गणतन्त्रको चीरहरण गर्दै नेताहरू
लोकतान्त्रिक गणतन्त्र विश्वमा अभ्यास गरिएको प्रजातान्त्रिक व्यस्थाको उत्तम नमुना मानिन्छ l जनतालाई सर्वेसर्वा र सार्वभौम ठान्ने र जनताले मतदानद्वारा गर्ने फैसलालाई सर्वाधिक महत्व दिने व्यवस्था लोकतान्त्रिक गणतन्त्र भन्ने आम विश्वास छ l गणतन्त्रमा कोही जन्मजात शासक,राजा र विशेशाधिकार प्राप्त व्यक्ति हुँदैंन l राज्यको उच्च निकायमा पुग्ने हक सबै नागरिकको लागि खुला गरिएको हुन्छ l स्वतन्त्रता समता र मर्यादा कसैको पनि तलमाथि नहुने व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो l
जन्मले कोही पनि व्यक्ति प्राधिकार बन्ने परिपाटीको अन्त्य गरी योग्यता र क्षमताले जोसुकैलाई जहा सुकै पुग्ने मार्ग प्रसस्त गरिएको व्यवस्था हुनुको अर्थमा गणतन्त्र प्रगतिशील,उदार र क्षमतावानको लागि प्रतिष्पर्धाको माध्यमबाट छानिन पाउने उचित परिपाटी भएको राज्यसंचालनको राजनीतिक प्रणाली हो l गणतन्त्रमा पछाडि पारिएक सीमान्तकृत नागरिक, महिला, मुश्लिम, मधेशी, दलित, अपांग, पिछडिएको भूगोललगायत राज्यको मूलप्रवाहमा जानबाट रोकिएकालाई समेत समावेशी र समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधित्व गराएर यो राज्य हामी सबैको हो l
सबैलाई समान अवसर छ l अवसर नहुनेको हकमा पनि अवसर आउँदैछ / आउँछ भन्ने विश्वासका साथ यो प्रणालीप्रति भरोषा प्रदान गरिन्छ l जुनसुकै विचार, वाद, सिद्दान्त, धर्म र संस्कृतिको पनि निर्वाध उपभोग गर्ने वातावरण तयार गरिन्छ l बहुमतले शासन गर्ने र अल्पमतको कदर सहित यथायोग्य स्थान विशेष उपलब्ध गराएर राज्यको शासन प्रणालीसँग सबैलाई आवद्द गराउनु गणतन्त्रको सौन्दर्य भनिन्छ l यी यावत विशेषताका कारण गणतन्त्र आजसम्म अभ्यास गरिएको र विकास गरिएको राजनीतिक प्रणालीमा उत्तम व्यवस्था रहेको बुझिन्छ l हरेकको हरेक स्वतन्त्रताको मानक र प्रवर्तक गणतन्त्र हो l
कुनै पनि व्यवस्था आफैमा साध्य होइन साधन हो l जसको पुष्टि संसारभर गरिएका विभिन्न व्यवस्था र तिनको सफलता र असफलताको माध्यमबाट मापन गर्न सकिन्छ l राम्रो मानिएका र नराम्रो भनिएका दुवै व्यवस्था संसारमा सफल र असफल छन् l
कतै राजतन्त्र सफल छ कतै गणतन्त्र ? कतै धर्मतन्त्र सफल छ कतै असफल ? कतै उदारवाद त कतै पुँजीवाद ? कतै साम्यवाद सफल छ कतै, समाजवाद l कतै साम्यवादको महाविजोग छ कतै प्रजातान्त्रिक भनिने मुलुकमा प्रजातन्त्रको चीर हरण भैरहेको छ l यसर्थ व्यवस्था आफै केही होइन l यद्दपि विश्वका प्राय मुलुकमा देश बन्ने प्रारम्भिक समयदेखि अभ्यास गरिएको राजतन्त्र आज करिब तीन दर्जन मुलुकमा मात्रै रहेको र आफ्नो मूलभूत चरित्र गुमाएर परिस्कृत रूपमा चलेको छ l कुनै पनि प्रणालीको अभ्यास, व्यवस्था संचालन गर्ने संचालक राजनीति चलाउने नेतागणको क्षमतामा पनि व्यवस्था उत्कृष्ट र निकृष्ट हुन्छ भन्ने संसारिक थुप्रै अनुभव उदाहारण र प्रमाणहरू छन् l
१० वर्षे जनयुद्द र १९ दिने जनान्दोलन २०६२/२०६३ को महान उपलब्धिको रूपमा हाल विध्यमान गणतन्त्रलाई लिइन्छ l गणतन्त्र सामान्य राजनीतिक उपलब्धी होइन l विश्वमा चलेको पाँच हजार वर्ष देखिको राजतन्त्रको अन्त्य र नेपालमा पृथ्वीनारायण शाहको वंशको २३७ वर्षको विरासत र एकाधिकारलाई समाप्त गरेको जनताको छोराछोरी देशको सर्वोच्च पदमा पुग्ने र जनताबाट चुनिएका जनप्रतिनिधिमार्फत देशको शासन व्यवस्था संचालन हुने प्रणाली भनेर २०६४ जेठ १५ गते जनताको सार्व भौम संसदले घोषणा गरेर आज पर्यन्त चलेको राजनीतिक प्रणाली हो l
गणतन्त्र सामान्य प्रयास र थोरै मेहनतले प्राप्त व्यवस्था होइन l हजारौको बलिदान त्याग सङ्घर्ष र हजारौ वर्षको मेहनतबाट प्राप्त मान्छेको जीवनसँग साटेर ल्याएको व्यवस्था हो l गणतन्त्र ल्याउन हजारौ मान्छे सङ्घर्षको वलिबेदिमा होमिएका छन् l हजार वर्षको प्रयत्न छ l आँशु पसिना रगत निष्ठा र त्यागको थुप्रै पहाड, सागर र खोला बगेको छ l
इतिहासको गति परिवर्तन गरी नयाँ इतिहासको निर्माण भएको छ l हजारौ राजनीतिक नेताकार्यकर्ता छातीमा आज पनि गणतन्त्रको लागि लडाई गर्दा बिझेको सुल छ l हजारौ घाइते योद्दाहरू जिवितै छन् l हजारौ बेपत्ता छन् l हजारौ अङ्गभङ्ग भएर बसेका छन् l त्यसैले गणतन्त्र ख्याल ख्यालको विषय नभएर जीवन बलिदानीको लगानीमा प्राप्त राजनीतिक प्रणाली हो l विशाल दुई छिमेकी देश भारत र चीनमा लगभग एकै समय एक वर्षको अन्तरमा (भारतमा सन् १९५० र चीनमा सन् १९४९ मा ) गणतन्त्रको आगमन भए पनि नेपालमा २०६४ मा मात्रै प्राप्त भएको हो l गणतन्त्रको लागि लाखौ पाइलाले सडकलाई लाखौ पटक कुल्चिएर गणतन्त्रको माग भएको थियो l ती पाइला ती जीवन बलिदानीको इतिहास अमूल्य छ l
१६ वर्षको गणतन्त्र अभ्यासको क्रममा गणतन्त्रलाई नेताको कठपुतली बनाउने प्रयासले भने गणतन्त्रको मूल्यको अवमूल्यन भएको देखिन्छ l गणतन्त्र सँगै अभ्यास गरिएको संघीयता र समावेशी समानुपातिक प्रणालीको मर्म र उदेश्यप्रति घात पनि भएको छ l कुनै पनि समुदाय र तिनको प्रतिनिधित्व अनुहारमा मात्रै होइन व्यवहार र मुद्दा र विषयमा हुने पर्ने गणतन्त्रमा अनुहार देखाएर विषय र मुद्दालाई ओझेलमा राखिएको कारण गणतन्त्र अस्वाभाविक रूपमा बदनाम गरिएको छ l
अनुपस्थितिमा पनि उपस्थिति बोध गराउने व्यवस्था गणतन्त्रको मर्म र उदेश्य हो l तर उपस्थितिमा मुद्दाको अनुपस्थिति गराएर गणतन्त्रको स्वाभाविक सौन्दर्यमाथि नेताहरूले घात गरेका छन् l राजनीतिक बेइमानीको कारण गणतन्त्रमा ३२ नेताका जोडी देशको संसद मन्त्री र राष्ट्रपतिसम्म बनेका छन् l आफन्त व्यवस्थापन, बुढा नेताको व्यवस्थापनमा राज्यका निकायले भार बोक्नु परेको छ भने किनारमा धकेलिएका वर्ग र समुदायको भाग मिचिएको छ खोसिएको छ l दलको सिण्डिकेट र नेताको ब्रम्हा बिष्णु र महेश्वर हामी नै हौ भन्ने स्वभाव र परिणामले व्यवस्थाप्रति प्रश्नहरू उब्जिएका छन् l पूर्व राजा पनि सलबलाएर राजनीति गर्दै सडकमा निस्किएका छन् l यतिनै बेला संसदमा प्रतिपक्षी नेता विरुद्द बोलिएको बोलीलाई निषेध गर्ने सहमति बनेको छ जसले प्रजातन्त्र बलियो होइन निर्वल पार्न मदत गर्छ l आफू पार्टी र व्यवस्थाको भविष्य खतरामा पार्ने काम गरेर नेताहरूले गणतन्त्रको क्रमशः चीर हरण गरिरहेका छन् l गणतन्त्रमा अप्रश्नीय कोही हुँदैन l प्रश्नहरू उठ्छन र तिनको यथोचित जबाफ गणतन्त्रको मूल्य हो l निषेध र बन्देज गणतन्त्रमा सोच्न सकिन्न l प्रश्न सोध्नेमा पनि आवश्यक उत्तरदायित्व गणतन्त्रमा निहित हुन्छ l आराजक आरोप र फत्तुर अशोभनीय हर्कत हो l प्रश्न गर्ने र प्रश्न गरिएका दुवैमा उत्तरदायी बन्ने व्यवस्था नै सुन्दर वाक मर्यादाको विषय हो l
जुनसुकै व्यवस्थामा पनि कमजोरी हुन्छन् l कमजोरी रहित कुनै पनि व्यवस्था रहन्न् l नेताको कमजोरी स्वार्थ र सिद्दान्तको कारण गणतन्त्रको सौन्दर्यमा धब्बा लाग्नु निश्चय नै व्यक्तिको असफलता हो l पार्टीको असफलता हो l व्यवस्थाको असफलता होइन l गणतन्त्रको विकल्प सुन्दर गणतन्त्र हो l उन्नत र सुसंस्कृत गणतन्त्र हो l पार्टीहरूको विकल्प अन्य पार्टी बन्छन् l बन्दैछन् , नेताहरूको विकल्प दोस्रो र तेस्रो पुस्ताका नेता हुन्छन् तर गणतन्त्रको विकल्प अहिलेलाई सोच्ने बेला भएको छैन l कुनै पनि तन्त्र र प्रणालीको प्रयोगभूमि मात्रै बनिरहने कि गणतन्त्रलाई मजबुत पारदर्शी समतामुलक बनाएर लैजाने ? आजको पुस्तालाई आएको चुनौती यही हो l
गणतान्त्रिक व्यवस्थाको कुशल व्यवस्थापनमा बेस्सरी खट्दा पनि प्रतिफल निस्कन सकेन भने प्रतिस्थापन ? प्रतिस्थापन पनि कुन व्यवस्था र कुन प्रणाली गर्ने ? अरू व्यवस्था अवगुण रहित नहुने कुनै विश्वसनीय आधार पनि त छैन ? दलको विकल्प हुन सक्छ/सक्ला तर गणतन्त्रको विकल्प सोच्न थालियो भने हतारो हुनेछ l
गणतन्त्र कुनै व्यक्ति विशेष र पार्टी विशेषको निजी पेवा, दान दातव्य होइन आम नेपालीको जीवन रगत पसिना र समर्पणको साझा प्रतिफल हो l गणतन्त्रप्रति गर्व गरौ l यसका खराबी केलाउ l नेता खराब भए फेरौ l पार्टी खराब भए छनौटका थुप्रै विकल्प छन् l नेता फेर्न पार्टी छोडन सबै स्वतन्त्र छौ l नेता र पार्टीहरूको असफलता व्यवस्थाको असफलता किमार्थ होइन l
गणतन्त्र आम जीवन पद्दति बनिसकेको छ l गणतन्त्र प्राप्तिको आन्दोलनका सबै ज्ञात अज्ञात योद्दाप्रति उच्च सम्मान गर्दै १७ औ गणतन्त्र दिवसको भव्य शुभकामना l
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...