पृथ्वीनारायण शाह र दिव्य उपदेशबारे विमर्श - सञ्जीव कार्की
संसारका कुनै पनि एकीकरण निर्विवाद र निर्विकल्प बनेका छैनन् । पृथ्वीनारायण शाहद्वारा गरिएको नेपाल एकीकरणका क्रममा भएका भनिएका अपवादस्वरूपका त्रुटि र कमजोरी उछालेर राष्ट्रनिर्माणको अभियानलाई मानमर्दन गर्नु उचित होइन । पृथ्वीनारायण राजकुलमा जन्मेको र राजा भएकै कारण सम्मान र तारिफयोग्य पात्र बनेका होइनन् । उनले गरेको ऐतिहासिक योगदानलाई छायाँमा पार्ने प्रयास गरिनु धरातलीय यथार्थमाथि आँखा चिम्लनुसरह हो ।
जित्नेले आफूअनुकूल केही प्रभाव, छाप र निर्णय गराउने स्वाभाविक प्रक्रियालाई तत्कालीन चेतनाको आँखाबाट पनि अस्वाभाविक प्रभुत्व जमाएको भनेर आरोप लगाउने ठाउँ इतिहासमा कहीँकतै भेटिँदैन ।यद्दपि आजको चेतना र राजनीतिक दर्शनले पृथ्वीनारायणको नेपाल एकीकरणबारे आलोचनात्मक विमर्श गर्न चाहन्छ l जुन स्वाभाविक पनि छ l आजको चेतनाले अप्रश्नीय कोही र कुनै विषय नहुने हुनाले प्रश्नलाई स्वाभाविक मान्दछ l तथापि पृथ्वीनारायण शाहले बाँचेको युग र परिस्थति अनुसार इतिहासको व्याख्या, विश्लेषण र मूल्याङ्कन गरियो भने बढी न्यायिक होला l हरेक समयको चिन्तन, सोच शैली र व्याहारिक तथ्य सोही समाजको तत्कालीन समाज संस्कृति,मनोविज्ञानमा र धरातलीय यथार्थ र आवश्यकतामा आधारित हुन्छ l
पृथ्वीनारायण शाह बारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लेख्छन् :'पृथ्वीनारायण शाहलाई वस्तुपरक ढंगले बुझ्न हालै प्रकाशित प्रसिद्ध इतिहासकार महेशराज पन्तका विभिन्न कालखण्डमा लेखिएका रचनाहरू र पृथ्वीनारायण शाहको चर्चित 'दीव्योपदेश' को संकलन "पृथ्वीनारायण शाह: नायक, प्रतिनायक अनि नायकदेशीय" निकै उपयोगी लाग्यो। खासगरी पछिल्लो चरणमा मडारिदो भूराजनीतिक भुँमरी र राष्ट्रिय अर्थतन्त्रको बढ्दो परनिर्भरताको सन्दर्भमा नेपालले लिनुपर्ने नीतिवारे अढाइ सय वर्ष पहिलेका पृथ्वीनारायण शाहको अन्तरदृष्टि निकै सान्दर्भिक हुनसक्छ। स्मरण रहोस्, कुनै पनि व्यक्तिका गुण र दोष दुवै हुन्छन्। हामीले कसैका कमजोरीको विरोध गर्दा उसका राम्रा कुरालाई अनुसरण गर्न वा त्यसबाट सिक्न हिच्किचाउनु हुन्न।
देश बनाउन कसै न कसैको महìवाकाङ्क्षी योजना साहस, सङ्कल्प र दूरदर्शिता चाहिन्छ । पृथ्वीनारायण दूरदर्शी राजा मात्रै होइन लडाकु राजनीतिज्ञ पनि थिए । उनको सम्मान नेपालकै सम्मान हो । पृथ्वीनारायण दार्शनिक राजा हुन् । नेपालको स्वाभिमान, स्वावलम्बन र सार्वभौमसत्ता निर्माणार्थ उनले जे जे गरे त्यो अविस्मरणीय छ । पृथ्वीनारायणका दिव्योपदेशबाट अर्थशास्त्र, दर्शनशास्त्र, न्यायशास्त्र, समाजशास्त्र, व्यवस्थापनशास्त्र, कूटनीतिशास्त्र र राजनीतिशास्त्रका ठेलीका ठेली निर्माण गर्न सकिन्छ, उनको विचारलाई आजको सन्दर्भमा परिमार्जन गरेर ज्ञान विज्ञान र दर्शनलाई अरू फराकिलो बनाएर विश्वलाई बाँड्न सकिन्छ । अहिले पनि पनि उनका उपदेश अप्रासंगिक लाग्दैन l हाम्रो भौगोलिक र राजनीतिक अवस्थितिले हाम्रो अवस्था चित्रण गर्छ l हामीले हाम्रो धरातलीय यथार्थलाई मनन गरेर घरेलु र वैदेशिक नीति अख्तियार गर्नु पर्छ नकि कुनै लहड र आवेशमा ? जसलाई शाहको उपदेशमा प्रतिबिम्बित गरिएको छ l
अग्रजलाई सम्झनु अनुजको कर्तव्य हो, आफ्नो अस्तित्व पनि भोलि अनुजले अनुसरण गरोस् भन्ने चाह हो पुस २७ । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस विगत केही वर्षदेखि छायाँ र विवादमा छ । राज्यका तर्फबाट औपचारिक बिदा दिन छोडिएपछि पृथ्वीनारायणको योगदान र गरिमामा अनेकन कोणबाट बहस र छलफल भएका छन् । राज्यले गणतान्त्रिक प्रणाली अवलम्बन गरेपछि पूर्वराजाका रूपमा मात्रै हेरेर पृथ्वीनारायणको योगदानको मूल्याङ्कन हुनसक्दैन । बिदा दिएर फगत औपचारिकता मात्रै निभाउनु र कसैको योगदान, गौरव र पुरुषार्थप्रति अनुगृहित हुनु होइन । राज्यले दिने औपचारिक बिदा भन्दा ठूलो कुरा सम्मानको संस्कृति हो । पूर्वजप्रति कृतज्ञ हुने असल मान्यता र परम्पराबाट कतै हामी भाग्दै त छैनौँ ? धर्म, संस्कृति र परम्पराले सिकाएका असल कुरा बिर्सेर गलत
बाटो हिँडिरहेका त छैनौँ ? सरकारले २०७९ देखि फेरि राज्यको तर्फबाट पृथ्वीजयन्तीको दिन औपचारिक बिदा दिने थालनी गरेको छ l तथापि बिदा मात्र दिनु र राज्यलाई काम गर्ने समय रचनात्मक भएर खट्ने समयमा बिदा घोषणा गर्ने संस्कृति घातक छ l बिदा दिनु सम्मान होइन l दिवस घोषणा गर्नु र सो दिवसको महत्त्व अनुकुल कम्तिमा वर्षमा एक दिन भए पनि समर्पित भएर काम गर्नु दिवसको सम्मान हो l
नेपाल राज्यको एकीकरण तत्कालीन आवश्यकता र औचित्यका आधारमा सही थियो भन्ने प्रमाण र आधार जुटाउनै आवश्यक छैन । सिङ्गो मुलुक, पहिचान र अस्तित्व नै प्रमाण हो । बहुआयामिक र कुशल रणनीतिक खुबीका पृथ्वीनारायण चतुर र समय परिस्थितिको आँकलन गर्ने व्यक्ति थिए । आजको युगचेतनाका दृष्टिकोणबाट तत्कालीन समयका कतिपय ज्यादती सह्य देखिँदैन तर प्राप्त उपलब्धि पछाडिका केही कमजोरी र त्रुटिलाई आजको परिवेशसँग दाँजेर हेर्न मिल्दैन । विश्व परिस्थिति नै युद्धमय थियो । एकीकरणको वस्तुगत आधार पनि युद्धमय विश्वमा आफ्नो अस्तित्व कायम राख्न बलियो भएर बस्नुपर्ने थियो । ससाना टुक्रे राज्य सधैँ एकापसमा टकराएर बस्नुपर्ने सधैँ भय, अन्योल र युद्धमा जीवन व्यतित गर्नुपर्ने त्यो समाजको मनोविज्ञान पृथ्वीनारायणले बुझ्नुभएको थियो । अत: कमजोरीका बाबजुद राज्य एकीकरण अनावश्यक भनेर तर्क गर्न कसैले सक्दैन l
बेलायतको बढ्दो सैन्यशक्तिको त्रास र उन्माद विश्वभर व्याप्त थियो । रुस–पर्सिया युद्ध, अङ्ग्रेज–स्पेनिस यद्ध, रुस– टर्कीबीचको भयङ्कर र घमासान लडाइँ, चीनका प्रभावशाली सिंग लंग वादशाहको राज्य विस्तारको अभियान, हिन्दुस्तानमा मुगलको दयनीय स्थितिले पनि नेपाल बलियो भएर बस्नुपर्ने अवस्था थियो । त्यसैले पनि नेपाल राज्य एक बनाउने अभियान औचित्यपूर्ण र तर्कसङ्गत थियो ।
हिमवत् खण्डभित्रको मौलिकता कायम राख्न, आफ्नो छुट्टै अस्तित्व जोगाउन पृथ्वीनारायण शाहले जे जसरी काम गरे त्यो समयसापेक्ष सामयिक थियो । तत्कालीन परिस्थितिको उपज र बाध्यतालाई लिएर आज पृथ्वीनारायण विस्तारवादी र मिचाह राजा भन्नु तर्कसङ्गत होइन । आजको प्रजातान्त्रिक युग चेत र तत्कालीन चेतलाई सँगै राखेर दाँज्न सकिन्न÷मिल्दैन । सत्य समय सापेक्ष हुन्छ l अब हामी विगतको बाटो हिंडेर विगत तिर नै फर्कन सक्दैनौ l नेपाललाई विभक्त र विभाजनमा गएको हेर्न ठिक मान्दैनौ l
युद्धका क्रममा पृथ्वीनारायणबाट पनि कमजोरी भए होलान् । विश्वको इतिहासमा युद्धबिना कुन राज्यको निर्माण र विस्तार सम्भव भएको थियो ? बिर्सन नहुने तथ्य युद्धका क्रममा प्रतिशोध र बदला लिने क्रममा केही नाजायज युद्धविरोधी गतिविधि पनि भएका हुन सक्छन् । जसलाई विस्मृतिमा राख्नुको विकल्प हुन्न । युद्द आफैमा नियमको विरुद्द हुन्छ l युद्दको नियम भए पनि मानिन्न l पृथ्वीनारायणले राज्यको मात्र एकीकरण गरेनन्, बिजेता राज्य गोर्खालाई नेपाल राज्यमा विलय गरेर ठूलो छाती भएको पुष्टिसमेत गरे, यस विषयमा अनेक कोणबाट तर्क र बहस गर्न सकिन्छ तर विगतमा फर्कन सकिन्न र युद्दको कारण एकीकरण भयो म मान्दिन भन्न मिल्दैन l
संसारकै प्राचीन सभ्यता संस्कृति भावनाको एकीकृत रूप हो आजको विश्व । त्यसकै अविछिन्नताको एक अंश हो नेपाल । नेतृत्वका नायक पृथ्वीनारायण थिए भने सहनायक बिसे नगर्ची, विखासिंह विश्वकर्मालगायत हाम्रा वीर पुर्खा र सिपाही भएको तथ्य पनि जीवन्त छ । बहादुर शाह पनि नेपाल एकीकरणको सवालमा बिर्सन नहुने नाम हो l पृथ्वीनारायणले आफ्ना कालजयी दिव्योपदेशमार्फत समाजको राजनीति, अर्थनीति, परराष्ट्रनीति, सांस्कृतिक, धार्मिक मूल्य र मान्यता कसरी सञ्चालित हुनुपर्छ भन्ने सिद्धान्तलाई सरलीकृति गरेका थिए । पृथ्वी नारायणको सिद्धान्तको पदचापमा हिंड्न सके नेपालको दीर्घकालीन हित त्यहीं छ l
कार्ल माक्र्सभन्दा पनि जेठा, अब्राहम लिङ्कनभन्दा पनि पहिलेका, महात्मा गान्धीभन्दा पनि अघिका पृथ्वीनारायणको परिचय र परिधि आफ्नै भूमिमा पनि खुम्च्याउने÷विवादित बनाउने विषयले हामी सही गन्तव्यमा पुग्दैनौँ । बुद्धपछिको महान् सपूत पृथ्वीनारायण हाम्रो देशका निधि हुन् । आजपर्यन्त उनका दिव्योपदेश उत्तिकै सान्दर्भिक र अवस्थितिअनुकूल छन् । पृथ्वीनारायणका विचार र दर्शन संसारका अरू दर्शन र विचारभन्दा कम दमदार छैनन् । सधैँ उपयोगी र सारगर्भित छन् । सानो, साँघुरो र सीमित स्वार्थको घेराभन्दा माथि उठेर हेर्ने हो भने तत्कालीन परिस्थितिमा पनि कति उच्च सोच, गहन दार्शनिक भनाइ र समयसापेक्ष दूरदर्शिता प्रदर्शन भएको पाइन्छ, दिव्य उपदेशको अध्ययन मनन् र चिन्तन गर्दा स्पष्ट हुन्छ l पृथ्वी नारायण शाहले स्वाभिमान,स्वाधीन अनि आत्मनिर्भर राष्ट्रको लागि सुझाएका उपदेश भरिलो राष्ट्रवाद प्रेरित भनाइहरु हुन् l
पृथ्वीनारायणलाई एउटा राजाको रूपमा मात्र हेर्ने बुझ्ने चेष्टा उचित छैन । राजा नै भएर पनि सही काम गर्दा आरोपित र दण्डित हुनुपर्ने कारण हुँदैन । पृथ्वीनारायणको सट्टा यो हिमवत् खण्डभित्रको तत्कालीन जुन राजा राजौटाले नेपाल एकीकरण गरेको भए पनि राष्ट्रनिर्माता मान्न हामीलाई अप्ठ्यारो हुने थिएन । काम र गुनको मूल्याङ्कन गर्ने परिपाटी होस् भन्ने मात्र नेपालीले चाहेको हो । राष्ट्रनिर्माता भयो, कुन कुल वंश परम्पराले त्यसको नेतृत्व लियो भन्ने ठूलो कुरा भएन, कसले राष्ट्र निर्माण ग-यो त्यो मूल्यवान विषय हो । आफ्नो देश बनाउने राष्ट्र निर्माताको अवमूल्यन गरेर कुनै पनि देश बनेको उदाहरण छैन । सम्मानका नाममा राज्यलाई भार पर्ने गरी बिदा दिने हैन सिर्जनात्मक, रचनात्मक कार्य गरेर व्यक्तिको सम्मान गर्ने परम्पराको थालनी गर्नुपर्छ राज्यले । राज्यले औपचारिक रूपमा २७ पुस २००९ देखि राष्ट्रिय एकता दिवस मनाउन योगी नरहरिनाथले गरेको सङ्कल्प सराहनीय छ ।
देशको जग बसाल्ने परमपरागत धर्म,संस्कृति र धरोहरको रक्षा नै भावनात्मक एकताको सेतु हो । नेपाली स्वाधीनता जोगाउन स्थानीय परम्पराको रक्षाको नीति थियो । चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देशलाई चित्रित गरी सबैको अपनत्व पृथ्वीनारायणले स्वीकार गर्नुभएको थियो । युगपुरुषको गहन सोच र व्यवस्थापकीय क्षमता उहाँका उपदेशमार्फत प्राप्त विचार र दर्शन आज पनि उत्तिकै मननयोग्य छन् ।हिन्दु धर्म मान्ने राजा भएको कारण उनले अन्य धर्मालम्बीलाई पनि हिन्दु धर्म मान्न बाध्य परेका कतिपय घटना र प्रसंग भने उचित होइनन् l त्यसको वस्तुनिष्ठ समीक्षा जरुरी छ l अतिरन्जना दुवै पक्षको ग्राह्य छैन l
नेपालको हकमा पनि पुस २७ लाई राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्ती मनाउने राजनीतिक, ऐतिहासिक, दार्शनिक र प्रामाणिक आधार तथ्य र नजिरहरू छन् । १७७९ मा जन्मेर २० वर्षको उमेरमा १७९९ मा राजा भएका पृथ्वीनारायण पूरै शासन अवधि ३२ वर्ष नेपाल एकीकरणको योजना र लडाइँमै तल्लीन हुनुभयो । ५२ वर्षको अल्पायुमा नुवाकोटको देवीघाटमा १८३१ मा उहाँको निधन भयो । निधन भएको ४२ वर्षपछि सुगौली सन्धि (१८७२) नहुन्जेल नेपाल एकीकरणको प्रयास उहाँका छोरा र बुहारी तथा नातिको नेतृत्वमा नेपाली जनताको साथ समर्थन र बलिदानीमा चलिरह्यो ।नेपाल एकीकरणको नेतृत्व राजा भएको हुनाले पृथ्वीनारायण शाहको थियो तर लडने आम नेपालीका पूर्खा हुन् l अग्रज हुन् l पृथ्वीनारायणको अवमूल्यन गर्ने नाममा नेपाल एकीकरणको लागि योगदान दिने विषे नगर्ची लगायत तमाम वीर पुर्खाको अपमान नगरौ l इतिहास हिजो हिंडेर आएको बाटो हो l विगतलाई अब घृणा गरेर, प्रतिशोध राखेर होइन, विगतबाट सिकेर वर्तमान र भविष्यमा सतर्कता अपनाउनु पर्छ l कुनै पनि जाति, धर्म सम्प्रदायलाई निर्वाध आफ्नो स्वतन्त्रताको उपभोग गर्न दिएर अगाडि जानु नै उत्तम तरिका हो l
पृथ्वी जयन्ती मनाउने र उनलाई सम्मान गर्ने मामलामा कोही राजावादी हुनु पर्दैन l नेपालवादी भए पुग्छ l पृथ्वीनारायणको समर्थन र सम्मान गर्नु भनेको राजतन्त्र र निरङ्कुश राजाहरू र तिनका भाइ भारदारको समर्थन गर्नु होइन् न राजतन्त्र पुनर्स्थापनाको पक्षमा देखिनु नै हो ? 'प्रजा मोटा भया दरबार बलियो हुन्छ भन्ने भाष्यलाई उनका उत्तराधिकारीहरूले चरितार्थ गर्न सकेका भए राजतन्त्र नेपालको लागि इतिहासको विषय नबन्न पनि सक्थ्यो l
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...