बाँचेको खुशीयालीमा मनाइने पर्व 'वल्के'

सानैदेखि सुन्दै आएको एउटा उखान मरुला भनी बिशु खानु बाचे भनी वल्के खानु । वल्के र बिशु सुदूरपश्चिममा मनाउने विशेष चाड हुन । बिशु पर्व नयाँ बर्ष अर्थात बैशाख १ गतेका दिन धुमधामका साथ मनाइन्छ । यस दिन सुदूरपश्चिमेलिहरूले मिठा मिठा परिकार पकाइ खाने बिहानै नुहाएर घर भन्दा अलि टाढा पधेरा भएको ठाउँमा दही चामल वा दही चिउरा,टीका लगेर गोरलौरी ( घगारुको लठ्ठीमा बुट्टा भरेर रङ्ग लगाएर तयार पारेको ) पुज्ने गर्दछ्न । सबैजनासँगै बसेर दही चिउरा खाने घर फर्किंदा एकाअर्कालाई सिस्नु लगाउने गरिन्छ साथै घरमा नन्द भाउजू देवर भाउजूबिच सिस्नु हानाहान हाँसो मजाक गर्दै यो पर्व हर्ष उल्लासका साथ मनाइन्छ । रोजगारी तथा काम विशेषले घर तथा जिल्ला बाहिर गएका मानिसहरू पनि वल्के चाड मनाउनआ–आफ्ना घरमा फर्किने चलन भएको हुँदा यतिबेला गाउँघरमा चहल पहल अलि बढी नै हुने गरेको पाइन्छ l
सानो हुँदा मरुला भनी वल्के खानु भनेर किन भनिएको हो भन्ने प्रश्नले बाल मस्तिष्क सधैं तरंगित र झंकृत हुन्थ्यो l अहिले आएर त्यो उखानको अर्थ बुझियो यसपालीको बर्खे झरीले यति धेरै उत्पात मच्चाएको छ कि प्रत्येक दिन मान्छे मरेका खबर सुन्न परेको छ । कति सुतेकै अवस्थामा मरे कति यात्रा गर्दा गर्दै बगे कति खोला तर्दा मरे कति घाँस काट्दा खसेर, आकाशमा उडेका आकाशमै बिलाए । कतिको काख रित्तियो कसैले आमाबुबा गुमाए कसैले घर गुमाए कतिको सिन्दुर पुछियो कतिको घरको खम्बा ढल्यो कति मान्छे सहाराबिहीन एक्लो भए l सुन्न नसकिने गन्न नसकिने दुर्घटनाहरूले सामाजिक संजाल पत्रपत्रिका फेसबुकका भित्ताहरू भरिएकै छन् ।
जेठ बैशाखको उखरमौलो गर्मीको समय त्यही पानीको लागि तड्पिन्छौ पानीका मुहान सुक्छ्न मान्छे जनावर पशुपन्छी काकाकुल अवस्थामा पुग्छन् । झाडापखाला हैजा मलरिया जस्ता अनेकन रोग देखिन्छन सर्पको बिगबिगी हुन्छ । फेरि असार साउनका दुईमैना त्यही पानीले तर्सिन्छौ असार सुरु भए लगत्तै बाढी पहिरो डुवानले घर भत्काउछ, मन भत्काउछ, बाटो भत्काउछ मान्छेलाई जहाँ को त्यही अडकाएर राखीदिएको छ । कहिले हामीले प्रकुतिमाथि अन्याय गर्छौ कहिले प्रकुतिले हामिमाथि अन्याय गरेर हिसाब बराबरी गरेर राखिदिएको छ ।
वल्के दार्शनिक पक्ष
सुदूरपश्चिममा मनाइने यस वल्के पर्वको पृष्ठभूमि मानव जीवनका शाश्वत सत्यहरूसँग सम्बन्ध राख्दछ । वैशाखको गर्मी र खडेरीमा मरौँला भनेर मन लागेको खाने पर्वका रूपमा बिशु पर्व मनाइन्छ भने वैशाखलाई छिचोलेपछि बर्खाको झरी र बाढी कटियो भनेर भदौ सङ्क्रान्तिमा वल्के पर्व मनाइन्छ ।
आज साउनको अन्तिम दिन आज हामी बाँचे भनेर खुशीयालीसाथ वल्के मनाउने दिन वल्के साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचीचिएको खुसियालीमा मनाइन्छ ।अब बिस्तारै मौसम खुल्ने छ झरी र कुहिरो भित्र लुकेका डाडापाखा रङ्गविरङ्गी घरहरू टाढैबाट देखिनेछ्न चाड्पर्वको रौनक सुरु हुनेछ । वल्के साउन मसान्त र भाद्र सङक्रान्ती गरी दुई दिन धुमधामका साथ मनाइन्छ । वल्केलाई जेठो पर्वपनि भनिन्छ वल्के मनाएसँगै तिज, गौरा दशै तिहार जस्ता पर्व लगातार पर्ने हुँदा यसलाई जेठो पर्व भनिएको हुनुपर्छ । साथै लुतो फाल्ने पर्वको रूपमा पनि मानिन्छ । वल्केको पहिलो दिन मसान्तिको दिन साँझ बाबर लाउन ( सेलरोटी ) निसौसे माडा पुरी खिरलागायत आफूलाई मनपर्ने परिकार पकाएर सपरिवारसँगै बसेर खाने सुत्न अघि हातमा मेहेन्दी लगाउने चलन छ ।
बर्सातको समयमा खेतवारीमा काम गर्दा हातखुट्टा पाक्ने छाला सम्बन्धि रोगको सङक्रमण देखिने र सोबाट बच्न मेहेन्दी लाउने गरिन्छ भन्ने विश्वास र वैज्ञानिकता छ । हाल बजारमा उपलब्ध मेहेन्दी लगायपनि हाम्रा आमा बुवा बाजेका समयमा भगेरी फूलका पात ओखरको बोक्रा अनारको बोक्रा मिछिट्टीका जरा डेसि ढुङ्गामा लागेको झ्याउ ओसिलो ठाउँतिर पाउने चुकिलडाठ पिसेर हात खुट्टा खुट्टामा लगाएर पिडालुका पातले हातलाई बाँधेर सुत्ने चलन थियो । पिडालुका पातले मेहेन्दी नबाधे राती बुढी ( भुत ) आएर चाटिदिन्छ भन्ने भनाइ छ ( पिडालुको पातले बाध्नुको कारण हातमा लागेको मेहेन्दीको दाग लुगाकपडामा नलागोस भन्ने थियो होला ) वल्केको दोस्रो दिन भाद्र सङक्रान्तिको दिन बिहान् बिहानै डुप्का भात बटुक राइतो तिलको / भैराको चटनी बनाउने माइतीभन्दा टाढा रहेका छोरिचेली बोलाएर खुवाउने गरिन्छ साथै आफू भन्दा ठुलाबडा मान्यजन र ससुराली तिरकालाई वल्को ( पिडालुका पात, गाबा आप्नो बारिमा फलेका तरकारी आफुसङ्ग भएको गोरस फलफुल ) दिने गरिन्छ । हामीले मनाउने पर्वहरूले हाम्रा सम्बन्धलाई प्रगाढ पार्ने काम गर्दछ्न हाम्रो सम्बन्धमा मिठास पैदा गर्छ हामीलाई एकाअर्कासङ्ग जोडी राख्छ । आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दुध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दीयौँदेखि चलिआएको बुढापाकाहरूको भनाइ रहको छ l
हाम्रो समाजमा चाड पर्वको समयमा आफूसङ्ग भएको दिने नभएको माग्ने बाँडीचुँडी खाने चलन छ जसको घरमा दुध दिने गाई भैंसी छ्न उनीहरूले आप्ना छिमेकी नजिकका आफन्तहरू लाई दुधदही , दिने जसको बारीमा जे फलेको छ साग तरकारी,फलफूल एक अपासमा बाड्ने गर्दछ्न ।घरमा मान्छे मरेर चाडपर्व बारेकाहरूलाई सो दिन आफ्नो घरमा पाकेका निकोनौलो परिकार बाडिन्छन् । आफ्ना छरछिमेकमा रहेकाहरूसँग अरू समयमा सामान्य मनमुटाव परी बोलचाल बन्द भएपनि पर्वमा बाँडीचुँडी खाने एकाआपसमा माया प्रेम देखाउने गर्दछन् यो हाम्रो परम्पराको, समाजको सुन्दर पक्ष हो । यसलाई जोगाएर बचाएर राख्दा मानव सभ्यता अझ सौन्दर्यले भातिपूर्ण हुन्छ l
पछिल्लो समयमा वल्के सामन्तीहरूको चाडपर्व हो भनेर कहिकतै कसैले केही विरोध गरेको देखिन्छ । तर चाडपर्व संस्कार आफैमा गलत हुदैनन् त्यसलाई मनाउनेहरूले त्यसको मर्यादा महत्त्वको गलत व्याख्या गरी गलत संस्कार चलाएका हुन् । देशमा लोकतन्त्रसँगै गणतन्त्र आएको छ सबैलाई धार्मिक, साँस्कृतिक स्वतन्त्रता छ कसैलाई लाग्छ यो वल्को दिनु गलत हो किन ठुलाबडाको दैलोमा गएर वल्को दिने भन्ने लाग्छ भने नदिन सकिन्छ तैले मेरो घरमा आएर वल्को दिनै पर्छ भनेर बाध्य पारेको कतै सुनिएको पाईदैन बरु वल्को लिएर आउनेहरूको बाटो हेरी बस्ने उनीहरूलाई दिन सामाग्री तयार पार्ने गरिन्छ । चाड्पर्व जोगाऔ र मनाऔँ आफूभन्दा पछिल्लो पुस्तालाई आफ्ना पर्वको महत्त्वबारे बुझाऔँ l कसैको स्वाभिमानमा असर पर्ने कसैलाई अपमान हुने कुरालाई छोडी राम्रा पक्षलाई समात्दै सकारात्मक सोचका साथ पर्व मनाऔँ l
पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा वर्षौँदेखि मनाइँदै आएका कतिपय पुराना कला, संस्कृति तथा चाडपर्व विस्तारै हराउन थालेको भन्दै डोटेली संस्कृतिप्रेमी आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाडपर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको छ l
वल्केको सबैमा शुभकामना छ ।
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”