्यो बाँकी थियो l उनी विपक्षी नेताकार्यकर्तालाई पनि उत्तिकै सम्मान आदर र स्नेह गर्थे । जसको कारण उनको दुखान्त वियोगमा प्रायः दोलखाली शोकमग्न भए भने देश एक होनहार कम्युनिस्ट नेताको मृत्युु वियोगमा दुखेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी एमाले जनताको माझमा भिजेको र देशले नै गर्व गर्न लायक एक नेता गुमाएकोमा भावविविहल बनेको थियो l उनै पशुपति चौलागाईको स्मृति दिवस आज शब्द श्रद्धाञ्जली स्वरूप केही स्मरणहरू उल्लेख गर्दैछु l
अर्ग्यानिक कम्युनिस्ट नेता पूर्व सांसद इन्द्रबहादुर खडका कम्युनिस्टहरूले आधारभूत चरित्र गुमाउँदै गएको स्थितिमा कम्युनिस्ट चरित्र र आचरणमा प्रतिबद्ध नेता सरल स्पष्टवक्ता र प्रखर भासण कलाका धनी, इमानी व्यक्तिको रूपमा सम्झन्छन् पशुपतिलाई । कम्युनिस्ट सिद्धान्तका जब्बर अनुयायी त होइनन् तर कम्युनिस्ट चरित्र जिवितै राख्नुपर्छ भन्ने नेता हुन । आदर्श र स्वार्थको खिचातानीमा स्वार्थको जित हुँदा पशुपति चौलागाईं जस्ता नेताको भागमा मन्त्री पद नपरेको अनुभव छ धेरैको । यद्यपि पशुपति असन्तोष र आग्रह राख्ने खालका मान्छे थिएनन् ।
नेपाली काङ्ग्रेस दोलखाकाका पूर्व सभापति उद्धवराज काफ्ले स्वर्गीय चौलागाईंलाई भीमबहादुर तामाङ पछिको दोलखा जिल्लाको सर्वस्विकार्य नेताको रूपमा सम्झन्छन् । पशुपतिको सरलता भद्रता र उदार प्रजातान्त्रिक छवि सधैँ स्मरण योग्य रहेको काफ्लेको बुझाइ छ । राजनीतिमा नैतिकता उच्च रहनुपर्छ र विपक्षीप्रति पनि उत्तिकै आदार भाव प्रकट गर्नुपर्छ भन्ने चौलागाईंले संसदीय प्रतिस्पर्धामा आफूसँग पराजित स्वर्गीय भीमबहादुर बारे गरेको टिप्पणी धेरैले रूचि र उत्साह पूर्वक प्रयोग गरेको पाइन्छ ।
पशुपति चौलागाई भन्थे : भीमबहादुर दाइ जस्तो मान्छेसँग प्रतिस्पर्धा गर्ने मेरो व्यक्तित्व बनिसकेको छैन तर पार्टी संगठनको कारण मैले विजय प्राप्त गरे । उहाँसँग प्रतिस्पर्धा गर्न पाउँदा मलाई गर्व छ ।
शायद यसरी आफ्नो प्रमुख प्रतिद्वन्द्वी पार्टीको नेतालाई खुलेर प्रशंसा गर्ने नेता र पात्र दुर्लभ हुन्छन् तसर्थ पनि राजनीतिमा छुट्टै पहिचान बोक्ने र बनाउने नेताको रूपमा पशुपति चौलागाईंलाई सम्झिने छ आगामी पुस्ताले पनि सम्झने छ l
निष्ठापूर्वक राजनीतिलाई प्रयोग गरेर समाजको सेवा मान्ने पशुपति दोलखाली जनताका प्रिय नेता थिए । अति सामान्य परिवारमा जन्मेका र गरिबीको जाँतोले पिसिएको कारण कुनै समय स्कुलको फिस तिर्न नसकेर स्कुल छोडेको र ईन्डिया जान १५० जोहो गर्न्न नसकेको कारण लाहुरे हुने, सिक्किम गएर पैसा कमाउने सपना तुहिएको संस्मरण पनि उनका प्रियजन र नजिकका मान्छेहरू सुनाउथे । जनताप्रति बफादार र कर्तव्यपरायण शालीन नेताको रूपमा नेकपा एमाले दोलखाका तत्कालीन अध्यक्ष ईश्वरचन्द्र पोख्रेलको मूल्याङ्कन छ । गरिबी अभाव र कठिनतासँग जुधेर अनेकौं सङ्घर्षबाट खारिएका नेता पशुपति चौलागाईं अन्ततः कोरोनासँगको सङ्घर्षमा २०७८ वैशाख २८ गते पराजित बने र ६२ वर्षको उमेरमा नै अनन्त यात्रामा निस्किए ।
एमालेको शसक्त युवा फाँट, प्ररायु सङ्घको केन्द्रीय अध्यक्ष भएर नेतृत्व गरेका चौलागाईंले आफ्नो व्यक्तित्व र नेतृत्व क्षमता देशमा फैलाएको र चिनाउने अवसर पाएको कारण नै नेकपा एमालेको पोलिटब्युरो सदस्य हुने अवसर पाएका थिए । एकपटक प्रत्यक्ष चुनाव लडेर संसदमा दोलखाबाट प्रतिनिधित्व गरेका चौलागाईं समानुपातिक संसद बनेर पनि आफ्नो भूमिकाले गणना योग्य संसदको रूपमा देशमा स्थापित थिए । पछिल्लोपटक २०७४को चुनावमा प्रदेश सभा (ख) दोलखाबाट निर्वाचित संसद बागमती प्रदेशको मुख्य मन्त्रीको दावेदार थिए । तर निष्ठा र मुल्यमा सम्झौता गर्न नचाहने चौलागाईंलाई पार्टीको आन्तरिक किचलो र अस्वस्थ प्रतिस्पर्धाका कारण सो पद हात लागेन ।
दुई दुई पटक संसद र पून प्रदेश सभाको सदस्य बनेर पदको लोभ गरेको र नयाँ पुस्तालाई स्थान दिन कन्जुस्याइँ गरेको भनेर मैले यिनको बारेमा खरो आलोचना र तीखो टिप्पणी सार्वजनिक सन्चार माध्यमबाट गरेको थिए । मेरो टिप्पणी उनले हेरेको र केही चै आफूलाई सोच्न बाध्य भएको कुरा एक जम्का भेटमा भनेका थिए । हाम्रा बारे टिप्पणी गरिरहनु है अन्यथा छैन तर टिप्पणी र आलोचना सकारात्मकताको लागि हुनुपर्छ । आलोचना सहने र आलोचकलाई सुन्ने बानी भएको नेताको रूपमा उनलाई स्मरण गर्नुपर्ने यो पङ्क्तिकरको पनि बुझाइ छ l
काङ्ग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङसँग स्वर्गीय पशुपति चौलागाईं
प्रशंसा आफ्नो खेमा र समर्थनमा लेख्ने बोल्ने र प्यादा बन्नेलाई मात्रै प्रश्रय दिने नेताकार्यकर्ताको भिडमा पशुपतिको स्वभाव अलि पृथक थियो । उनी विरोधि स्वर र आलोचनाको स्थानलाई मान्यता दिनुपर्छ र सुन्नुपर्छ भन्ने उदार प्रजातान्त्रिक सोचका धनी व्यक्ति थिए । २०५६को संसदीय चुनावको बेला पशुपति चौलागाईंले यो पंक्तिकारलाई पनि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । मैले आफूले सहयोग गर्न नसक्ने तर व्यक्तिको रूपमा तपाईंप्रति सम्मान गर्छु भनेको थिएँ । उनको जबाफ थियो : 'मलाई भोट नदिनुस, दिन्न भन्नू भयो म अन्यथा लिन्न तर मेरा प्रतिस्पर्धामा रहेका भीम बहादुरदाइको गृह गाउँमा उहाँको प्रजातान्त्रिक छवि धमिलो हुनेगरी बूथ क्यापचर चै नगर्नु है भाइ ।' स्वतन्त्र चुनाव हुन दिनुहोस् भन्नू भएको थियो l
स्वतन्त्र निस्पक्ष र भय रहित चुनाव र प्रजातन्त्रको वकालत गर्ने दुई निष्ठाका योद्धाहरू चुनाव लडने ठाँउमा नै पार्टीहरूले आ-आफ्नो ल्याकत पुग्ने ठाँउमा बूथ कब्जा गरेर मत खसाले । हामीले पनि आफ्नो ठाँउमा निरंकुशता प्रदर्शन गर्यौ भने उहाँहरूले पनि त्यसै गर्नु भयो तर चुनाव पशुपति चौलागाईंले जित्नु भयो । बुथ क्यापचार जस्तो अनैतिक र आलोकतान्त्रिक हर्कत गरेर निष्ठामा चुक्ने रहर न कांग्रेस नेता भीमबहादुरलाई थियो न पशुपति चौलागाईलाई ? त्यो दोष हामीले अवलम्बन गरेको निर्वाचन प्रणाली र गलत संस्कार र भिड तन्त्रको थियो l जसको छिटा यी दुई स्वर्गीय नेताहरूमा पनि परेको छ l
चुनाव जितेपछि मेरो एक भेट्मा एकअर्काले वचन उलङ्घन गरेको कुरा गर्यौ । उनी यस्तो परिपाटी जसले गरे पनि ठिक होइन हामी प्रजातान्त्रिक अभ्यासको निष्ठामा चुकेका छौं भनेर स्वीकार गर्थे l त्यस उपरान्त त्यस्तो विकृत राजनीतिबाट म स्वयं पनि बाहिरिए र आज पर्यन्त दलविहीन राजनीतिमा छु l नीति विधि र नैतिकताका कुरा गर्छु l खबरदारी निगरानी गर्छु l दोष र गुणको आधारमा कुनै विषयलाई, पार्टीलाई आफ्नो दृष्टिबोध गर्छु l पशुपति दाइले २०५६ मा दोलखा क्षेत्र नं १ को सांसद, २०७० मा समानुपातिक सांसद र २०७४मा प्रदेश सभा संसद सदस्य भएर दोलखा विकासमा गरेका थुप्रै कार्यहरू र शिक्षा अनि सहकारी प्रवर्द्धन र विकासमा गरेका उल्लेखनीय कार्यहरूको कारण दोलखाली जनताले सदैव स्मरण गरिरहन्छन् । पञ्चायाती व्यवस्थामा कम्युनिस्ट हुनु आफैमा गार्हो काम हो, झन असल कम्युनिस्ट हुनु र आचरण शैली व्यवहारमा कम्युनिस्ट दर्ज हुनु झन कठिन काम हो यही कठिन र विशेष चरित्र निर्वाह गरेका कारण पशुपति चौलागाईं पार्टी इतरमा पनि लोकप्रिय र सम्मानित नेताको छवि छोडेर गए l
२०३५/०३६ मा राजनीतिक रूपमा सक्रिय चौलागाईं शिक्षक भएर पनि सेवा गरेका व्यक्ति हुन । तर २०४६ पछि शिक्षण सेवा छोडेर होलटाइमर राजनीतिलाई आफ्नो क्षेत्र बनाएर अहोरात्र जनता र पार्टीको लागि काम गर्दै रहे । २०१६ सालमा दोलखाको काब्रेमा जन्मेका पशुपति चौलागाईं २०७८ बैशाख २८ गते कोरोना संक्रमणमा परेर बिते । कोरोनाको कारण आफ्ना प्रिय नेतालाई अन्तिम बिदाइ गर्न नपाउनुको दुख आम दोलखालीलाई सधैँ खडकीरहेको विषय बनेको छ l
पशुपति चौलागाईको दु:खद देहान्त पछि उनका भाइ हेमन्त चौलागाईले लेखेका थिए : 'कमरेड पशुपति चौलागाईको मृत्युको वास्तविक कारण खोजिने छ l' स्मरणीय छ पशुपति दाइ कोभिड संक्रमणमा परेर आफू समेत साधरण शेयर होल्डर रहेको मनमोहन अस्पतालमा उपचार गराए पनि उनको मृत्युुमा अस्पतालको कम प्राथमिकता लापरबाही रहेको हुन सक्ने उनका भाइ हेमन्त चौलागाईंको आशंका रहेको थियो l तर उनको मृत्यु पछि त्यसबारे कुनै अनुसन्धान भएको, खोज खबर भएको कतै जानकारी मिलेको छैन l कतै पशुपति दाइ अन्यायपूर्वक मारिनु भएको त थिएन ? हेमन्तको तत्कालीन आशंका प्रश्न बनेर आइरहेका छन् l यस तर्फ सम्बन्धित निकाय र व्यक्तिले ध्यान दिनु जरुरी छ l कुनै विषयको उठान पछि त्यसको बैठान पनि सार्वजनिक तवरले हुनु लोकतान्त्रिक मान्यता हो l विश्वसनीयताको कसी हो l
२०८० मा दोलखा एमालेको अध्यक्षको लागि प्रतिस्पर्धा गरेका, शैलुङ गाउँ पालिकाका पूर्वप्रमुख एमाले नेता भरत दुलाल पशुपति चौलागाईलाई यसरी स्मरण गर्छन् : पशुपति चाैलागाई विचार, व्यवहार, प्रेरणा र ऊर्जाकाे स्रोत हुनुहुन्थ्यो । नजिक र टाढा भित्र पनि सन्तुलन मिलाउन सक्ने दाेलखा जिल्लाबाट राष्ट्रिय राजनीतिमा प्रक्षेपण गर्न याेग्य सबैका नेता हुनुहुन्थ्यो पशुपति चाैलागाई दाइ !!'
दोलखा एमाले नेता सभापति वसन्तराज कार्की 'पशुपतिसँग आफ्नो राजनीतिक सम्बन्ध मात्र नभएर पारिवारिक र मित्रवत सम्बन्ध भएको स्मरण गर्छन् l
२०७८ वैशाख दोलखाली जनताको लागि र समग्र प्रजातान्त्रिक मूल्य र निष्ठाको राजनीति गर्नेहरूको दुखको र शोकको महिना बनेको थियो । काङ्ग्रेस नेता देवीप्रसाद न्यौपाने र नेकपा एमाले नेता जो दुवै मूल्य र आदर्शको राजनीतिमा चर्चित थिए यी दुवैलाई २०७८ वैशाख महिना भित्र गुमाउनु परेको थियो ।
आज २०८२ वैशाख २८ गते पशुपति चौलागाईंको निधनको चौथो स्मृति दिवस हार्दिक र भावपूर्ण श्रद्धाञ्जली पशुपति दाइ ! परिवारजन र शोकाकुल पार्टी पङ्क्तिमा गहिरो समवेदना !
स्मरणीय : पशुपति चौलागाईको मृत्यपश्चात सञ्जीव कार्कीद्वारा कोरिएका शब्द पुन श्रद्धाञ्जली स्वरूप यहाँ साभार गरिएको छ l फाइल फोटो प्रयोग l akabarey.com सम्पादक l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”