सुन्दरता के हो ?- डा. भक्त राई

सुन्दरता के हो ?
संसारमा यही व्यक्ति सुन्दर, यही वस्तु राम्रो, यही चिज मिठो, यही चिज असल, यही कुरा सत्य भन्ने हुदैन । कसैलाई सुन्दर लागेको व्यक्ति वा वस्तु अर्कोलाई असुन्दर लाग्न सक्छ । एउटालाई मिठो लागेको वस्तु अर्कोलाई नमिठो लाग्न सक्छ । त्यसैले सुन्दरता भनेको निरपेक्ष हुँदैन । सुन्दरता व्यक्ति, जाति र समुदाय अनुसार, देश र धर्म अनुसार फरकफरक हुन्छन् ।
सुन्दरता व्यक्ति, जाति र समुदाय सापेक्ष हुन्छ
सुन्दरताको शाब्दिक अर्थ राम्रो लाग्नु, आकर्षित हुनु, आनन्दित हुनु, चित्त बुझ्नु आदि भाव हो । वास्तवमा सुन्दरता त्यो भाव हो जसलाई प्राप्त गर्दा मान्छे भित्रैदेखि खुसी हुन्छ, आनन्दित हुन्छ । विशेष अनुराग उत्पन्न हुन्छ l दार्शनिक हिसाबले भन्दा सुन्दरता वा सौन्दर्य भनेको मान्छेलाई आनन्द प्रदान गर्ने, आकर्षण प्रदान गर्ने व्यक्ति वा वस्तुमा निहित गुण वा शक्ति हो । यही सुन्दरताको खोजी, व्याख्या र विश्लेषण गर्ने शास्त्रलाई दर्शन क्षेत्रमा सौन्दर्यशास्त्र भनिन्छ ।
सौन्दर्यशास्त्रले कुन वस्तु किन सुन्दर भयो ?
के को आधारमा भयो, कसरी भयो ? भन्ने खोजी गर्दछ । सुरुमा कला, साहित्यको सन्दर्भमा मात्र सौन्दर्यको विवेचना गरिन्थ्यो तर वर्तमान समयमा भने यसले कुनै पनि समुदाय र संस्कृतिमा निहित सौन्दर्यचेतको समेत खोजी गर्दछ । त्यसैले वर्तमान समयमा सौन्दर्य चिन्तनलाई पनि दर्शनशास्त्रको हाँगाको रूपमा लिइन्छ । यसरी जीवन, जगत् र संस्कृतिसम्बन्धीको सौन्दर्य पक्षको खोजी गर्ने दर्शनको हाँगालाई सौन्दर्य मीमांसा भनिन्छ ।
मैले माथि नै उल्लेख गरिसकेको छु कि सुन्दरता वा सौन्दर्य भनेको जाति, समुदाय वा धर्म सापेक्ष वा आधारित हुन्छ । जस्तो कि हिन्दु संस्कृति र सौन्दर्यशास्त्रले ठुलाठुला आँखा, अग्लो कद, मृगनयनी आँखा, दारीजुँगायुक्त शरीर, लामो कपाल, छातीभरी रौंयुक्त शरीरलाई सुन्दर मान्दछ भने जनजाति संस्कृति वा सौन्दर्यशास्त्रले चिम्सो र खिरिलो आँखा, होचो कस्सिएका हृष्टपुस्ट शरीर, चिल्लो सफा मुहारलाई सुन्दर मान्दछ । यसरी नै मुस्लिमहरूको आफ्नै किसिमको सौन्दर्यशास्त्र हुन्छ, भने अन्य समुदाय र संस्कृतिको आआफ्नै ढङ्गको सौन्दर्यशास्त्र हुन्छ ।
मान्छेको मुहारमा मात्र होइन खानपिन वेशभूषामा पनि आआफ्नो सांस्कृतिक सौन्दर्य हुन्छ । जस्तो कि बङगुरको मासु देख्नसाथ त्यो मासु खाने समुदाय वा व्यक्तिलाई खाउँखाउँ लाग्छ भने नखाने जाति वा व्यक्तिलाई घिन लाग्छ । यसरी नै खसीको मासु खाने जाति वा व्यक्तिलाई मासु देख्नसाथ खान मन लाग्छ भने नखाने जातिलाई हेर्दै घिन लाग्छ । जाँडरक्सी पिउने मान्छेले मदिरा देख्नसाथ घुटुक्क थुक निल्न सक्छ भने नपिउने मान्छेलाई घिन लाग्न सक्छ । कसैलाई घिन लाग्ने कुरा कसैको प्रिय भोजन लागेको हुन्छ l
आआफ्नो संस्कृतिअनुसारको पहिरन सबैलाई प्रिय लाग्छ । वस्त्र, खानपिन आदिमा मात्र होइन मान्छेका अनेक मूल्य र मान्यताहरू आआफ्ना प्रकारको फरकफरक हुन्छन् । त्यसैले संसारमा यही मान्छे राम्रो, यही वस्तु सुन्दर, यही खाना मिठो, यही संस्कृति र परम्परा ठिक, यही विचार सत्य भन्ने नै हुँदैन l सत्यका अनेक आयाम र सत्यलाई पर्गेल्ने अनेक तत्वहरू हुन्छन् l
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।