पूर्वसचिव डा. मान बीकेसँग पुस्तक वार्ता

अकबरे डट कममा समाजका विभिन्न व्यक्तित्वहरूसँग उहाँहरूका रुचि, पठन सामग्री, अध्ययनको क्षेत्र, अनुभव जीवन दर्शन आदिको बहुआयामिक पक्षमा विमर्श गर्छौं । आज यस शृङ्खलामा पूर्वसचिव वौद्दिक व्यक्तित्व मधेश विश्वविद्यालयका डीन डा.मान बीके सरसँग पुस्तक वार्ता गरेका छौं ।
मान बीके सर नमस्ते ! सरको विगतको गतिविधि र हालको सन्दर्भमा रहेर केही छोटकरीमा उल्लेख गरिदिनु हुन्छ कि ?
- नमस्ते ! समय र संवादको लागि akabarey.com लाई धन्यवाद l
म नेपाल सरकारको सचिव पदबाट निवृत्त भएको साढे दुई वर्ष भयो। त्यस पछि म पूर्ण रूपले शैक्षिक कार्यक्रममा संलग्न भएको छु। निवृत्त भएको केही समयमा म अमेरिकाको एकामाई विश्वविध्यालयमा आवध्द भई प्राध्यापन गराउन थालेको हु। त्यहाँ मैले हरित वृद्धि र विकास (Green Growth Development) को पाठ्यक्रम बनाई अध्यापन गर्ने व्यवस्था मिलाएको थिए। संभवत हरित विकासमा यो विश्व मै पहिलो पाठ्यक्रम हो। त्यस कार्यक्रमको कार्यक्रम निर्देशक भई कार्यान्वयन गर्ने जिम्मा पनि मलाई नै दिइएको थियो। हुन त मैले केही वर्ष पूर्णकालीनन र पछि आंशिक रूपमा निरन्तर अध्यापन गराउदै आएको थिएँ। फुलब्राइट छात्रवृत्तिमा उत्तर विद्यावारिधि (Post-doctorate) गर्दा पनि अमेरिकाका केही विश्वविद्यालयमा पढाउने मौका पाएको थिएँ। त्यसले पनि मलाई निवृत्त भएपछि प्राध्यापन कार्यमा संलग्न हुन सघाउ पुर्यायो। गत जेठदेखि म मधेश विश्वविद्यालयको डीनका रूपमा प्राध्यापन र शैक्षिक प्रशासनमा संलग्न छु। मैले विशेषत सामुदायिक वित्तीय सेवा, गरिवी निवारण, सामाजिक समावेशीकरण, खाध्य सुरक्षा, आर्थिक प्रणाली, रैथाने शिक्षा तथा हरित विकाससँग संवन्धित सवालमा अध्ययन अनुसन्धान गर्ने गर्छु। हालै मेरो सम्पादनमा अध्येता पेशल निरौला र नीलकुमार क्षेत्रीले लेख्नु भएको प्राचीन नेपालमा गणतनत्रको अभ्यास पुस्तक प्रकाशित भएको छ। नयाँ पुस्तकको तयारीमा छु।
सरको रिसर्चको विषय र सरले गरिरहनु भएको एकडेमिक कामको बारे केही बताई दिनुहोस् l
- मैले धेरै अघिदेखि सामाजिक र आर्थिक विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छु। मैले शुरुमा कलेजको पाठ्यक्रममा आधारित पुस्तकहरु लेख्ने काम गरे। विशेष गरी काम गर्दै पढ्दै गर्नु पर्नेहरूलाई पाठ्यक्रमसँग मिल्दा पुस्तक पाइदैनथे। एउटै पाठका लागि धेरै वटा किताव खोज्दै हिड्नु पर्थ्यो। त्यस्तो अवस्था आफूभन्दा पछिल्ला विद्यार्थीहरूलाई नपरोस्, पुस्तकको अभाव नहोस् भनेर पुस्तक लेख्न थालेको थिए। उच्च शिक्षामा अध्ययनका क्रममा तथा विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक तथा आर्थिक विषयमा अनुसन्धान गर्दै आएको छु। सबै अनुसन्धानहरू सीमान्तिकृत समुदायहरूप्रति लक्षित रहेका छन् । मैले मूलत सन् २००४ मा नेदरल्यान्डमा अध्ययनरत रहदा नेपालको राज्य व्यवस्थामा दलितहरूको प्रतिनिधित्व बारे अध्ययन गरी Dalits in State Governance भन्ने पुस्तक लेखेको थिए। त्यस्तै सन् २००८ मा लघुवित्तमा सामाजिक समाबेशीकरण भन्ने पुस्तक प्रकाशित गरेको थिए। त्यही विषयमा विध्यावारिधीको लागि अनुसन्धान गरी लघुवित्तको नयाँ ढाँचा सामुदायिक वित्तीय सेवा नै तयार गरेको छु जो लघुवित्तको तेस्रो पुस्ताका रूपमा परिचित छ। यसको व्यवहारिक अभ्यास गर्न एक सामुदायिक वित्तीय संस्था स्थापना गरी हाल १९ जिल्लाका पचास हजार घर परिवारसँग कार्यरत छ। अहिले लघुवित्त र मिटरव्याज पीडितहरूको अवस्था देख्दा सामुदायिक वित्तीय सेवाको यो मोडल सही विकल्प हुन सक्छ। निजामती सेवामा रहदा Fulbright Senior Research Scholar को छात्रवृत्तीमा छनौट भई अमेरिकाबाट उत्तरविद्यावारिधि (Post-doctorate) गर्ने मौका मिल्यो। त्यस बखत मैले भोक निवारण सम्बन्धी अनुसन्धान गरेको थिएँ। त्यही अनुसन्धानमा आधारित Eradicating Hunger: Rebuilding Food Regime भन्ने पुस्तक सन् २०१८ मा प्रकाशित गरे। उक्त अध्ययनबाट विश्वमा साविकको नवउदारवाद आर्थिक प्रणालीबाट भोक निवारण हुन नसक्ने, त्यसको लागि संरक्षणकारी उदारवाद (Protective Liberalism) को आर्थिक ढाँचा अपनाउनु पर्ने नयाँ व्यवहारिक अवधारणा विकास गरेको छु। यो विषय अहिले विश्वव्यापी भएको मात्र हैन प्रयोगमा समेत ल्याउन थालिएको छ। हाम्रो जस्तो विभेद र असमानता व्यप्त मुलुकलाई समाजवाद उन्मुख बनाउन यो ढाँचा झनै आवश्यक देखिन्छ। पछिल्लो समय म हरित विकास र रैथाने सिप, कला तथा संस्कृतिलाई आधारभूतदेखि उच्च शिक्षासम्म मूलप्रवाहीकरण गर्ने अभियानमा लागेको छु। फलस्वरुप नेपाल सरकारले मेरो संयोजकत्वमा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय समिति गठन गरेको छ।
सर अहिले कुन किताब पढिरहनु भएको छ ? सरले पढ्दै गर्नु भएका पछिल्लोपटकका किताब र आफूलाई मन परेका केही किताब बारे भनिदिनु होला l
द डक्टर एण्ड द सेन्ट
-अरुन्धति रोयले गान्धी र अम्बेडकरको बीचमा भएको वार्तालापहरूलाई आलोचनात्मक टिप्पणीसहित प्रस्तुत गरेको पुस्तक 'द डक्टर एण्ड द सेन्ट' केही समय अघि पठेको थिए। त्यो पुस्तक तार्किक ज्ञानका लागि अति उपयोगी लागेको छ। सन् २०१४ मा प्रकाशित यो पुस्तकले अति पिछडिएका दलित समुदायहरूका सन्दर्भमा गान्धीको भूमिका सकारात्मक नभएको मात्र हैन अम्बेडकरले अघि सारेको राजनीतिक प्रतिनिधित्वको सुनिश्चितता सम्बन्धी प्रस्ताव रद्द गराउन जेल मै अनसन बसेका थिए । उक्त प्रस्ताव खारेज गर्न संझौता नै गर्नु परेको थियो जसलाई पूना प्याक्ट भनेर चिनिन्छ। तत्कालीन ब्रिटिश सरकारले समेत स्विकार गरी लागु गर्न खोजेको कम्युनल अवार्ड नीति पनि गान्धीले अस्विकार गरे। मूलत; अम्बेडकरले जात व्यवस्थाको ज्यादतिबाट मुक्त हुन हिन्दु धर्म त्याग्नु पर्ने तर्क अधि सारेका थिए। तर गान्धी कट्टर हिन्दु थिए र यही धर्ममा रहेर छुवाछुत हटाउनु पर्ने तर्क गर्थे। यी दुई बीचमा विभिन्न समयमा भएका संवादहरूलाई लेखिकाले समीक्षात्मक टिप्पणी सहित तार्किक ढंगले प्रस्तुत गरेकी छन्।
बुद्धकालीन समाज
- मलाई बुद्ध र बुद्धकालीन समाज र अर्थ व्यवस्था बारे जान्ने पढ्ने रुचि पहिलेदेखि नै थियो। त्यही सम्बन्धमा पछिल्लो समय उमाकान्त पौडेलले लेखेको 'बुध्दकालिन समाज' भन्ने पुस्तक पढ्ने मौका मिल्यो। ऐश्वर्य शक्तिको संकथनमा आधारित वैदिक परम्पराले गाँजेको तत्कालीन समाज र राज्य प्रणालीमा बुद्धको उदय समाज विकासमा एक रुपान्तरणकारी चेत बनेको थियो। पालि त्रिपिटकमा आधारित भएर लेखिएको यो पुस्तकमा राजकुमार सिद्धार्थ गौतमले परिबज्रक भएर गरेका समाज रूपान्तरण र राज्य प्रणालीका लागि बुद्ध दर्शनको प्रयोग/प्रभाव बारे प्रष्टाइएको छ। पुस्तकमा तत्कालीन जात व्यवस्था र बुद्धले व्यवहारिक रूपमै त्यसको निरुपणका लागि अथक प्रयास गरेको कुरा उनका वाणी र स्वयं एक शुद्रको घरमा खाना खाएकोबाट प्रष्ट हुन्छ। तथापि पुस्तकमा महिलाहरूलाई भिक्षुणी संघमा आवद्ध गर्ने कुरामा बुध्द स्वयं अनुच्छुक रहेको लगायतका टिप्पणी पनि त्यहाँ उल्लेख गरिएकोछ।
The Ten Greatest Fallacies of Anti-Capitalist
- भरखरै पुँजीवाद सम्बन्धी Rainer Zitelmann ले लेखेको The Ten Greatest Fallacies of Anti-Capitalist नामक पुस्तक पढेर सके। वास्तवमा बढ्दो पूँजिवादको विरोधलाई जवाफ दिन लेखिएको पुस्तक रहेछ। पुस्तकमा लेखकले पुँजीवादले सृजना गरेको भनिएका गरिबी असमानता लगायतका दश ठूला विषयहरूका बारेमा जोडदार प्रतिवाद गरेका छन्। पछिल्लो समयमा नवउदारवाद र भूमण्डलीकरणको रूपमा अभ्यासरत पुँजीवादले आर्थिक असमानता मात्र हैन युद्ध कै कारण बन्न पुगेको अनुसन्धानबाट नै पुष्टि भएको छ। चाहे सन् १९३० को आर्थिक मन्दी होस् वा २००७/८ को वित्तीय संकट होस वा २०२० को कोरोना महामारीको फैलावट होस पुँजीवाद कै कारण रहेको छ। यही रूपमा पुँजीवादको प्रयोग हुदै जाने हो भने छिटै अर्को महासङ्कट विश्वले भोग्नु पर्ने आँकलन गरिएको छ। तर उनी यो कुरा स्विकार्दैनन्। बरु यो कुराको प्रतिवाद गर्नको लागि यो पुस्तक लेखिएको रहेछ जसमा माथि लेखिएका कुरा भ्रम हुन भन्ने प्रष्टाउन खोजिएको छ। पुस्तकमा रुसको वोल्सेभिक क्रान्ति र चीनको सांस्कृतिक क्रान्तिको नकारात्मकताको चरम व्याख्या गरी पुँजीवादको विकल्प नभएको दलिल दिइएको छ,तर त्यही पुस्तकमा एउटा अनुसन्धानबाट विकसित (पुँजिवादी) मुलुकका मानिसहरूले समेत पुँजीवाद राम्रो नभएको परिणाम प्रस्तुत गरिएको छ। नेपाल जस्तो अल्प विकसित मुलुककाले त यहाँ व्यप्त दलाल पुँजीवाद स्वीकार नगर्ने स्वभाविकै भयो पुस्तकमा देखाइएको छ। तसर्थ लेखकको व्याख्यात्मक तर्क र अनुसन्धानले देखाएकै कुरा त्यही पुस्तकमा बाझिएका छन्। तथापि राजनीतिक अर्थशास्त्रीहरूका लागि यसले हालमा अभ्यास गरिएको पुँजीवादको बारे जानकारी दिन्छ र यसको विकल्प अर्थात नीतिगत सुधारको खाँचो रहेको अनुभूति गराउँछ। यसले मैले मेरो अमेरिकन गुरुसँग प्रतिपादन गरेको संरक्षणकारी उदारवादको आवश्यकतालाई पुष्टि गरेको भान भयो।
गोपी चा
- 'गोपी चा' मैले भरखरै पढेको साहित्यिक पुस्तक हो। गएको शहिद दिवसमा एउटा लेख आएको थियो गोपी च्यामे बारे जसले राणाकालीन समयमा गणेशमान लगायतका नेताहरूलाई जेलबाट बाहिर निकाल्न प्रयास गरे बापत मारिनु परेको थियो। वास्तवमा गोपी बाहुन परिवारमा जन्मिएको थियो तर च्यामिनी केटीसँग प्रेम गरेकोले जातिच्युत गरी छ वर्षको जेल सजाए भोगिरहेको थियो। जेलमा प्रजातन्त्रका लागि लडिरहेका राजनेताहरूसँग सम्पर्क भएपछि उनीहरूलाई जेलब्रेक गरी निकाल्न अथक मेहनत गरेको र त्यसै कारणले मारिएको पात्र थियो गोपी चा तर उसको शहिदमा नाम कहिलै आउन सकेको थिएन न त राज्यले वा इतिहासकारले नै उसको खोजी गरे। यसैले होला इतिहास जित्नेहरूको लेखिन्छ भनेको। सायद उ च्यामे नभएर गोपी शर्मा नै कायम भएको भए पक्कै खोजी हुन्थ्यो, शहिदहरूको सूचिमा नाम आउँथ्यो र सायद सालिक पनि बन्थ्यो होला। यही पात्रलाई समाएर तत्कालीन समाज, राज्य व्यवस्था, जाति प्रथा र अन्तरजातीय प्रेमलाई विषयवस्तु बनाई विश्व कुइकेलले'गोपी चा' उपन्यास लेख्नु भएको रहेछ। उक्त उपन्यास पढ्दा राणा शासन र काठमाण्डौ उपत्यकाको जनजीवन आफैले भोगे जस्तो लाग्छ। यो उपन्यास मात्र नभई एक ऐतिहासिक खोज हो।
किताबका विषयवस्तु बारे पनि बताइदिनु होला l ती किताबहरू आजको सन्दर्भमा किन महत्त्वपूर्ण छन् र किताब पढ्नु पर्ने कारण के के हुन् सक्छन् ?
- उल्लिखित पुस्तकहरू अहिलेको सन्दर्भमा एकदमै सान्दर्भिक छन्। वैदिक हिन्दु धर्मको बिगबिगी रहेको त्यो समाजमा बुद्ध दिएको चेत र सामाजिक रूपान्तरणको अवस्था जान्नका लागि नयाँ पुस्ताले बुद्धकालीन समाज भन्ने पुस्तक पढ्न उपयोगी हुन्छ। तत्कालीन लुम्बिनी राज्य गणतान्त्रिक थियो। यसबाट तत्कालीन गणतान्त्रिक राज्य,समाज र अहिलेको गणतन्त्रलाई तुलना गरेर हेर्न सकिन्छ। त्यस्तै पुँजीवाद सम्बन्धी पुस्तक विशेष गरी अर्थराजनीतिक क्षेत्रमा लागेका युवाहरूलाई उपयोगी छ। किनकि विश्व भरि नै अहिले नवउदारवाद र भूमण्डलीकरणको नामबाट पुँजीवाद व्यप्त छ। तर यस्तो पुँजीवाद दलाल पुँजीवादमा बदलिएको सबैले स्वीकार गरेको कुरा हो। अर्को तर्फ हाम्रो संविधानले राज्य व्यवस्था समाजवाद उन्मुख हुने कुरा उल्लेख गरेको छ। यस्तो अवस्थामा यो पुस्तकले अर्थराजनीतिमा रुचि राख्नेहरूका लागि आलोचनात्मक चेतका लागि यो उपयोगी हुनसक्छ।
'गोपी चा' उपन्यास राणाकालिन शासन व्यवस्था, तत्कालीनन जातीय ज्यादती बन्दी जीवन र काठमाण्डौ उपत्यकाको तत्कालीन समाजका बारेमा जान्न यो उपन्यास महत्वपूर्ण रहेको छ। विषेश गरी जातीय व्यवस्थाले लपेटेको त्यो समाज र आज पनि कुनै न कुनै रूपमा जात व्यवस्थाले प्रताडीत समाजका बीच तुलनात्मक अध्ययन गर्नका लागि पनि युवा पिंढीले यो पुस्तक पढ्न जरुरी छ। यो उपन्यास मात्र नभएर एक ऐतिहासिक खोज हो।
तपाईलाई कस्ता पुस्तक बढी मन पर्छन् ?
- आर्थिक प्रणाली, समाजशास्त्रीय दृष्टिकोण, समावेशीता, हरित विकासलगायतका विषयसँग संवन्धित किताब बढी मन पर्छन् l
तपाईलाई मन परेका लेखकहरू नि ?
अमर्त्य सेन, एन्थोनी गिड्डेन, Arundhati Roy, Dr. BR Ambedkar,आहुति, खगेन्द्र संग्रौला l
तपाईको विचारमा नयाँ पुस्ताको लागि विशेष केही पुस्तक सिफारिस गर्नु परे कुन कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
- 'प्राचीन नेपालमा गणतन्त्रको अभ्यास','भाग्यवाद र विकास','Poverty and Famines','Eradicating Hunger: Rebuilding Food Regime','Annihilation of Caste','द डक्टर एण्ड द सेन्ट.','जात वार्ता'र 'ब्रम्हाणवाद विरुद्ध बुध्द र अम्बेडकर'
पुस्तक बिनाको जीवनको परिकल्पना गर्नु भएको छ ?
- पुस्तक ज्ञानको अविनासी स्रोत भएकोले यो बिना जीवन अधुरो हुन्थ्यो। समाज अघि बढ्न गाह्रो हुन्थ्यो। ज्ञान सम्पदा पुस्तान्तरण हुन कठिन हुन्थ्यो वा संग्रहणीय हुदैनथ्यो। पुस्तकले जीवनलाई रङ्गीन बनाइदिन्छ। यो नभएको भए मानव जीवनको रङ्ग र ज्ञानको क्षेत्र फिक्का र अधुरो अपुरो हुन्थ्यो।
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”