वन डढेलो नियन्त्रण तथा रोकथामका उपायहरू - इ. ज्ञानबहादुर कार्की

यो वर्ष केही वर्ष यताकै सबैभन्दा धेरै जङ्गलमा डढेलो लागेको छ । डढेलो निभाउन जाँदा आगोमा परेर वा डढेलो मानव बस्तीमा पुगेर आगोमा परी ज्यान गुमाउनेको संख्या बढिरहेको अवस्था छ । डढेलोको कारणबाट धन जनको क्षति,वातावरणीय असर, बन्य जीवजन्तु तथा चराचुरुङ्गीको विनास, प्रदुषित हावाको कारण मानव स्वास्थ्यमा पर्ने दीर्घकालिन असर आदि परिणामलाई हेर्दा डढेलोबाट भइरहेको सम्भावित क्षतिको मूल्याङ्कन गरी साध्य छैन ।
२०८०फाल्गुनदेखि २०८१ बैशाखको तेस्रो हप्तासम्म डढेलोको कारण १ अर्ब ५० करोड बढीको क्षति भएको आँकलन गरिएको छ । डढेलो लाग्नको कारणहरू धेरै भएता पनि धेरैजसो डढेलो मानव सृजित कारण र हेलचेक्र्याइँबाट भएको कुरा विभिन्न तथ्यहरूले देखाएको छ । कुनै पनि दुर्घटना पश्चात यसले पुर्याएको क्षति व्यहोर्नु भन्दा दुर्घटना हुनबाट जोगिनु नै धेरै बुद्धिमानी हुन्छ । त्यस्तै डढेलो लागिसकेपछि यसबाट हुने क्षति व्यहोर्नु भन्दा डढेलो लाग्न नदिन कोशिश गर्नु कम खर्चिलो र हरेक दृष्टिकोणबाट सरल हुन आउँछ । त्यसैले सम्बन्धित सबैले डढेलो लाग्न नदिने तर्फ ध्यान दिनु जरुरी छ । दुर्भाग्यवश डढेलो लागिहाल्यो भने पनि यसबाट ठूलो धनजनको क्षति हुनबाट जोगिन आगो नियन्त्रण गर्न भरपर्दो आकस्मिक योजना तयार गर्नुपर्छ ।
वनमा डढेलो नियन्त्रण तथा रोकथामको लागि ध्यान दिनुपर्ने केहि कुराहरू यस प्रकार छन् :
१.सुख्खा तथा गर्मीको समयमा जङ्गलको छेउछाउमा हावाले आगोको झिल्का उडाएर जङ्गलमा पुग्ने ठाउँमा कुनै पनि प्रयोजनको लागि आगो बाल्नु हुँदैन। कुनै कारण विशेषले जङ्गलको छेउछाउमा आगो बालिएको छ भने यसलाई राम्रोसँग ननिभाइकन छोड्नुहुँदैन छोड्नैपर्दा भरपर्दो मान्छेको उपस्थितिमा मात्र छोड्नुपर्छ ।
२.सलाई काँटी वा राम्रोसँग ननिभेका चुरोटका ठुटा सुख्खा पात पतिंगर भएका ठाउँमा फ्याँक्नु हुँदैन । जङ्गलको क्षेत्र हुँदै पार हुने सडकबाट गुड्ने सवारीका यात्रुहरुबाट वा पैदल यात्रुहरुबाट वा अन्य जो कोहीबाट हुने यस्ता कुराहरुको हेल चेक्र्याईले आगोलागी सुरु हुने भएकोले यस्ता कुराहरूमा सबैले होसियारी अपनाउनुपर्छ ।
३.बच्चाहरूबाट ख्यालख्यालमै आगोसँग खेल्ने क्रममा घर वा जङ्गलमा आगो सुरु हुन सक्छ । यस विषयमा बच्चाहरूलाई सुसुचित गर्नुपर्छ, उनीहरूको क्रियाकलापको निगरानी गर्ने र सलाई, लाइटर आदि आगोको स्रोत बच्चाहरूले नभेट्नेगरी राख्नुपर्छ ।
४.विद्यालयहरूमा पनि विद्यार्थीहरूलाई आगलागी घटना हुन नदिन प्रशिक्षित गर्नुपर्छ ।
५.प्रत्येक सामुदायिक बन उपभोक्ताहरुलाई सम्बन्धित विभाग तथा स्थानीय निकायहरूले नियमित अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरी डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी तालिम प्रदान गर्नुपर्छ ।
६.आगो लगाउनु दण्डनीय अपराध हो । वन ऐन २०७६ अनुसार कसुर गर्ने व्यक्तिलाई क्षति भएको विगो असुल सहित जरिवाना र ३ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । यसको सुराक दिने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने प्रावधान पनि ऐनमा छ । यस्ता ऐन कानुनहरूलाई प्रभावकारी रूपले लागू गर्ने तथा अपुग नियम कानुनहरू निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्छ । साथै सम्बन्धित सबैलाई विद्यमान ऐन कानुनको बारेमा जानकारी गराउनुपर्छ र वन आगजानी गर्ने गराउनेलाई नियमानुसार कडा कारवाही गर्नुपर्छ ।
७.आगलाग घटना भईसकेपछि सम्बन्धित निकायहरूबाट घटनाको अनुसन्धान गरी आगलागीको कारण पत्ता लगाई त्यस्तो घटना पुन दोहोरिन नदिन आवश्यक रोकथामका उपायहरू अवलम्बन गर्ने पद्धति बनाउनुपर्छ ।
८.सम्बन्धित स्थानीय निकायहरूले अहिलेको सूचना प्रविधिको उच्चतम प्रयोग गरी डढेलो सुरू हुनासाथ यसको सूचना तत्काल प्राप्त गर्न तथा सम्बन्धित निकायहरूलाई आगलागी आकस्मिक सूचना प्रवाह गर्ने भरपर्दो सूचना संयन्त्र बनाउनुपर्छ । यस्तो सूचना संयन्त्र वर्षमा एक पटक नियमितरूपले पुनरावलोकन गर्नुपर्छ ।
९.त्यस्तैगरी डढेलो लाग्न शुरू भएको कसैले देखेमा ककस्लाई खबर गर्ने, आगो नियन्त्रण गर्ने कार्य गर्न ककसले के के भूमिका निर्वाहा गर्ने भन्ने कुरा स्पष्ट हुने गरी सम्बन्धित सबैको रोहबरमा विपद् कार्ययोजना तयार गर्नुपर्छ र उक्त योजना सम्बन्धित सबैलाई प्रचार प्रचार गर्नुपर्छ जसले गर्दा आगोले ठूलो रूप लिन नपाउँदै नियन्त्रण गर्न मद्दत पुग्छ ।
१०.ठूला वनहरूमा १० देखि १५ मिटर चौडा भएका अग्निरेखाहरू निर्माण गर्नुपर्छ । बनाइएका अग्निरेखाहरू सुख्खा मौसममा सरसफाई गरी दुरुस्त राख्नुपर्दछ अन्यथा अग्निरेखाबाट आगो एउटा खण्डबाट अर्को खण्डमा सर्न सक्ने भएकोले यसको कुनै अर्थ हुँदैन ।
११.वनमा लागेको आगोबाट खतरा हुने ठाउँमा बनको नजिक घर तथा गोठहरू निर्माण गर्नुहुँदैन । साथै मान्छेको बस्तीदेखि वनसम्मको बीचको भागमा पनि सुकेका पात पतिङ्गर, पराल, घाँस, दाउरा आदि आगोबाट जल्ने वस्तु छन् भने हटाउनुपर्छ । नत्र त्यसैबाट आगो सर्दै घरसम्म आइपुग्छ ।
१२.ठूला वनहरूमा केही वर्षको अन्तरालमा झाडी फडानी गरी वन सफाई कार्यक्रम चलाउनुपर्छ । जसले गर्दा कुनै कारणवस आगो लागी हालेमा पनि नियन्त्रण गर्न सजिलो हुन्छ ।
१३.सम्बन्धित वन कार्यालय तथा स्थानीय सरकारले आफ्नो क्षेत्रको जोखिम मूल्याङ्कन गरी आगोबाट उच्च जोखिम भएका वन क्षेत्र तथा बस्तीहरूमा सतर्कता अपनाउन सूचनाहरू प्रवाह गर्नुपर्छ ।
१४.स्थानीय रेडियो तथा विभिन्न समाचार माध्यमको व्यापक प्रयोग गरी जनचेतना वृद्धि कार्यक्रम, वन नियम कानुन तथा डढेलो रोकथामका विधिहर, आकस्मिक तयारी इत्यादि विषयमा जानकारी दिइरहनुपर्छ ।
१५.डढेलो लाग्ने सुख्खा तथा गर्मीको समय निश्चित भएकोले र यो हरेक वर्ष दोहोरिने घटना भएकोले यसको नियन्त्रण,रोकथाम तथा विपद् व्यवस्थापनको तयारी गर्न राज्यका सम्बन्धित निकायहरूलाई पर्याप्त समय हुने भएकोले यसको सामना गर्न समयमा नै पूर्ण तयारी गर्नुपर्छ ।
१६.अहिले पछिल्लो वर्षहरूमा गाउँघरमा नियमित बसोबास गर्ने जनसख्या एकदम नै कम हुँदै गइरहेको अवस्था छ । युवाहरूको संख्या त गाउँघरमा प्राय शून्य छ । त्यस्तो अवस्थामा गाउँघरमा मान्छे जम्मा भई आगो निभाउन सक्ने सम्भावना न्यून छ । खेत बारीहरू बाँझिएर रुखहरूले ढाक्न थालेका छन् । धेरैजसो घरहरू निर्माण गर्दा काठपात प्रयोग हुनको सट्टा सिमेन्ट र डन्डी प्रयोग हुन थालेका छन् । धेरैजसोले गाईबस्तु पालन गर्न पनि छाडिसके जसको कारण घाँसको आवश्यकता घट्दै गइरहेको छ । बिस्तारै खाना पकाउन दाउराको सट्टा बिजुली र एलपिजी ग्यास प्रयोग हुन थालेको छ । यी विविध कारणहरूले गर्दा जङ्गल र घाँस, दाउरा आदिको प्रयोग कम हुँदै गइरहेकोले वन बिस्तारै घना हुँदै गइरहेको अवस्था छ । यस्तो अवस्थामा कथङ् कदाचित आगलागी भएको खण्डमा ठूलो परिमाणमा सुकेको घाँसपात रुख दाउरा आदिको कारण आगो एकैचोटी नियन्त्र गर्न नसकिने अवस्थामा पुग्छ । त्यसैले सरकारले विद्यमान वन नीतिनियमलाई पुनर्विचार गरी नियमित अवधिमा वन सफाई गर्न नयाँ उपायहरू सोच्नुपर्छ ।
१७.वन नियमको कारण कहीं कतै वन पैदावार पर्याप्त प्रयोग गर्न नपाएको अवस्था छ भने नरम नीति बनाई वन प्रयोग गर्न सहज बनाउनुपर्छ । यसो गर्दा वन पैदावारको उचित प्रयोग पनि हुन्छ र वन सफा पनि हुन्छ र आगलागी भएमा नियन्त्र गर्न पनि सजिलो हुन्छ । अन्यथा वन संरक्षणको नाममा डढेलोबाट बन घ्वस्त हुने जोखिम बढिरहेको हुन्छ ।
वन आगलागी एउटा दुखद र अप्रिय घटना हो । प्रकृतिले वरदान स्वरूप दिएको उपहारको दुर्भाग्यपूर्ण विनाश हो l स्थानीय वन उपभोक्ता तथा राज्यका स्थानीय निकाय र सम्बन्धित वनका निकायहरू सबैले गम्भीरतापूर्वक काम गरेमा वन आगलागी हुनबाट जोगाउन सकिन्छ र आगो लागी हालेमा पनि यसलाई नियन्त्रण गरी सम्भावित धन जनको क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ । आगो लागिसकेपछि आगो निभाउने तथा यसको नियन्त्र गर्ने कार्य अत्यन्त कठिन र जोखिमपूर्ण हुने भएकोले सकेसम्म आगो लाग्नै नदिनको लागि प्रयास गर्नु राम्रो हुन्छ र सबैको प्रयासले यो सम्भव छ ।
(लेखक इ. ज्ञानबहादुर कार्की लामो समयदेखि खिम्ती १ जल विद्युत केन्द्रमा स्वास्थ्य, सुरक्षा तथा वातावरण प्रबन्धकको जिम्मेवारीमा कार्यरत छन् ) - akabarey.com
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l