कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानलाई केही प्रश्न -रवीन्द्र मिश्र

प्रिय उमेशजी (Chauhan Umesh),
मैले Sanjay Silwal Gupta सँगको तपाईंको दुई घण्टाभन्दा लामो पडकास्ट पुरै सुने । कतिपय जवाफसँग स्वभाविक विमति भए पनि मलाई समग्रमा पडकास्ट असाध्यै मन पर्यो र तपाईंको तर्क शैली पनि मन नपर्ने कुरै भएन। राम्रो पडकास्टको श्रेय सञ्जयजीलाई पनि जान्छ ।
राजसंस्थासम्वन्धी एउटा अंशमा भने मेरा मनमा केही प्रश्न र टिप्पणीहरू उठे ।
तपाईंका टिप्पणी सार्वजनिकरूपमा गरिएकाले, समग्र पत्रकारितासँग सम्वन्धित मेरा प्रश्न र टिप्पणी पनि सार्वजनिक रूपमैँ उठान गर्नु उपयुक्त संझिएँ । सधैँ पत्रकारले राजनीतिकर्मीमाथि प्रश्न र टिप्पणीमात्र होइन, कहिलेकाहिँ राजनीतिकर्मीले पनि पत्रकारमाथि प्रश्न र टिप्पणी गर्नु अन्यथा हुँदैन ।
१.तपाईंले 'राजसंस्थाको वकालकर्ताहरू'को दृष्टिकोणका बारेमा राम्रो टिप्पणी गर्नुभएको छ। त्यो तपाईंको व्यक्तिगत, या भनौँ, तपाईंको 'बाई-लाइण्ड' विचार हो, जसलाई सबैले सम्मान गर्नुपर्छ। तर तपाईं पत्रकारितामा वस्तुपरकता र सन्तुलनको अभ्यास गर्नुपर्ने 'पेशाकर्मी पत्रकार/प्रधान सम्पादक' पनि हो ।
२.तपाईं (गणतन्त्रवादी)ले राजसंस्थाबारे आफ्नो धारणा राख्दै गर्दा, तपाईंको पत्रिकामा राजसंस्थाका वकालतकर्तालाई सन्तुलित स्थान दिनु पत्रकारिताको धर्म हो। त्यो तपाईंले गर्नु भएको छ कि छैन ? कि पत्रकारिताको धर्ममा राजसंस्थाको औचित्य/अनौचित्यको व्याख्या पनि गणतन्त्रवादीले या पत्रिकाकै प्रधान सम्पादक र पत्रकारले मात्रै गरिदिनु पर्ने हो ?
३.कान्तिपुरले नेपाली पत्रकारिताको इतिहासमा क्रान्ति ल्याएको हो । त्यसमा shanka का छैन। तर आफूलाई लोकतन्त्रको पहरेदार संझिने कान्तिपुरले गत ५/७ वर्षमा कतिजना राजसंस्थावादी नेतालाई आफ्नो प्रकाशनमा अन्तर्वार्ता गर्यो या आफ्नो प्रकाशनमा राजसंस्थासँग सम्वन्धित समाचार/विश्लेषणलाई कति ठाऊँ दियो ?
४.हालै सम्पन्न कान्तिपुर कन्क्लेभमा 'दोबाटोमा लोकतन्त्र' लगायत राजनीति र समाजका अन्य विविध जटिलताका बारे बहस गराइयो । कहिँ कतै देशभरी बढिरहेको राजसंस्थावादीको आवाजलाई ठाऊँ दिइयो? कुनै पनि लोकतान्त्रकि देशको राजनीतिक र सामाजिक सन्तुलनका लागि अत्यन्तै महत्वपूर्ण राजनीतिको 'मध्य दक्षिणपन्थी धार'लाई प्रतिनिधित्व गर्ने संसदको एकमात्र पार्टी (राप्रपा) को अध्यक्ष/सांसदलाई कहिँ कति स्थान दिइयो ? कि त्यो कन्क्लेभमा अधिकांश मार्फत तपाईंहरूको शब्दमा 'पश्चगमन'का खतराका बारेमा विश्लेषण मात्र गराइयो? पत्रकारिताको धर्म त्यही हो ?
५.कतिपय पत्रकारलाई लाग्छ "राजा ज्ञानेन्द्रको शासनकालमा हामीले समाचार कक्षमा बन्दुकको नालमुनि बसेर समाचार बनाएका थियौँ । त्यो हामीले बिर्सिएका छैनौँ। त्यसैले त्यस्तो राजा र संस्थाको वकालत गर्नेलाई हामी ठाऊँ दिन्नौँ। हामीलाई फेरि लोकतन्त्र मास्नु छैन ।"
६.सानो कुरा सविनय निवेदन गरौँ: पत्रकारिता यस्तो पेशा हो जसमा पत्रकारले आफू पीडित हुँदा पनि आफूलाई पीडा दिनेविरूद्ध पेशागत पुर्वाग्रह राख्न मिल्दैन। आफ्नै परिवारको सदस्यको हत्या गर्नेलाई पनि निषेध गर्छु भन्न मिल्दैन। आफैँलाई जेल हालेर यातना दिने विरूद्ध पनि आग्रहपूर्ण आक्रोश व्यक्त गर्न मिल्दैन । अहिले संसारका द्वन्द्वरत क्षेत्रमा पत्रकारहरू मारिँदा पनि ती पत्रकारका संस्थाले हाम्रो पत्रकार मार्ने सरकार या आतंकारीलाई या लोकतन्त्र मास्न खोज्नेलाई हाम्रो सञ्चारसंस्थामा स्थान दिँदैनौ भन्न मिल्दैन । मतलब, राजाको शासनकालमा बन्दुकको नालमुनि काम गर्न पर्यो भनेर अहिले 'राजा/राजसंस्थासँग सम्वन्धित विषयलाई सकेसम्म स्थान नै दिँदैनौँ, नसकिने नै भयो भने, न्यून स्थान मात्र दिन्छौँ' भन्न मिल्दैन । त्यो पत्रकारिताको आधारभूत धर्म हो ।
७.स्वतन्त्र पत्रकारिता लोकतन्त्रबिना संभव छैन। पक्का हो । तर पत्रकारिताको विडम्वना के हो भने, "लोकतन्त्र मास्छु" भन्नेलाई पनि उचित स्थान दिनु पर्ने हुन्छ ।
८. नेपालमा कयौँ सञ्चारसंस्थाहरूको पूर्वाग्रहपूर्ण संस्थागत नीतिले गर्दा कयौँ इमानदार, होनाहार पत्रकारहरूले समेत आफ्नो इमानदारी/निष्पक्षता दबाइ-दबाइ काम गर्नु परेको स्थिति छ ।
९. तथ्य, सन्तुलन/वस्तुपरकता र विश्वसनीयता पत्रकारिताको मेरूदण्ड हो । तर मूलधारको भनिएको सञ्चार माध्यमहरूले 'तथ्य'लाई अंगाले पनि त्यसको प्रस्तुतिलाई 'सन्तुलित/वस्तुपरक' बनाउन निरन्तररूपमा चुकिरहँदा 'विश्वसनीयता' गुमाउँदै गएका छन्। त्यसैले गर्दा पडकास्ट लगायत वैकल्पिक सञ्चार माध्यमहरूको लोकप्रियता ह्वात्तै बढेको छ र मूलधारका सञ्चारमाध्यमहरू निरन्तर आलोचनाको केन्द्रमा परेका छन् ।
१०.आफ्नो पेशागत धर्मको न्यूनतम मूल्यमान्यता पालना नगर्ने पत्रकार/पत्रकारितालाई राजनीतिकर्मीको इमान (धर्म) माथि प्रश्न उठाउने नैतिक अधिकार हुन्छ कि हुँदैन ?
यी प्रश्नलाई तितो रूपमा नलिन आग्रह गर्दछु। मूलधारका सशक्त पृष्ठभूमी भएका तपाईंजस्ता पत्रकार र तिनका प्रकाशकहरूले यस्ता प्रश्नलाई गम्भिरतापूर्वक लिएर व्यवस्थापन र सम्पादन कक्षमा गहन छलफल गर्नु नितान्त जरूरी भइसकेको छ ।
यस्तो आग्रहपूर्ण पत्रकारितालाई 'मिशन पत्रकारिता' भन्छन्; 'पेशागत पत्रकारिता' भन्दैनन् ।
हृदयदेखि तपाईंको शुभेच्छुक
रवीन्द्र मिश्र
स्मरणीय : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको फेस बुकबाट प्रस्तुत सामगी र फोटाे साभार गरिएको हो । सम्पादक akabarey.com
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l