अण्डा फुटाउन रास्वपाले उचालेको घन - डा. बिष्णु परियार / सञ्जीव कार्की

रास्वपाले इलामको उपचुनावलाई जीवनमरणको रूपमा लियो र अण्डा फुटाउन घन नै उचाले झैँ आफ्नो सम्पूर्ण शक्ति र सामार्थ्य परिचालन गर्यो । केपी ओली प्राय भन्छन् : 'कर्कलो काट्न बन्चरोको प्रयोग आवश्यक हुन्न l' आफ्नो सम्पूर्ण सामर्थ्य इलाममा खर्च गरेको विषयलाई कर्कलो काट्न बन्चरोको प्रयोगको बिम्ब अनुपयुक्त नहोला शायद ? यद्दपि कर्कलो काटिएन ? अधिक शक्ति संचय र अत्यधिक शक्ति परिचालन, र अत्यधिक भय पनि अयोग्यताको प्रमाण हो । इलामले दिएको निस्कर्षमा पनि रास्वपाले शासकीय क्षमतामा अझै सिक्न बुझ्न र काम गर्न बाँकी रहेको भाव सम्प्रेषण भएको पाइन्छ l नतिजा सकारात्मक नै भए पनि अनावश्यक शक्ति प्रयोगलाई राम्रो मानिन्न तर रास्वपाले परिणाम अपेक्षा मुताबिक नभएर निराशाजनक ल्यायो त्यसैले यसको नेतृत्व यतिबेला गम्भीर प्रश्नहरूको घेरामा छ । बौद्धिकहरू तर्क गर्छन् रास्वपा सत्ताबाहिर बसेर चुनाव लडेको भयो आजको दृश्य अर्कै हुने सम्भावना पनि उत्तिकै थियो l रास्वपा सभापति लामिछानेको एकल ढिपीमा सत्ता सयर गर्न गयो l
रविले परम्परागत पार्टीहरूकै शैलीमा मन्त्रीका बथान नै लिएर इलाम पुगे । जबकि नयाँ पार्टीको नीति र प्रवृत्ति यस्तो नहुनु पर्थ्यो, मन्त्रीको प्राथमिकता इलामको एउटा निर्वाचन क्षेत्र होइन देश हुनुपर्ने थियो । मन्त्रीलाई काम गर्न दिनुपर्नेमा भोट माग्न गाउँ डुलाइयो । यसो गर्नु नयाँ दलको कार्यशैली पुरानाको भन्दा किमार्थ नयाँ देखिएन । सत्ताको तडक भडक नवीन र सुसंस्कृत राजनीतिको तुजुक बन्नु शोभनीय थिएन । सांसदहरू सबैलाई अनिवार्य झैँ इलाम उतारियो ।तथापि घनले अण्डा फुटाउन मात्रै होइन चुकाउन पनि सकेन । चुनावलाई खेलको नियम झैँ मात्र लिएर प्रतिस्पर्धा गरेको भए हारमा हताश र निराश नै हुनु पर्दैनथ्यो । पार्टी जीवनमा एक दुई अवधि चुनाव हार्दैमा फरक पर्दैन । झन एउटा उपचुनाव हार्नु अति सामान्य कुरा थियो । एउटा बिर्सन लायक सपनाको रूपमा यसलाई लिन पनि सकिन्थ्यो र सक्नु पर्छ । रास्वपाले नयाँ हुनुको अनुभूति जनतालाई दिन जानेन् बरू मन्त्री सांसदहरूको मेला नै लगाएर शक्ति प्रदर्शन गर्यो र आफूलाई पुरानाको नयाँ संस्करण मात्र भन्न सक्यो ।
रास्वपाको भर्जिनिटी अण्डर एजमै तोडियो
जतिबेला रास्वपा भर्जिन थियो खालि हात थियो । पुरानालाई विस्थापन गरेर नयाँ विचार नयाँ शैली र नयाँ प्रवृत्ति स्थापनार्थ काम गर्ने राष्ट्रिय आकांक्षाको सपना मात्रै थियो । त्यसैले रास्वपा जनअनुमोदित भयो २० सिट पायो र पछि अर्को एक थपेर २१ बनायो । त्यो सिट सङ्ख्या विपक्षको लागि र नयाँ दलको लागि भव्य इन्ट्री थियो । जब रास्वपाले 'नो नट अगेन'लाई 'वान्समोर अगेन' भनेर पुराना पार्टीसँग अण्डर एज (सत्ताको लागि उपयुक्त जनमत ) नहुँदै लहसिदै, सत्ता साहचर्यमा लागेर आफ्नो भर्जिनिटी गुमाउदै पहिलोपटक चुक्यो । सरकारमा नै जाने जनमत रास्वपाको लागि कुनै पनि माने र तर्कमा उपयुक्त थिएन l यसलाई कानुनी नैतिक जुन तर्कले पनि पुष्टि गर्न सक्दैन ।
रास्वपासँग राजनीतिको अनुभव कम छ । राजनीति र भिडलाई चिन्न सक्ने क्षमता अझै अभिवृद्धि भै सकेको छैन । जसरी र जो भए पनि चुनाव जित्नु पर्छ भन्ने मानसिकता मात्रै छ । झन उसलाई के थाहा छैन भने रास्वपा जन्मदै सक्दो सराप्ने र चुनाव ताका धुवाँधार विरोधगर्नेहरू यति छिटो रास्वपाका भित्रिया भएका छन् कि त्यसको बखान गरी साध्य छैन । रास्वपाको विरुद्ध अमुक पार्टीको पक्षमा ज्यान छोडेर लागेकाहरू तोसिमा, सोविता र शिशिर, हरि ढकाल र रवि लामिछानेको विजयी सभाका सबभन्दा ठुला हर्ताकर्ता थिए, चर्को नारा तिनैले लाए जसले भोट हालेनन् मात्रै होइन विरोधी मोर्चामा रहेर चुनाव अघिसम्म प्रहार गरीरहे । आज तिनै मान्छेहरू आलोचनात्मक विमर्श गर्नेहरूको तेजोबोध गर्न लाहिरहेका छन् l जुन प्रवृत्ति रास्वपाको लागि आत्मघाती छ l
आलोचनात्मक विमर्शप्रति अनिष्ठा
रास्वपा पनि पुरानै पार्टीहरू जस्तै बाहुन क्षेत्रीकै चंगुलमा रह्यो l पहाडे क्षेत्री बाहुन हिन्दु पुरुषकै मात्र बाहुल्य देखियो l संविधानले प्रात्याभूत गरेको समानुपातिक र समावेशीकरणको सिद्धान्तलाई अधिकतम उपयोग गर्ने दल बन्न सकेन l
रास्वपाकाहरू मन्त्री हुने बित्तिकै सबभन्दा पहिले तिनै मान्छे खादा माला र बुके लिएर मन्त्रालय पुगेका मात्रै होइन, मन्त्रीहरूका नजिकमा मान्छे तिनै बनेर मन्त्रालयमा तिनीहरूकै हालीमुहाली चलेको थियो / छ । एवम् रितले समानुपातिक प्रतिनिधित्व गर्ने रास्वपाका प्रायः सांसदहरू पनि तिनै मान्छेबाट घेरिए । रास्वपाले चुनावको बेला सपोर्ट गर्ने तर चुनावपछि र सरकारमा जाने बेला र सरकारमा हुँदा आलोचनात्मक विमर्श गर्ने स्वदेश र विदेश रहेर सघाउने बाटो देखाउने शुभेच्छुकहरूलाई विरोधी र आफ्नो स्वार्थको बाधक देख्यो ।आलोचनात्मक रचनात्मक खबरदारीलाई हामीलाई प्रश्न गर्ने तिमीहरू को हौ ? को शैलीमा रास्वपाका नेताकार्यकर्तामा अभिमानको बोसो यसरी पलायो कि २०८४ स्वत:हाम्रो हो । रास्वापाको विनयी स्वभाव अहंकारमा अनुवाद भए झैं प्रतीत हुन्छ ।जसरी नि जितिन्छ, अब कुनै तागतले कतै र कहीं रोकिन्नौको भाव रास्वपाका थुप्रै नेतामा देखियो । हिजोका हितैसीहरू सत्तामा पुगेपछि तर्कन थाले । तसर्थ यो पटक बौद्धिक तप्काको सार्वजनिक अपिल रास्वपाको पक्षमा कम थियो । फलतः इलामको परिणाम अनपेक्षित रह्यो ।
इलामको अभिमत
मंसिर, ४, २०७९ सालमा रास्वपाले इलाम–२ बाट समानुपातिक मत ४६८७ पाएको थियो भने १३८० प्रत्यक्ष तर्फ हात पारेको थियो । ४६८७ मत पाउँदा रास्वपासँग पुरानालाई 'नो नट एगेन' भन्ने आकर्षक नारा थियो बुढा नेता विस्थापन र पुराना पार्टीलाई बिदा गर्ने राष्ट्रिय सङ्कल्प,योजना र उदेश्य थियो । हामी अरू जस्तो होइनौ भन्ने भर्जिन आवेग थियो । भोट माग्ने २१ जना सांसदको लर्को र उपप्रधानमन्त्री सहित ४ मन्त्रीको बथान थिएन । तर झन्डै पाँच हजार मत पार्टीको चुनाव चिन्हमा परेको थियो । त्यो त्यतिवेलाको रास्वपाले नयाँ नेपाल र नयाँ पार्टी बनाउँछ / बन्नेछ भन्ने राष्ट्रिय आकांक्षाको प्रतिफल थियो l
आज रास्वपासँग शक्तिशाली गृहमन्त्रालय सहित उपप्रधानमन्त्री र अन्य तीन मन्त्रीको पावर र पहुँच छ,जसको काम सत्ताको नाजायज र गैरकानुनी कामको ढाकछोपको अविच्छिन्नता मात्र पक्कै होइन l राष्ट्रिय योजना आयोग सहित सत्ताका अवयवमा अवसर प्राप्त थुप्रै मान्छेहरू छन् ।पार्टी संगठन छ । पार्टीमा लाखौँ सदस्य आवद्ध छन् । चुनावपछि धेरै बौद्धिक र प्राज्ञिकहरू थपिएका छन् । थिंक ट्यांकको कमी छैन । तर दुर्भाग्यपूर्ण स्थिति हामी अरूभन्दा पृथक र सत्ताको लालची होइनौं भन्ने नैतिक र सामाजिक तागत भुत्ते भएको छ । नैतिक क्षमता क्षय हुँदै गैरहेको छ l आसाको उज्यालो देख्ने नेपाली जनताको पवित्र सपनाहरूमा विस्स्तारै विष घोलिएको प्रतीत हुँदैछ l
हिजो ललाकारेका, दुत्कारेका नेता र पार्टीहरूको काख र सिरानी रास्वपाको लागि आज प्रिय र बाध्यकारी भएको छ । विगतमा पत्रकारिताको माध्यमबाट रास्वपा सभापति आफैले उत्खनन् गरेका, उधिनेका फोहोर र समस्याको थुप्रोले रास्वपा आज आफै घेरिएको छ । रास्वपाका सभापतिलाई कसैले औलो तेर्स्याउन पर्दैन, उनका आफ्नै विगतका वाणीहरू, खबरदारी र निगरानीहरू आज बिझाउने भएर ठिङ्ग उभिएका छन । उनले विकृति र विसंगतिका विरुद्ध खरो प्रश्न गरेका भिडियोहरू उनी सत्तासीन भएपछि ऐना भएर आएका छन् । आफ्ना विगतका धारिला, आवेगात्मक, संवेगात्मक, आक्रामक प्रश्नहरूले रवि लामिछानेलाई गिज्याइरहेका पाइन्छन् । त्यसैले पार्टीको सरकारको र संगठनको त्यत्रो तागत लगाउँदा रास्वपाले डेढ वर्ष अघि पाएको आफ्नो मतमा मुश्किलले ३६३ मात्र बढाउन सक्यो र ५०५० मत पायो । पार्टीको पोजिसन तेस्रोबाट चौथोमा झर्यो र राजनीतिक भाष्यमा भनिने जमानत नै जफत भयो । २०८४ को चुनावमा एकल बहुमतको हाँक र दावी प्रस्तुत गर्ने पार्टीको लागि यो असामान्य परिघटना हो । यसबाट सिक्ने कि सिद्धिने ? दुईमा एक गर्ने पर्ने हुन्छ । आशा छ रास्वपाले सिक्ने बाटो अबलम्बन गर्नेछ l
यसो किन भयो ?
अहिलेको मन्त्री परिषदमा अरू मन्त्रीहरूभन्दा काम गर्नेमा रास्वपाकै मन्त्रीहरूको नाम छ । तर मन्त्रीमा हुनुभन्दा संसदमा र संसद्को विभिन्न समितिमा रास्वपाका सांसदहरू प्रभावकारी थिए । रास्वपाको संसदमा प्रतिपक्षी बेन्चको उपस्थितिले संसद आकर्षक थियो । रास्वपाका नेताहरू अध्ययन विश्लेषण र मूल्याङ्कन सहित आउँछन् तिनका अगाडि टिक्न सत्ता पक्ष र अन्य सांसदले आफूलाई तयारी गर्नु पर्ने विशेष दवाब थियो । अरू पार्टीका नेताहरू रास्वपाका सांसद तर्फ सङ्केत गर्दै आफ्ना सांसदहरूलाई तयारी नपुगेको भनेर असन्तोष प्रकट गर्थे ।
आम मान्छे सांसदहरू भनेका रास्वपाका जस्ता पढेलेखेका विषय वस्तुमा गहिरो अध्ययन गरेर आउने, संसद्को गरिमा बढ्ने गरी आम मान्छेले रास्वपाका सांसदहरूको तयारी खोज र अनुसन्धान सहितको प्रस्तुति, विषयको उठानलाई नियालेर २०८४ पछि बहुमतको सरकाको सपना देखेका थिए । पहिलो पटक सरकारमा गएर चुकेको अनुभूत गरेको रास्वपालाई नयाँ र अनुभव नभएको शङ्काको लाभ थियो त्यसैले २०८० वैशाखमा चितवनबाट रविले बहुदलपछि सबैभन्दा फराकिलो मतान्तर ४२९६२ सहित विजय प्राप्त गरे भने तनहुँबाट डा. स्वर्णिम वाग्ले परम्परागत कांग्रेसको किल्ला वर्तमान राष्ट्रपति विजयी भएको गढलाई गर्ल्याम ढालेर रास्वपाको घण्टी चिन्हलाई १४७००को फराकिलो मतान्तरसहित सानदार ढङ्गले विजयी बने ।
रास्वपाले संसदमा पाएको त्यो तागत नैतिक बल सत्ता बाहिर बसेर सत्ताको सातो खाने र सत्तालाई जनभावना अनुसार काम गर्न खबरदारी गर्ने, निगरानी गर्ने थियो । जनताको पक्षमा नीति नियम बनाउन दवाब दिन काफी थियो l सत्ताको खेलमा तलमाथि गर्न बार्गेनिंग गर्न र साझेदारी गर्न रास्वपाले दोस्रोपटक पनि जसरी मरिहत्ते गर्यो र स्वार्थ बाझिने मन्त्रालय र पार्टी सभापतिको सरकारमा विराजमान हुने इच्छालाई लाल मोहर लगायो त्यो आम मान्छेको अपेक्षा विपरित थियो । स्वतन्त्र बुद्दिजीवी शुभेच्छुक र हितचिन्तकहरूको भावना र मनसायलाई लत्याएर कुनै सार्वजनिक विमर्श नगरी रास्वपा आफ्नो मर्जीले, ढीटले, हतारले रातारात सत्तामा गयो । जसले आफ्नो पूर्व मान्यता भन्जन गर्यो । विश्वसनीयतामा आँच आयो,त्यसैले इलामको उपचुनावले रास्वपालाई उसकै मूल्याङ्कनमा ‘ रास्वपाको घण्टी नबजाएर जनताले खतराको घण्टी बजाइदिए।‘
रास्वपाले काठमाडौँमा हारेका रमेश खरेललाई बारमा उपचुनाव लडाएर पार्टीलाई अन्य पार्टी जस्तै बनाउन सुरू गरिसकेको थियो । २०४६ पछि कांग्रेस र एमालेले पंचायतका कुख्यात मान्छे भित्र्याउन प्रतिष्पर्धा गरे जस्तै, २०६३ पछि माओवादीले जर्नेल कुमार फुदुङ् पूर्व कुख्यात अन्चाधीशलाधीश सूर्यबहादुर सेन वोलीहरूलाई माओवादी कोटामा संसदमा भित्र्याउने र कांग्रेस एमालेमा बदनाम पात्रहरू माओवादी प्रवेश गराउन विशेष भूमिका खेले जस्तै रास्वपालाई पनि आफ्नो उमेद्वार बनाउन अन्य पार्टीमा सक्रिय मान्छेकै आवश्यकता पर्यो । नयाँ मान्छेलाई ग्रुम गर्न किन सकिएन ?
केही अपवाद बाहेक आज गाउँपालिकादेखि नगरपालिका हुँदै पार्टी विभिन्न एकाइहरूमा कांग्रेस एमाले माओवादीमा पटक पटक अवसर प्राप्त गरेका, ठेक्का गर्ने, व्यापार गर्ने र धन कुबेरहरू रास्वपाको नेतृत्व लिएका छन् र लिन तँछाड र मछाड गरिरहेका छन् । त्यही शृंङ्खला हो रमेश खरेल र मिलन लिम्बुको उमेद्वारी अनि अनिल केशरी शाहहरूको पार्टी प्रशिक्षण विभागको नियुक्तिसम्म । रास्वपाले नयाँ र उदाहरणीय मानक बनाउनु पर्नेमा भत्काउन सुरू गर्यो । जसले गर्दा चुनावपछि उमेद्वार आफ्ना मतदाताप्रति अनुत्तरदायी रहने र चुनावमा मात्र लर्को लागेर सम्बन्धित क्षेत्र जाने प्रवृत्तिको पुनरागमन भयो । शायद रमेश खरेल अब बारा जाने छैनन्, यसको जबाफ रास्वपालाई पक्कै सस्तो पर्दैन ।
मामला सहकारी
अधिवक्ता स्वागत नेपाल तर्क गर्छन् :‘रवि लामिछानेका विरुद्ध जति प्रमाण छन् त्यति नै प्रमाणका आधारमा जिवी राईलाई दोषी मानिएको छ र उनी माथि कारबाहीको माग गरिएको छ । तसर्थ रवि लामिछानेले गृह मन्त्रालय रोज्नु त्यसैमा आफै जान मरिहत्ते गर्नु र सत्ता लिप्सामा रहेर आफू माथि छानबिन गर्न नदिनु विडम्बना हो ।
स्वार्थ बाझिने मन्त्रालय रोज्नु विगतमा पनि कमजोरी थियो आज पनि कमजोरी रहेको छ । ग्यालेक्सी टिभी छोड्दा जिवी राईको अपारदर्शी र गैर कानुनी काम थाहा पाएर रविले छोडेका होइनन् । उनले विगतमा पनि जिवी राईको लगानी र आफ्नो टिभीमा लगानी बारे प्रष्टिकरण दिँदा लगानी कर्ताले लगानी बकाइदा कर तिरेर ल्याएको र आफूले स्वेट शेयर लिएको लगानी आफ्नो नभएको बताएका थिए l तर त्यसको व्यवहारिक कारणबस आफूले १५ प्रतिशत शेयरको कागजाज मिलाउनभने सही छाप र ल्याप्चे लगाएको बताएका थिए जसलाई कानुनले नचिन्ने कुरै भएन l यहाँ कानुनको अनविज्ञताको छुट लामिछानेको हकमा हुने देखिन्न l ग्यालेक्सी छोड्ने बेला यत्रो टेलिभिजन चलाउन दिएर ठुलो छाती गरेकोमा जिबी राईको मुक्त कण्ठले प्रशंशा गर्दै छोडेका थिए यसर्थ उनी जीवी राईको गलत धन्दा थाहा पाएर निस्किएका हुन् भन्ने अर्थ लगाउन सकिन्न ।जिवी राईको जालसाजी थाहा पाएर विद्रोह गरेको भए उनले आज छाती चौडा पारेर धक फुकाएर भन्न सक्थे । गलत गरेको थाहा पाएको दिन मैले छोडेर हिंडेको हुँ । यो ठुलो नैतिक तागत बन्थ्यो । तर ग्यालेक्सी पस्दा बस्दा होस् या छोड्दा उनले जिवी राईको स्तुति गाएर नै रहेका थिए । यसैले शङ्काको सुइ रविमा सोझिएको हो l जसबाट उन्मुक्ति पाउनु जरुरी देखिन्छ l सफा हुनु र सफाई पाउनु फरक कुरा हो l रवि सफा नै होलान् तर सार्वजनिक रूपमा प्रश्न उठेपछि र विगतमा आफूले त्यस्तै प्रश्न उठाएको कारण उनलाई यसबाट छलिने छुट पक्कै नहोला l
रवि सन्देहको घेरामा छन् , झन आफूविरुद्ध छानबिन गर्ने कुरामा रवि क्रुद्ध छन् । आफूलाई प्रधानमन्त्रीले निर्दोष भनेको, नेकपा एमालेका अध्यक्षले प्रोटेक्ट गरेको र प्रहरी प्रमुखले सफा भनेको तर्क गर्छन् । हिजो अरूलाई त्यसरी असम्बन्धित विषयमा समेत प्रश्न गरेर खेर्खार गरेर नाम कमाएका रवि आफ्नो विषय उठ्दा जहिल्यै तर्कने गर्छन फन्कने र पन्छिने गर्छन् । दुईवटा नागरिकता र पासपोर्टको विषयमा पनि रविलाई आफ्नै तर्क र प्रमाणमा दम छ भन्ने लागेको थियो र त्यस्तै जिकिर गरिरहेका थिए, आखिर परिस्थिति त्यस्तो भएन, नागरिकता नवीकरण गर्नुपर्यो । यसर्थ पनि आम मान्छेलाई उनको रवैयासँग असन्तुष्टि छ ।यसलाई चिर्ने कुनै गतिलो र विशेष तर्क र प्रमाण रविसँग छैन ।आफूमाथि प्रश्न उठेपछि जिम्मेवार नेताले जबाफदेही बन्न पनि आफूमाथिको छानबिनको लागि खुल्ला दिलले सहयोग गरेर त्रुटि नगरेको भए सफाइ पाउनु उचित थियो तर त्यसो गर्न रवि मानिरहेका छैनन् ।बल्लतल्ल एउटा संसदीय समिति नामको लाजले मुख छोप्ने टालो बनाएर कांग्रेस र सत्ता पक्षले समिति बनाए l एउटा उदीयमान पार्टीको उदीयमान नेतालाई आफ्नो बारेमा प्रश्न उठ्दा छलिने कारण के हुन्छ ? जसको परिणाम इलाममा झल्कियोभन्दा अन्यथा नहोला, किनभने इलाम चेतनास्तरमाथि भएको जिल्लामा नै पर्छ । इलामको सन्देश रास्वपाको भावी यात्राको लागि शुभ सङ्केत मानिन्न l
चुनावमा उमेद्वार छान्दा पार्टीले गर्ने प्रि इलेक्सनको मानक इलाममा रास्वपा आफैले भत्कायो र नेताले टीका लाइदिने तर्फ नै रास्वपा गयो फलत:आन्तरिक लोकतान्त्रिक विधि क्षणिक प्रलोभनमा मात्र देखियो । पार्टी सदस्य भएको व्यक्ति मात्र उमेद्वार बन्न पाउने पार्टीको नीति विपरित विवादास्पद पृष्ठभूमि र माओवादी त्यागेका मिलन लिम्बु उमेद्वार बनाइए जसको परिणाम रास्वपाको मत बढ्न सकेन ।
सर्वेश्वरवाद र रवि
सर्वेश्वरवादको सिद्धान्त अनुसार ईश्वर संसारको प्रत्येक वस्तुमा व्याप्त छ । यसले ईश्वरभन्दा स्वतन्त्र कुनै सत्तालाई अस्वीकार गर्दछ । यसका अनुसार जुनसुकै चिज सत्य हुन्छ, त्यो ईश्वर हो । ईश्वर तथा विश्व एक अर्काको लागि अनिवार्य हुन्छन् । विश्वका लागि ईश्वर आवश्यक हुन्छ किनभने ईश्वरले विश्वमा आफूलाई व्यक्त गर्दछ । यो नै ईश्वरको स्वभाव हो ।
पूर्वीय दर्शनमा सर्वेश्वरवादको मत राख्ने कोही नभए पनि पश्चिमी दर्शनमा स्पानोजा,फेकनर, हर्डर, गेटे आदिले सर्वेश्वरवादको प्रतिनिधित्व गरेको पाइन्छ (अशोकविक्रम जि.सी. साङ्ख्य दर्शन र मार्क्सवाद ) । यस्तै अवधारणा र विश्वासको आधार रास्वपाले रविमा देखेको छ र त्यही अनुसार व्यवहार गरेको पाइन्छ । नेता ग्रेटम्यान सर्वेसर्वा, सर्वव्यापी र सर्वज्ञाता र कार्यकर्ता एसम्यान भन्ने भाष्यकै अर्को रूप रास्वपा भएको देखिन्छ, पार्टी सभापतिमा असीमित अधिकार र उनको मर्जीनै आप्त वाक्य भन्ने र मान्ने भाष्यलाई राजनीति मानिन लागेको देखिन्छ l राजनीतिमा विकृति र एउटा नेताको व्यक्तिगत स्वार्थ र इच्छाको पुनरावृत्ति गर्ने भाष्य बदल्ने राजनीति चाहिएकोहो ।खाँचो देशको राजनीतिक शल्यक्रिया हो ।रास्वपा हाइ डोजको पेनकिलर प्रेस्क्राइभ गर्छ र शल्यक्रिया गर्नबाट रोक्न चाहन्छ l यो नितान्त: देशरुपी विमरीको दीर्घकालीन हितको र स्वयम् रास्वपाको हितको मामला होइन l
दलित निषेधित मन्त्रीमण्डल र रास्वपा
झन्डै १५ प्रतिशत जनसंख्या भएको दलित समुदायबाट रास्वपाले मन्त्री छान्न सकेन् । दलितलाई हेर्ने मामलामा रास्वपा पनि पुराना पार्टी झैँ भयो । आफ्नो पार्टीको एउटा दलित समुदायको व्यक्तिलाई मन्त्री मण्डलमा समावेश गरेर एउटा सन्देश प्रवाह गर्ने मामलामा रास्वपा चुक्यो । आजको मन्त्री परिषदमा दलितलाई निषेध गरिएको छ जसको साक्षी र प्रमाण स्वयं रास्वपा हो । यसर्थ दलित समुदाय पनि रास्वपासँग भरोसा गर्न सकिरहेको छैन ।
आफूलाई अप्रश्नीय ठान्नु रास्वपाले दोहोरिरहने महा भुल हो । अरूले गरेका अपराधका प्रमाण लुकाएर राख्ने र अप्ठ्यारो परेका बेला मात्र देखाउने प्रवृत्ति पनि रविमाथि सन्देह गर्ने विषय बनेका छन् । उनले पहिलो पटक गृहमन्त्री हुँदा पत्रकार सम्मेलन ( २०८० माघ, २२ ) सार्वजनिक गरेका कान्तिपुर लगायतका बदमासीलाई गृहमन्त्री हुँदा किन छुट दिए ? कारबाहीको दायरामा ल्याएनन् र पुन गृहमन्त्री हुँदा किन कारबाहीको आँट गरेनन ? यसर्थ पनि शंका रवितिर तेर्सिएका छन् जसको चित्त बुझ्दो जबाफ आएको छैन । माइतीघर कार दुर्घटनामा सम्भव सिरिहियालाई कारबाही किन भएन ? सम्भवले बयानबाजी गरेको सहकारी सम्बन्धी समाचार कान्तिपुरमा लुकाउन बारम्बार गरिएको आग्रह सत्य हो कि होइन ? त्यही आग्रह नमान्दा कैलाशमाथि पक्राउ फण्डा भन्ने सम्भवको आरोपको यथोचित तर्क खै ? सत्तामा २०८४ भन्दा अगाडि नजाने प्रतिवद्दता किन फेर्नु पर्यो र रातारात सरकारमा जानु पर्यो ? रविकै पार्टीको कारण अस्थीरता र सत्ता परिवर्तन, मध्यावधि आदि रोकिएको हो भनेर मान्ने हो भने त्यो रोक्न सरकार बाहिर बसेर पनि कुनै पार्टीलाई समर्थन गर्न सकिन्थ्यो नि होइन र ? सत्तामा नै जानु किन पर्यो ? ओली देउवा र प्रचण्डको निगाहा र कृपामा सरकरमा बसेर उनीहरूकै बदमासी विरुद्ध उनका कार्यकर्ता नेताको गलत हर्कत विरुद्ध कारबाही गर्ने विषय आम मान्छेले पनि पत्याउन लाज लाग्ने विषय हो यसर्थ सत्तामा जानुको अर्थ असान्दर्भिक थियो र छ । गिरीबन्धु टि स्टेटको मामलामा रास्वपाको मौनता आम मान्छेले रुचि मानिरहेका छैनन् l
रविको गतिविधि पुण्य आर्जन गरेपछि पापको सजाय छुट हुनुपर्छ भन्ने जस्तो देखिन्छ । पुण्यको फल र पापको फल दुवै स्वीकार गर्ने क्षमता मात्र लोकतान्त्रिक पद्धतिको सौन्दर्य हो । लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ र त्यसको जबाफ पनि उचित तवरले कानुनी ढङ्गमा दिन पाइन्छ। प्रश्न गर्नेले तपाई केही समय फोहोरीसँग सुतेर आउनु भएकोले फोहोर तपाईको कपडामा पनि छ है भनेर भनेका हुन् । फोहोरी किटान गरेका होइनन् । यसर्थ कपडा धोएर आउनु होस् भन्ने आम मान्छेको पनि चाह देखिन्छ । यही विषय र मुद्दालाई मिडियाले बोकेका हुन् । मिडियाको प्रतिपक्षीय धर्म भनेको आजसम्मको अभ्यासमा सत्तालाई खेद्नु नै हो, सत्ता र वर्चस्वको दोष केलाउनु हो । मिडियाको खेदाइमा को परेनन् ? बीपी पुस्पलाल,गणेशमान, मनमोहन केपी,गिरिजा प्रचण्ड, ज्ञानेन्द्र शाह को खेदिएनन् र रविले आफूलाई मात्र खेदो गरे भन्नु । नयाँलाई निषेध र नयाँ विरुद्ध पुरानाको सिन्डिकेट नेपाली राजनीतिको विशेषता नै हो l नडराउनु न बिराउनु,गलत भन्ने र लेख्नेका विरुद्ध कानुन र न्यायको संवैधानिक हक नेताको लागि पक्कै छिनिएको छैन । गालीगलौज लान्छनामा उत्रिनुको साटो कानुनी उपचारको बाटो तय गर्न सकिन्छ । कुनै पनि राम्रो र असल कामले नै आफै प्रचार प्रसार खोज्छ मिडियाकर्मी जस्तो स्टन्ट र स्कुप मरिरहनु पर्दैन । चर्चा र लोकप्रियता एकै चिज होइनन् । रवि र रास्वपाको मार्ग लोकप्रिय हुनुपर्थ्यो तर चर्चामा केन्द्रित भए झैँ देखिन्छ l
एउटा दृष्टान्त
९३ हजार १ सय ४९ मत प्राप्त गरी हेमबहादुर मल्ल २०४३ मा धनुषाबाट राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद) सदस्यमा विजयी भएका थिए । उनी आफूमात्र अत्याधिक मतका साथ विजयी भएनन्, आफ्नी श्रीमती शारदा मल्ललाई पनि ५३ हजार ९ सय ९६ मतसहित हेमबहादुरले विजयी बनाएर राष्ट्रिय पञ्चायतमा पुर्याए ।उनी मन्त्री पनि बने पंचायतमा उनको दबदबा रह्यो l धनुषामा त्यत्रो मत पाएको र श्रीमती समेत जिताएकोले हेमबहादुर मल्ल शेरे धनुषाको उपनामले चर्चित थिए ।
त्यसको पाँच वर्ष पछि भएको संसदीय निर्वाचनमा हेमबहादुर मल्लको जमानत जफत भएको थियो ।
इतिहास हिजो हिंडेर आएको बाटो हो इतिहासबाट सिक्ने हो । चुनावमा जितको दम्भ पाल्ने र हारको लघुताभास राख्नेहरूले इतिहास अध्ययन गर्नु होला । मास साइक्लोजी पनि हो, मास हिस्टेरिया पनि हो, मासको घर हुदैन,मासको भर हुँदैन, मास अध्ययन गर्ने विषय हो । मत र मास स्विङ हुने गर्छन् । असंगठित भिडसँग अस्थीर चरित्र हुन्छ । सङ्गठित शक्तिसँग स्थिर स्वभाव पाइन्छ l
यसर्थ ढिपीले भन्द लचिलोपनले सधैँ हानी मात्र गर्दैन । झुक्ने ठाउँमा झुक्नु जान्नु पनि स्वयंमा मर्यादा आर्जन गर्नु हो । आफ्नो पोजिसनलाई रिथिंक र रिभिजिट गरेर रविले सवाल व्यक्तिको होइन एउटा संस्थाको बनाउनु पर्छ । रास्वपा भित्र भविष्य बोकेका सम्भावाहरू छन् ,नेपाली जनताले बोकेका असीमित, इच्छा र आकांक्षाको चुलिँदो पहाड छ । भ्रस्टाचाररूपी महारोगको निदानको गहिरोआवश्यकता बोध छ l सुनौला उदेश्य र रहर चाहने नेपालीहरूको सपना र मनोकामनाको बन्ध्याकरण हेर्न नचाहने शुभेच्छुकहरू छन् ।
पेनकिलर प्रेस्क्राईभ
देशको समस्या जटिल तर अपरिहार्य शल्यक्रिया हो तर रास्वपा हाइ डोजको पेनकिलर प्रेस्क्राईभ गरिरहेको छ । दुख्छ भनेर अप्रेसन गर्न डर लाग्यो भने विरामी निको हुन्न मृत्युशैयामा जान्छ । असंसदीय कुरूप खेल अरूले खेलेकै थिए त्यसबाट त्राण पाउन रास्वपालाई मान्छेहरूले रोजेका र खोजेका हुन् । रास्वपा पनि सरकार गिराउने बनाउने र आफ्नो पोजिसन सुरक्षित गर्ने खेलमा लागेको मन नपराउने स्वयं रास्वपाभित्र धेरै छन् तर सभापतिको निर्णय र आदेशको विपरित उभिने सहास तिनमा छैन । मिडिया माथिको रविको बमबारीप्रति पनि रास्वपा भित्र स्वर नभएको होइन केवल प्रतिरोधको तागत मात्र नभएको हो । गलत प्रेसक्रिप्सन र पेनकिलर संवेदनशील विरामीको (अप्रेशन योग्य ) लागि उचित होइन् l रोगको स्थायी समाधान आवश्यक छ l रास्वपा संसद्को टालटुले अभ्यास र सत्तामा जसरी नि बस्ने र जाने क्रियाकलापमा अभ्यस्त बन्दैछ l
पार्टीहरूको इतिहास
सतही कुराको आयु लामो हुन्न ।कांग्रेस आज पनि किन अस्तित्वमा छ भन्दा यसले गरेको अथक सङ्घर्ष, त्याग बलिदान र व्यवस्था परिवर्तनको नेतृत्वको कारण हो ।(२००९-२०१२ ) मा आफ्नो पार्टीको महामन्त्रीमा दलित समुदायको व्यक्तिलाई छनोट गरेको थियो ।२०१५ को चुनावमा महिलालाई ( द्वारिकादेवी ठकुरानी – क्षेत्र नं. ६६ ) डोटी डडेल्धुराबाट प्रत्यक्ष चुनाव लडाएर मन्त्री बनाएको थियो जतिबेला आजको स्वीजरल्यान्डमा महिलालाई भोटिंग राइट समेत प्रदान गरिएको थिएन।नेपालले महिलालाई प्रत्यक्ष चुनावमा जिताएर मन्त्री बनाएको १२ वर्ष पछि (सन् १९६८ ) मात्र स्वीजरल्याण्डमा महिलालाई भोटिङ् राइट प्राप्त भएको थियो । कांग्रेसहरू लोकतन्त्रको लागि जेल जना हमेशा तयार थिए । त्यस्तै नेकपा एमाले पनि सङ्घर्ष परिवर्तन र मानक स्थापना गरेर नै आएको हो । गणतन्त्र र समावेशीता आरक्षण दलित र महिलाको मुद्दामा माओवादी पनि अग्रगामी शक्ति हो उनीहरू पनि आफ्नो टाउकाको मोल तोकिएर जीवन मरणको सङ्घर्ष पश्चात उभिएका पार्टीहरू हुन् । पुराना पार्टीसँग आत्माआलोचनाका विषय मात्र छैनन् गौरवमय दिन अतितहरू पनि छन् ,यसर्थ ७५ वर्ष अघि देखिका पार्टीहरू सक्रिय छन् ।
विकल्प भनेको पुरानोको ठाँउमा नयाँ मात्रै होइन,उत्तम विकल्प हो । उस्तै एकै खाले अर्को होइन । नयाँ सोच, शैली र संस्कारको नयाँ अवधारणाको उपस्थिति हो । पुरानाको प्रतिस्थापन नवीन तरिका अनुशासन र सुसंगत राजनीतिले गर्ने हो । सुसंस्कृत राजनीतिको जग बसाल्ने भन्दा तातै खाऔ जल्दै मरौंको स्थितिमा आजको राजनीति छ । राजनीति हतारको गेम होइन । राजनीति सोची विचारी खेलिने खेल हो जहाँ जित्न ( रिजल्ट ) अलि समय पर्खनु पर्छ ।
अत:बहुदलीय व्यवस्थाको आगमन पछिका झन्डै ३ दशकको अकर्मण्यता , आक्रोशको ज्वाला ,प्रतिशोधको राँको उत्तेजनाको आँधी , पद्धतिको बिल्लिबाठ र विवेकको लिलामभन्दा नयाँ आएको रास्वपा ठिक भनेर जनताले परीक्षणको लागि पठाएका हुन् तर रास्वपा अनुतीर्ण बन्ने सम्भावनातिर गैरहेको देखिन्छ । रास्वपाको भविष्य अहिल्यै सकिएको र सकिन्छ यो ठोकुवा होइन, तर पुरानै कुराको पुनरावृत्ति आजको माग होइन l सच्चिन सक्दा भविष्य रास्वपाकै छ किनकि रास्वपा भित्र विकृतिको चाङ फाल्न नसक्ने गरी थुप्रिएको छैन तर विकृति थप्दै जाँदा भने सेफ जोनको रास्वपा डेन्जरजोनमा शीघ्रातिशीघ्र नपुग्ला भन्न सकिन्न l आज रास्वपाको जन्म दिवस यस अवसरमा भव्य शुभकामना सहित यो विमर्शमा बहस चलाउन सहभागी हुन विश्लेषण र मनन् योग्य भए मनन गर्न हार्दिक आग्रह गर्दै यो आलेखको बिट मारिन्छ l
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”