आफ्नै जनताबाट लखेटिइन् शेख हसिना, के हो उनको पतनको कारण ?
ढाका : बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले सोमबार नयाँ मोड लिएको छ । उग्रविरोध प्रदर्शन खप्न नसकेर प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देशै छाडेर भाग्न बाध्य भएकी हुन् ।
स्थितिलाई नियन्त्रणमा लिँदै त्यहाँको सेनाले अन्तरिम सरकार बनाउने तयारी गरिरहेको छ । सेना प्रमुखले प्रदर्शनकारीहरूलाई संयम अपनाउन भनिरहेका छन् ।
सरकारी जागिरमा आरक्षणको मुद्दामा भड्किएको विरोध प्रदर्शनले आइतबार उग्ररुप लियो । विद्यार्थी अभियन्ताहरुले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’को क्रममा ढाकासमेत देशको कयौँ हिस्सामा आइतबार हिंसा फैलिएको थियो । गत महिना आरक्षणविरोधी प्रदर्शन सुरु भएयता अहिलेसम्म मर्नेको सङ्ख्या ३०० पुग्न लागिसकेको छ ।
हिंसा रोक्न सरकारले देशभरमा इन्टरनेट सेवा बन्द गरिदियो, कर्फ्यु लगाइयो । सरकारले तीन दिनको सार्वजनिक बिदाको पनि घोषणा गरेको थियो । तर, यी सबैले पनि स्थिति नियन्त्रणमा आउन सकेन । बंगलादेशको स्थिति बिग्रँदै गएपछि अमेरिकासमेत कयौँ देशले आफ्नो नागरिकका लागि एड्भाइजरी नै जारी गरेका थिए ।
गत महिना मात्रै आरक्षणको विरोधमा भएका हिंसात्मक विरोध प्रदर्शनमा १ सय ५० भन्दा धेरैको मृत्यु भएपछि सर्वोच्च अदालतले अधिकांश आरक्षण व्यवस्था खारेज गरेको थियो । सर्वोच्चको यो आदेशपछि विरोध प्रदर्शन साम्य हुने आशा गरिएको थियो ।
तर स्थिति यसको ठिक उल्टो भयो । विद्यार्थीहरूले उल्टै प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै चर्को विरोध प्रदर्शन गर्न थाले । प्रधानमन्त्री शेख हसिनाले हिंसा अन्त्य गर्ने इच्छा व्यक्त गर्दै विद्यार्थी नेताहरूसँग बिना सर्त वार्ताको प्रस्ताव राखेकी थिइन् ।
‘म आन्दोलनरत विद्यार्थीहरूसँग बसेर उनीहरूको कुरा सुन्न चाहन्छु । म कुनै द्वन्द्व चाहन्नँ,’ हसिनाले भनेकी थिइन् । तर विद्यार्थी आन्दोलनकारीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए ।
देशभरमा जारी हिंसाबिच प्रधानमन्त्री शेख हसिनाले सोमबार आफ्नी बहिनीको साथमा ढाका छाडिसकेकी छिन् । प्रदर्शनकारीले प्रधानमन्त्री निवास कब्जा गरेपछि हसिना राजीनामा दिएर भारततिर लागेकी हुन् ।
एक दिनअघिको अवस्था
आइतबार देशैभर भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको थियो । यी विरोध प्रदर्शनमा सयौँ घाइते भएका थिए । हजारौँ प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गर्दा यी मृत्यु भएको थियो । आइतबारको घटनामा १४ प्रहरीले समेत ज्यान गुमाए ।
बंगलादेशमा कुनै पनि आन्दोलनमा एकै दिन यति धेरै हताहत भएको सङ्ख्या अहिलेसम्मकै धेरै हो । यसअघि जुलाई १९ मा एकै दिन ६७ जनाको मृत्यु भएको थियो ।
उत्तरपश्चिमी सहर सिराजगन्जको इनायतपुर प्रहरी चौकीमा भएको आक्रमणमा १३ प्रहरीको मृत्यु भएको थियो । आइतबार दिउँसो केही व्यक्ति आएर प्रहरी चौकीमा आक्रमण गरेको बताइएको छ ।
कतिपय स्थानमा सत्तारुढ दल अवामी लिगका कार्यकर्ता र आन्दोलनरत विद्यार्थीबिच झडपसमेत भएको थियो । केही स्थानमा अवामी लिगका कार्यकर्ता र नेताहरूको पनि मृत्यु भएको बताइएको छ ।
स्थिति बिग्रिँदै गएपछि आइतबार साँझदेखि देशभर कर्फ्यु लगाइएको थियो । सरकारले आइतबार साँझ ६ बजेदेखि देशव्यापी अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको थियो भने सोमबारदेखि तीन दिन सार्वजनिक बिदाको पनि घोषणा गरेको थियो ।
यसको साथै सरकारले हाईस्पीड इन्टरनेट सेवा पनि बन्द गरिदियो । पछिल्लो समय आन्दोलनका क्रममा हाईस्पीड इन्टरनेट सेवा बन्द गरेको यो दोस्रो पटक थियो । सोमबार दिउँसोदेखि इन्टरनेट सेवा सुचारु गरिएको भएपनि सामाजिक सञ्जालहरू फेसबुक र व्हाट्सएप बन्द छन् ।
कसरी सुरु भयो हिंसा ?
अहिलेको हिंसा बीउ सन् १९७१ हो । उक्त वर्ष स्वतन्त्रता युद्धपछि पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भयो । त्यसको एक वर्षपछि सन् १९७२ मा बंगलादेश सरकारले स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्यो । बंगलादेशमा अहिले यही आरक्षणको विरोधमा प्रदर्शन भइरहेको हो ।
विरोध प्रदर्शन जुनको अन्त्यमा सुरु भएको थियो । त्यतिबेला यो हिंसात्मक थिएन । तर, यी विरोध प्रदर्शनमा हजारौँ बंगलादेशी विद्यार्थी सडकमा उत्रिने क्रम जारी रहँदा सरकारले बल प्रयोग गर्न थाल्यो अनि यस मामिलाले उग्ररुप लिन थाल्यो ।
जुलाई १५ मा ढाका विश्वविद्यालयका विद्यार्थीहरूको प्रहरी र सत्तारुढ अवामी लिगले समर्थन गरेको विद्यार्थी संगठनसँग झडप भयो । यस घटनामा कम्तीमा एक सय जना घाइते भएका थिए ।
अर्को दिन पनि हिंसा जारी रहँदा कम्तीमा अरू छ जना मारिए । जुलाई १६ र १७ मा थप झडप भएपछि अर्धसैनिक बललाई तैनाथ गरियो । १८ जुलाईमा १९ जना र १९ जुलाईमा थप ६७ जनाको ज्यान गयो । अगस्ट ४ मा भएको हिंसात्मक आन्दोलनमा अरू ९० जना मारिएपछि अहिलेसम्म मर्नेको सङ्ख्या ३ सय जना पुगेको छ ।
पुरानो आरक्षणमा किन अहिले भइरहेछ विवाद ?
सन् १९७२ देखि लागू भएको यो आरक्षण व्यवस्थालाई सरकारले सन् २०१८ मा खारेज गरेको थियो । तर जुन महिनामा उच्च अदालतले सरकारी जागिरमा आरक्षण प्रणालीलाई पुनर्स्थापित गरिदियो । अदालतले आरक्षण प्रणाली अन्त्य गर्ने निर्णयलाई पनि गैरकानुनी भनेको थियो । अदालतको आदेशपछि देशभर चर्को विरोध सुरु भएको हो ।
हङ्गामा भइरहेको आरक्षण प्रणाली के हो ?
अहिलेको आन्दोलनको केन्द्रमा आरक्षण प्रणाली रहेको छ । यस प्रणाली अन्तर्गत स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था थियो । सन् १९७२ मा लागू भएको आरक्षण प्रणालीमा त्यसयता धेरै परिवर्तनहरू भइसकेका छन् । सन् २०१८ मा यसलाई खारेज गरिँदा विभिन्न वर्गहरूको लागि सरकारी जागिरमा ५८ प्रतिशत आरक्षण थियो ।
समय–समयमा गरिएका परिवर्तनहरूबाट महिला र पिछडिएका जिल्लाका जनताका लागि १०–१० प्रतिशत आरक्षण दिइएको थियो । धार्मिक अल्पसंख्यकलाई ५ प्रतिशत र अपाङ्गता भएकालाई १ प्रतिशत आरक्षण छ । तर, हिंसात्मक प्रदर्शनको बिचमा जुलाई २१ मा बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरहरूमा ९० प्रतिशतभन्दा धेरै आरक्षण समाप्त गरिदिएको थियो ।
आरक्षणबारे सर्वोच्च अदालतको के थियो फैसला ?
जुलाई २१ मा सर्वोच्च अदालतले सबै निजामती सेवाको जागिरमा आरक्षण पुनर्स्थापित गर्ने निर्णयलाई उल्ट्याइदियो । सर्वोच्च अदालतको पछिल्लो फैसलामा अब स्वतन्त्रता सेनानीका सन्तानका लागि मात्र ५ प्रतिशत जागिर मात्रै आरक्षित गरेको छ ।
यसबाहेक अल्पसंख्यक वा अपाङ्गता भएकाको आरक्षण दुई प्रतिशतमा झारेको छ । बाँकी पदका लागि योग्यताका आधारमा उम्मेदवारका लागि खुला गरिने निर्णय गरिएको छ । अर्थात् ९३ प्रतिशत भर्ना आरक्षण कोटाबाट हुनेछ ।
सारा आरक्षण खारेजी पछि पनि किन भइरहेको थियो विरोध ?
सुरुदेखि विद्यार्थीहरूले स्वतन्त्रता सेनानीका परिवारका लागि आरक्षित जागिरको मात्रै विरोध गरेका थिए । सोको सट्टामा योग्यतामा आधारित प्रणाली लागु गर्नुपर्ने उनीहरूको माग थियो । प्रदर्शनकारीहरूले यो भेदभावपूर्ण भएको र प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका समर्थकहरूलाई समर्थन गर्ने प्रणालीको अन्त्य गर्न माग गरिरहेका थिए ।
सर्वोच्चको फैसलापछि आन्दोलन अन्त्य हुने विश्वास गरिएको थियो । तर त्यसो हुन सकेन र आन्दोलन झनै हिंसात्मक बन्दै गयो । विद्यार्थी संगठनहरूले सर्वोच्च अदालतको फैसलाले आन्दोलनको अन्त्य नभएको भन्दै प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्न थाले ।
सरकार विरोधी आन्दोलन
प्रदर्शनकारीहरूले अहिले स्पष्ट रुपमै सरकार परिवर्तनको माग गरिरहेका छन् । ‘शेख हसिनाले राजीनामा दिएर मात्रै पुग्दैन, उनीमाथि हत्या, लुटपाट र भ्रष्टाचारको मुद्दा चलाइनुपर्छ,’ शनिबार ढाकामा हजारौंको भीडलाई सम्बोधन गर्दै एक जना विद्यार्थी नेता नाहिद इस्लामले भनेका थिए । यसअघि आन्दोलनकारीले अगस्ट ६ मा ढाकासम्म ‘लङ मार्च’ गर्ने कुरा गरेका थिए । यस कार्यक्रममा सहभागी हुन उनले सबैलाई ढाका आउन आग्रह गरेका थिए ।
यो र्याली दिउँसो २ बजे ढाकामा हुँदै थियो । तर, लङ्ग मार्च एक दिन अगाडि सारेर अगस्ट ५ मा गर्ने घोषणा भयो । प्रदर्शनकारीहरू आइतबार रातिबाटै ढाकामा भेला हुन थालेका थिए ।
हसिनाले भनेकी थिइन्, ‘हिंसा गर्ने विद्यार्थी होइन आतङ्कवादी हुन्’
राजीनामा अघि प्रधानमन्त्री शेख हसिनाले आगजनीमा संलग्नहरू विद्यार्थी नभई आतङ्कवादी भएको बताएकी थिइन् । आइतबारको राष्ट्रिय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्रीले अराजक तत्त्वलाई कडाइका साथ पछाडि धकेल्न नागरिकलाई आग्रह पनि गरेकी थिइन् । बैठकमा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार, सेना, वायुसेना र जलसेनाका प्रमुख, अन्य मन्त्रालयका समिति सदस्य, मन्त्रिपरिषद् सचिव र प्रधानमन्त्री कार्यालयका मुख्य सचिवको सहभागिता थियो ।
सविनय अवज्ञा आन्दोलनको क्रममा सरकारले आतङ्कवादी आक्रमणको चेतावनी जारी गरेको थियो । विज्ञप्तिमा सबै विद्यार्थी र अभिभावकहरूलाई सुरक्षित घर फर्कन आग्रह गर्दै ‘धेरै ठाउँमा आतङ्कवादी हमला भइरहेकाले आक्रमणकारीलाई कडा कारबाही गरिने’ पनि भनिएको छ ।
विद्यार्थीको समर्थनमा निस्किए पूर्व सेना प्रमुख
अहिलेको अवस्थालाई ध्यानमा राख्दै पूर्वसेना प्रमुख र सैनिक अधिकृतले विद्यार्थीको भीडमाथि कारबाही नगर्न सुरक्षा निकायलाई आग्रह गरेका थिए । आइतबार दिउँसो पूर्वसैनिक अधिकारीहरूले ढाकामा पत्रकार सम्मेलन गरी सङ्कटको समाधान खोज्ने कुरा गरेका थिए ।
पूर्वसेना प्रमुख इकबाल करिब भुइयाले लिखित विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘सशस्त्र बलहरू तुरुन्तै आफ्नो सैन्य शिविरमा फर्किनुस् र कुनै पनि आपतकालीन अवस्थाको सामना गर्न तयार रहनु जरुरी छ ।’ यस सङ्कटको समाधान संवादबाटै खोज्न पहल गर्न आग्रह गर्दै उनले देशभक्त सुरक्षा बलले विद्यार्थीको भीडसँग भिड्नु नहुने बताएका थिए ।
विश्व शान्तिमा बंगलादेशको सशस्त्र सेनाको योगदानलाई उल्लेख गर्दै भुइयाले अहिलेसम्म आर्जित सम्मान, सम्मान र प्रतिष्ठाको परीक्षा यो समय भएको बताएका थिए । यसका साथै उनले त्यस क्षेत्रमा तैनाथ सशस्त्र बलका सदस्यहरूलाई जनताको सहयोगका लागि अपिल गरेका थिए । सेना र प्रहरीलाई शिविरमा फर्किन आग्रह गर्दै उनले ‘हामी आफैँसँग लड्न सक्दैनौँ, देशलाई युद्धभूमि बन्न दिन सक्दैनौँ,’ भनेर पनि भनेका थिए ।
विद्यार्थी प्रदर्शनका क्रममा भएका मृत्यु र गोलीकाण्डका घटनामा उनले संयुक्त राष्ट्रसंघको तर्फबाट पारदर्शी र स्वीकार्य छानबिनको माग गरेका छन् ।
एजेन्सीहरूको सहयोगमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...