'जीवनमा ठूलो महत्त्वाकाङ्क्षा राखिन ' - साहित्यकार दिव्य गिरी
हामीले अकबरेका ’दश प्रश्न’ सुरु गरेका छौं । यस शृङ्खलामा समाजका विविध क्षेत्रका मानिसहरूलाई हामी ’दश प्रश्न’ सोध्छौं ।
हामीसँग दोस्रो शृङ्खलामा हुनुहुन्छ - तीसको दशकका चर्चित साहित्यकार श्री दिव्य गिरी । उहाँ नेपाली साहित्यमा कविता, मुक्तक, कथा, लघुकथा, गजल, हाइकु र तांका जस्ता बहुविधामा कलम चलाउनु हुन्छ । उहाँ संवत् २०११ सालमा माता मिनु गिरी र पिता भरत गिरीका पहिलो सन्तानका रूपमा ललितपुर जिल्लाको इमाडोलमा जन्मनुभएको हो । उहाँका विभिन्न विधामा एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । हालै उहाँको ’ईश्वरको अनुहार’ कथासङ्ग्रह प्रकाशित भएको छ । अकबरेडटकमको ’दश प्रश्न’ मा यो पटक कवि तथा कथाकार श्री दिव्य गिरी –
१. नमस्कार ! आराम हुनुहुन्छ ? आजभोलि कसरी चल्दैछ तपाईंको दैनिकी ?
- नमस्कार, आराम नै छु । साहित्यकारको दैनिकी प्रायःजसो लेखन, अध्ययन, प्रकाशन र यसो साहित्यिक कार्यक्रममा सहभागिता जनाउने हो । म मेरो हालै प्रकाशित दोस्रो कथासङ्ग्रह ‘ईश्वरको अनुहार’ बारे एउटा अन्तरक्रिया गर्ने तयारी गर्दैछु ।
२. तपाईंको जीवनमा सम्झिनै पर्ने कुनै विशेष दिनको स्मृति छ भने सुनाइदिनुहोस् न ?
- मैले पहिलो पटक २०२९ सालमा लोकसेवा आयोगमा बहिदार पदमा पास भएर जागिरे भएको दिन २०२९ साल बैशाख ९ गतेको दिन विशेष लाग्छ र त्यो दिन मलाई धेरै सम्झना आउँछ ।
३. तपाईंले आफ्नो नियमित काम बाहेक घर–भान्सामा कत्तिको सघाउनु हुन्छ ?
- सानै उमेरदेखि मैले खाना बनाउँदै आएको छु । त्यो काम अहिले पनि कहिलेकाहीँ गर्ने गर्दछु । सधैँ भान्सामा सघाउनु चाहिँ पर्दैन ।
४. तपाईंको परिवारका सदस्यलाई मनपर्ने तपाईंको उत्कृष्ट ’पाककला’ के हो ? जो तपाईंको परिवारले मीठो र स्वादिलो मानेर खानुहुन्छ ?
- त्यस्तो विशेष प्रकारको खाना मलाई बनाउन आउँदैन । गाउँघरमा पकाउने साधारण प्रकारका खानेकुरा पकाउँदा उत्कृट भन्ने हुँदैन ।
५. तपाईलाई मन नपर्ने कुराहरू? जो तपाईंलाई पटक्कै मन पर्दैनन् ।
- मलाई धुम्रमान र मद्यपान मन पर्दैन । भूट बोल्ने, ढाँट्ने र अरूलाई ठग्ने कामकुरा पटक्कै मन पर्दैन ।
६. तपाईले आफ्नो जीवनमा गरेको उत्कृष्ट कार्य के हो भन्ने लाग्छ ?
- मैले अठार महिना तत्कालीन श्री ५ को सरकार र त्रीतालीस वर्ष एघार महिना त्रिभुवन विश्वविद्यालयमा नोकरी गरेर जीवनको अतिमहत्त्वपूर्ण समय बिताएँ र त्यो पनि उत्कृट नै लाग्छ तापनि मैले गरेको साहित्य सेवा नै उत्कृट कार्य हो भन्ने महसुस गरेको छु ।
७. कसैले जीवनको परिभाषामा के रहेछ ? भन्ने प्रश्न गर्यो भनें – तपाईंको उत्तर के होला ?
जीवनलाई परिभाषामा अथ्र्याउनु भन्दा पनि जीवन एक संघर्ष हो भन्ने बुझेको छु ।
८. तपाईंको भर्खरै ‘ईश्वरको अनुहार’ नामक कथासङ्ग्रह आएको छ । के छन् यी कथाहरूमा ?
- यो मेरो दोस्रो कथासङ्ग्रह हो । यो भन्दा पहिले अनामिका शीर्षकको कथासङ्ग्रह २०६१ सालमा प्रकाशित भएको थियो । ‘ईश्वरको अनुहार’ कथाभित्र उन्नाइस वटा आधुनिक कथाहरू सङ्गृहित छन् । यसमा नेपाली समाज, दस वर्षभन्दा बढी समय देशमा चलेको कथित जनयुद्धका कथाव्यथा, विदेशमा चलिरहेको युद्धबाट पीडितहरूको सत्य कथा, नारी हिंसा र बाल मनोबैज्ञानिक कथा आदि समेटिएका छन् ।
९. तपाईंले आजसम्म मानवीय सेवाभावले कुनै काम गर्नुभएको छ ?
- मैले २०६३ सालदेखि आफ्नो टोल छिमेकमा यहीँका बासिन्दाहरूबाट सामाजिक कार्यको निम्ति दिनको एक रुपैयाँ योगदान दिने अभियान अन्तर्गत ‘मोतिटार बन्धु सामाजिक कोष’को स्थापना गरेर केही सामाजिक कार्य गर्दै आएको छु । गत चैत महिनामा ३२ जना वृद्धवृद्धाहरूलाई सम्मान गरेका छौं ।
१०. तपाईंले आफैंले आफैंलाई कत्तिको चिन्नु भएको छ ? तपाईंलाई समाजले कसरी चिनोस् भन्ने लाग्छ ? - जीवनमा कहिले पनि ठूलो महत्त्वाकाङ्क्षा राखिएन । म साधारण प्रकृतिको छु र समाजले पनि त्यस्तै गरी चिनोस् भन्ने ठान्दछु ।
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'