पर्चाबाट सुरु भएको क्रान्ति, सहिद दिवस सन्दर्भ

काठमाडौँ, माघ १६
आज सहिद दिवस । राणाशासनविरुद्धमा उत्रिएका क्रान्तियोद्धा चार सहिदको बलिदानको स्मरण गर्दै हरेक माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने चलन २०१० सालदेखि सुरु भयो । हरेक माघ १० गतेदेखि सहिद सप्ताह मनाउने प्रचलन छ ।
क्रान्तियोद्धाहरूलाई सहादतमा पुर्याउँदै स्वतन्त्रताको झिल्को पर्चा छर्ने कामबाट सुरु भएको थियो । त्यसमा देशका लागि ज्यानको आहुति दिन पछि नपर्ने क्रान्तिकारी थपिँदै गए । क्रान्तिलाई उत्सर्गमा पुर्याउन उपाय ठहर्याइयो– राणाविरोधी पर्चा छर्नु पर्छ । त्यति सहज कहाँ थियो र ? लिथो मेसिन निकै सकससाथ उपत्यकामा भित्र्याइसकिएको थियो । कुरा ८३ वर्षअघि अर्थात् १९९७ सालको हो । त्यो बेला राति ९ देखि बिहान ४ बजेसम्म कफ्र्यु लगाउने चलन थियो । दिउँसो पर्चा छर्न सम्भव नभएकाले रातिबाहेक उपाय थिएन ।
संयोगले उपाय त निस्किहाल्यो । ललितपुरको जावलाखेलमा रातोमच्छिन्द्रनाथको भोटोजात्रा देखाउने दिन जुवा फुकाइने भएकाले कफ्र्यु लगाइँदैन थियो । १९९७ साल असार ९ गते भोटोजात्राको साइत थियो । तयारी व्यापक भयो । काठमाडौँको सिफलस्थित टङ्कप्रसाद आचार्यका घरमा पाँच किसिमका पर्चा तयार गरिए ।
पर्चा छर्न जिम्मेवारी बाँडफाँट गरियो । पाटनका लागि पुष्करनाथ उप्रेती र केशवराज कार्की, चाबहिलदेखि बानेश्वर हुँदै भक्तपुरसम्मका लागि मुकुन्दनाथ रिमाल, काठमाडौँ सहरभित्रका लागि धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठ, डिल्लीबजारदेखि महाराजगन्जसम्मका लागि रामहरि शर्मा, बलबहादुर पाण्डे र गोविन्दप्रसादले जिम्मा पाउनुभयो । इतिहासकार भुवनलाल प्रधानले लेख्नुभएको नेपालको जनक्रान्ति नामक पुस्तकमा उल्लेख भए अनुसार केही विद्यार्थीले सहरभित्रको जिम्मा लिए । त्यस दिन कर्फ्यु नलगाइएकाले रातभर पर्चा छरिए ।
भोलिपल्ट उपत्यकाको स्थिति असामान्य बन्यो । राणाशासकले गुप्तचर परिचालन गरे । जनजीवन निकै कडा भयो । गोरखापत्रमा नयाँ इस्तिहार छपाइयो र त्यसमा पर्चा छर्नेलाई पक्राउ गराउनेलाई पाँच हजार रुपियाँ पुरस्कारको प्रलोभन दिइयो ।
करिब चार महिनासम्म अत्तोपत्तो चलेन । कात्तिक २ गते सबैभन्दा पहिले धर्मभक्त पक्राउ पर्नुभयो । उहाँका साथबाट डायरी पनि फेला परियो । त्यसकै आधारमा बाँकीलाई पनि धमाधम पक्राउ गर्न थालियो । कात्तिक ९ गते गोरखापत्रले ‘राजद्रोही दल पकडिए’ शीर्षकमा सामाचार छाप्यो, “हालसालै हाम्रा यहाँ राजद्रोहात्मक पर्चा फैलाउने राजद्रोही दल र सबुत प्रमाणसमेत फेला पारी पक्राउ भएकाले त्यसबारेमा उचित कारबाही हुन लागेको छ । अब इदमित्थ हुन आएको बेहोरा पछि प्रकाशित हुने छ ।”
नेपालको प्रजातान्त्रिक इतिहास–सन्दर्भ पुस्तकमा उल्लेख भए अनुसार काशीमा पुग्नुभएका टङ्कप्रसादलाई समेत पक्राउ गरी काठमाडौँ ल्याइयो । थुनामा रहेका वा तारेखमा रहेकामध्ये करिब दुई सय जना रिहा भए । अधिकांशले सफाइ पाए । केहीले जरिबाना तिर्नु प¥यो । सजाय तोकिन बाँकी रहेका राजबन्दीलाई माघ ७ गते सिंहदरबारको दक्षिण पश्चिमतर्फको मैदानमा उपस्थित गराइयो । सबैका अपराधको बेहोरा पालैपालो पढेर सुनाइयो ।
तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ‘यी राजद्रोहीलाई के कस्तो सजाय दिनु पर्ला ?’ भनेर सोध्दा तत्कालीन राजा त्रिभुवनले ‘पनिस्मेन्ट भनेको मडरेट र मडर्नाइज्ड हुनु पर्छ’ भन्ने जवाफ दिनुभयो ।
साँझ ४ बजे सबै राजबन्दीलाई फैसला सुनाइयो । ज्यान सजाय तोकिएका सबैलाई झुन्ड्याउने भनिएको थियो । दशरथ चन्द र गङ्गालालले झुन्डिँदा कायरको मृत्यु हुने हुँदा गोली हान्ने आग्रह गर्नुभयो । आग्रह सदर भयो । कसैको जागिर खोसुवामा पर्यो भने कसैलाई १२ देखि १८ वर्षसम्मको कैद सजाय तोकियो ।
माघ १० गते शुक्रराजलाई मचलीमा फाँसी दिइयो । धर्मभक्तलाई माघ १३ गते सिफलमा झुन्ड्याइयो । माघ १६ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानेर मारियो । माघ १७ गते टङ्कप्रसाद र रामहरि शर्मालाई सिंहदरबारबाहिर जनै चुँडालियो र चारपाटा मुडियो ।
सहिदको सङ्ख्या १४ हजार ६८०
मुलुकमा सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी छ । आजको गोरखापत्रमा पकृति अधिकारीको सामाग्री छापिएको छ l akabarey.comले यो सामग्री पत्रपत्रिका स्तम्भ अन्तर्गत समेटेको छ l सामग्रीको लागि सम्वद्धपक्षलाई धन्यवाद ज्ञापन गर्दछौं l
जब शिवकलाले किन्ने भइन्, तब तनाव सिर्जना भयो । ‘तल्लो जातकालाई खेत बेच्न दिँदैनौं,’ उनका दाजुभाइले भ...
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहे...
अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ ।