दलित आवाजको ऐतिहासिक दस्तावेज : गोलमेच सम्मेलनप्रति अपेक्षा

दलित समुदायले पहिलोपटक आयोजना गर्न लागेको वैशाख २९–३१ को गोलमेच सम्मेलन केवल एक कार्यक्रम मात्र होइन, इतिहासको मोड हो l अस्तित्व, मर्यादा, स्वतन्त्रता र स्वाभिमानका लागि उच्च स्वरमा गुञ्जिने आवाज हो । यो सम्मेलन सशक्त दलित एकताको यात्रा र बहुआयामिक दलित मुक्ति आन्दोलनको निर्णायक कदम बन्न सक्ने सम्भावनासहित आएको छ । दलित गोलमेच सम्मेलनलाई ‘दृष्टिकोण निर्माण, साझा कार्ययोजना र दीर्घकालीन रणनीति तय गर्ने खुला मञ्चमा रूपान्तरण गर्नु’ आजको प्रमुख आवश्यकता हो ।दलित गोलमेच सम्मेलनको आयोजना हुने कुराले सम्पूर्ण न्याय समता भातृत्व र मानवताप्रेमीलाई खुसी लागेको छ l दलित गोलमेच सम्मेलनको तयारी र यस बारेका समाचारहरूले राजनीतिमा एउटा तरङ्ग पैदा गरेको छ l जुन तरङ्ग वर्तमान युगको समय बदल्ने युगचेतनाको प्रवल हकदार बन्ने प्राय:निश्चित छ l अब पनि जातीय छुवाछुत र भेदभावजस्तो मानवीय कलङ्क निधारमा पोतेर बस्न कोही तयार छैनन् l यद्दपि यसका लागि सामान्य तयारी र साधारण मनोविज्ञानले काम गर्न सक्दैन l
दलित कि शिल्पी ?
‘दलित’ शब्द आन्दोलनको साझा नाम र परिचय बनेपनि दलितलाई शिल्पीसमुदाय भनेर सम्बोधन गरिनु उचित हुने तर्क पनि आएका छन् l दलित (शिल्पी) नाममा विवाद भए पनि दलितको पीडा र मुक्तिको विषय सबैको साझा विषय हो l मानव मर्यादाको विषय कुनै एक अमुक समुहको विषय मात्र बन्न सक्दैन l दलित शब्दको प्रथम प्रयोक्ता भारतीय गैरदलित सामाजिक अभियन्ता ( १८२७- १८९० ) ज्योति राव फुलेले अछुतहरूको सामूहिक परिचयको रूपमा प्रयोग गरेको पाइन्छ भने दलित शब्दलाई दलित आन्दोलनको प्रमुख हिस्सा र परिचयको रूपमा डा. भीमराव अम्बेडकरले प्रयोग गरेर स्थापित गराएका हुन् l नेपालमा पनि २०२४ सालदेखि दलित शब्दको प्रयोग भएर दलित आन्दोलनको साझा नाम रहेको स्वीकारोक्ति आम दलित समुदायको रहेको छ l
‘जात वार्ता’ (२०७७) मा आहुति, ‘आन्तरिक विभेदको वृतान्तमा मेघराज रसाइली र भारतीय लेखकहरू ‘दलित साहित्यको समाजशास्त्र’ (२०७६) मा हरिनारायण ठाकुर, ‘दलित साहित्यको सौन्दर्यशास्त्र’ (सन्,२००५) मा डा. शरणकुमार लिम्बाले, दलित साहित्य एक मूल्याङ्कन (सन् २००८) मा प्रो. चमनलाललगायत लेखकहरू र नेपालमा पनि दलित विषयमा कलम चलाउनेहरूले ज्योति राव फुलेलाई दलित शब्द प्रयोग गर्ने प्रथम व्यक्तिको रूपमा स्वीकार गरेर दलित आन्दोलनमार्फत नेपालको संविधान २०७२ मा पनि दलित शब्दको प्रयोग धारा २४,४०,४२ र धारा २५६ मा प्रयोग गरी दलित हक अधिकार र न्यायको संवैधानिक व्यवस्था गरिएको छ l यसर्थ आजको लेखमा दलित शब्द नै प्रयोग गरिएको छ l
दलित आन्दोलनको नक्सा - मुक्ति के हो ?
दलित मुक्तिको परिभाषा केवल जातीय आधारमा नभएर बहुआयामिक हुनुपर्छ :
दलित अन्दोनको वैचारिक चिन्तन र नवीन भाष्य निर्माण गर्ने
आर्थिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा सक्षम बनाउने
गैरदलित सुधारवादीहरूसँग आत्मीय सहकार्य
आत्मसम्मान र आत्मचेतनाको विकास
अन्तर–दलित एकता, संवाद र साझा अभियान
६० लाख दलितको एकीकृत तागत र अवाज
मान्छे बन भन्ने भाष्य
दलितहरूलाई 'मान्छे बनाउने र मान्छेको दर्जा दिने भन्नु आफैंमा मान्छे नठानिएको प्रमाण हो ।जबसम्म यस्तो सोच समाजमा जीवित रहन्छ, तबसम्म दलित मुक्ति केवल नारा र कागजमा सीमित हुनेछ । दलितलाई मान्छे बन्न देऊ, मान्छेको हैसियत देऊ भन्ने गलत भाष्य बनेको छ वास्तवमा मान्छे बन्नु पर्ने दलितलाई दलन गर्नेले, दलितलाई अन्याय र अत्याचारको जाँतोमा पिस्ने र ढिकीमा कुट्नेले हो l दलित मान्छे हुने र बन्ने प्रकृतिप्रदत्त जैविक सबै प्रक्रिया अरूले जस्तै पूरा गरेर आएका सोही प्रक्रियाका उपज हुन् त्यसैले दलितलाई मान्छे बनाऊ भनिराख्नु आवश्यक छैन l आफू जस्तै मान्छेलाई वन्चित गर्ने निषेध गर्ने व्यक्ति समूह र समुदाय चैं मान्छले गर्ने जस्तो व्यवहार गर्न अग्रसर हुनुपर्छ तसर्थ दलितलाई मान्छे बनाऊ भन्ने भाष्य खारेजयोग्य छ l त्यसैले मान्छे बनाऊ हैन, गैरदलित मान्छे बन भन्ने भाष्य दलितले बोल्नु लेख्नु र उदघोष गर्नु उपयुक्त देखिन्छ l
आफूलाई मान्छे बनाउन दलितले निवेदन दिने र अर्को कुनै अमूक समूहले सदर गर्ने विषयको रूपमा यसलाई बुझ्नु हुँदैन अत: दलितलाई मान्छे बनाऊ भन्ने भाष्य खारेज गर्दै तिमी मान्छे बन भन्ने शव्दावली प्रतिस्थापन गर्नु दलित आन्दोलनको लागि सान्दर्भिक छ l जुन वैचारिकीले विपक्षीलाई हीनताबोध होस् र आफूलाई आत्मगौरवको अनुभूति होस् त्यस्तो भाष्यलाई दलित समुदायले प्रयोग गरेर आफ्नो समूहको आत्मवल उच्च बनाएर राख्नु पर्दछ l छुवाछुत र जातीय भेदभाव गर्नेलाई मान्छे बन, उन्नत सोच राख, मानवताको ख्याल गर भन्नु एक प्रकारको वैचारिक प्रत्याक्रमण पनि हो l मनोवैज्ञानिक थ्रेट हो l
आरक्षण: शोध भर्ना होइन, अधिकारको सुरक्षाकवच
आरक्षण अवसर बराबरीको आधार हो l कुनै दया होइन । यो प्रणालीले सदियौँदेखिको अवसरको अभावलाई केही हदसम्म सन्तुलनमा ल्याउने प्रयास मात्र हो । दलितले आजको गणतान्त्रिक व्यवस्थामा खोजेको हक भनेको विगतदेखि आज पर्यन्तखेपेको सास्ती भोगेको अपमान,लामो समयसम्म इतिहासमा गरिएको उत्पीडन र विभिन्न राजनीतिक परिवर्तनमा गरिएको बलिदानको आफ्नो भागको अंश दाबी हो l राजनीतिक सामाजिक सांस्कृतिक धार्मिक र मानवीय रूपमा गडबड गरिएको हिसाब, सच्याएर सामाजिक अडिट अनुसार राज्य र सरकारको व्यवहारको अपेक्षा खोजेको हो l थाती राखिएको सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक मनोवैज्ञानिक हिसाबको बेरुजु मिलान गर्न आग्रह गरेको हो l यसरी समाजिक हिसाब अन्योलग्रस्त गराएर समाज अगाडि बढ्न सक्दैन र समाज सभ्य बन्न सक्तैन भनेर हिसाब फरफराग गरेर अगाडि जाउँ भनेको हो l अन्याय सहनु पनि न्यायशास्त्रको मर्म र सिद्धान्त विपरित हो भनेर न्यायको खोज र उत्खनन गर्न चाहेको हो l
आधुनिक र सभ्य समाजले गरेको घोटाला चुक्ता गरेर दलितको आत्मसम्मान र स्वाभिमानमा पुर्याएको ठेसको बदला निश्चित समयसम्म आरक्षण र अवसर प्रदान गरिरहनु पर्छ l अन्यथा सबैको लागि समान अवसर र मौका भनेर समानता र स्वतन्तत्रताको प्रयोग न्यायपूर्ण र विवेकसम्मत बन्न सक्दैन l दलितलाई समानता र स्वतन्त्रता संवैधानिक ग्यारेन्टी हो भनेर दलितलाई र गैरदलितलाई एकै किसिमको व्यवहार न्यायोचित हुँदैन l प्रत्येकलाई उसको क्षमता र आवश्यकता अनुसारको व्यवहार र अवसर मात्र समतामूलक समाजको परिचायक हो l समानताको अभ्यास र समताको अभ्यास सँगसँगै लैजानु पर्दछ जसले गर्दा स्रोत, साधन, पहुँच र सिपको समान वितरण हुन सक्दछ l
प्रतिनिधित्वको सवालमा पनि समताको अवधारणा अत्यावश्यक छ l दलितलाई क्षतिपूर्ति राहत र शोधभर्ना दिन कन्जुस्याई गरियो भने बदला र प्रतिशोधको भावना बाँकी रहन्छ l दलित र गैरदलितका बिच द्वन्द्व बढ्ने, विभाजनको खाडल फराकिलो बन्ने, समाज विखण्डित रहने र उचनिचको दृष्टि कायम रहने सम्भावना ज्यादा रहन्छ l आधुनिक ज्ञान निर्मितिमा गरिएको वन्चितिकरणको एकमुष्ट हिसाब र उपचारात्मक विधि हक र शोध भर्ना हो आरक्षण l दलितको सार्वांङ्गीण विकासमा पुगेको क्षति र बाधाको हिसाब फर्छ्योटको रूपमा आरक्षणलाई लिन सकिन्छ l यसर्थ दलितले पाएको आरक्षण विवाद र विरोधको विषय बन्नु अशोभनीय तर्क र विचार हो l
दलित पहिचानको प्रश्न
दलित बनाइनु गर्वको विषय र पहिचानको विषय होइन तर दलित समुदाय अन्तर्गत रहेका विविध समुदायको पैतृक पेशागत सिप, साधना, कला, श्रम र इतिहास, योगदान विशिष्ट परिचय र देश निर्माण गर्ने श्रमजीवी समुदायको पहिचान हो l दलित समुदायसँग सभ्यता, आविष्कार,निर्माण, कला, साधना, पसिना र अनवरत श्रमको अनवरत इतिहास छ, जुन सदा स्मरणीय र गर्विलो छ l दलित पहिचान भएको समुदाय हो l दलित समुदायसँग शिल्पी हुनुको गर्व बोध छ l गौरवपूर्ण योगदानको यात्रा छ l त्यसैले दलित पहिचान हीनताको विषय होइन l हामी अन्यायमा परेका समुदाय हौँ दलन र अपमान भोगेका मान्छे हौँ भन्नु अपमानको विषय मान्नु हुँदैन l ‘आरनबाट उठेको वीरताले जोगाएको देशमा आरन चलाउने कसरी अछुत हुन् सक्छ आजको बीउ प्रश्न यही हो l’ (नवराज लम्साल,२०७८, अग्नि) दलित अछुत होइन दलित समुदायसँग आफ्नो पहिचानको फराकिलो दयारा छ l
दलित निर्मित देश
राज्यको मूल प्रवाहीकरणमा पुग्न वन्चित, बहिस्कृत, उपेक्षित, अपहेलित भएर बाँच्न विवश रहँदा पनि, आफ्नो चौतर्फी प्रगति उन्नति, औपचारिक शिक्षा प्राप्त गर्नबाट रोकिए पनि देशको माया गरेर बसेको राष्ट्र भक्तिको नमुना इतिहास छ l देशको विकासको लागि भुइँ तहमा बसेर सबैभन्दा बढी रगत, पसिना, आँशु र मेहनतको खोलो बगाएको समुदाय हो दलित समुदाय l यो देशको निर्माणमा दलितजाति योगदान अरूको छैन त्यसैले दलितले निर्धक्क भन्नु पर्छ यो देशको असली निर्माता हामी हौँ l हामीले बनाएका घरहरू र मन्दिरहरूमा हामीलाई छुन र पस्न नदिने यो कस्तो विडम्बना ? दलित निर्मित देशको भाष्य बनाएर आफ्नो दाबा राज्यसँग प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ l
एकीकृत दलित आन्दोलनको खाँचो
दलित आन्दोलनको खण्डीकरण,दलीयकरण र बहिष्करणले गर्दा एकीकृत तागत बन्न सकिरहेको छैन l सबै तह तप्काका बिच एकता गरेर साझा मोर्चा बनाएर न्युनतम सहमतिको अवधारणा सहित सहकार्य गर्ने र दलितको विषय र मुद्दालाई जो जहाँ पार्टीमा रहे पनि नरहे पनि समर्थन गर्ने दलित माथिको ज्यादतीमा बोल्न आफ्ना राजनीतिक पार्टीको इशारा र भाका पर्खनु नपर्ने, संसदमा (प्रतिनिधि सभा र राष्ट्रिय सभामा) दलित मुद्दामा कम्तिमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरू विषयगत एकता प्रदर्शन गर्दै जाने समय जुन दिन र जहिले सिर्जना हुन्छ मान्नुस् दलित आन्दोलन आधा सफल भयो l आजसम्म जुन तागत र ऊर्जाले दलित आन्दोलन अगाडि बढ्नु पर्ने र संविधानको शतप्रतिशत पालनाको लागि लगाउनु पर्ने र प्राप्त सफलतालाई ग्रहण गर्दै अतिरिक्त प्राप्तिको लागि अगाडि जानु पर्ने हो त्यो हुन सकिरहेका छैन l त्यस भित्र रहेका अनेक कारण रुढता, सङ्कुचन अस्तित्वको अस्वीकार, सौन्दर्य चिन्तनको अभाव, दलित मुक्तिको वैचारिकी, दलित मुक्तिको बहुआयामिकता आदि र दलितले गैर दलितलाई हेर्ने दृष्टिकोण, उपयोग गर्ने नीतिमा अस्पस्टता आदि जस्ता कुराले दलित आन्दोलन मजबुत बन्न नसकिरहेको तथ्य घाम जत्तिकै छर्लंङ्ग छ l सत्ताको कराहीमा कर्कलो, जलुको, साग र सिस्नो गले झैं गल्ने नेतृत्व र सत्ताको जुठो पुरोमा लोभिने आम राजनीतिक प्रवृत्तिगत विशेषता दलित आन्दोलनका लागि घातक बनिरहेको तथ्य भुल्नु भएन l दलित जनसंख्या राज्यसत्ता उलट पुलट पार्ने तागतको छ तर सो तागत प्रयोग गर्न दलित आन्दोलन चुकिरहेको पाइन्छ l
आन्तरिक एकता, सङ्घर्ष र मूख्य शत्रु चयन
फुटाउ र राज गर भन्ने सत्तासीनहरूको रणनीतिक चातुर्य बुझ्न नसक्नु दलित मुक्तिको एउटा बाधक तत्व हो l ब्राम्हणवादले हुलिदिएको उचनीचको जरोले दलित समुदाय आफैमा पनि आक्रान्त छ र विभाजित छ l भाइ फुटे गवार लुटेको स्थितिलाई दलित समुदायमा चरितार्थ गरेर सङ्घीय मन्त्री मण्डलामा दलित निषेधको स्थिति, मन्त्री नै दिए पनि राज्यमन्त्रीको भाग र अन्य प्रदेशमा पनि दलितको प्रतिनिधित्व सन्तुलित नहुने कारण दलित समुदायको बार्गेनिङ्ग क्षमता कमजोर भएर हो l
दलित समुदाय भित्र पनि ब्राम्हणवादको पकड दरो रहेको छ जसले गर्दा छुवाछुत बारना, बन्देज र निषेध चरमरूपमा रहेको पाइन्छ l पढेलेखेका दलितसमेत आफ्नो समुदाय एकले अर्कोलाई स्वीकार गर्न सकिरहेका छैनन् l सानो उपलब्धिमा पनि जस लिने होड देखिन्छ भने कसैले उपलब्धिलाई पनि नजरआन्दाज गरेका छन् l ‘स्वीकार्य नेतृत्व” र दलित सौन्दर्य चिन्तन, एजेण्डामा अधिकतम सहमतिको अभाव छ l दलित आन्दोलनका निशाना तय गर्न दलितहरू स्वयं अलमलमा छन् l कसैले मार्क्सवाद दलित मुक्तिको आधार भन्छन्, कसैले धर्मसंस्कृति सुधार भन्छन् कसैको तर्क र वर्ग उन्मुलन, कोही थर उन्मुलन आदिको विविध विश्वासमा दलित मुक्तिको निशाना एकिन गरिएको छैन l आन्तरिक एकतामा ध्यान दिन सके दलित आन्दोलनलाई उचाई लिन गाह्रो छैन l किनभने त्यसैले आन्तरिक एकता निर्माण गर्न दलित समुदाय लाग्नु पर्छ l दलितको सबैभन्दा ठुलो मुक्तिको विषय आत्मसम्मान र मर्यादाको हो l राज्यले आत्मसम्मान र मर्यादा त्यतिन्जेलसम्म दिन कन्जुस्याँइ गर्छ जतिन्जेल दलितले आफ्नो तागत निर्माण गरेर सत्तासँग प्रश्न गर्ने ह्याउ राख्दैन ? अब प्रश्न यो होइन कि हामी कता जाँदैछौं ? प्रश्न यो हो कि हामीसँगै जान्छौं कि जाँदैनौं।
सत्ताको जुठोमा लोभिने मनशाय त्याग्दैन l आफ्नो आन्तरिक एकता मजबुत बनाउदैंन l दलित समुदयको मूल दुश्मन के हो र को हो ? त्यसको निर्क्योल आवश्यक देखिन्छ l दुश्मन किटान नगरी निशाना लगाउन सकिन्न अलमल हुन्छ l सङ्घर्ष बिना केही प्राप्त गर्न सकिन्न सङ्घर्ष कस्तो र कसरी गर्ने त्यसको मोडालिटी बारे पनि विहंगम बहस र छलफल सहित ज्ञान निर्माण नगरी अब अगाडि बढन सकिँदैन भन्ने बोध गर्न बिलम्ब गर्नु हुन्न l
साझा मोर्चा र कार्यगत एकता
दलित समुदायहरू सबै एकै छातामुनी दलित मुक्तिको सवालमा एक भएर जानु आवश्यक छ l त्यसको लागि नन्यूनतम साझा कार्यक्रम र एजेण्डा तय गरेर जाने l वैचारिक रूपमा पनि एउटा मार्गदर्शन निर्माण गर्ने, दलित मुक्तिका बहुआयाम र क्षेत्रको पहिचान गरी जहाँ र जसरी हुन्छ त्यता निशाना लगाउने, दलित मुक्तिको लागि सहयोगी बन्ने कार्यहरू गर्ने, धर्म संस्कृति सुधार, दलितको आर्थिक उन्नतिको विषयमा काम गर्ने, विरासतमा गरिएका कामहरूलाई व्यवसायिक बनाएर आयआर्जन र आत्मनिर्भरको बाटो लिने, आदि जस्ता विषयमा राजनीतिकदेखि सामाजिक व्यवस्थासम्म दलित समुदाय परस्परमा एकता गर्न सकिन्छ l
जनसङ्ख्याको अनुपातमा सबै जात जातिले आफ्नो हिस्सा राज्यमा दावी गरेर राज्यका निकायहरूमा सर्वत्र पहुँच र प्रतिनिधित्व स्थापना गर्न अग्रसर हुनुपर्छ त्यसो हुँदा दलित मुक्तिको प्रश्नमा थप बल मिल्दछ l जनसंख्याको अनुपातमा पूर्ण समानुपातिक व्यवस्थाको वकालत पनि हुन थालेको छ यो एउटा प्रतिनिधित्व र पहुँचको सवालमा उत्तम विकल्प हो l सम्मेलनलाई प्रतीकात्मकता मात्र नभई व्यवहारिक रूपान्तरणको मञ्च बनाउन खाँचो छ l
सुधारवादी गैरदलितहरूसँग एकता
दलितको मुद्दा दलितको पीडाको विषय भए पनि आम मान्छेको सभ्यता र मानवाधिकारसँग जोडिने विषय हो l मानवअधिकारको विषय विश्व राजनीतिको रङ्गमञ्चको विषय हो, सन् १९४८ को मानवाधिकार घोषणापत्रको पक्ष हो l
मानवाधिकारको बहाली मूल प्रश्न र सर्वप्रथम निरूपरण गर्नु पर्ने विषय हो l मानवधिकारको विषय मानवताको विषय हो यसको पक्ष र विपक्ष हुन्न l मानवताको विषय मात्रै हुन्छ l त्यसैले दलितको विषयमा गैरदलितको भूमिका अन्योन्यास्रित छ l दलितको लागि उत्पीडन गर्ने समूह गैरदलित हो l त्यसैले अब मुद्दा बोक्न दलित मात्र होइन गैरदलित र राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय समुदाय पनि मानवाधिकारको प्रश्नमा सहयोगी बन्न आइपुग्छ l
यसर्थ सुधारवादी गैरदलितलाई पनि दलित समुदायले आफ्नो आन्दोलनको हिस्सा बनाएर उपयोग गर्न हिच्किचाउनु हुँदैन l दलित मात्र होइन, समग्र समाजको मुद्दा हो यो l दलितको ,मात्र मुद्दा भनेर बस्ने छुट अन्य समुदायलाई छैन l
स्थिर र रुढिवादी समाजलाई परिवर्तनको पक्षमा लान सहयोग पुर्याउने ब्राम्हण समुदायका व्य्कतिहरू जसले पशुपति कोटीहोममा(२०८१ श्रावण, २५) कृष्ण दमाईलगायत दलित समुदायका व्यक्तिहरूलाई ३ हजार वर्षपछि व्यसासनमा राखेर धर्म सुधारको सङ्केत गरे ती व्यक्तिहरू विजय भण्डारी, राजानन्द माण्डव्य, अनिरुद्र तिम्सिनालाई प्रेरणा जरुरी छ l त्यस्तै भीमकान्त भागवत, दिनबन्धु पोख्रेल, चन्द्रकान्त पौडेल र दलितको मुद्दा र विषयमा संवेदनशील विभिन्न तह र तप्काका व्यक्तिहरू, संस्थाहरू, राजनीतिक पार्टीका नेताकार्यकर्ताहरू मानव मर्यादाका पहरेदार बन्न सक्छन् l युग परिवर्तनको सङ्केत र मानकहरूलाई प्रेरित गर्दै परिवर्तनको पक्षमा अझ इँटा थप्न सुधारवादी गैर दलितहरूसँग एकता आजको दलित आन्दोलनको पुरक भाग बन्न सक्छ l
आशा र चेतनाको पुनर्जागरण
यो सम्मेलनले दलित समुदायको आवाजलाई एकीकृत र संस्थागत बनाउने अवसर ल्याएको छ । सत्तामा सहभागिता, नीति निर्माणमा हस्तक्षेप, र साझा कार्यदिशा तय गर्ने मोडमा उभिएको छ । दलित आन्दोलनलाई साझा र एकीकृत रूपमा लैजान दलित गोलमेच सम्मेलनको मञ्च सफल बनोस् l बृहत र व्यापक छलफलपछि देशभरका दलितले ‘दलित गोलमेच सम्मेलन’ले पारित गर्ने दस्तावेजमा आफूलाई पाउन सकून l राष्ट्रलाई नयाँ दिशाबोध गर्ने दस्तावेज तयार बन्नेछ । दलित गोलमेच सम्मेलन केवल एक कार्यक्रम होइन, यो अवसर हो, युगले सुम्पेको जिम्मेवारी हो l जसले विमर्शलाई आन्दोलनमा परिवर्तन गर्न सक्छ, असन्तोषलाई योजनामा बदल्न सक्छ, र परिधिबाट केन्द्रतर्फको यात्रालाई सहजता दिन सक्छ। त्यसैले, यो सम्मेलनले सबै आवाजलाई सम्मान दिँदै, साझा दिशामा अग्रसर हुने मार्गदर्शन प्रदान गर्नेछ l दलित आन्दोलनको यो नयाँ मोड गोलमेच सम्मेलनले दलित मात्र होइन, समग्र नेपाली समाजलाई न्याय, समता र सभ्यताको नयाँ दृष्टिकोण दिन सकोस् l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”