अपराधको राजनीतिकरण र पार्टीहरूको डबल स्ट्यान्डको फेहरिस्त

अपराधको राजनीतिकरण
घटना नं. १
गौर घटना त्यही हो, जहाँ २७ जनाको हत्या भएको थियो । तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच एउटै स्थानमा कार्यक्रम गर्ने हठले सो घटना निम्त्याएको थियो। जहाँ माओवादीका २७ जनाको हत्या भएको थियो।
'मृतकहरु सबैको टाउकोमा गहिरो चोट देखिन्थ्यो', इन्सेक प्रतिवेदनमा भनिएको छ, 'उनीहरुलाई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरिनुका साथै आगोसमेत लगाइएको थियो।'
केही महिलालाई नाङ्गै पारेर बलात्कार गरिएको थियो। यस्तै यौन अंगमा उखुको डाँठ घोचेर यातना दिइएको, स्तन काटिएको र हत्या गरिएको प्रत्यक्षदर्शीहरुले बताएका थिए। कतिपयलाई स्थानीय बौधीदेवीको मन्दिरमा रगतको भोग दिइएको थियो। यो घटना पश्चात भएको २०६४ को चुनावमा नेकपा माओवादी संसदमा सबैभन्दा ठुलो पार्टी बन्यो भने मधेशी जनाधिकार फोरम ५२ सिट जितेर चौथो ठुलो दल बन्यो र सत्ता समीकरण फेर बदलामा निर्णयाक भूमिकामा रह्यो तसर्थ गौर घटना पनि शक्ति सन्तुलन फेर बदलको विषयको कारण कारबाहीको दायरामा आउन सकेन l आज पर्यन्त त्यो घटना सत्ताको सौदाबाजी गर्ने विषय बनेको छ l यसले के देखाउँछ भने सत्ता र राजनीति अपराध र सत्ता सँगसँगै सयर गर्छन l आज पनि उपेन्द्र यादवलाई तर्साउने टुल्सको रूपमा सत्ताले गौर हत्याकाण्डको फाइल खोल्ने र बन्द गर्ने धम्की र लोभ देखाएर अपराध सत्ता र राजनीतिलाई एक अर्काको पर्याय बनाएका छन् l
घटना नं. २
२०७२ भदौ ७ प्रदेश सीमांकनको विरोधमा कैलालीको टिकापुरमा आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो । तर, प्रशासनले निषेधाज्ञा जारी गरेको थियो सो तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिसांत्मक हुन पुगेको छ ।
छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर ८/१० हजारको संख्यामा आन्दोलनकारी सडकमा आए । आन्दोलकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा झडप भएको थियो ।
आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई आक्रमण गरेर हत्या गरेका थिए भने आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोरा सहित ७ प्रहरी र झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो l उक्त घटनाका योजनाकार भनी थारु नेता रेशम चौधरी लक्ष्मण चौधरीलगायत थुप्रैलाई ज्यान मुद्दा लगाएको थियो l घटनालगत्तै फरार रहेका चौधरी २०७४ मंसीरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा निर्वाचित भए। त्यसपछि सार्वजनिक भएका उनलाई पक्राउ गरी जेलमा राखिएको थियो । जेल जीवन बिताइरहेकै अवस्थामा उनलाई प्रतिनिधि सभाको सांसदको शपथ समेत दिलाइएको थियो l सांसद चौधरीलाई पनि सरकारको र पार्टीहरूको आफ्नो अनुकूल सत्तामा हुँदा र विपक्षीमा हुँदा दोहोरो मापदण्ड र रवैया अपनाएर राखेका छन् l टिकापुर घटनाको छानबिन गर्न २०७३ असोज ६ गते पूर्वन्यायाधीश लालको नेतृत्वमा ७ सदस्यीय आयोग गठन भएको थियो । २०७३ कात्तिक १ गतेबाट काम थालेको आयोगले १४ महिनामा आफ्नो काम सकेर २०७४ मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर सो आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन भने रेशम चौधरीलाई टिकापुर घटनामा पीडक र उनको धनको क्षति भन्दै सरकारले यसअघि नै क्षतिपूर्ति बापत १ करोड ७४ लाख रुपैयाँ दिइसकेको छ । टिकापुर काण्डलाई पनि दलहरूले आफ्नो अनुकूल व्याख्या गरेर रेशमलाई प्रयोग गरेको पाइन्छ l विगतमा रेशमको रिहाई आवश्यक भन्ने ओली यो पटक राष्ट्रपतिले २०८० जेठ १५ गणतन्त्र दिवसमा आम माफी दिएर जेलबाट छुटकारा दिँदा विरोधमा छन् भने रेशमको पक्ष विपक्षमा बोल्दै आएका प्रचण्ड नेतृत्वको सरकारले आम माफीको घोषणा गराएर उनी संस्थापक भएको दललाई सरकारमा सामेल गराएर नागरिक उन्मुक्ति पार्टीको सभापति चौधरीकी श्रीमती रन्जिता श्रेष्ठलाई मन्त्री बनाएको छ l सत्ता समीकरणको लागि रेशम चौधरी प्रयोग भएका छन् l उनी निर्दोष छन् भने किन पहिल्यै निर्दोष भनिएन ? अदालतले उनलाई दोषी करार गरेर सजाय सुनाएको थियो l उनी निर्दोष थिए भने ओलीको पालामा किन माफी दिन सकिएन ? ओली स्वयंले उनी निर्दोष रहेको कुरा टिकापुरमा नै गएर बोलेका थिए भने माफी दिँदा किन विरोध ? संसद्को सपथ खुवाउने तत्कालीन सरकारले किन जेलमा नै राख्यो ? तमाम प्रश्नहरूले राजनीति के हो अपराध के हो दोष के हो निर्दोष के हो ? छुट्याउन सकिरहेका छैनन् l
घटना नं. ३
२०७१ साउन २१ चरीमाथि प्रहरीले आठ राउण्ड गोली हानेको थियो । उनको पेट र छातीमा गोली लागेको थियो । मोटरसाइकलमा सवार चरी गोली लागेपछि सडक किनारमा ढलेका थिए ।
धादिङ घर भएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्व उपाध्यक्षसमेत हुन् । एमाले नेता केपी ओलीको संरक्षण पाएपछि चरी सार्वजनिक चर्चाको बिषय बनेका थिए । राधे समूहले गोली हानेपछि अस्पतालमा उपचार गराइरहेका चरीलाई भेट्न पुगेका ओलीले चरीको पक्षमा खुलेर वकालत गरेका थिए । चरीको घटनालाई लिएर ओलीले प्रहरीको चर्को विरोध तीव्र असन्तुष्टि प्रकट गरे किनकि चरी एमाले निकट थिए l
घटना नं. ४
२०७२ भदौ ३ गते काठमाडौंको कपुराधारा एरियामा घैंटेले प्रहरीमाथि गोली हानेर मार्यो l चन्दा असुली र आपराधिक घटनामा संलग्न कुमारलाई प्रहरीले मोष्टवान्टेडको सूचीमा राखेको थियो । उनी सामाखुसीलगायतका क्षेत्रमा चन्दा असुल्ने लगायतका गतिविधिमा संलग्न भएको, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घैंटेको पक्षमा कांग्रेस नेता
घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसी जुलुस नै लिएर शिक्षण अस्पताल पुगेका थिए । घैंटे कांग्रेस नेता अर्जुननरसिंह केसी दाजुभाइकै निकट मानिन्थे ।
घैंटे मारिएपछि केही कांग्रेस नेताहरुले उनको पक्षमा वकालत गरेका छन् । कांग्रेस सभासद जगदीशनरसिंह केसी, धनराज गुरुङ र भीमसेनदास प्रधान घैंटेको समर्थनमा उभिएका थिए भने प्रहरीले मानवाधिकार उलंघन गरेको आरोप सहित कांग्रेस केन्द्रीय सदस्य हालका कांग्रेस महामन्त्री गगन थापा मानवाधिकार आयोगमा पुगेका थिए ।
घटना नं. ५
द्वन्द्का लीन समय ०५५ सालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या भयो र त्यो राजनीतिक द्वन्द्सँग भन्दा पनि व्यक्तिगत इगोसँग सम्बन्धित थियो भनेर एमालेले लामो समय वकालत गर्यो l श्रेष्ठको हत्या अभियोगमा ०६६ मा माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई सर्वोच्चले सवैस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
ढुङ्गेल गणतन्त्र दिवसका अवसरमा केपी ओली सरकारको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि २०७५ जेठ १५ गते डिल्लीबजार कारागारबाट जेल मुक्त भएका थिए । ढुङ्गेलको विरुद्द एमालेले गर्नु नगर्नु गर्यो l हत्यारा नै भएको जिकिर गरेर उनलाई कारबाहीको लागि एमाले पार्टी नै लाग्यो l २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण भयो l ढुङ्गेल नेकपाका नेता भए l पछि प्रचन्डको नेतृत्व नेकपाबाट बाहिरिंदा बालकृष्ण एमालेमा नै बसे र २०७९ असोजमा उनी मरे l एमाले भए पछि उनका सबै दोषमा मुक्ति मिल्यो l निरपराध थिए भने उनी नेकपा हुनु भन्दा अघि नै थिए अपराधी थिए भने नेकपा भएपछि त्यो किन अपराध बन्न सकेन l किन ओलीकै अग्रसरतामा माफी दिइयो l
घटना नं. ६
२०७४ बैशाख २६ कुलबहादुर तामाङ्गलाई राती जुँगुको निलकण्ठेश्वर उच्च माविको चउरमा हतियारधारी जत्थाले होटलमा खाना खान बसिरहेको बेला चारैतिरबाट घेरा हाली भाला रोपेर तामाङ्गको हत्या गरेका थिए । पक्राउ परेका अभियुक्तले बयानमा उक्त घट्नामा संलग्नता स्वीकारेको थिए ।
गौरीशंकर गाउँपालिका जुगु हत्याकाण्डमा संलग्नमध्ये एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ्ग, गोपाल तामाङ्ग, निलम जिरेल, प्रेम वहादुर तामाङ्ग लगायतका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको आरोपमा माओवादीका नेता पूर्व मन्त्री दिदी देवी खडका र भाइ विशाल खड्का जो माओवादी दोलखा जिल्ला इन्चार्ज थिए त्यस्तै गङ्गा कार्कीमाथि पनि एमालेले चार्ज लगाएको थियो र एमालेका गौरीशंकर गाउँ पालिका वडा नं. २ का वडाध्यक्षका उमेद्वार हत्या गरिएका कुलबहादुर तामाङ्का पिता गोरे तामाङ्ले ४९ जना विरुद्द किटानी जाहेरी दिएका थिए l त्यतिबेला माओवादी कांग्रेससँग गठबन्धन स्थानीय गरेर चुनावमा गएको थियो l एमाले र माओवादीको चुनावी गठबन्धन २०७४ र पार्टी एकता २०७५ पछि तत्कालीन नेकपाले यो मुद्दालाई सामसुम पार्ने प्रयास गरे l यसरी एउटा ज्यान मारेको घटना पार्टीले आफ्नो अनुकूल हुँदा एउटा नीति र प्रतिकूल हुँदा अर्को नीति अख्तियार गरेर अपराधको राजनीतिकरणलाई टेवा दिने काम गरेका छन् l
घटना नं. ७
नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए उनीहरूले २०७७ साल असोज २० गते चलाउनेमाथि गरेको आक्रमणमा उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो । आक्रमणपछि एक महिना अस्पतालमा भर्ना भएर उपचार गरेका चलाउने अहिले पनि वैशाखी टेकेर हिँड्छन् । घटनापछि जिल्ला सरकारी वकिल कार्यालयले आचार्य, रावल लगायतमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । आरोपितह जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा छुटेका थिए । उनीहरूलाई सामान्य धरौटीमा छाडिएको भन्दै चलाउनेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
उच्च अदालत पाटनले पाँच लाख धरौटीमा छाड्न र पीडितलाई एक लाख रुपैयाँका दरले तत्काल राहत दिन समेत आदेश दिएको थियो । मुद्दा विचाराधीन रहेकै अवस्थामा गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाई मुद्दा फिर्ताको प्रतिवेदन तयार पार्न लगाएको थियो ।
आरोपितहरुले नै मुद्दा फिर्ताको निवेदन दिनुपर्नेमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौं र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालय काठमाडौंले ५ माघ २०७८ मा गृह मन्त्रालयमा मुद्दा फिर्ताको निवेदन दिएको प्रतिवेदनमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयमा शिक्षा हासिल गर्ने र शान्ति सुरक्षामा गम्भीर असर परेको भन्दै प्रतिवेदनमा मुद्दा फिर्ता लिएमा शान्ति सुरक्षा र अमनचयन कायम हुने उल्लेख थियो ।
मुद्दा फिर्ता लिएमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र आम नागरिकमा सकारात्मक प्रभाव पर्ने उल्लेख छ । के यसरी एउटा निहत्था प्राध्यापकलाई पिट्न र ज्यान जाने गरी आक्रमण गर्न पाइन्छ ? कुनै पनि दलको कार्यकर्ता हुने बित्तिकै अपराधलाई माफी दिन मिल्छ ? चलाउने दोषी थिए भने उनलाई कारबाही गर्ने कानुनी बाटो अवरुद्द थियो ?
घटना नं.८
२०७२ असार २८ गते चेतन मानन्धरको खुडा प्रहारबाट हत्या भएको थियो जुन हत्या आरोपमा कांग्रेस निकट रिगल भनिने योगराज ढकाल मुछिए र अदालतले हत्यारा प्रमाणित गर्दै जन्म कैदको फैसला गर्यो र सो क्रममा उनी ४० प्रतिशत जेल जीवन कटाएर बसेका थिए भने बाँकी ६० प्रतिशतलाई प्रचण्ड सरकारले माफी दिएर राष्ट्रपति समक्ष सिफारिस गर्यो र राष्ट्रपति रामचन्द्र पौडेलले लाल मोहर लगाई दिए l उनी छुटे उनको स्वागतमा कांग्रेस कार्यकर्ताले अविर जात्रा गरे l
घटना नं. ९
दीपक मनाङ्गेलाई गुण्डा भनियो l हप्ता असुली र अनेक गलत धन्दाको नाइके मानियो l मान्छे मार्ने उद्योग गरेकोमा उनी जेल पनि परे l पहिले उनी कांग्रेस थिए. राप्रपा भए l २०७४ को प्रदेश सभा चुनावमा एमालेको सहयोगमा स्वतन्त्र भएर चुनाव जितेर एमालेले प्रदेश मन्त्री पनि बनायो l
अहिले उनी नेकपा समज्वादीमा छन यद्दपि समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेको बताएका छन् l खैर उनी जे सुकै हुन् l उनको बारेमा पनि पार्टीहरूको धारणा आ-आफ्नो अनुकूल देखिन्छ l एकै मान्छे उस्तै समयमा कहिले असल कहिले खराब कसरी हुन सम्भव छ ? यसरी पार्टीहरूको अवसरवादी चरित्र र बेइमानी पाइन्छ l उनी अपराधी हुन् भने जहाँ र जुन पार्टीमा बसे पनि हुन् l राजनीतिक मान्छे हुन् भने जता र जहिले लागे पनि हुन् l
यी र यस्ता थुप्रै प्रतिनिधि उदाहरण विगत ३० वर्ष देखि देखिंदै आएको छ l यहाँ केवल गणतन्त्र प्राप्तिपछि दलहरूले अख्तियार गरेको दोहोरो मापदण्ड र नैतिकहराम कार्यको केही उदाहरण मात्र राखिएको छ l अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले असल र कमसलमा भेद देखिन छोडेको छ l
अपराध र अपराधीहरू सत्ताका रक्षा कवच हुन् ? सत्तामा जान चढ्ने भर्यांग हुन् ? चुनाव जित्ने बल र सामर्थ्य हुन् ? कुनै पनि घटना अपराध हो भने अपराध नै हुन्छ त्यो जो कोहीले गरेको भए र जहिले गरेको भए पनि निरपराध हुन सक्दैन l कुनै पनि विषयलाई हेर्ने दोहोरो मापदण्ड र नैतिकहीन प्रवृत्ति भएकै कारण राजनीति दुषित र फोहोरी भएको हो l राजनीति नयाँ कोर्ष निर्माण गर्न तयार भएको हो l निरपराधलाई दुख दिनु हुन्न अपराधीलाई छोडिनु हुन्न l कुनै पनि अपराधीको धर्म जात पार्टी र विचार हुँदैन l अपराधी पार्टीको बनाउने र हुने नियतले नै पार्टीहरू यति बदनाम भएका हुन् l आफ्नो पार्टीको भए तिनको मानवाधिकार हुने तिनको बारेमा बोल्नु पर्ने तर अर्काको पार्टीको भए चुप रहनु पर्ने नेताहरूको मानवाधिकार बारेको बुझाइ पनि गजबको छ l यसरी राजनीति अवसरवाद, अपराधको संस्करण, अराजनीति र अन्योल अनि कमाउको धन्दा भएको छ l
akabarey. com परीक्षण प्रसारणमा छ l
रास्वपाले बैठक बहिष्कार गरेर बाहिर आएर पत्रकार सम्मेलन गरेको थियो l
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनि...
प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु प...