किन मञ्जुर गर्छौं डा. केसी गरिबका गुहु,मुत,पसिना,पिप र घाउ निचोर्न छाम्न ?
प्रिय डा. केसी,
न्यायको बलात्कार गर्ने न्यायाधीश, शक्ति र पदको दुरुपयोग गर्ने दल र नेताहरू अनि अख्तियार स्वयं अख्तियार दुरुपयोग गरेर धन आर्जन गर्ने अखडा भएको देशमा तिमीजस्ता निष्ठा, समर्पण, त्याग र परोपकार गर्ने मान्छे आँखी हुन्छन् नै। बिझाउँछ नै । पवित्र सेवा र कर्मवीर बिझाउँदा खेद छ।तिमी जसका हितको लागि भनेर जीवनको बाजी मारेर भोकै बस्छौं तिनै मान्छे डाक्टर केसी पागल हो l डा. केसी मेडिकल माफिया हो, डा. केसी परिचालित व्यक्ति हो l नेपालको स्वास्थ्य र शिक्षा ध्वस्त पार्ने व्यक्ति हो भनेर तिम्रो बदनाम गर्छन् l
सर्त र स्वार्थमा काम गर्ने देशमा निःस्वार्थ नै सर्त राखेर काम हुन सक्दैन डा.केसी ? डडेलधुरा, बैतडी, डोटी, अछाम, दार्चुला, जुम्ला र हुम्लाका रैतीको किन सेवा कि गर्छौं ? हिसाब किताब र मोलमोलाइ गर्ने दुनियाँमा बेहिसाब जनताको माया गर्ने तरिका शासकका लागि अपाच्य हुन्छ। प्लिज डाक्टर साब आजै फर्क काठमाडौं। छोड् अनशन l गरिबले यो हाम्रो लागि भनेर बुझेकै छैन ? आम मान्छेले देशको दीर्घकालीन हित र फाइदाको लागि भनेर सम्झेकै छैन l बरु भनिएको छ डा. केसीको अभियान राष्ट्रहित विपरित छ l यस्तो बेला अनशन गर्नुको औचित्य नहुन सक्छ l ज्यूँदा नेपाली थोरै र मृत धेरै भएको देशमा जिउँदो अल्पमतमा पर्छ नै ?
डा. साब,
क्लिनिक खोल, महँंगोमा दबाइ बेच। क्लिनिक खोल्ने पैसा छैन होला। आफ्नो नैतिकता, निष्ठा, स्वाभिमान र आजसम्म आर्जित इमान बेच्न र बन्धक राख्न तयार बन पैसाको कमी हुने छैन। पैसा कमाऊ । रैतीको दैलो धाउन छोड। तिनका दुःख, बिमार र पीडाले तिमीलाई के हुन्छ ? मरे तिनै मर्छन्, तिनकै छोराछोरी र बाउआमाले दुःख पाउँछन्। हातखुट्टा भाँंचिए तिनको नियति नै त्यस्तै हो। दुःख पाउनेलाई दुःख लेखेको हुन्छ भनेर मन बुझाऊ । पाइला, पाइला, पलपलमा पैसाको लेखाजोखाले समाजमा इज्जत, मान र प्रतिष्ठा आर्जन हुने, इज्जतको मानक नै धन हुने राज्यमा निर्धन भएर कतिञ्जेल बस्छौँ ? छाड आदर्श, त्याग निष्ठा। सुक्रीबिक्री गर चरित्र र मानवता ?
प्रिय डा. केसी,
दुःखी र रोगीले धन्यवाद भन्न जान्दैनन्। तसर्थ छाड । गाउँ डुल्न, जोगी जिन्दगी होइन भोगी जिन्दगीमा फर्क। मखमली बिछ्यौनामा सुत्न छाडेर सुकुल र मान्द्रो ओछ्याएर गरिबका झुपडीमा सुत्न किन जान्छौं ? किन मञ्जुर गर्छौं ? गरिबका गुहु, मुत, पसिना, पीप र घाउ निचोर्न छाम्न ? देश सती र निर्धन सीमान्तकृत वर्ग, समुदाय, दलित र उत्पीडितका आँसुले सरापेको र पिरेको हो। सहरका अस्पताल देख्न नपाउनेका लागि ईश्वर बनेर जानुलाई देख्नेहरूले राक्षस देखेका छन् ? अपमान र पीडा खपेर किन लाउछौं रोगीको घाउमा मलम ? किन बाँड्छौं सिटामोल र जीवनजल ? विविध जनपक्षीय माग राखेर २३औ पटक भोको बसेर सत्याग्रह गर्दा पागल र सन्काह उपनाम र संज्ञा पाएको तिमी आज सामान्य दीनहीन मान्छेकै लखेटाइमा परेका छौं l वर्तमान प्रधानमन्त्रीले अस्पतालको एकैपटक सिलान्यास गर्नु भयो तर निर्माण गर्नु भएन l उहाँलाई भ्युटावर बनाउने रहर जाग्यो अस्पताल बनाउने बजेट भएन ?
सार्वजनिक संजाल चलाउने भए थाहा पाउँथ्यौ 'जो बिरामी हुँदा अस्पताल जान सक्दैन जसको नियति घरमै मर्नुमा छ उही व्यक्ति तिमीलाई रिप लेखेर बस्छ l' तिमीले अनशन गरेको आम मान्छेको लागि सहज र सुविधायुक्त स्वास्थ्य र सर्व सुलभ शिक्षाको लागि हो l तर माफिया र व्यापारीहरूले यस्तो भ्रम खडा गरेका छन् कि तिमी स्वयं अन्तराष्ट्रिय स्तरको माफिया हौँ l झुट छिटो बिक्छ सत्य र तथ्य हत्तपत्त बिक्दैन l त्यसमा पनि आजको जमानामा साइबर सेना राखेर संजालबाट आक्रमण गरिन्छ l तिमी जोगी जिन्दगी बाँचेको मान्छे न त्यस्ता सेना पाल्न सक्छौं न अकुत नाफा हुनेधन्दा गर्न ? त्यसैले तिमीलाई लखेट्नेहरू छन् l तिम्रो निस्वार्थ उदेश्यमा स्वार्थ देख्नेहरू छन् l यो समाज कर्म वीरहरूको होइन यो समाज लोभी पापी भ्रष्ट र बेइमानहरूको हो त्यसैले तिमीजस्ता व्यक्तिहरू यहाँ आँखी बन्नुपर्छ l बदनाम हुनुपर्छ l सत्य, सेवा र त्यागले त सबैलाई बिझाउँछ, किनकि पापले भरिएको समाजले पवित्रता देख्न सक्दैन।तिमी जसका हितको लागि भनेर जीवनको बाजी मारेर भोकै बस्छौं तिनै मान्छे डाक्टर केसी पागल हो l डा. केसी मेडिकल माफिया हो, डा. केसी परिचालित व्यक्ति हो l नेपालको स्वास्थ्य र शिक्षा ध्वस्त पार्ने व्यक्ति हो भनेर तिम्रो बदनाम गर्छन् l
डाक्टर साब,
छाड मानवीय धर्म ? आऊ काठमाडौं अनि जाँच महँगोमा बिरामी। रोगीको खल्ती छाम्, खल्तीभित्र पोको पारेको लालपुर्जा हेर र उपचार गर। मेडिकल व्यापार अपार र सुनिश्चित नाफा भएको धन्दा हो l विशेषज्ञ डाक्टर भोकै, नांगै रहन मिल्दैन। जुकाले रगत चुसे झैं चुस बिरामीको खुन र पसिनामिश्रित रकम। पैसाभन्दा ठूलो सेवा र आत्मसन्तुष्टि भन्दै देशविदेशको सेवा गरेर, विपदमा देशको सीमा नाघेर सेवा गर्दा अमेरिका, भारत, हाइटी, बंगलादेश, म्यानमार, फिलिपिन्सले के दियो तिमीलाई ? खै तिम्रो टाउको लुकाउने बास ? खै ब्यांक ब्यालेन्स र सेयर ? खै ठाउँठाउँमा घरघडेरी ? अग्रजदेखि समकालीन अनि चेलाचेली सम्पन्नताको चरमचुलीमा रहँदा सधैं उस्तै र उही सस्ता जुत्ता, भेस्ट, जाकेट र पाइन्ट अनि थोत्रो मोबाइल बोकेर, मैलो झोला भिरेर हिँड्दा किन हीनताबोध भएन ? कुन उद्देश्य र कुन लोकको यात्राको सहजताका लागि कस्ट गर्दै छौं डाक्टर साब ? छाड यावत कष्टकर यात्रा l रोज पैसाका बिटा l थन्क्याऊ कर्तव्य र फालिदेऊ इमान र नैतिकतालाई पैसाको बिटाको नालीमा l
क्राइस्ट, बुद्ध ,देवकोटालाई झैं किन खेद्छन् संस्थापनहरू जहिल्यै ? देश दुख्ने हिमाल, मधेस, पहाड र बस्ती दुख्ने मुटु गोविन्दको मात्रै किन ?
शासक र व्यापारीहरूको धन्दा भने ठिकै छ l बिरामीको रगत चुस्ने क्लिनिकहरू, पैसामा मात्रै आधारित शिक्षा। उनीहरूलाई यो प्रणालीमै सुख छ। तिमीले यो नीतिविरुद्ध बोल्यौ, त्यसैले उनीहरूले आँखाको तारो बनाए l
तिमीले स्वयं सेवा गरेको डडेलधुरा अस्पतालको हालत र अवस्थाले सधैं चुनाव जित्ने र पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको मन पोलेन, तिम्रो पोलेर के हुन्छ ? डडेलधुरा डोटीमा मेडिकल कलेजको माग राखेर अनशन बस्दा कतिले साथ दिए ? इलाम, ताप्लेजुङ र पाँचथरमा मेडिकल कलेजको माग राख्दा योगेश भट्टराईजस्ता युवा नेताले नक्कली अनशनकारी खडा गरेर तिम्रो हुर्मत लिएको बिर्सेको छ कि सम्झना छ अझै ? अस्ति भर्खर गेटाबाट लखेटेको किन भुल्या ? आज फेरि त्यहीं जानुमा के छन् स्वार्थ ? अब पनि समाज सेवा ? अब पनि परोपकार ? अनशनका क्रममा २६० दिन भोकै सुत्दा देशले पटकपटक सम्झौतारूपी चेक थमायो तर कति चेक, साटिए कति बाउन्स भयो ? राज्यले चेक बाउन्स गराउन सुहाउँथ्यो र ? चेक बाउन्स गर्नेलाई सजाय हुने कानुन छ तर नेता अनि राज्य सञ्चालकलाई यो कानुनले छुँदैन।यस्तो देशमा निष्ठाको भोकले बहुलाउनुको अर्थ हुन्न केसीजी l प्लिज बहुलाउन छोड l
सोध्न मन लाग्छ, डा. साब !
किन यसरी आफ्नो शरीरलाई मृत्युको दोसाँधसम्म पुर्याएर देशलाई सम्झाउछौं ?
किन आफ्नो स्वाभिमानलाई पैसाको भारीमा बेच्न सकेनौ ?
किन इमान र निष्ठालाई गहना जस्तै बोकेर हिंड्छौ ?
अस्ति भर्खर त्यत्रो दुर्घटनाबाट बचेर शरीर तंग्रि सकेको छैन l कसका लागि अपहत्ते गर्छौ ?
याद गर साम्यवादी र लोकतान्त्रिक पार्टीहरू खुइलिएर रंगहीन बनेको ? सत्ता राजनीतिक पार्टी र तिनका नेताहरू निर्लज्ज हुन्छन्। निर्लज्ज हुनुको विशेषता नै विश्वसनीयता नहुनु हो। लाज गुम्नु हो। नैतिकता रित्तिनु हो। इमानमा डढेलो लाग्नु हो। मान्छेहरूको अवसरवादी चरित्र र विशेषता देखेका छौं नि ? आफ्नो अभिन्न मित्र दाबी गर्नेहरू पनि आफ्नो स्वार्थमा ठेस लागेपछि तर्कन्छन् र सुविधा लिन कुद्छन्। आफ्नै साथीहरू शशी शर्मा, केपी सिंहले र दिव्यासिंह साहले आफ्नो पूर्व मान्यता स्वार्थमा साटफेर गरेर टिचिङ अस्पताल महाराजगन्जको डीन बन्ने लालचमा लिप्त बनेर आदर्श च्यातेर हिँडे ? अख्तियार प्रमुख लोकमानसिंह कार्कीको र प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनशनमा बस्दा कति साथी भागाभाग गरेर अनशन बस्ने समय र तरिका ठीक छैन भन्दै छलिए। को कति पारदर्शी र निष्ठामा छन् बुझ्यौ होला नि ? कहीं न कहीं, कतै न कतै नचुकेका मान्छे पाउन मुस्किल छ। तिमीलाई भर्यांग बनाएर मान्छेहरू कहाँ कहाँ पुगिसके ? तिमी भने खाली विरामी भन्यो स्वास्थ्य क्षेत्र बिग्र्यो भन्यो हिड्यो ? यो त भएन नि ? तिमीले भन्नुपर्ने र गाउनु पर्ने शासकको गीत र भजन हो l तर जनताको स्वास्थ्यको चिन्ता गरेर खबरदारी गर्दै पटक पटक आजसम्म २३औ पटक किन भोकै बसेर ज्यान जोखिममा राख्छौ ? आजसम्म एक दिन भोको नबस्नेले तिम्रो निष्ठालाई गिल्ला गरेका छन् l एकै पटक २८ दिन सम्म भोकै बस्दा कस्तो हुन्छ तिनलाई के थाहा ?
बिरामीले डाक्टर खोज्दै हिँड्नुपर्नेमा तिमी नै खल्ती रित्याएर बिरामी खोज्दै हिँड्छौ यो कुरा उल्टो र समयको लयभन्दा भिन्न भएन र ? नेपाली जनता सिटामोल, जीवनजल नभेटेर, मर्किएका हात कुहाएर मरे–बाँचे के फरक भयो र। नेताहरू, तिनका आफन्त विश्वका जुनसुकै महँगो अस्पतालमा उपचार गर्ने हैसियत राख्छन् तर तिमी आफ्ना नेताको चिन्ता गर किन गरिबको पक्षधरता लिन्छौ ? क्षमता र प्रतिभा हुने गरिबका छोराछोरीले मेडिकल शिक्षा सित्तैमा पढ्न नपाएर तिम्रो के बिग्रन्छ र ? गाउँ–गाउँ, जिल्ला–जिल्लामा स्वास्थ्य सेवा र अस्पताल नभएर तिमीले चुनाव नजित्ने पनि होइन ? स्वास्थ्य सेवा राज्यको दायित्वभित्र नपरेर तिमीलाई कुनै व्यक्तिगत रूपमा अनिष्ट हुँदैन। सत्ता र पार्टीको दृष्टिविहीनता र लुटतन्त्र, विश्वविद्यालय राजनीतिक भागबन्डा, जनतालाई टाउको दुख्दैन। बौद्धिक, प्राज्ञिकहरूको अपमान हुँदैन भने तिमी किन चुप बस्दैनौ ? विषालु गोमन सर्परूपी राज्यसंयन्त्र भएका बेला तिम्रो एन्टी स्नेक भेनम नैतिकता इमान, त्याग, निःस्वार्थता र निर्भयले कतिञ्जेल उपचार गरिरहन्छ देशको ?
लोभमा परे विश्वविद्यालयको उपकुलपति, सांसद, मन्त्री बन्ने आश्वासन र अवसर मात्रै होइन, ज्यान हर्ने धम्की पनि पाएका हौला ? किन निर्भय भएर किन फकिर बन्दै डुल्छौ ? जिन्दगीको माया नगरेरै देशको माया गर्ने तिम्रो शैली अनशन बस्दा नै देखिएको हो। निर्जल, निराहार उपवास बसेर मृत्युनजिक पटकपटक पुर्याउन अनशन बसाउने तिम्रा प्रायोजक को हुन् ? दीन, दुःखी नेपाली नै हुन् कि अरू छन् ? सधैं जीवनमरणको दोसाँधमा बस्न राजी गराउने तत्व के हो ? ७७ वटै जिल्लामा कम्तिमा दुई पटक स्वास्थ्य शिविर राखेर के पायौ ? खै तिम्रो समर्थनमा मान्छेहरू ? खै नागरिक समाज र बौद्धिकले सत्य बोलेको ? खै तथ्य टेकेर तिमी माथिको आरोपको प्रतिवाद गरिदिएको ?
डा. केसी, तिमीले बालेको निष्ठा र इमानको दियो अझै बलेको छ। तर यो समाज त्यस दियोमा तेल हाल्दैन l बरु पानी हालेर निभाउन खोज्छ। यही त हाम्रो चरित्र हो l निष्ठावानलाई बदनाम गर्ने, त्याग गर्नेहरूलाई हेला गर्ने, अनि पापी र भ्रष्टलाई सम्मान गर्ने हाम्रो राष्ट्रिय संस्कार बनेको छ l
कुन प्रयोजन बोकेर तिमी देशका सबै जिल्लामा स्वास्थ्य शिविर चलाउन सक्ने भयौ ? क्राइस्ट, बुद्ध, गान्धी ,देवकोटालाई झैं किन खेद्छन् संस्थापनहरू जहिल्यै ? देश दुख्ने हिमाल, मधेस, पहाड र बस्ती दुख्ने मुटु गोविन्दको मात्रै किन ?
स्मरणीय:२०७७ साउन २५ को अन्नपूर्ण पोस्टबाट साभार र समय सन्दर्भ अनुसार केसी संसोधनसहित पुन:प्रकाशित गरेका छौं l
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'