प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्यो, शैक्षिक सुधारको लागि अभियानको घोषणा
काठमाडौँ, माघ, ४
सोविन्द्र परियार -
त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको छ ।
विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले पत्रकार सम्मेलनमा समग्र शैक्षिक अवस्था विस्तारै खस्कदै गइरहेकोले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधार गर्नु पर्ने आवश्यकता भएकोले राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
आज विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नु पर्ने, ट्रास्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनु पर्ने, नेपाली भाषामा पनि प्रश्न पत्र तयार गर्नु पर्ने, कक्षा १२ सम्म संविधानमा निर्दिष्ट गरिएको निशुलल्क शिक्षालाई छिटो भन्दा छिटो लागू गर्नु पर्ने जस्ता मागहरू राख्दै शैक्षिक अभियान सञ्चालन गर्न गइरहेको महासचिव पंगेनीले बताए । साथै राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईंले त्रिविको मूल्याङ्कन पद्धति ठिक नभएको र स्नातक तहसम्म नेपाली मिडियममा अध्ययन गरेका विद्यार्थीले भाषाकै कारण प्रश्नपत्र बुझन नसकेर फेल भएको विषय बताउदै छिटो भन्दा छिटो दुवै भाषामा प्रश्नपत्र तयार गर्न माग गरेका थिए । साथै उनले उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेटन बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत गर्न अनुरोध गरेका थिए ।
परिषद्का केन्द्रीय विश्वविद्यालय प्रमुख छित्रराज न्यौपानेले विश्वविद्यालयका पदाधिकारीहरूले दलको झोला बोक्ने अनि शिक्षा क्षेत्र विग्रीयो भन्ने चिन्ता गर्ने त्यो नैतिकता कसरी हुन सक्छ ? भनि प्रश्न गरे, उनले देशको माटो महापुरूष, संस्कृतिको सम्मान गर्ने राजनतिक दलबाट स्वतन्त्र रहेका प्राज्ञिक व्यत्तित्वले मात्रै विश्वविद्यालय लगायत समग्र शैक्षिक क्षेत्र सुधार गर्न सक्ने भएकोले त्यसमा केन्द्रीत हुनु पर्ने आवश्यकता रहेकोले बताए । मा.वि.सम्मको शिक्षकलाई योग्यताको प्रमाणपत्र अनिवार्य गरिएको छ भने स्नातक र स्नातकोत्तर तहमा प्रध्यापन गराउने प्राध्यापकहरूलाई त्यो व्यवस्था गर्न माग गरेका थिए, उनले प्रध्यापकको लागि पनि योग्यता परिक्षणको प्रणाली अनिवार्य गरिनुपर्ने कुरा उठाएका थिए । साथै उनले भातृ संगठनहरूले आज परिषद्ले स्थापना कालदेखि नै उठाएका मागहरूलाई उठाइ रहेको विषय बताउदै अब ढिला नगरी विश्वविद्यालय सुधार गर्न दलीय भागबन्डा अन्त्य गर्नु पर्ने बताएका थिए ।
पत्रकार सम्मेलनमा उनले बोल्दै हिजो बन्दुक बोकेर हत्या हिंसा गर्ने, अराजक शैलिबाट राजनीति गर्ने र आफैं प्रधानमन्त्री हुँदा नैतिक शिक्षा हटाउने र आज संस्कारित व्यक्ति र नेतृत्व भएनन् नैतिकता शिक्षाको कमि भयो भनेर चिन्ता गर्न लाज लाग्दै भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।
राष्ट्रिय सचिव जानकी आचार्यले अभियानको विज्ञाप्ति सार्वजनीक गर्दै अभियानमा माग गरिएका शैक्षिक मुद्दाहरुलाई आवश्यकताको आधारमा तुरुन्तै लागु गर्न माग गरेकी थिइन् । परिषद्ले अभियान पूर्व देशभर शैक्षिक सर्वेक्षण सम्पन्न गरिसकेको र माघमहिना भर देशभरका प्राज्ञिक वर्ग, विद्यार्थी समूह, शिक्षकवर्ग तथा समाजका विभिन्न निकायसमक्ष बृहत् भेटघाट तथा अन्तरक्रिया गर्ने, देशका प्रमुख क्याम्पसमा विचारगोष्ठी तथा अन्तरक्रिया सञ्चालन गर्ने, अभियानको क्रममा देशका प्रमुख स्थानमा शिक्षाका महत्वपूर्ण मुद्दालाई लिएर दबाव र्याली गर्ने प्राज्ञिक व्यक्तिहरूबाट सुझाव सङ्कलन गर्ने, मागपत्र प्रस्तुत गर्ने, देशका सबै जिल्लामार्फत् सम्बन्धित निकायलाई ज्ञापनपत्र प्रस्तुत गर्ने, देशभरबाट आएका सुझाव तथा विषयलाई समावेश गरेर काठमाडौँमा विशेष अन्तरक्रिया गर्ने ।
जस पश्चात् विश्वविद्यालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग आदि निकायमा सुधारका लागि सुझाव पेश गर्ने, त्यसबाट पनि मागहरु सुनुवाई नभए विद्यार्थी दबाव आन्दोलन गर्ने, धर्ना, अनसन गर्ने जस्ता कार्यक्रमहरु घोषण गरेको छ । परिषद् निम्न मागहरु राख्दै आफ्नो शैक्षिक अभियानको कार्यक्रमहरु घोषण गरेको छ । अभियानमार्फत् उठान गरिने मुद्दाहरू एवं आग्रहका विषयहरू
शिक्षामा वैदेशिक लगानीको अन्त्य गर्दै कुल बजेटको २० प्रतिशत बजेट विनियोजन तथा लगानी सुनिश्चित गरियोस् l संविधानले निर्दिष्ट गरेको माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गरियोस् l प्राध्यापक नियुक्तिका लागि अनिवार्य रूपमा योग्यता परीक्षा उत्तीर्ण गर्नुपर्ने नीतिलाई यथाशीघ्र कार्यान्वयन गरियोस् । नेपालमा अनुमतिविना र नियम विपरीत चलिरहेका विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरूको अनुगमन तथा खारेजी प्रक्रियालाई तुरुन्त अगाडि बढाइयोस् । हरेक विश्वविद्यालयको एकीकृत शैक्षिक पात्रो निर्माण गर्दै विद्यालय र विश्वविद्यालयको पात्रोमा एकरूपता कायम गरियोस् । शैक्षिक पात्रोमा अतिरिक्त क्रियाकलाप अनिवार्य रूपमा समावेश गरियोस् । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था खारेज गर्दै प्राज्ञिकता तथा बौद्धिकताका आधारमा कुलपति नियुक्त गर्ने नीति निर्माण गरी कार्यान्वयन गरियोस् ।
विश्वविद्यालयका पदाधिकारी एवम् कर्मचारी शिक्षाक्षेत्रको सबै स्तरमा हुने नियुक्तिमा दलीय राजनीतिको प्रभाव, हस्तक्षेप र भागबण्डाको अन्त्य गर्दै दक्ष, क्षमतावान् व्यक्तिलाई स्वच्छ प्रतिस्पर्धामार्फत् नियुक्ति गर्ने पद्धतिको विकास गरियोस् । विद्यार्थी भर्नादर, उत्तीर्ण र सिकाईको विश्लेषण गर्दै वर्तमान समयको हाम्रो पाठ्यक्रम, मूल्याङ्कन पद्धति र शिक्षण विधिलाई परिमार्जन गरियोस् । मौलिक कुराको सिकाईमा विशेष जोड दिँदै मातृभाषा वा नेपाली भाषामा माटो सुहाउँदो पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गराउने र सबै स्तरका परीक्षामा प्रश्नपत्र नेपाली भाषामा पनि सोध्ने पद्धतिको विकास यथाशीघ्र गरियोस् ।
सबै तहका पाठ्यक्रममा नेपाली भाषा, संस्कृति, भूगोल, इतिहास, जीवनपद्धति, मानवीय मूल्य, महापुरुषको जीवनी र नागरिक शिक्षा, अर्थतन्त्रका आधार कृषि, पर्यटन जस्ता विषयहरू अनिवार्य समावेश गरियोस् । राज्यले विद्यालयलाई दिने दरबन्दी तथा स्रोतको विभाजन भूगोल, विद्यार्थी संख्या र परिस्थितिका आधारमा सुनिश्चित गर्दै संख्या कम हुँदै गएका विद्यालय समायोजनको प्रक्रिया यथाशीघ्र अगाडि बढाइयोस् । शिक्षक सेवा आयोग, शिक्षकको दरबन्दी, नियुक्ति, सरुवा–बढुवा प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त गर्दै शिक्षकको सेवा सुविधामा वृद्धि गरियोस् । माध्यमिक तहदेखि नै सिक्दै कमाउँदै कार्यक्रमलाई अनिवार्य गर्दै त्यसको कार्यान्वयन यथाशीघ्र होस् ।
शिक्षाक्षेत्रबाट उत्पादित जनशक्तिले राष्ट्रियताको भावना बोक्दै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गराउन सकोस् जसका लागि देशको समग्र विषयको जानकारी विद्यार्थीवर्गलाई गराउनका लागि सोही अनुसारका पाठ्यक्रम तयार गरियोस् ।
विश्व जगतमा संस्कृतप्रति बढिरहेको आकर्षण र प्रविधि अनुकुल बन्दै गइरहेको संस्कृतको महत्वलाई विशेष प्राथमिकतामा राख्दै प्रविधि र संस्कृतको संयोजन गर्दै पाठ्यक्रम निर्माण गरी अध्यापनको वातावरण निर्माण गरोस् । विद्यार्थी परिषद्ले पत्रकार सम्मेलन मार्फत शिक्षा क्षेत्रको समग्र सुधारका लागि गरिने यो राष्ट्रव्यापी शैक्षिक अभियान हरेक विद्यार्थीहरूका मुद्दा भएकाले देशभरका शिक्षाप्रेमी विद्यार्थी, शिक्षक, शिक्षाविद्, प्राध्यापक, अभिभावक, राजनीतिकदलहरू, पत्रकारलगायत सम्पूर्ण व्यक्तिहरूलाई यस अभियानमा जोडिएर सफल बनाउन समेत आग्रह गरेको छ ।
भक्तपुर, काभ्रेलगयात उपत्यकाका विभिन्न ६७ विद्यालयलाई मिड भ्याली कलेजले उपकरण एवं सामग्री निर्माणमा...
नेपालमा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको करिब २५ वर्ष पूरा भएको छ ।
जिल्लाकै अस्पतालबाट सेवा पाएर जिल्लाबासी खुशी छन् खर्च र समय दुबै बचेको छ l