एड्वानले मनायो रजत जयन्ती - पच्चीस वर्षमा डेढलाख बढी किनारीकृत समुदाय लाभान्वित

एड्वान नेपालकोरूपमा परिचित नेपाल दलित महिला उत्थान संघ (एड्वान) को रजत जयन्ती १९९८-२०२३ समारोह काठमाण्डौंमा शनिवार सम्पन्न भएकोछ। विगत पच्चीस वर्षमा एड्वानको जातीय छुवाछुत विभेद अन्त्यको निम्ति सामाजिक रूपान्तरणको अभियानबाट डेढ लाख दलित र सीमान्तकृत जनता लाभान्वित भएका छन्।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर प्रमुख अतिथि रहेको रजत जयन्ती समारोहमा एड्वानकी संस्थापक अध्यक्ष एवं सुपरिचित सामाजिक अभियन्ता, राष्ट्रिय, अन्तरराष्ट्रिय व्यक्तित्व डा. विष्णुमाया परियारको नाममा स्थापित फाउण्डेसनले एड्वानसँगको सहआयोजनामा पहिलो “आत्मसम्मान’’ (Dignity Award,२०२३ ) पुरस्कारबाट जातीय विभेद र छुवाछुत विरूद्धको अभियानका अग्रणी व्यक्तित्वहरू लेखक,सामाजिक अभियानकर्मी सञ्जीव कार्की र सामाजिक अभियन्ता रामकुमारी दासलाई कदरपत्र र जनही रू. ५० हजार राशीको नगद पुरस्कारसहित सम्मान गरिएको छ।
एड्वानकी अध्यक्ष विन्दु परियार थापाको सभापतित्वमा सम्पन्न रजत जयन्ती समारोहमा अतिथि वक्ताहरूले नेपालमा सबै प्रकारका विभेद अन्त्यका लागि उत्पीडित समुदाय, आदिवासी र सीमान्तकृत जनता बिच एकता हुनुपर्ने कुरामा जोड दिए ।
प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले दलितले सदियौँदेखि भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछुतको समस्या समाधान गर्दै उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक विकासमा जोड दिनुपर्ने बताईन्, “आफैँले बनाएको मन्दिरमा आफैँ प्रवेश गर्न नपाउने, आफैँले बनाएको थालहरूमा आफैँले खाना खान नपाउने, त्यहाँ पनि विभेद हुने, यो मान्छेमान्छे बीचको विभेद, छुवाछुतको जुन खाडल छ, यसलाई दलितले मात्रै आवाज उठाउने होइन, सम्पूर्ण जातिले आवाज उठाउनुपर्छ।”
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले जातीय भेद्भाव तथा छुवाछुत अन्त्यका लागि राज्यले नै अभियान सञ्चालन गर्नु पर्ने बताए ।
एड्वानकी संस्थापक तथा संरक्षक डा. विष्णुमाया परियारले सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायलाई शैक्षिक रूपमा अगाडि बढाउनु पर्ने बताईन् । परियारले विश्वका सबै प्राणी र मानव समान छन् सोही समानताको अवधारणालाई आत्मसात गर्दै हामी काम गर्छौ l जातीय विभेद अन्त्यको लागि दलितको मात्र होइन गैर दलितको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको कारण सबैलाई साथमा लिएर हिंडने र मानवाधिकार, समानता,स्वतन्त्रता र न्यायको पक्षमा सबैको हातेमालो सहित जात व्यवस्था सिर्जित खाडल पुरेर समतामूलक समाज बनाउने आफ्नो लक्ष्य रहेको’’ कुरा बताइन् l
पूर्व राजदूत पदम सुन्दासले नारीले हाँकेको संस्था सफल र लक्ष्य प्राप्तिमा अविचल रहेको देख्दा नारीलाई समाजको हर क्षेत्रमा नेतृत्व दिन सकिने उदाहरण एडावानले प्रस्तुत गरेको विचार सुन्दासको थियो l
विनोद पहाडी र सभासद निरा जैरुले दलित समुदायको प्राप्त अधिकार पनि गुम्ने खतरा बढ्दै गएको भन्दै अधिकार सुनिश्चितताका लागि दलित समुदायबीच एकता हुनुपर्नेमा जोड दिए ।
एड्वानकी अध्यक्ष विन्दु परियार थापाले महिला र पुरुषबिच समानताका लागि महिलाहरूलाई आर्थिक रूपमा बलिया बनाउने उद्देश्यले एड्वानले जिविकोपार्जन कार्यक्रमलाई शसक्त रूपमा अगाडि बढेको र आफ्नो एडवानमा संलग्नता देखि आफूले गरेको मनकामना मन्दिर प्रवेशको विद्रोहको स्मरण गर्दै सभाहललाई स्तब्ध बनाइन् l
रजत जयन्ती समारोहका अन्य वक्ताहरूमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य लिली थापा, संविधानसभा सदस्य तथा सल्लाहकार मा. विनोद पहाडी, प्रतिनिधिसभाका सदस्य मा. शिव नेपाली, राष्ट्रिय दलित आयोगका मा. अध्यक्ष देवराज विश्वकर्मा, आदिवासी जनजाति आयोगका मा. अध्यक्ष रामबहादुर थापा मगर, राष्ट्रिय महिला आयोगकी मा. अध्यक्ष कमला पराजुली, पीस कोरका निर्देशक ट्रोए, जर्मन दूतावासकी प्रतिनिधि लिड्या विल्याण्ड्, युएस्एडकि प्रतिनिधि सुमित्रा मानन्धर, जर्मा संस्था कुर्भ वुस्ट्रोभका प्रतिनिधि पिटर डिजेल, बहाराईनका लागि नेपाली पूर्व राजदुत पदम सुन्दास, एनआरएनएका अध्यक्ष डा. बद्री केसी, अमेरिकाका लागि नेपालका अवैतनिकदुत तथा गायक प्रेमराजा महत र व्यावसायिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष कमला हेम्चुरीलगायत थिए ।
सभामा डाक्टर बिष्णुमाया परियारकी आमा कनमाया परियारले आफ्नो अनुभव बाँडने क्रममा आफूले हिजो गरेको दुखको लगानी ११ जना छोराछोरी पढाउने रहरको प्रतिफल आफ्नै जीवनकालमा देख्न र भोग्न पाए पनि आफ्ना श्रीमान स्व. रूपबहादुर परियार त्यो अवसर थोरै मात्र देखेर स्वर्गवास हुनु भएको प्रसङ्गले समारोह निकै भावुक र स्तब्ध बनेको थियो l चितवनबाट आएका विद्यार्थी समुहको नाटकमा देखाइएको छुवाछुत र विभेदको चित्रणले पनि सभालाई निकै आकर्षित गरेको थियो l प्रतिनिधि सभाका सदस्य शिव नेपाली भन्दै थिए l 'म धेरै भावुक बने मेरा आँखा पनि अनयास रसाए, मेरो हृदयलाई बेस्सरी छोयो ' सो नाटक प्रदर्शन हेर्दा माननीय नेपाली झैँ प्रत्येक सहभागीको हृदय रसाएको थियो l आँखा भरिएको थियो l
akabarey.com परीक्षण प्रसारणमा छ l
एड्वानको रजत वर्षका तस्बिरहरू :
राष्ट्रिय दलित गोलमेच सम्मेलन राजनीतिक प्लेटफर्म पनि हो l
संयुक्त नागरिक पार्टीले यो विश्वास गर्दछकी साँचो लोकतन्त्र तब मात्र सम्भव हुन्छ जब सबै समुदायको बराब...
जुन सपना मैले र मेरो परिवारले देखेका थियौँ, त्यो यही छात्रवृतिले पूरा गरेको हो । त्यसैले सरकारप्रति...