जिल्ला न्यायाधीशमा ३५ जना सिफारिस,पोखराको मुख्य न्यायाधीशमा रत्नबहादुर बागचन्द

न्यायपरिषद्ले रिक्त ३५ जिल्ला न्यायाधीशको पदमा नियुक्ति सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले २१ जना जिल्ला न्यायाधीशको सरुवाका साथै मुख्य न्यायाधीश नियुक्तिसमेत गरेको छ ।
बैठकले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको छ । उच्च अदालत पोखरामा कार्यरत न्यायाधीश राजनप्रसाद भट्टराईलाई भने वीरगन्ज इजलासमा न्यायाधीशका रूपमा सरुवा गर्ने निर्णय गरेको छ ।
यसैगरी राजस्व न्यायाधिकरण पोखराका कानुन सदस्य तथा अध्यक्ष पदबाट भट्टराईलाई हटाई पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय गरेको छ । उक्त बैठकबाट २१ जिल्ला न्यायाधीशको सरुवासमेत भएको छ भने रिक्त ३५ न्यायाधीश नियुक्त भएका छन् ।
चितवनमा कार्यरत दिवाकर भट्ट, सप्तरीका उमानाथ गौतम, नवलपरासीका पीताम्बर शर्मा, बाँकेका बालकृष्ण वाग्ले र ढाकाराम पौडेललाई जिल्ला अदालत काठमाडौं ल्याइएको छ । बैतडीबाट हर्कबहादुर क्षेत्री, मोरङबाट रेशराज शर्मा र पर्सा जिल्ला अदालतबाट मोना सिंहलाई पनि काठमाडौं सरुवा गरिएको छ । ललितपुरमा प्युठान जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाल र भक्तपुरमा काभ्रेपलाञ्चोकका विश्वनाथ भट्टराईलाई सरुवा गरिएको छ ।
बैठकले भोलानाथ ढकाललाई डोल्पाबाट कास्की, कृष्णजंग शाहलाई अर्घाखाँचीबाट कास्की, कञ्चनपुरबाट चाणकमणि अर्याललाई रुपन्देही र रुकुमकोटका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई काभ्रे जिल्ला अदालतमा सरुवा गरेको छ । काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश शिवलाल पाण्डेको सरुवा अर्घाखाँचीमा भएको छ ।
यसैगरी, दार्चुलाका धु्रवकुमार ढकाल चितवन र नवलपरासीका राजेन्द्रसिंह भण्डारी कञ्चपुर पुगेका छन् । बैठकले कास्कीका रामचन्द्र शर्मालाई डडेल्धुरा, सुर्खेतका हिरण्यप्रसाद भण्डारीलाई प्युठान र दाङका लोकबहादुर हमाललाई रुकुमकोट पठाएको छ । शुक्रबारको बैठकले सिराहा जिल्ला अदालतमा रहेका पुष्पराज पाण्डेलाई दार्चुला पठाएको निर्णयमा उल्लेख छ ।
३५ जिल्ला न्यायाधीश सिफारिस
शुक्रबार बसेको बैठकले ६ सरकारी वकिलसमेत ३५ जिल्लामा न्यायाधीश सिफारिस गरेको छ । न्याय सेवाकै विभिन्न समूहका कर्मचारीहरूबाट यी नियुक्ति सिफारिस भएका हुन् ।
न्यायाधीशमा सिफारिस हुनुअघि नारायण रिमाल ताप्लेजुङ, यामबहादुर बानियाँ नुवाकोट र धर्मराज पौडेल बाराको सरकारी वकिल कार्यालयमा कार्यरत थिए । महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत रुद्रप्रसाद सुवेदी र उच्च सरकारी वकिल कार्यालय पाटनकी प्रतिमाकुमारी भट्टराई पोखरेल दुवै उपन्यायाधिवक्ता जिल्ला न्यायाधीशमा सिफारिस भएका छन् ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपन्यायाधिवक्ता सुवर्णमान बनेपालीका साथै प्रधानमन्त्री कार्यालयका उपसचिव टंकबहादुर महत पनि न्यायाधीशका लागि सिफारिस भएका छन् । बैठकले उच्च अदालत दीपायलका रजिस्ट्रार तीर्थराज भट्ट, सर्वोच्चका उपरजिस्ट्रार मोहनबहादुर अधिकारी र ठाकुरप्रसाद पौडेललाई पनि जिल्ला न्यायाधीश पदमा सिफारिस गरेको छ ।
राजस्व न्यायाधिकरणमा कार्यरत स्रेस्तेदार देवी चौधरी पनि उक्त पदका लागि सिफारिस भएकी छिन् । सिफारिस हुने अन्य स्रेस्तेदारहरूमा रोल्पाका शिवप्रसाद पराजुली, जुम्लाका दीपेन्द्रनाथ योगी, पर्वतका राजु ढुंगाना, ललितपुरका दुर्गाप्रसाद भट्टराई, सुनसरीका नारदप्रसाद भट्टराई, कालिकोटका चन्द्रदेव भारती, भक्तपुरका ऋतबहादुर पुलामी मगर र सिन्धुपाल्चोककी शारदादेवी पौडेल छिन् ।
युवा तथा खेलकुद मन्त्रालयमा उपसचिव रेहकी सरिता रायमाझीलाई पनि जिल्ला न्यायाधीशका लागि परिषद्ले सिफारिस गरेको छ । केही इजलास अधिकृतको नाम पनि सिफारिस गरिएको छ । उनीहरू सबै सर्वोच्चमा कार्यरत छन् । यसरी सिफारिस हुनेमा सर्वोच्चका लालसिंह थापा, शम्भुप्रसाद रेग्मी, दुर्गाप्रसाद बस्याल, दीपक धिताल, मीनबहादुर कुँवर, इन्द्रकुमार खड्का, नवराज कार्की, डोलनाथ न्यौपाने र जयन्ती अवस्थी भट्ट छन् ।
सर्वोच्चमै सम्पादकका रूपमा कार्यरत दीक्षा प्रधानांग, अनुसन्धान अधिकृत ईश्वर आचार्य र न्यायपरिषद्का मेघनाथ चापागाईंलाई पनि जिल्ला न्यायाधीशका रूपमा बैठकले सिफारिस गरेको छ । काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी गोपालप्रसाद थापा र कानुन मन्त्रालयका उपसचिव हरिसिंह धामीलाई पनि जिल्ला न्यायाधीश नियुक्त गरिएको छ । साथै, मधेश प्रदेश सभा सचिवालयका उपसचिव अरुणकुमार झा पनि जिल्ला न्यायाधीशका लागि सिफारिस भएका छन् ।
स्मरणीय: समचार र फोटो नयाँ पत्रिका दैनिक l शीर्षक सामान्य हेरफेर गरिएको छ l सम्पादक
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...
अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ ।