अमेरिकामा ममता काफ्ले हराएको दु:खद घटनाबाट समाजले के पाठ सिक्ने ? - डा. बिष्णु जोशी

पछिल्लो पुष्ट समाचार अनुसार नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्लेको घरमै हत्या गरेर लास गायब गरेको हुन सक्ने बलियो प्रमाणहरू सहित प्रहरीले नरेशलाई गिरफ्तार गरेको छ ।
ममता जीवित नै होलिन् भन्ने आशा घट्दै गए पनि लास फेला नपरेसम्म आधिकारिक रूपमा उनको मृत्यु नै भयो भनेर ठोकुवा गर्न मिल्दैन । यद्यपि ममता काफ्ले हराएको दुखद घटनाले मलाई यी विषयमा घोत्लिन बाध्य बनाएको छ
१. सामाजिक संजालबाट सम्बन्ध जोड्न अघि एक अर्कालाई भेटेर मन मिल्ने-नमिल्ने बुझी, चिनजान गरेर एक-अर्काको बानी-व्यवहार, जीवनशैली बारेमा बुझेर मात्र सम्बन्ध गाँस्नु राम्रो !
अभिभावकले पनि छोरीलाई असल र खराब प्रवृत्ति भएका मान्छेको पहिचान गर्न बेलामै तालिम दिनु पर्छ !
साथी चुन्दा पैसा, नाम या प्रसिद्धि भन्दा पनि असल चरित्र, सौहार्दता, संस्कार र प्रगतिशील सोच भएकासँग मित्रता गाँस्ने शिक्षा दिनु पर्छ l त्यस्तै बा आमाले छोरालाई महिलाको सम्मान र महिलासँग सद् व्यवहार गर्न बेलैमा सिकाउनु पर्छ l नारी सम्मान र मर्यादामा समाज र संस्कार शिष्ट र सभ्य बन्छ भन्ने ज्ञान दिनु आवश्यक छ l
चेली-बेटीको सुरक्षा एउटा गम्भीर मुद्दा हो । हत्या, बलात्कार,एसिड प्रहार जस्ता जघन्य अपराध बाहेक अन्य पनि धेरै प्रकारका महिला हिंसा हुन्छन् l हामीले हाम्रा छोराहरूलाई बाटोमा बसेर केटी हेर्दै नबस भन्दैमा पुग्दैन । छोराहरूलाई कसरी आफ्ना समकक्षी केटीहरूसँग मर्यादित भएर व्यवहार गर्ने भन्ने शिक्षा दिनु जरुरी छ । अनि यो पनि बुझाउन जरुरी छ कि अल्लारे उमेरमा विपरीत लिङ्गी प्रति आकर्षण हुनु स्वाभाविक हो तर प्रेमलाई अभिव्यक्त गर्ने एउटा समय र स्थान हुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा कसैलाई पच्छ्याउने, सिटी बजाउने, अप्ठ्यारो हुने गरी घुरेर हेर्ने र सार्वजनिक यातायातमा अवाञ्छित रूपमा विपरीत लिङ्गीको स्पर्श पनि यौन हिंसा नै हुन् ।
प्रेम पत्र लेख्ने, पोस्ट कार्ड दिने, मेसेज, टेक्स्ट पठाउने या कल गर्ने जस्ता क्रियाकलाप पनि बारम्बार कसैको सहमति बिना गरिन्छभने त्यो पनि यौन हिंसा नै हो । यी मध्य कुनै क्रियाकलाप हाम्रा छोरा बाट भए “हामी यस्तै त हो नि ब्रो” भनेर नजर अन्दाज गर्नुले यस्ता क्रियाकलाप गर्न प्रेरित गर्न सक्छ र कालान्तरमा घरेलु हिंसा र महिलामाथि दूर व्यवहार गर्ने प्रवृत्ति बढ्दै जान सक्छ । त्यस्तै यस्ता क्रियाकलाप हाम्रा छोरीहरूबाट भए पनि सम्झाउने हो, होसियार बनाउने हो । एज म्याचुरिटी र प्रेम विवहा सेक्स आदिमा रहेको कानुनी प्रबन्ध व्यवहारिक ज्ञानका कुरा पनि सम्झाउनु बुझाउनु पर्ने देखिन्छ l यस्ता विषयमा स्कुलमै पाठ्यक्रम बनाएर पढाउनुपर्ने हुन्छ l
२१ औँ शताब्दीमा छोराले जे गरे पनि चल्छ र छोरीलाई “कुलको नाक” काट्ने काम नगर्नु भनी आफ्नो अपेक्षा र असुरक्षा लाद्नु कति जायज छ त ? उचित शिक्षा, सही र गलत छुट्याउन सक्ने संस्कार, माया र स्वतन्त्रता सहित छोरा छोरीको पालन पोषणमा बेलामै ध्यान दिए उनले हुर्किएपछि गलत निर्णय लिने सम्भावना घट्छ l उचित शिक्षाले विषाक्त र हिंसाप्रद सम्बन्धबाट समयमै निस्कन सक्ने विवेक प्रदान गर्छ l
२. विदेशमा पिआर या ग्रीनकार्ड धारी हुँदैमा वर (या वधू) सर्व गुण सम्पन्न हुन्छन् भन्ने भ्रम त्यागौँ l त्यस्तै पैसा (डलरमै कमाए पनि) मान्छेको आचरण, चरित्रभन्दा माथि धन या जागिर हुन्न l त्यस्तो कदाचित सोच्ने र सम्झने वातावरण र मस्तिष्क निर्माण गर्नु हुँदैन l छोरा छोरी दुबैलाई जीवन साथी या प्रेमीमा कस्ता गुण र आचरण खोज्ने भन्ने ज्ञान समयमै दिन जरुरी छ ताकि समय आएपछि असल, गुणवान् र मन मिल्ने वैवाहिक या अन्य साझेदारको चयन गर्दा भुल हुने सम्भावना घटोस् l
३. छोरीलाई विदेशको केटो खोजेर बिहे गरेर पठाउँदैमा माइतीको जिम्मेवारी सकिन्न! संविधानले छोरा छोरी दुबैलाई पैत्रिक सम्पत्तिमा बरबार अधिकार दिएको छ l यदि छोरा बुढेसकालको 'लौरो' हो भने छोरी 'व्हीलचेयर' हुन् l लैंगिक विभेदको अन्त्य आफ्नै घरबाट गरौँ l छोरालाई ‘बुढेसकालको सहारा’ र छोरीलाई ‘पराई घरको नासो’ ठान्ने प्रवृत्ति अझैँ विद्यमान नै छ । छोराले गर्लफ्रेन्ड घर ल्याए छोरो ‘ठुलो’ हुन्छ तर छोरीले ब्वायफ्रेन्ड लिएर आए ‘अप्ठ्यारो’ लाग्छ । यस्ता विषय र प्रसङ्गमा न्यायोचित व्यवहार गर्ने l स्वतन्त्रतासँग मर्यादा र शिष्टाचार पनि हुन्छ भन्ने सिकाउनु पर्छ l
छोरीलाई समयमै गुणस्तरीय शिक्षा दिनु, सही र गलत छुटाउन सक्ने ज्ञान दिनु पनि जरुरी छ । उनलाई कसैको घर जानका लागि मात्र नभई आफ्नै घर बनाउन सक्ने क्षमता विकास गर्न प्रेरित गर्नु पर्छ । सक्षम नारी बन्न र उदाहरणीय बनाउन वातावरण प्रदान गर्नु पर्छ l छोरीलाई उनको आफ्नो रुचिअनुसार आफ्नो कार्यक्षेत्र र जीवनसाथी खोज्ने र रोज्ने स्वतन्त्रता दिनु पर्छ । जात,धर्म र भूगोलको नाममा बन्देज गरिनु हुन्न l आफैँ बुझ्ने र आफ्नो निर्णय लिन सक्ने भएपछि बल्ल अभिभावकको जिम्मेवारी पूर्ण हुन्छ तर विवाह पछि पनि बेला बखतमा उनको सम्बन्धको बारेमा बुझी समयमै उचित सुझाव दिनु पर्छ l छोरीको जीवनमा के भइरहेको छ भन्नेमा चासोसँगै खबर पनि राख्नु पर्छ र घरेलु हिंसामा परेको भान भए तुरुन्तै माइतीघर बोलाएर विस्तारमा उनको अवस्था बुझ्नु पर्छ र आवश्यक परे छोरीलाई माइतमै राख्न पनि पछि हट्नु हुन्न l मानवीय जीवन र व्यक्तिगत मर्यादा र स्वतन्त्रता भन्दा कथित सामाजिक इज्जत ठुलो हुन्न l
४. यदि वैवाहिक सम्बन्ध सौहार्द छैन भने वैवाहिक जीवन परामर्शदाता या यौन या मनोचिकित्सक भेटेर सल्लाह लिनु पर्छ र यदि सम्बन्ध बिग्रिएपछि, एक आपसका विचार र गन्तव्य फरक परे पछि तत्काल सम्बन्ध विच्छेद (डिभोर्स) गर्न ढिला गर्नु हुन्न l विश्वास टुटेपछि र दाम्पत्य जीवन अबसँगै अगाडि जान सक्तैन भन्ने लागे पछि सम्बन्ध विच्छेद नै सबैभन्दा उचित कदम हो । समाजले के भन्ला ? बाबा आमाको इज्जत के होला ? छोरा छोरीको लालन पालन जस्ता पिरले चिसिएको सम्बन्धलाई जबरजस्ती सहेर बस्नु अपवाद बाहेक प्रायश : महिलालाई अन्ततः घातक हुन सक्छ । भएको पनि त्यस्तै देखिन्छ l हामी अब यस्ता सङ्कीर्ण सोचबाट बाहिर निस्कनै पर्छ । विदेशमा यो सामान्य कुरा हो र धेरै दम्पती वैवाहिक जीवन परामर्श दाता भेट्ने या सम्बन्ध विच्छेद गर्ने गर्छन् l हाम्रो धर्ममा सम्बन्ध विच्छेदको अवधारणा नै छैन भन्नेले धर्मको अर्थ नै बुझेका छैनन् l
५. दाम्पत्य जीवनमा घरेलु हिंसामा परे या अवसाद (डिप्रेसन) र मानसिक रोगको सिकार भए अविलम्ब प्रहरी प्रशासन, कानुन विज्ञहरू र मनोचिकित्सकसँग परामर्श लिनु l स्वतन्त्र भएर बाँच्न पाउनु सबैको नैसर्गिक अधिकार हो l आजको समयमा घरेलु हिंसा या यातना कसैले पनि सहनु पर्दैन/हुँदैन । त्यस्ता विषाक्त सम्बन्ध समयमै चिनौँ र सुरक्षित रहौँ। आफ्ना परिवार, साथी सङ्गी खराब सम्बन्धमा, घरेलु हिंसा या मानसिक रोगको सिकार भएको भान भए रोगीलाई घृणा गरेर मात्र समाधान हुन्न रोगको उपचार गर्न हामीले सक्दो मद्दत गर्नु पर्छ l रैतीलाई चेतना भया l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”